नेपालको पहिलो फिल्म समीक्षक को ?

आइतबार, २९ साउन २०७४, १० : २७ शुक्रवार , Kathmandu
नेपालको पहिलो फिल्म समीक्षक को ?

सुरज खड्का

नेपालमा २००६ साल मंसीर २७ गतेदेखि सर्वसाधारणले समेत हेर्न पाउने गरी काठमाडौँ सिनेमा घर (जुन पछि जनसेवा सिनेमा हलका रुपमा चिनियो) निर्माण गरिएको थियो । अहिले जस्तो विज्ञापन र समाचारका लागि सञ्चारमाध्यमको सहजता नभएका कारण त्यतिबेला चलचित्र र चलचित्र घरको बारेमा जानकारी दिई दर्शकलाई हलसम्म ल्याउनका लागि हल वरिपरि प्रदर्शनरत चलचित्रको बारेमा आकर्षक ढंगले कथा सुनाउने व्यक्तिहरु नियुक्त गरिएका हुन्थे ।

पछिल्लो समय नेपाली चलचित्रको समीक्षा लेख्नेहरु प्रशस्तै छन् तर अहिलेसम्म प्राप्त आधिकारिक प्रमाणअनुसार पहिलो पटक नेपाली चलचित्रको समीक्षा लेख्ने व्यक्ति परराष्ट्रविद् तथा पूर्वमन्त्री रमेशनाथ पाण्डे हुन् । पाण्डेले  तत्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको चलचित्र ‘मनको बाँध’को समीक्षा लेखेका थिए । उनले ‘मनको बाँध फुटेर ६ लाख डुब्यो’ शीर्षकमा चलचित्रको समीक्षा गरेका थिए ।

चलचित्र हेर्न थालेपछि जनताको चेतनास्तर वृद्धि हुन्छ र आफ्नो मनपरी शासन सत्ताको विरोधमा जान्छन् भन्ने त्रासले २००७ सालताका सरकारले चलचित्र भवन निर्माणमा अघोषित प्रतिबन्ध लगाएको थियो । त्यसैले रेडियो नेपाल स्थापना भएको केही वर्षसम्म चलचित्रका विज्ञापन प्रसारण गर्न निषेध गरिएको थियो ।

२०११ सालदेखि काठमाडौँ उपत्यकामा चलचित्र घर निर्माण हुने क्रमले तिव्रता पाएको हो । तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले त्यतिबेला एकै पटक १३ वटा चलचित्र घर निर्माण गर्ने अनुमति दिएका थिए । त्यसै क्रममा २०११ असोज २६ गते काठमाडौँ जमलमा श्री हल स्थापना गरियो । २०११ सालमै विश्वज्योति हल पनि स्थापना भएको हो ।
अभिनेता भुवन केसी चलचित्रमा आउनुपूर्व गायकका रुपमा चर्चामा थिए । उनले शम्भुजित बास्कोटाको संगीतमा थुप्रै गीत गाएका छन् । केसीले रेडियो नेपालमा पहिलो पटक रेकर्ड गराएको गीत ‘जागेँ सारा रात’ हो । त्यसो त केसीले गाएको ‘मायालु तिमी टाढा’ बोलको गीतको भिडियोलाई नेपालको पहिलो म्युजिक भिडियो मानिन्छ । २०४२ सालमा निर्माण भएको सो म्युजिक भिडियोलाई शम्भुजित बास्कोटाले निर्देशन गरेका थिए ।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’बाट चर्चित अनि सम्भावित स्टारको सूचीमा परेका प्रदीप खड्काले आफैँले निर्माण र अभिनय गरेको पहिलो चलचित्र ‘स्केप’ले भने कुनै चर्चा र सफलता पाउन सकेन । पहिलो चलचित्र नचलेपछि अस्ट्रेलिया जाने तयारीमा रहेका उनी २०७२ सालको भूकम्पका कारण रोकिएका थिए । त्यसै समयमा उनलाई निर्माता सन्तोष सेनले ‘प्रेमगीत’मा अभिनय गर्ने प्रस्ताव गरेका थिए । ‘प्रेमगीत’बाट चर्चित र सफल बनेपछि उनले अस्ट्रेलिया जाने मोहलाई त्यागेका हुन् ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक दीपक श्रेष्ठलाई हिरोइनको न्वारान गरिदिने ‘पण्डित बाजे’को रुपमा चिनिन्छ । श्रेष्ठले यमुना उप्रेतीलाई युना, जानकी केसीलाई जिया, अनु ढकाललाई अनुष्का, शारदा पोखरेललाई सिमरन नाम राखिदिएका हुन् ।

Leave A Comment