कट्टरता क्रिकेटमा पनि

सोमबार, ३० साउन २०७४, ०२ : ५३ शुक्रवार
कट्टरता क्रिकेटमा पनि

जब भारत र पाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने चर्चा सुरु हुन थाल्छ, दुई कट्टर छिमेकी देश बीचको तनाव थप बढ्ने गरेको छ । अहिले युवा विश्व कप क्रिकेटलाई लिएर फेरि एउटा तनाब देखिएको छ । 
पाकिस्तानी क्रिकेट अधिकारीले दक्षिण एसियाली राष्ट्रमा सुरक्षाको समस्यालाई देखाउँदै यु–१९ क्रिकेट प्रतियोगिता तटस्थ स्थानमा आयोजना गर्न माग गरेको छ । यसले पुनः भारत र पाकिस्तान बीचको कट्टरतालाई देखाउनेछ ।  
भारतले नोभेम्बरमा यु–१९ विश्व कप क्रिकेटको आयोजना गर्दैछ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले यसै हप्ता हुने एसियन क्रिकेट काउन्सिलको बैठकमा प्रतियोगिता अन्य स्थानमा सार्न जोड दिने बताएको छ । 
प्रतियोगिता अन्य स्थानमा सार्नका लागि अपिल गर्ने पिसिबीको कार्यकारी समिति अध्यक्ष नाजम सेथीले बताए । उनले भने, ‘शनिबार कोलम्बोमा हुने एसिसीको बैठकमा हामी यो बारेमा कुरा उठाउँछौँ । मलाई लाग्छ, प्रतियोगिता भारत र पाकिस्तानबाहेक अन्य जुनसुकै सुरक्षित स्थानमा आयोजना गर्न सकिन्छ ।’
राजनीतिक तनावका कारण सन् २००७ देखि छिमेकी कट्टर प्रतिद्वन्द्वि मुलुक पाकिस्तान र भारतले औपचारिक सिरिज खेलेको छैनन् । तर सन् २०१२–१३ मा पाकिस्तानले केही सीमित ओभरको सिरिजका लागि भारत भ्रमण गरेको थियो । त्यसयता दुवै देशले औपचारिक खेल खेलेका छैनन् । सुरक्षा कारणलाई देखाउँदै सन् २०१३ महिला विश्वकप अन्य स्थानमा आयोजनाका लागि दबाब दिइएको थियो । 
प्रतियोगिताको पाकिस्तानको सहभागिताका विरुद्धमा प्रदर्शन भएपछि सोही वर्ष पाकिस्तानी खेलाडीलाई भारतको हक्की लिगबाट हटाइएको थियो । सन् २०१६ को जुनियर विश्व कपमा भिसाको समस्या कारण आफ्नो टोलीको सहभागितामा समस्या आएको बताएको छ । यसै वर्ष भारतमा भएको स्क्वास प्रतियोगितामा पनि भिसाका कारण पाकिस्तान खेलाडी भाग लिनबाट वञ्चित भएका थिए । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडी खेल्नबाट वञ्चित भएको कुरामा भारतविरुद्ध कानुनी कारबाहीका लागि अपिल गर्नेसमेत बताएको छ । 
पाकिस्तान र भारतबीच २०१४ देखि २०२३ सम्म सिनियर टोलीको मुख्य ६ सिरिज खेल्ने योजना थियो । जुन पूरा हुन सकेको छैन । त्यसको क्षतिपूर्तिका बारेमा पनि पाकिस्तानले अपिल गरिरहेको छ । सन् २०१५ मा पहिलो सिरिज स्थगित भएको थियो । दोस्रो सिरिज यसै वर्षको नोभेम्बर–डिसेम्बरमा छ । पाकिस्तान क्रिकेट बोर्डले यसै साता १० लाख डलर कानुनी रुपमा क्षतिपूर्ति दाबी गरेको थियो । 
 

Leave A Comment