कहाँ हराए ५ लाख महिला ?

सोमबार, ०५ भदौ २०७४, ०२ : ०८ रुद्र खड्का , Kathmandu
कहाँ हराए ५ लाख महिला ? मोडलिङमा आधारित तस्विर । मोडल : जोया मल्ल , तस्विर: रुकेश श्रेष्ठ

वैदेशिक रोजगारीको सबैभन्दा खतरनाक पाटो विदेशिएका महिला हराउनु हो । तिनलाई खोज्न न त सरकारले चासो देखाएको छ न त परिवारको हैसियत नै छ । वर्षौदेखि हराइरहेका महिलालाई उद्धार गर्नुको साटो सबैले भन्ने गर्छन्– विचरा वैदेशिक रोजगारीमा नगएको भए हुन्थ्यो ! महिला कसरी हराउँछन्, हाम्रा स्टार पत्रकार रुद्र खड्काको रिपोर्ट :

आर्थिक वर्ष २०६३/०६४ देखि गत फागुन महिनासम्म ७ लाख ६९ हजार ५ सय ४२ महिलाले देशभरिका विभिन्न जिल्लाबाट राहदानी लिए पनि सो अवधिमा १ लाख ६९ हजार ८ सय ५९ जना महिला मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ । बाँकी महिलाहरु कहाँ हराए त ?
–रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी चौधरी (नाम परिवर्तन) सम्पर्कविहीन भएको तीन वर्ष भयो । भारतको नयाँ दिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले खोजी गर्नुपर्ने सबै निकायमा निवेदन दिइसकेका छन् तर अहिलेसम्म उनको पत्तो छैन ।
–घरको आर्थिक अवस्था सुधार गर्न भन्दै वैदेशिक रोजगारीमा गएकी  दोलखा, जेठलाकी रश्मि तामाङ (नाम परिवर्तन) केही दिनअघि रित्तो हात घर फर्कन पाउँदा पनि निकै खुसी थिइन् । दलालको लहलहैमा लागेर टर्की गएकी ३२ वर्षीया रश्मिको अनुभवमा वैदेशिक रोजगारी महिलाका लागि नेपालबाट सोचेजस्तो सरल र सहज छैन ।
हाउस मेडको काम गर्न टर्की गएकी उनलाई त्यहाँ एकातिर घरको काम भ्याउनु त छँदैथियो, उनको मालिक र उसका पाहुनको यौन प्यास मेटाउने काम पनि थपिएको थियो । हाउस मेडको काम थालेको एक सातामै दोस्रो काम थपिएपछि ४० दिनभन्दा बढी रश्मि टर्कीमा टिक्न सकिनन् । पछि रोजगारीकै क्रममा साउदी अरेबियामा रहेका दाजुको सहयोगमा उनी घर फर्कन सकिन् । ‘दाजुले सहयोग नगर्नु भएको भए म सायदै नेपाल फर्कन सक्थेँ,’ उनले घर फर्कन सक्नुको सफलता सुनाइन् ।
वैदेशिक रोजगारीका लागि टर्की पुगेकी रश्मिका दाजु साउदी अरेबियामा रहेका कारण र उनीसँग सम्पर्क हुँदा घर फर्कन सके पनि बर्दियाकी जानकी जस्ता लाखौं महिला भने यतिखेर कहाँ र कुन अवस्थामा छन् भन्नेबारे न परिवार न सरकारी संयन्त्रलाई नै थाहा छ । लामो समयदेखि सम्पर्कविहीन त्यस्ता महिलाप्रति सबैको एउटै सहानुभूति सुन्निछ– विचरा विदेश नगएको हुन्थ्यो !
कुवेत जान भनेर २०७० चैत २० गते घर छाडेकी जानकीले एकपटक कुवेतबाट फोन गरेपछि बाहेक त्यसयता कुनै सम्पर्क नगरेको पीडित पक्षको भनाइ छ । ‘लामो समयसम्म सम्पर्क नभएपछि खोजीका लागि जिल्ला प्रहरी तथा विभिन्न उद्धार गर्ने संस्थामा निवेदन दिएकादियै छौँ,’ पीडितकी आमा भन्छिन्, ‘यतिखेर सुरुमा छोरीले दिएको नम्बरमा सम्पर्क गर्दा फोन लाग्दैन । पठाउने व्यक्तिको खोजी गर्दा फेला पर्दैनन् ।’
कुवेत जानुअघि छोरीले साथीमार्फत चिनेको व्यक्तिले विदेश पठाउन थालेको खबर गरे पनि त्यो व्यक्ति को थियो भन्ने पूर्ण जानकारी नदिएका कारण यतिखेर खोजीमा समस्या भइरहेको जानकीकी आमा बताउँछिन् । कुवेत जानुअघि जानकीले परिवारलाई राहदानी बनाउँदाको र हवाई टिकटसमेत खर्च दलालले बेहोर्ने जानकारी दिएकी थिइन् । ‘२४ वर्ष पुगेकी छोरीले पटकपटक विदेश जाने ताकेता गरेपछि रोक्न सकेनौँ,’ जानकीकी आमाले भनिन्, ‘कमाउन गएकी छोरी सम्पर्कविहीन होली भनेर अनुमान गर्न सकेको भए अहिले यस्तो (सधैँ तनाव) अवस्था आउँदैनथ्यो ।’
कुवेत पुगेको एक सातापछि छोरीले त्यहाँ घरेलु काममा रहेको र गर्ने काम निकै गाह्रो रहेको जानकारी जानकीले दिएकी थिइन् । उनकी आमाले त्यतिखेर जानकीले रुँदै कुवेतको घरेलु काम कष्टकर रहेको जानकारी गराए पनि तत्काल उद्धार गर्न नसक्नु आफ्नो कमजोरी रहेको बताइन् । ‘सुरुमा छोरीको कुरा सुन्दा पहिलोपटक घर छाडेको पीडा होला भन्ने लागेको थियो,’ आमाले भनिन्, ‘एकातिर छोरीको उद्धारका लागि कहाँ सम्पर्क गर्ने भन्ने जानकारी नहुँदा र अर्कोतिर छोरीको पीडालाई गम्भीर रूपले बुझ्न नसकेपछि छोरी हराउने अवस्था आयो ।’
वैदेशिक रोजगारीमा गएर कमाइ गर्ने र घरपरिवारलाई सुखी राख्ने मनसायका साथ विदेशिएका महिला सम्पर्कविहीन हुने घटना जानकीको एक्लो भने होइन । भर्भराउँदो उमेरकी युवती जानकी सम्पर्कविहीन हुँदाको पीडाजस्तै नेपालका लाखौँ महिला सम्पर्कविहीन हुँदा त्यसको मार पीडित परिवार, समाज र सिंगो देशले नै बेहोरिरहेको छ । वैदेशिक रोजगारीका लागि बर्सेनि महिला सम्पर्कविहीन हुने क्रम जारी रहे पनि सरकारी निकायले भने त्यस्तो समस्याको समाधानको भेउ पाउन सकेको छैन ।
आर्थिक वर्ष २०६३/०६४ देखि गत फागुन महिनासम्म ७ लाख ६९ हजार ५ सय ४२ महिलाले देशभरिका विभिन्न जिल्लाबाट राहदानी लिए पनि सोही अवधिमा १ लाख ६९ हजार ८ सय ५९ जना महिला मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांक छ । वैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएका महिलामध्ये विदेशमा सम्पर्कविहीन भएको धेरैको अनुमान छ । तर, सरकारी निकायले राहदानी लिएका महिलाहरू कहाँ पुगे भन्नेबारे अझैसम्म गहिरो अध्ययन र खोजी नगर्दा धेरैले ठूलो संख्याका महिला खाडी मुलुक र मलेसियाजस्ता देशमा बेपत्ता भएको अनुमान लगाउने गरेका छन् ।
राहदानी लिएका महिला तर श्रम स्वीकृति नलिएकामध्ये अन्य करिब एक लाख युरोप, अमेरिकाजस्ता देशमा अध्ययन र आफन्तसँग गएको तथा केही राहदानी लिएर पनि स्वदेशकै रहेको अनुमान गरिए पनि बाँकी ५ लाख महिलाको अवस्थाबारे  भने अन्योल भइरहेको हो । महिलाले राहदानी लिनुको उद्देश्य वैदेशिक रोजगारीमा जानु नै मुख्य कारण मानिन्छ ।
सरकारी कर्मचारी महिला बेचबिखन बढी हुने तथ्यांक रहेका नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरजस्ता जिल्लाका महिलाले राहदानी बढी लिएको पाइएकाले ठूलो संख्याका महिला बेचबिखनमा परेको आंशका गरिँदै आएको बताउँछन् । तर, कमजोर सरकारी संयन्त्र र सूचना अभावले गर्दा सम्पर्कविहीन भएका महिलाहरूको अवस्था अन्योलपूर्ण रहँदै आएको छ । सरकारी निकाय यति अवस्थित छ कि हालसम्म श्रम स्वीकृति लिएर कति नागरिक देशबाहिर गए भन्ने विवरण मात्र राख्छ । श्रम स्वीकृति नलिएर जाने तथा विदेशबाट फर्कनेको विवरण कतै भेट्न सकिँदैन । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डे लामो समयदेखि वैदेशिक रोजगारीबाट फर्कनेको विवरण संकलन गर्न खोजिए पनि प्रभावकारी संयन्त्रको अभावमा सम्भव नभएको बताउँछन् । ‘प्रभावकारी संयन्त्र बनाउन नसकिएकै कारण विदेशमा अहिलेसम्म विदेश जानेको मात्र विवरण राख्ने तर फर्कनेको विवरण राख्न सकिएको छैन,’ पाण्डेले भने ।
पछिल्लो समयमा दलालले महिलालाई भारत, श्रीलंका हुँदै खाडी र मध्यपूर्वका मुलुकमा पुर्याउने धन्दा फस्टाइरहेको कर्मचारीको भनाइ छ । ‘अवैध ढंगबाट बाहिरिएका महिलाको रेकर्ड सरकारी निकायमा हुँदैन,’ वैदेशिक रोजगार विभागका कर्मचारीले भने, ‘राहदानी लिएकामध्ये धेरै बेचबिखनमा परेका हुन सक्छन् । त्यसैले उनीहरूको अवस्था खोजी हुनुपर्छ ।’
हालै खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतको भ्रमण गरेको व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य विनोद श्रेष्ठ वैदेशिक रोजगारीमा पुगेका महिलाको अवस्था निकै दर्दनाक र दयनीय रहेको बताउँछन् । ‘घरेलु कामदारको रूपमा जानेलाई खसी, बोकाझै बिक्री गर्ने गरिएको छ,’ उनले भने ।
विभागको तथ्यांकअनुसार हालसम्म सबभन्दा बढी महिला श्रम स्वीकृति लिएर कुवेत र संयुक्त अरब इमिरेट्समा क्रमशः ३८ हजार ७ सय ८३ र ३८ हजार ४ सय ११ गएका छन् । सरकारी अधिकारीहरू अवैध महिलाको ठूलो संख्या पनि कुवेत, युएई, बहराइन, लेबनानजस्ता देशमा रहेको बताउँछन् ।
महिला तस्करलाई परराष्ट्रको साथः श्रम समिति
ठूलो संख्यामा महिला बेचबिखन भइरहेका तथ्यांक सार्वजनिक भइरहेका बेला व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महिला तस्करीमा परराष्ट्र मन्त्रालयले नै सघाइरहेको आरोप लगाएको छ ।
रोजगारीका लागि खाडी मुलुक पुगेका महिला र अन्य कामदारको अवस्था बुझ्न स्थलगत अध्ययन गरेको समितिको टोलीले महिला तस्करीमा सरकारकै अर्को जिम्मेवार निकायले सघाइरहेको आरोप लगाएको हो ।
‘मानव तस्करको सूचना लुकाएर र तस्करलाई कारबाहीका लागि गृह मन्त्रालयमा अनुरोध नगरेकाले परराष्ट्र मन्त्रालयले मानव तस्करलाई सघाएको देखिन्छ,’ साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्सको स्थलगत भ्रमण गरेका समितिका सदस्य श्रेष्ठले भने । समितिका आठ सदस्यले गत चैत ५ देखि १२ गतेसम्म खाडीका चार मुलुकको स्थलगत अध्ययन गरेका थिए ।
उक्त भ्रमणपछि समितिले दिएको निर्देशनअनुसार चैत २९ गतेदेखि खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा पठाउन रोक लगाइएको छ । स्वदेशबाट घरेलु कामदारको रूपमा जान नपाएपछि यतिखेर महिलाको ठूलो समूह भारतको बाटो प्रयोग गर्दै खाडी गइरहेको सरकारी कर्मचारी बताउँछन् । समितिले रोजगारीका लागि खाडी पुगेका महिलाको खुलेआम खरिद–बिक्री भइरहेको समेत जनाएको छ ।
समितिकोे प्रतिवेदनमा मानव तस्करहरूले घरेलु कामदार आपूर्ति  गर्ने कार्यालय खोलेर खसी बोकाझैं बिक्री गरिरहेको उल्लेख छ ।  घरेलु कामदारको रूपमा जानेबाट मालिकको कम्तीमा चार लाख रुपैयाँ आम्दानी हुने ग्यारेन्टी हुने भएकाले खाडीमा महिलाको तस्करी भइरहेको पनि उल्लेख छ । भ्रमण टोलीका सदस्य श्रेष्ठले महिलालाई गाडीको डिकीमा राखेर तस्करले ओसारपसार पार्ने गरेको खुलाए । खाडी मुलुकमा पुर्याइएका कामदारमध्ये ६० प्रतिशत स्वदेशी विमानस्थलबाटै कर्मचारीको सेटिङमा लिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अवैध धन्दामा विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र बिचौलियाको संलग्नता रहेको बताइएको छ । खाडी पुगेका ४० प्रतिशत भने भारत, श्रीलंका र चीन तथा अफ्रिकी मुलुक हुँदै लिइएको निष्कर्ष छ ।

'महिलाको अवस्था दयनीय छ'
ललितादेवी रेग्मी
सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति

वैदेशिक रोजगारीमा रहेका कामदार त्यसमा पनि महिलाको अवस्था अध्ययन गर्न भनेर अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णय अनुसार केही समय अघि खाडीका चार राष्ट्रको स्थलगत भ्रमण गरेका हौं ।
नेपालबाट सोचेभन्दा खाडीमा कामदारको अवस्था निकै दयनीय र जटिल छ । कामदारले ती मुलुकका सुरक्षाकर्मी र साहुको पीडा खपिनसक्नु छ । घरेलु कामदारको रूपमा रहेका महिलाहरूलाई त आफू कुन र ठाउँ र कसको घरमा छौं भन्ने जानकारीसमेत छैन । साहुको अत्याचार शिकार भएका महिलालाई दूतावासमा बस्ने ठाउँसमेत छैन । त्यसैले महिलाहरू अत्यन्तै तनावमा छन् । साहुलाई चित्त नबुझे र भनेको नमाने महिला कामदार जुनसुकै बेला निकालिन्छन् ।
श्रम स्वीकृति लिएर गएका भन्दा अवैध ढंगबाट विदेश गएका महिलाको अवस्था जटिल छ । त्यसैले वैदेशिक रोजगारीमा महिलालाई पठाउने हो भने गर्नुपर्ने काममा दक्ष बनाएर र पर्याप्त ज्ञान दिएर पठाउनु पर्छ भन्ने हाम्रो ठहर छ । सीप र ज्ञानको कमीले महिलालाई शोषणमा पु¥याइरहेको छ । केही स्थानमा पुरुषसमेत मालिक महिलाबाट यौन शोषणमा परेको भेटिए ।

'महिला बेचबिखनमा ठूलो गिरोह सक्रिय छ'
रघुराज काफ्ले
कार्यकारी निर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड

राहदानी लिएका तर श्रम स्वीकृति नलिएको देखिएका महिला बेचिएका हुन सक्छन् । ती महिला कसरी बेचिए भन्ने बारेमा त गहिरो अध्ययन गर्नुपर्ला । तर, सरसर्ती हेर्दा अवैध बाटोबाट रोजगारीमा जाने महिला बेचिएका उदाहरण धेरै छन् । महिला बेचबिखनमा ठूलो गिरोह सक्रिय छ । बेचबिखनमा सरकारी मान्छे, मेनपावर, कन्सल्टेन्सीको समेत संलग्नता रहेको उदाहरण पाइन्छ । पछिल्लो समयमा घरेलु कामदारको रूपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिए पनि भिजिट भिसामा जाने क्रम निकै बढेको पाइन्छ । भिजिट भिसाले समस्या निम्त्याइरहेको पाइन्छ । वैदेशिक रोजगारी व्यवस्थित र मर्यादित हुन नसकेका कारण समस्यामा परेकालाई कसरी सुरक्षित बनाउने भन्नेबारे प्रभावकारी पहल हुन सकेको छैन । समस्यामा परेकालाई उद्धार गर्न हामीले सक्दो पहल गरे पनि त्यो पर्याप्त हुन सकेका छैन ।

‘साहुको जबरजस्ती सहन नसकेपछि घर फर्केँ’
परिवर्तित नाम शर्मिला गुरुङ, ३१
चौवास–५ काभ्रे

दुई सन्तान भइसकेपछि आर्थिक जोहो गर्ने कुनै माध्यम नहुँदा वैदेशिक रोजगारीका लागि साइप्रस गएकी हुँ । राजधानीको एलाइन्स ह्युमन रिसोर्सेज म्यानपावरले चार लाख ५० हजार रुपैयाँ लिएर घरेलु कामदारको रूपमा साइप्रस पठाएको हो तर नगदी रसिद भने ८० हजार रुपैयाँको मात्र दिएको छ ।
साढे चार लाख रुपैयाँ बुझाए पनि ८० हजारको नगदी रसिद दिएकोमा खासै दुःख लागेको थिएन किनभने साइप्रसमा राम्रो कमाइ हुने आशा थियो । तर, त्यहाँ गएपछि भने ठीक उल्टो भयो । म्यानपावरले पठाएको घरमा एक वर्षभन्दा बढी बस्न सकिनँ किनभने घर मालिकले आफैँसँग सुताउन खोज्थ्यो ।
मैले नमानेपछि त्यो घर छाडेर नौ महिनापछि अर्काे घरमा काम गर्न गएँ । त्यहाँ पनि पुनः सोही खाले समस्या आइपर्यो । पत्नीको निधन भएको घर मालिकले सँगै सुताउन खोजेपछि म बाध्य भएर भाग्नु प¥यो र सहयोगका लागि त्यहाँको अध्यागमन कार्यालयमा गएँ । चार दिन जेलमा बसेपछि नेपाल फर्किएँ ।
चार वर्षका लागि भनेर साइप्रस गए पनि दुई वर्षमै फर्कनु पर्दा मेरो लगानी  उठेको छैन । साइप्रसबाटै पटकपटक फोन गरेर म्यानपावर सञ्चालक सुरज श्रेष्ठलाई सहयोग गर्न आग्रह गरे पनि उल्टै चुप लागेर बस्न भन्थ्यो । म्यानपावरलाई गलत ठाउँमा किन पठाएको भन्दा उल्टै जे गर्ने हो गर्नू भन्दैछ । विभागमा उजुरी दिँदा पनि कुरा सुन्ने कोही छैनन् । यो देशमा कमजोर र पहुँच नहुनेले न्याय पाउने अवस्था रहेनछ ।
हुन त साइप्रस पुगेका अधिकांश महिला यौन शोषणमा परेका हुन्छन् भन्ने मलाई लाग्छ । मैले पनि साहुले जे भन्छ त्यही मानेको भए केही समस्या हुँदैन्थ्यो । तर, मलाई गलत काम गरेर पैसा कमाउन मन लागेन । त्यसैले अबको मेरा चासो साइप्रस जाँदा लागेको रकम फिर्ता पाउनु पर्यो भन्ने मात्रै हो । गुमेको रकम फिर्ता पाउन मलाई सहयोग चाहिएको छ ।

 

Leave A Comment