मोडलिङमा क्रेज: वार्षिक २ अर्बको बजार

आइतबार, २९ साउन २०७४, १० : १३ शुक्रवार , Kathmandu
मोडलिङमा क्रेज: वार्षिक २ अर्बको बजार

पुष्पा थपलिया

ख्यातिसँगै कुस्त कमाउने सपना बोकेर मोडलिङको दुनियाँमा प्रवेश गर्नेहरु बढीरहेका छन् । एकपटक र्याम्पमा क्याटवक गरेवापत एक लाख रुपैयाँ लिनेदेखि उल्टै पैसा खर्च गरेर मोडल बन्नेसम्मको जमात यहीँ छ । सङ्घर्षले सफल हुने मात्रै होइन, शोषणको चर्को चक्रव्यूहमा फँस्नेहरु पनि उत्तिकै छन् । पुष्पा थपलियाले मोडलिङ दुनियाँको बजारदेखि अवस्थासम्म चित्रण गर्ने प्रयत्न गरेकी छिन् ।
२०४२ सालमा शर्मिला मल्ल (एभरेस्ट टुथपेस्ट) बाट सुरु भएको प्रिन्ट मोडलिङदेखि डली गुरुङ (वाईवाई चाउचाउ) को भिडियो मोडलिङ हुँदै अहिलेसम्म आइपुग्दा वार्षिक दुई अर्बको ‘उद्योग’ बनिसकेको छ । काठमाडौँ हुँदै देशका अन्य सहरमा मात्र मोडलिङ फैलिएको छैन, भारत, जापान, अमेरिका लगायतका देशहरुसम्म फैलिसकेको छ । यही पेसाबाट आस्था पोखरेल, सृष्टि श्रेष्ठ, वर्षा श्रेष्ठ, अञ्जली लामा, सन्दीपा लिम्बु लगायतले अन्तर्राष्ट्रिय ¥याम्प सोमा आफ्नो खुबी प्रदर्शन गरिरहँदा अझै पनि नेपालमा मोडलिङ पेसा सङ्घर्षकै चरणमा छ । सङ्घर्ष मात्रै होइन, शोषणको चर्को चक्रव्यूहमा फँस्नेहरूको कथा पनि उत्तिकै दर्दनाक छ ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाका अनुसार नेपालमा पहिलेको तुलनामा मोडलिङ क्षेत्रको विकास र विस्तार भइरहेको छ तर सबैले बराबरी पारिश्रमिक पाउने अवस्था भने बनिसकेको छैन । निकै परिश्रमी र ट्यालेन्ट मोडलका लागि यो क्षेत्र निकै राम्रो बन्दै गएको उनको दाबी छ । ‘नेपालकै केही मोडलले एक सोको मात्र पनि एक लाख रुपैयाँ लिन थालिसके, त्यसैले नयाँ भाइबहिनीहरु पनि यस क्षेत्रमा आकर्षित भएका हुन्,’ सुब्बा भन्छिन्, ‘चरम प्रतिस्पर्धा भएकाले छोटो बाटो अपनाउँदा केही मोडलहरु शोषणमा समेत पर्ने गरेका छन् ।’
त्यसो त भग एन्ड इभेन्ट म्यानेज्मेन्टका सिइओ प्रभात रिमाल एउटै सोमा दुई तीन सय मोडल आवश्यक परेका बेला त्यस्ता माग पूरा गर्न सक्ने हैसियतमा मोडलिङ उद्योग पुगिसकेको बताउँछन् । रिमाल भन्छन्, ‘क्यान इन्फोटेक सो, नाडा सो लगायतका एकै इभेन्टमा पनि तीन सयभन्दा बढी मोडलको आवश्यकता पर्ने गरेको छ । आजसम्म आइपुग्दा त्यस्ता आवश्यकता पूरा गर्ने क्षमता नेपाली मोडल उद्यममा भइसकेको छ ।’
म्युजिक भिडियो, विज्ञापनलगायत कर्पोरेट अफिसहरुमा ठूलो संख्याका मोडल कार्यरत रहेको उनको भनाइ छ । रिमालको अनुभवमा बर्सेनि दसौं हजार युवायुवती मोडलिङ क्षेत्रमा आउने चाहना राख्छन् । तीमध्ये २० देखि ३० प्रतिशत मोडल मात्रै व्यावसायिक बन्छन् । ‘अरु कोही बीचमै हराउँछन्, कोही मिहिनेत गर्दागर्दै पनि अगाडि बढ्न सक्दैनन् ।’
यता विज्ञापन एसोसिएसन आनका पूर्वअध्यक्ष निर्मल पौडेल पहिलेको तुलनामा यस उद्योगले तीव्र गतिमा छलाङ मारेको बताउँछन् । उनको आँकडा अनुसार बर्सेनि पाँच अर्बको विज्ञापनको बजार छ । जसमध्ये एटिएल अर्थात सञ्चार माध्यम (रेडियो, टेलिभिजन र पत्रपत्रिका) मा दिइने विज्ञापनमा ६० प्रतिशत र बिटिएल अर्थात् ग्ल्यामर सो, फेसन सो, होडिङ बोर्ड लगायतमा ४० प्रतिशत अर्थात् दुई अर्ब खर्च हुने गरेको छ । त्यसो त यी सबै पैसा मोडलिङ एजेन्सी र मोडलले पाउने भने होइनन् । अधिकांश ठूलो रकम माथिल्ला अंगले पाउने हुन् र मोडलसम्म आइपुग्दा रकमको धारो लगभग एकदुई थोपाजस्तो झर्ने गर्छ ।
पौडेल भने मोडलिङ र ग्ल्यामर क्षेत्र विस्तार भइरहेकाले यस क्षेत्रले पाउने रकम अबका दिनमा अझ बढ्न सक्ने धारणा राख्छन्, भन्छन्, ‘दुई दसक अघिसम्म रहर र सोखबाट एजेन्सीहरु चल्थे । मोडलिङ एजेन्सीहरु आज आएर उद्यम बनिसकेको छ । यसको बजार अझै बिस्तार हुँदैछ ।’
न घट्यो शोषण, न क्रेज नै
घटना नम्बर १ : नुवाकोटकी रोजिना गुरुङ (नाम परिवर्तन) अहिले बल्ल १८ लागिन् । उनमा मोडल बन्ने भुत भने सानैदेखि चढ्यो । गत वर्ष मात्रै एसइई डी ग्रेडमा पास भएपछि उनलाई लाग्यो– पढाइमा मेरो भविष्य छैन । उनले आमाबाबुलाई आफू मोडल बन्ने सपना देखाइन् तर साथ पाइनन् । त्यसपछि कसैलाई थाहा नदिई केही गरगहना र २० हजार रुपैयाँ चोरेर उनी गाउँले दिदीको साथ लागेर काठमाडौँ आइन् ।
केही समयसम्म त घरबाट ल्याएको पैसा र गहना बेचेर गर्जो ट¥यो, पछि पैसा पनि सकिँदै गयो, गाउँले दिदीले पनि वास्ता गर्न छाडिन् । मोडल बन्न उनी विभिन्न एजेन्सीमा धाउन थालिन् । भेटेकाले मीठा आश्वासन दिन्थे र त्यसका लागि यति पैसा चाहिन्छ, उति पैसा चाहिन्छ भन्थे । कतिले पैसा नभए के भो त जे छ त्यति देऊ भनेर घुमाउरो पारामा ‘शरीर’ माग्थे । सुरुसुरुमा त उनलाई सबैको आश्वासन साँच्चै लाग्यो । त्यसैले केही मानिसलाई उनले ‘शरीर’ पनि दिइन् तर उनीहरु फोन गर्छु भनेर छुट्टिन्थे, त्यसपछि बेपत्ता ! अहिले उनी अलपत्र छिन् । घर जाउँ, आमाबाबुले त एकैछिन गाली गर्लान् । माफी पनि देलान् तर गाउँलेको तीखा भनाइ सहने सामथ्र्य उनमा छैन ।
घटना नम्बर २ : टामिरा जोशी अहिले छ वर्षकी भइन् । कंलकीस्थित एक मन्टेसोरीमा पढ्ने उनले आफूभन्दा अघिल्लो पुस्ताका दाजुदिदीको बिदाइ र नयाँ भाइबहिनीको स्वागत कार्यक्रममा कम्मर मर्काउँदै नाचिन् र क्याटवाक पनि गरिन् । उनकी आमाले भनिन्, ‘घरमा गीत बज्नै हुन्न, उसको खुट्टा हल्लिन थालिहाल्छ । उनलाई मनपर्ने शिक्षक पनि डान्स टिचर रहेछ । ठूलो भएपछि टिभीमा नाच्ने सोख छ । यो त भयो बालबालिकाको कुरा । अहिले दस जोड दुई बढ्दै गरेकी सविना बराइलीलाई पनि नायिका बन्ने रहर छ । त्यसैले कतै अवसर पाइन्छ कि भनेर लागिपरेकी छन् उनी । एक पटक पत्रिकामा मोडल बन्नका लागि संघर्ष गरिरहेकी उनको संघर्षयात्रा जारी छ । भन्छिन्, ‘अहिलेसम्म चान्स पाएकी छैन तर अर्को पालि सम्पर्क गर्नुहोला भन्नेको कमी पनि पाइनँ ।’ उनले आफ्नो सपना अझै नत्यागेको समेत शुक्रवारलाई बताइन् ।

मानिस चर्चा कमाउन चाहन्छ । चर्चाका लागि जे गर्न पनि तयार छन् उनीहरु । जसका कारण मनैदेखि केही गर्ने संकल्प बोकेर आएकाहरू समस्यामा पर्ने गरेका छन् । यो समस्या अरुमा भन्दा मनोरञ्जन उद्योगमा बढी पाइएको छ । आफू यसैमा करियर बनाउँछु भनेर हिँडेका मोडलहरु कतै शारीरिक, कतै मानसिक त कतै श्रम शोषणमा पर्ने गरेका छन् ।
दुई साताअघि मात्र फिल्म ‘सायद २’ कि नायिका स्यारोन श्रेष्ठ र निर्माता सुनिल रावलको घटनाले बजार तात्यो । फिल्मका निर्माताले विभिन्न लोभ देखाएर शारीरिक शोषण गर्न खोजेको स्यारोनको आरोप थियो । उनले पत्रकार सम्मेलन गर्दै शोषणबारे बोल्दै गर्दा सुनिलले सोको प्रतिवाद गरे । पछि यो विवाद चलचित्र निर्माता संघसम्म पुग्यो, जहाँ दुवै पक्षले एकअर्कालाई अब कुनै व्यक्तिगत लाञ्छनामा नलाग्ने सम्झौतामा पुग्यो ।
स्यारोनले रावलमाथि शोषणको आरोप लगाउनेबित्तिकै ‘होस्टेल’ फिल्ममा काम गरेका नायिकाद्वय प्रकृति श्रेष्ठ र स्वस्तिमा खड्काले पनि आफूहरु आर्थिक शोषणमा परेको टिप्पणी गर्दै झुल्किए ।
यो घटना अहिलेलाई फासफुस भइसकेको छ । कुनै नायिकाले शारीरिक र आर्थिक शोषणको पाटो उधिन्नेबित्तिकै उद्योगकै मानिस दोषीलाई करबाही गर्नुको सट्टा उल्टै उन्मुक्ति दिइँदा शोषण गर्नेहरुको हौसला बढ्ने गरेको मोडल मीना पूर्णिमा बताउँछिन् । उनले फोनमा शुक्रवारसँग भनिन्, ‘फिल्ममा मात्र होइन, मोडलिङ र ग्ल्यामरका हरेक क्षेत्रमा यस किसिमको शोषण हुँदोरहेछ ।’
सुरुमा स्थापित हुन कतिपय यस किसिमको शोषण सहन बाध्य छन् । कति त संघर्ष गर्न नसकेर विस्थापित हुनेहरु पनि छन् । ‘यस्तो शोषणका कारण यसैलाई पेसा बनाउन लागिपरेका मोडलहरु पछाडि पर्दैछन्,’ पूर्णिमा बताउँछिन् ।
त्यसो त क्षमता र योग्यता नभए पनि चर्चा कमाउनका लागि जानाजान शोषण निम्त्याउनेको पनि यहाँ कमी छैन ।  

पहिलै ५० प्रतिशत लिन्छु
महिला मोडल मात्रै शोषणमा पर्ने होइनन् । ‘पुरुष पनि उत्तिकै शोषणमा परेका हुन्छन्,’ संघर्षरत मोडल सुनील बलाल स्वीकार्छन्, ‘यस्ता शोषण आफ्नै कमजोरीका कारण हुने गर्छन् ।’
उनले शोषणबाट बच्ने उपाय पनि सुझाउँछन्, ‘हामी चुक्नु हुँदैन र झुक्नु पनि हुँदैन । सुरुमै आधा पैसा लिइहाल्नुस् । त्यसो भयो भने आधा ठगिनबाट जोगिनु हुन्छ । मैले पनि त्यस्तै गर्ने गरेको छु ।’
कहिलेकाहीँ प्रस्ताव मानिदिऊँ जस्तो लाग्छ
२० वटाभन्दा बढी म्युजिक भिडियो खेलिसकेकी मोडल सुनिता (नाम परिवर्तन) आफूलाई अहिलेसम्म कति सेक्सको प्रस्ताव आए गन्ने फुर्सदसमेत नभएको बताउँछिन् । गीतमा मोडलिङ गराउने, चर्चित र लोकप्रिय बनाइदिने, दुई–चार जना चर्चित मोडलको नाम लिएर आफैँले गर्दा उनीहरु चर्चित भएको भन्दै सेक्सको प्रस्ताव राख्ने गरेको उनको अनुभव छ । उनले भनिन्, ‘कहिलेकाहीँ केही नजानेका मानिस पनि मोडलिङ गरेर चर्चित भएको देख्दा आफू पनि उनीहरुको प्रस्ताव मानिदिऊँजस्तो लाग्छ तर फेरि त्यस्ता मानिसको छिट्टै पत्तासाफ भएको देखेर आफैँ मिहिनेत गर्ने जोश आउँछ ।’ नयाँ मोडललाई यस क्षेत्रमा निकै गाह्रो हुने उनको अनुभव छ ।
उनलाई कतिसम्मको प्रस्ताव आउँछ भन्ने उदाहरण दिँदै उनले थपिन्, ‘केही समयअघि एउटा मोडलिङ एजेन्सीको मानिसले कुनै म्यागेजिनमा समाचार छापिदिन्छु तर त्यसका लागि कि पैसा दिनुपर्छ कि त एक रात हामीसँग बिताउनुपर्छ भन्ने प्रस्ताव राख्यो तर मैले अस्वीकार गरेँ ।’
क्यामेराअगाडि नाच्नु मात्रै
मोडल माया थामीको पीडा अरुको भन्दा बेग्लै छ । उनले नाचेका र अभिनय गरेका करिब १० वटा जति म्युजिक भिडियो र सर्ट मुभी सिर्फ क्यामेराका लागि मात्रै भए । ‘आफ्नै भाडा हालेर सुटिङ स्पटसम्म पुग्यो, दिनभर खाई–नखाई घामपानी नभनी सुटिङ ग¥यो तर त्यो भिडियो बाहिरै आउँदैनन् । पछि सोधीखोजी गर्दा क्यामरा बिग्रियो, क्यामरामेन बेपत्ता छ, फुटेज डिलिट भएछजस्ता प्रतिक्रिया आउने उनले बताइन् ।
नेपालमा बर्सेनि कति म्युजिक भिडियो बन्छन् ? त्यसको आधिकारिक तथ्यांक छैन तर युट्युबमा गन्ती गर्दै जाने हो भने वर्षमा कम्तीमा हजारभन्दा बढी भिडियो निर्माण भएका पाइन्छन् । न्यूनतम २० हजारदेखि तीन लाख रुपैयाँसम्मका भिडियो निर्माण भइरहेको छ ।
हेर्दा रंगीन देखिने अधिकांश भिडियोको पछाडि एउटा अँध्यारो कहानी लुकेको पाइन्छ । यथार्थ कुरा यही हो कि मोडलिङ क्षेत्रलाई मोजमस्ती र रमाइलोका लागि अपनाउनेको संख्या बढ्दै गइरहेको छ । भिडियो निर्माण र लगानी बढेसँगै यस क्षेत्रमा विकृति ह्वातै बढेको छ । अचेल व्यक्तिगत रुपमै युट्युब खोलेर भिडियो राख्न पाइन्छ । जसले गर्दा विभिन्न युट्युब च्यानलमार्फत भिडियो बनाउँदै अपलोड गर्ने होडबाजी नै चलेको छ । यसले गर्दा मोडललाई आफ्नो प्रतिभा देखाउने थलो त बनेको छ नै सँगैमा श्रम शोषण पनि बढ्न थालेको छ ।
प्रोफेसनल मोडलभन्दा नयाँ मोडललाई अभिनय गराउँदा पैसा पनि कम लाग्ने र उस्तै परेको खण्डमा उनीहरुसँगै पैसा झार्न सकिने भएकाले नयाँ युवतीलाई यस क्षेत्रमा ल्याउनेहरुको टोली नै यस क्षेत्रमा सामेल रहेको मोडल सरला थापाको भनाइ छ । उनी भन्छिन्, ‘नयाँ मोडलसँग पैसा झार्ने र उल्टै उनीहरुलाई शारीरिक शोषण गर्नेहरुको ठूलो सञ्जाल छ तर यसलाई तोड्ने व्यक्ति भने कोही देखिँदैनन् ।’
पछिल्लो समय यहाँ मोडलिङ र अभिनयलाई सजिलो पेसाका रूपमा लिइँदैछ भने मोडल या कलाकार हुनलाई योग्यता हुनुपर्छ भन्ने नै कहीँ देखिदैन । जसका कारण सानै उमेरमा पढाइ छाडेर मोडलिङ गर्छु भन्दै लाग्नेको ओहिरो रहेको मोडल थापा बताउँछिन् ।
यसैगरी पैसाको भरमा चर्चा र रमाइलो गर्ने लोभमा मोडलिङ क्षेत्रमा प्रवेश गर्ने पनि उत्तिकै छन् । क्षमता, अनुहार र हाउभाउ केही नभएका अव्यावसायिक मोडलले पैसाको खोलो बगाउने र पछि शोषित भएँ भन्नेको पनि उत्तिकै भिड रहेको १६/१७ वटा म्युजिक भिडियो बनाइसकेका एक युवा निर्देशकले बताए ।
‘नयाँ पुरुष पैसा खर्च गरेर यो क्षेत्रमा आउने र अपोजिट मोडलसँग रोमान्स गर्ने ध्येयमा हुन्छन्,’ नाम नबताउने शर्तमा उनले भने, ‘डिजिटल मिडियाको विकासले मोडलिङ सस्तो भयो ।’
काम पनि, पैसा पनि
हिजोआज विभिन्न मोडलिङ एजेन्सीले पनि नयाँ मोडललाई ठग्ने गरेका छन् । काठमाडौँको न्युरोडस्थित नेपाल मोडल एजेन्सीले अवसर र पैसा दुवै दिन नसकिने कुरा ग¥यो । त्यहाँका कर्मचारीले यो पंक्तिकार मोडल बन्ने रहर सुनेपछि फर्म भर्न पाँच सय रुपैयाँ चाहिने र पछि १५ हजारदेखि ३० हजारसम्म तिरेर फोटोसुट गर्नुपर्ने बताएका थिए । ‘अवसर पाउन त पैसा दिनुपर्छ, अवसर पनि पैसा पनि त कसरी दिनु ?’ एजेन्सीमा बसेकी अन्दाजी १६ वर्षे युवतीले भनिन् ।
नयाँ मोडल केही टिके, धेरै हराए
सन्ध्या (नाम परिवर्तन) अहिले डान्स बारमा नाच्ने काम गर्छिन् । उनी धादिङदेखि नायिका बन्ने सपना बोकेर काठमाडौँ छिरेकी हुन् । उनलाई भने डान्स बार पनि मोडलिङमा प्रवेश गर्ने द्वार नै जस्तो लाग्दोरहेछ । भन्छिन्, ‘डान्स बारमा पनि म मेरो रुचिकै काम गरिरहेकी छु, यहाँ फिल्म क्षेत्रका ‘ठूला’ मानिसहरुसँग भेट हुन्छ । उनीहरुले डान्स राम्रो लाग्यो भन्दै आफ्नो कन्ट्याक नम्बर भएको कार्ड दिने गरेका छन् । पैसा कमाएर घरपरिवारसमेत धान्नुपर्ने भएकाले उनीहरुलाई सम्पर्क गर्न भ्याएकी छैन ।’
‘गाउँघरतिर सबैलाई म हिरोइन भइसकेँ भनेकी छु, उनीहरुले पनि पत्याएका छन् तर अहिलेसम्म कुनै म्युजिक भिडियोसम्म खेल्न नपाउँदा खै त तेरो फिल्म भन्नेहरुलाई उत्तर दिन पाएकी छैन,’ उनले आफ्नो दुःख कहिन् । म्युजिक भिडियो नै मात्र भए पनि बनाउन उनले केही पैसा जम्मा गरिसकेकी छन् । ‘अब भने एउटा म्युजिक भिडियो नगरी भा’छैन,’ उनले सुनाइन् ।
त्यसो त नायिका तथा रंगकर्मी सिर्जना सुब्बा पनि घरपरिवारलाई थाहै नदिई मोडलिङमा आएकी हुन् । उनलाई पनि टिभीमा देखेजस्तै नायकसँग हरियो डाँडामाथि कम्मर मर्काउन मन थियो । घरमा आफ्नो रहर सुनाउँदा नमानेपछि उनले विदेश जान्छु भनेर काठमाडौँ आइन् । भिसाको तयारी गर्दैछु भन्ने सन्देश गाउँतिर पठाएर यता नाच्न, अभिनय गर्न कक्षाहरु लिन थालेकी सिर्जना राम्राराम्रा साथीभाइ भेट भएकाले राम्रा अवसर पाएको बताइन् । त्यस समयका साथी दयाहाङ लगायतको टोली नै अहिले मण्डला थियटरमा नाटक गर्छन् । सिर्जनाले ‘डाइङ क्यान्डल’ लगायतका फिल्ममा अभिनयसमेत गरिसकेकी छन् भने थिएटरका केही नाटकको निर्देशन पनि भ्याएकी छन् ।
थरिथरिका मोडल
केही दिनअघि निर्देशक सुदीप भण्डारीलाई एक युवतीले भिडियोको काम मिलाइदिन आग्रह गरिन् । उनले भिडियो खेलाइदिए । युवतीले आफू जे गर्न पनि तयार रहेकोसम्म भनिछन् । सुदीपले भने, ‘ती युवतीले ‘म जे भने पनि मान्न तयार छु, जहाँ बोलाए, त्यहीँ आउँछु तर मलाई भिडियो खेलाउनुपर्यो भनिन् तर मैले तिमी गलत व्यक्तिकहाँ आयौ भनेर फर्काइदिएँ ।’ त्यस्ता युवतीहरु घरदेखि नै ‘सर्टकट’ बाटो सोचेरै यस क्षेत्रमा जम्नका लागि आउने उनको अनुभव छ । ‘त्यसैले लाजै नमानी उनीहरु नै प्रस्ताव गर्छन्,’ सुदीपको अनुभव बोल्छ ।
त्यस्तै कतिपय मानिस विदेशमा थोरबहुत पैसा कमाएर आउँछन् । त्यसपछि उनीहरुलाई नामको खाँचो हुन्छ । टेलिभिजनमा अनुहार देखाउने रहर पलाउँछ । जसका कारण पनि निर्देशकहरु तनावमा छन् । क्यामेरामेन हुँदै म्युजिक भिडियो निर्देशन गर्न थालेका निमा शेर्पाले भने, ‘राम्री मोडल मिलाइदिएर आफूलाई पनि भिडियो खेलाउनुस्, पैसाको खोलो बगाउँछु भन्ने प्रस्ताव दिनकै आउँछन् । न अनुहार छ, न अभिनय, न त नृत्य नै छ र पनि उनीहरुलाई राम्रा मोडलसँग भिडियोमा खेल्नु छ ।’
उनी भन्छन्, ‘मोडलिङ र ग्ल्यामरको क्षेत्रमा ‘क्रेज’ त बढेको छै नै शोषण पनि उत्तिकै छ ।’

Leave A Comment