गणतन्त्रका ‘कोलिफर्म’हरू

शुक्रबार, २४ असार २०७३, १० : १६ शुक्रवार , Kathmandu
गणतन्त्रका ‘कोलिफर्म’हरू

सत्ता साझेदार मुख्य दुई दल नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीच सत्ता सहयात्रामा देखिनुपर्ने आत्मीयता देखिएको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँगको सत्ता सहयात्रा सुरु गरेको १० महिना पूरा नहुँदै दुईपटक सरकारबाट बाहिरिने कोसिस गरिसकेका छन् । दुई महिनाको बीचमा दुईपटक सत्ता छोडेर हिँड्ने उनको घुर्कीलाई प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक रोक्न सफल भएका छन् । अघिल्लो पटक एमालेसँग नौबुँदे सहमति गरेर सत्ता सहयात्रालाई निरन्तरता दिन राजी भएको माओवादी केन्द्र अहिले कुन आश्वासन पाएर रोकियो ? त्यो सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओली र प्रचण्डका बीच भएको ‘वान टू वान’ संवादले सरकार छोड्ने तयारी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकार फेरबदलले अस्थिरतालाई थप बढाउने निष्कर्षमा पुगेका छन् । तर, प्रचण्डले वर्तमान सत्तारूढ गठबन्धन कसरी परिवर्तन विरोधी तŒवहरूबाट संक्रमित हुँदै गइरहेको छ भन्नेतर्फ भने ध्यान दिएका छैनन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको संविधानअन्र्तगत शपथ खाएर मन्त्री भएकाहरू नै यो संविधान र व्यवस्थाका विरुद्धमा खुलेआम ‘क्याम्पेन’ चलाएर हिँडिरहेका छन् । उपप्रधानमन्त्री कमल थापा हिन्दू राज्य र राजतन्त्रको पक्षमा जनमत बनाउन खटिएका छन् भने उपप्रधानमन्त्री चित्रबहादुर केसी संघीयता खारेजीको मागसहित आन्दोलन गर्ने बताइरहेका छन् ।
संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व बोकेको सरकारका उपप्रधानमन्त्रीहरू नै संविधानले गरेका व्यवस्था उल्टाउन लागि पर्नुलाई के भन्ने ? परिवर्तनविरोधी दक्षिणपन्थीहरूबाट घेरिएको यो सरकार कसरी वामपन्थी गठबन्धनको मात्रै सरकार हुन सक्छ ? जबजब प्रचण्ड सरकारबाट बाहिरिने कुरा गर्छन्, त्यतिबेला उनी ‘वामपन्थी गठबन्धनको सरकार पो हो यो’ भन्दै फुरुङ्ङ हुन्छन् । तर, यो सरकार दक्षिणपन्थी कमल थापाहरूबाट संक्रमित भएको चाहिँ उनी भुसुक्कै बिर्सन्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि कमल थापाहरू पानीको मुहानमा मिसिएको ‘कोलिफर्म’ जीवाणु हुन् । जसरी मुहानमा मिसिएको कोलिफर्मले पूरै पानी दूषित गरेर यसको सेवनकर्ताको ज्यानै लिने ताकत राख्छ,  त्यसै गरी परिवर्तनविरोधी दक्षिणपन्थीहरूले पनि गणतन्त्र संस्थागत हुन नदिन हरसम्भव प्रयास गरिरहेका छन् भन्ने हेक्का कम्तीमा पनि गणतन्त्रका लागि १० वर्षे जनयुद्ध लडेका प्रचण्डहरूले राख्नुपर्छ । दोस्रो जनआन्दोलनमा आर्मी ब्यारेकमा बसेर अन्दोलनकारीमाथि गोली बर्साउन आदेश दिने कमल थापाहरूलाई अघि सारेर गणतन्त्र संस्थागत हुन सक्दैन भन्ने निष्कर्षमा जति छिटो पुगिन्छ, त्यति नै छिटो वर्तमान अन्योलबाट पार पाउने उपायहरू देखिनेछन् ।
नेकपा एमालेलाई यसअघि नै प्रचण्डहरूभन्दा कमल थापाहरू इमानदार हुन् भन्ने लागिसकेको छ । जसरी पनि सत्तामा टिकिराख्नुपर्छ भन्नेहरूलाई त्यो लाग्नु स्वाभाविक पनि हो । तर, माओवादी केन्द्र किन ओली र परिवर्तनविरोधीहरूसँग सती जान खोजिरहेको छ त्यो बुझ्न सकिएको छैन । यो गठबन्धनबाट माओवादी केन्द्र बाहिरिँदा उसलाई राजनीतिक रूपमा ठूलो घाटा हुने डर देखाइएको छ । राष्ट्रवादी वाम गठबन्धन छोडेको ‘पाप’ लाग्ने भनेर माओवादी केन्द्रलाई तर्साइएको छ । तर, यो राष्ट्रवादी वाम गठबन्धनलाई दक्षिणपन्थीहरूले कसरी ‘कन्टामिनेटेड’ गरिसके भन्ने तर्फ भने कसैको ध्यान गएको छैन । ओली सरकारबाट बाहिरिएर सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउँदैमा अहिलेका समस्या समाधान हुन्छन् भन्ने के ग्यारेन्टी छ ? भन्नेहरू पनि छन् । संविधान कार्यान्वयनका लागि मुख्य तीन दलको बीचमा न्यूनतम सहमति हुनैपर्ने बाध्यात्मक अवस्थामा प्रतिपक्षमा बस्ने दल बदल हुँदैमा समस्याबाट पार पाउन सकिँदैन भन्ने तर्कमा केही दम भए पनि परिवर्तनविरोधीबाट संक्रमित भएर गणतन्त्रको स्याहारसुसार गर्न सकिँदैन भन्नेमा माओवादी केन्द्र विश्वस्त हुनुको विकल्प छैन ।
यो सरकारको विस्थापनसँगै खुल्ने सम्भावनाको नयाँ ढोकाभित्र पनि दक्षिणपन्थीहरू विराजमान छन् । जस्तो, कांग्रेसका जिम्मेवार नेताहरू नै कट्टर हिन्दूवादी भएर जमजमाइरहेका छन् । नयाँ समीकरणमा पनि परिवर्तन नरुचाउनेहरू कम शक्तिशाली हुनेछैनन् । तर, कांग्रेस संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र स्वीकार गरेर निर्वाचित भएर आएको जिम्मेवार राजनीतिक दल भएकाले ऊ पछाडि फर्कन सक्दैन । आफ्नै नेतृत्वमा जारी भएको संविधान उल्टाउन कांग्रेस क्रियाशील हुने कल्पना पनि गर्न सकिँदैन । त्यसैले संविधानको कार्यान्वयनका लागि कांग्रेस र माओवादी केन्द्रको सहकार्य अहिलेको पहिलो आवश्यकता हो । एमालेलाई प्रतिपक्षमा राखेर सत्ताको नेतृत्व परिवर्तनले मात्र समस्या समाधान हुँदैन भन्नेहरू पनि छन् । अहिले एमालेलाई प्रतिपक्षमा पु¥याउनेभन्दा पनि राजतन्त्रलाई ब्युँताउनुपर्छ भनेर गणतन्त्रमा रजाइँ गर्नेहरूलाई ‘साइज’मा ल्याउनुपर्ने अवस्था छ । संविधान र व्यवस्थाका विरोधीहरूलाई नपन्छाएसम्म परिवर्तनलाई संस्थागत गर्ने स्पष्ट मार्गचित्र देख्न सकिँदैन । ‘अहिलेको समस्याको जड संघीयता हो, हिन्दू राज्य नहुनु हो, राजा नहुनु हो’ भन्दै उपप्रधानमन्त्रीको जागिर खाइरहेका कमल थापाको सत्ताबाट बहिर्गमन गराउन पनि माओवादी केन्द्र यो गठबन्धन त्यागेर बाहिर आउन जरुरी छ । माओवादी केन्द्र सत्ता समीकरणको मुख्य केन्द्रमा रहेकाले उसले वर्तमान राजनीतिक परिदृश्यको वस्तुनिष्ठ विश्लेषण गरेर छिटोभन्दा छिटो निर्णय लिनुपर्छ । यो गठबन्धनमा बस्ने कि नबस्ने ? आज छोड्छु भन्ने तर भोलिपल्ट फेरि छोड्दिनँ भन्ने खालको दोहोरो चरित्र देखाइरहनाले माओवादी केन्द्र स्वंय पनि अस्थिर बन्नेछ । माओवादी केन्द्रभित्र सरकार छोडेर बाहिरिनुपर्ने मत बलियो रहे पनि अध्यक्ष प्रचण्ड भने ओलीसँग मित्रता तोडिहाल्ने मनस्थितिमा छैनन् भन्ने देखिन्छ । वर्तमान राजनीतिक अन्योल र गजमजिएको समस्या वर्तमान गठबन्धन भंग नहुँदासम्म समाधानको बाटो पहिल्याउन नसकिने निश्चित भएकाले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्छ । परिवर्तनका लागि लडेका तीनवटै दल पुनः एकपटक एक ठाउँमा बसेर संविधान कार्यान्वयनको संकल्प नगर्दासम्म हामीले प्राप्त उपलब्धिको रक्षा गर्न सक्दैनौँ भन्ने बुझ्नुपर्छ ।

 

Leave A Comment