प्रतिभा माली ब्रान्ड एम्बेस्डर

बिहिबार, १९ साउन २०७४, ११ : ४८ शुक्रवार , Kathmandu
प्रतिभा माली ब्रान्ड एम्बेस्डर

भलिबलकी चर्चित खेलाडी प्रतिभा मालीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गर्दै साहस स्पोटर््स प्रालिले आफ्नो स्थापनाको घोषणा गरेको छ ।
खेलकुद सामग्री उत्पादक कम्पनी साहसले प्रतिभासँगै न्यु डायमन्ड एकेडेमीलाई एक वर्षको प्रायोजन गरेको छ । मंगलबार प्रतिभा र साहस स्पोर्टस प्रालिका अध्यक्ष जनक न्यौपानेले सम्झौतामा हस्ताक्षर गरे । नेपाली भलिबल खेलाडी र टिमलाई प्रायोजन गर्ने साहस पहिलो खेलकुद ब्रान्ड हो ।
ब्रान्ड एम्बेस्डर नियुक्त गरेबापत साहसले प्रतिभालाई वर्षभरिमा १ लाख २० हजार नगद र ५० हजारको खेल पोसाक गरी १ लाख ७० हजारको प्रायोजन गर्ने घोषणा गरेको हो । यसैगरी नेपाली भलिबलको चर्चित क्लब न्यु डायमन्ड एकेडेमीलाई प्रायोजन बापत साहसले १ लाख ७५ हजारको खेल पोशाक प्रदान गर्नेछ । न्यौपाने र न्यु डायमन्ड एकेडेमीका अध्यक्ष सुनकेशरी मालीले सम्झौतापत्रमा हस्ताक्षर गरिन् ।
साहस स्पोटर््स प्रालि अध्यक्ष एवं प्रबन्ध सञ्चालक जनक न्यौपानेले प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीमार्फत खेल र खेलाडीसँग जोडिने अभियानको सुरुआत गरेको बताए । ‘यो नेपाली खेलकुदका लागि ऐतिहासिक दिन हो,’ न्यौपानेले सो अवसरमा भने, ‘नेपालको राष्ट्रिय खेल भलिबलसँग सहकार्य गरेर कम्पनीको सुरुआत गरेका छौँ । भलिबलसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो । भविष्यमा अन्य खेल र खेलाडीसँग समेत सहकार्य गर्नेछौँ ।’
प्रतिभा १३ वर्षको उमेर राष्ट्रिय टोलीमा डेब्यु गरेकी खेलाडी हुन् । उनले नेपाली भलिबलमा छोटो अवधिमा नम्बर एक स्पाइरको रुपमा आफूलाई स्थापित गरेकी छन् ।
गत वर्ष माल्दिभ्समा भएको माल्दिभ्स महिला लिग भलिबलमा प्रतिभाले चार खेलमा ‘क्विन अफ द म्याच’ र विदेशी खेलाडी तर्फको उत्कृष्ट खेलाडीको अवार्ड जितेकी थिइन ।
राष्ट्रिय भलिबल खेलाडीलाई ब्रान्डएम्बेसडर बनाउने साहस पहिलो खेलकुद ब्रान्ड हो ।
प्रतिभाले आफूलाई ब्रान्ड एम्बेसडरको रुपमा छनोट गरेकामा साहस स्पोटर्सलाई धन्यवाद दिइन् । ‘मेरो खेल करियरमा आजको दिन सबैभन्दा खुसीको दिन हो,’ उनले भनिन्, ‘नेपालमा भलिबल लोकप्रिय खेल हो । भलिबल र मलाई कम्पनीले आफ्नो अभियान सुरुआत गर्नुअघि छनोट गरेकामा खुसी छु । नेपालमा भलिबल लोकप्रिय भएजस्तै साहस स्पोर्ट्स नेपालको लोकप्रिय ब्रान्ड बन्ने विश्वास लिएकी छु । यस अभियानमा मैले र मेरो टिमले सक्दो सहयोग गर्नेछौँ ।’
नेपाल भलिबल संघ अध्यक्ष मनोरञ्जन रमण शर्माले पनि साहसको अभियानमा भलिबल संघले सक्दो साथ दिने बताए । उनले भने, ‘हामी खुसी छौं । भलिबलको इतिहासमा पनि यो खुसीको क्षण हो । भलिबलले एकपछि अर्को सफलता हासिल गरिरहेको छ । साहसले जुन साहस देखाएको छ, त्यसका लागि शुभकामना । संघले साहससँग छिटै नयाँ सहकार्य गरेर अगाडि बढ्नेछ ।’

 

Leave A Comment