जसले नेपाललाई ४ स्वर्ण दिलाए

आइतबार, २९ साउन २०७४, १० : ३४ शुक्रवार , Kathmandu
जसले नेपाललाई ४ स्वर्ण दिलाए

रोहित राई
कुनै पनि खेलाडीको सपना आफ्नो देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर मेडल जित्ने र राष्ट्रिय झण्डा फहराउने हुन्छ । सबै खेलाडीको यस्तो सपना पूरा हुँदैन । छानिएका थोरै खेलाडीले मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने मौका पाउँछन् । नेपालका अधिकांश खेलाडी सहभागितामा मात्र सीमित हुन्छन् । निकै कमले मात्र सफलताको स्वाद चाखेका छन् ।
धरान १०, राँगाचोकका ३० वर्षीय मिलनचन्द्र राई भने यस्ता अपवाद खेलाडी हुन्, जसले पहिलो अन्तर्राष्ट्रिय सहभागिता (थाइल्यान्ड)मा सफलता मात्र पाएनन्, एउटै प्रतियोगितामा चार वटा स्वर्ण पदक जितेर राष्ट्रिय झण्डा फहराएर नेपालको गौरव बढाए । उनी नेचुरल बडी बिल्डिङ खेलाडी हुन् । एउटै प्रतियोगितामा चार वटा क्याटगोरीमा स्वर्ण जित्ने उनी नेपालको पहिलो भाग्यमानी खेलाडी पनि बनेका छन् । उनले जितेको प्रतियोगिता गएको जुन २४ र २५ गते भने थाइल्यान्डको फुकेटमा आइसिएन वल्र्ड एमेच्योर नेचुरल टाइटल २०१७ आयोजना भएको थियो । नेचुरल बडी बिल्डिङमा सहभागी हुन पहिला ‘डोपिङ’ परीक्षण पार गर्नुपर्छ । कसैले शक्तिवद्र्धक औषधि प्रयोग भएको भए प्रतियोगिताका लागि अयोग्य ठहरिन्छ । शरीरलाई प्राकृतिक रुपमा नै मिलेको तथा हृष्टपुष्ट हुनुपर्छ, मोडलको जस्तै ।
मिलन चन्द्रले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी मिलन डोपिङ टेस्टमा मात्र सफल भएनन्, आफू सहभागी चार वटै क्याटोगोरीमा प्रथम हुँदै चार वटा स्वर्ण पनि जिते । ‘मौका पाउँदा भाग लिन्छु भन्ने थियो, पहिलो पटक यति धेरै गोल्ड मेडल जिते, धेरै नै खुसी छु,’ गृहनगर धरानमा शुक्रबारसँगको भेटमा उनले भने, ‘त्यसअघि मिस्टर कोसी टाइटल जितेको थिए, त्यसपछि यस फिल्डमा केही गर्न सक्छु भन्ने भावना भने थियो ।’ थाइल्यान्डमा सफलता चाख्नुअघि गत चैत ३१ गते धरानमा भएको चौथो मिस्टर कोसी शारीरिक सुगठन प्रतियोगितामा पनि उनी च्याम्पियन भएका थिए ।
पहिलो पटक सहभागी भएकाले उनले मेन्स नोभिस फिजिक र मेन्स ओपन टल फिजिक क्याटोगोरीमा भिडेका थिए । दुवै क्याटगोरीमा उनले पहिलो हुँदै स्वर्ण जिते । ओपनमा पहिलो भएको हुनाले उनी मेन्स ओभरअल फिजिक क्याटगोरीमा पनि भिड्ने मौका पाए । त्यसमा पनि पहिलो हुँदै स्वर्ण पदक हात पारेका मिलनले प्रोफेसनल मेन्स फिजिकमा पनि भिड्ने मौका पाए । ‘ओभरअल भनेको प्रो. क्वालिफाई क्याटगोरी पनि हो, त्यसमा जितेपछि मात्र प्रो. मेन्स फिजिकमा भिड्न पाइन्छ,’ उनी भन्छन्, ‘प्रो.मा पनि पहिलो भएर गोल्ड मेडल जितेँ र प्रो.कार्ड पनि पाएँ ।’ उनले प्रो.मेन्स फिजिकमा साविक विजेतालाई नै हराएका थिए । प्रो.क्याटोगोरीमा पहिलो हुँदा उनले पाँच सय डलर पनि जिते ।
प्रो.कार्ड पाउनु नेचुरल बडी बिल्डिङ खेलाडीका लागि ठूलो उपलब्धि हो । यो कार्ड पाएका खेलाडीले सिधै प्रो.क्याटोगोरीमा भिड्ने अवसर पाउँछ । जसमा नगद पुरस्कार राखिएको हुन्छ । अब उनी आइसिएन फेडरेसनको जुनसुकै प्रतियोगितामा पनि प्रो.क्याटगोरीमा सिधै भिड्न सक्छन् । प्रो.कार्ड पाएका उनी अक्टोबरमा हुन लागेको दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छन् । यसका लागि उनी धरान १८, बुद्धचोकस्थित एनिटाइम फिटनेस धरानमा नियमित धाउँछन् । अस्ट्रेलियामा अक्टोबर १३ देखि १५ सम्म प्रो.च्याम्पियनसिप हुँदैछ भने इन्डोनेसियमा अक्टोबर २८–२९ मा हुँदैछ । आयोजकहरुले आफ्नो प्रचार सामग्रीमा मिलनको समेत तस्बिर राखेर प्रचार गरिरहेको छ । ‘म अहिले यी दुवै च्याम्पियनसिपको तयारीमा छु, त्यहाँ पनि जित्ने लक्ष्य राखेको छुँ,’ उनले भने ।

नेचुरल बडी बिल्डिङमा उनको यात्रा
मिलनले करिब ५ वर्षअघिदेखि जिम गर्न थालेका हुन् । खासमा उनी ज्यान घटाउन जिम हलमा पाइला टेकेका थिए । त्यसबेला उनको तौल ९८ केजी थियो । तौल घट्दै गएपछि उनले बीचमा दुई वर्ष जिम हल धाउन छोडे । घरव्यवहारमा फँसेका उनी सन् २०१५ देखि पुनः जिम हल गएर ज्यान बनाउनतिर लागे । यसपालि भने उनी बडी बिल्डिङमा भाग लिने सोचका साथ आएका थिए । ‘सन् २०१५ देखि  कम्पिटिसनमा भाग लिने सोचेर नै नियमित रुपमा ज्यान बनाउन थाले, अस्ति चैतमा पहिलो पटक मिस्टर कोसीमा भाग लिएँ र जितेँ पनि,’ उनले विगत सम्झिए ।
उनी मिस्टर कोसी च्याम्पियन भएको अस्ट्रेलियामा रहेका सन्तोष श्रेष्ठले थाहा पाए । श्रेष्ठ आइसिएन नेपालका अध्यक्ष पनि हुन् । उनकै सल्लाह र सुझावअनुसार मिलनचन्द्रले नेचुरल बडी बिल्डिङबारे जानकारी लिएर आफूलाई तयार पनि गरे । श्रेष्ठकै पहलमा मिलनचन्द्रसहित ३ जना नेपाली खेलाडी थाइल्याण्डमा भएको प्रतियोगितामा भाग लिएका थिए । ‘सन्तोष श्रेष्ठ नै हाम्रो टिम मेनेजर र कोच पनि हुनुभयो, उहाँकै कारणले यो सफलता पाएको हुँ,’ मिलनचन्द्रले भने ।
प्रतियोगितामा मिलनचन्द्रबाहेक पनि विनोद महर्जनले बडी बिल्डिङ क्याटगरीअन्र्तगत मेन्स ओपन अन्डर ७५ केजीमा स्वर्ण र मेन्स ओपन टल बडी बिल्डिङमा कास्य जितेका थिए । यस्तै दिपु मुनिरकारले पुरुष फिटनेसतर्फ मेन्स नोभिस फिटनेस मोडल र मेन्स ओपन फिटनेस मोडलमा २ वटा कास्य जिते भने राजु महर्जनले स्ट्रिट मोडल क्याटोगोरीमा मेन्स फिजिकतर्फ टप ५ मा परेका थिए । मिलनचन्द्रबाहेक अरु अस्ट्रेलियाबाट आएका थिए ।
गृहनगरमा सम्मान
अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै पटक चार स्वर्ण जितेर नेपालको गौरव बढाएको भन्दै एनिटाइम फिटनेस धरानले खेलाडी मिलनचन्द्र राईलाई सम्मान गरेको छ । शनिबार (साउन २१) धरान १८, बुद्धचोकस्थित एनिटाइमले स्थापना भएको छ महिना पूरा भएको अवसरमा उनलाई सम्मान गरेको हो । गृहनगरमा सम्मान पाउँदा उनी निकै हर्षित भएका थिए । ‘आफ्नै ठाउँमा सम्मान पाए, साथीभाइसँग खुसी साट्ने मौका पाउँदा धेरै नै खुसी छु,’ राईले भने ।
एनिटाइमका उत्तम खत्रीले नेपालका लागि एकैपटक चार वटा गोल्ड मेडल जित्ने पहिलो खेलाडी भएकाले मिलन र अन्य खेलाडीलाई पनि प्रोत्साहन दिलाउन सम्मान गरिएको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा एकैपटक चार वटा गोल्ड मेडल अहिलेसम्म कसैले जितेको थिएन, धरानका मिलनले नेपालकै गौरव बढाएकाले सम्मान गरिएको हो,’ खत्रीले भने, ‘मिलनलाई अघि बढ्न थप हौसला मिलोस् र अरुलाई पनि बडी बिल्डिङ खेलमा लाग्न प्रेरणा मिलोस् ।’

 

Leave A Comment