बैंकहरु धमाधम अर्बपति क्लबमा

सोमबार, ०५ भदौ २०७४, ०२ : ३८ दिलीप पौडेल , Kathmandu
बैंकहरु धमाधम अर्बपति क्लबमा

मुलुकको आर्थिक विकास अपेक्षित नभए पनि नेपालमा बैंकिङ क्षेत्र फस्टाएको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म बैकिङ पहुँच वृद्धि भएसँगै वाणिज्य बैंकहरुको नाफा पनि वृद्धि भएको छ ।
अर्ब बढी नाफा कमाएर अर्बपति क्लबमा उक्लिने बैंकको संख्या बढ्दो छ ।
बैंकमा वित्तीय सुशासन राम्रो भएसँगै नाफा कमाउने क्रम पनि ह्वात्तै बढेको हो । लगानीयोग्य पुँजी अर्थात् तरलता अभावका बाबजुद पनि वाणिज्य बैंकहरुले उल्लेख्य नाफा कमाएका हुन् । वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा निकै नाफा बढाएका छन् ।
सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष ०७३÷७४मा २१ बैंकले अर्ब बढी नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । सो बैंकले आर्थिक वर्ष ०७३÷७४ मा तीन अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको छ । एडिबिएलले दुई अर्ब ७७ करोड, ग्लोबल आइएमई बैंकले दुई अर्ब तीन करोड, एसबिआईले एक अर्ब ५२ करोड, प्रभु बैंकले एक अर्ब ७५ करोड, नेपाल बाङ्लादेश बैंकले एक अर्ब २० करोड, एनएमबी बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् ।
चुक्ता पुँजी वृद्धिसँगै बढेको लगानी र त्यसबाट प्राप्त ब्याज, पुरानो ऋण असुली, बढ्दो व्यापार, विदेशी मुद्रा कारोबारबाट भएको आम्दानी लगायतले बैंकहरूको नाफा बढेको हो । राजनीतिक स्थिरतासँगै देशमा लगानीमैत्री वातावरण बढ्दै जानु, ऊर्जाको आपूर्ति सहज हुनाले बैंकहरूको खर्च घट्नु लगायतका कारणले पनि नाफा बढेको बैंकरहरु बताउँछन् । गत वर्ष भूकम्प, नाकाबन्दी लगायतका कारण बैंकहरूले कर्जा विस्तार गर्न केही असहजता भए पनि अहिले बैंकको वित्तीय अवस्था राम्रो देखिएको छ । बैंकहरुले नाफा कमाउन मुलुकको अर्थतन्त्रलाई पनि सकारात्मक संकेत भएको नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालले बताए । ‘बैंकले धमाधम चुक्ता पुँजी पनि बढाएका छन्,’ नेपालले भने, ‘बैंकले नाफा कमाउन मुलुकको अर्थतन्त्रलाई पनि राम्रो गर्नु हो ।’
गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये तीन अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा कायम गर्दै नबिल बैंक सबैभन्दा अब्बल बनेको छ ।
चुक्ता पुँजीको आधारमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले न्यूनतम आठ अर्ब चुक्ता पुँजी पुर्याउने प्रक्रिया पनि अघि बढाएका छन् । ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याएको हो ।
चुक्ता पुँजी पुर्याउन केही बैंक मर्जर तथा एक्विजिसनमा गएका छन् । कतिपय बैंकले हकप्रद र बोनस सेयर जारी गरेर बढाउन लागेका छन् ।
संसद्को विकास समितिले पनि स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । स्थानीय तहमा सरकारले ठूलो बजेट पठाएपछि बैंक नहुँदा विकास निर्माणका कामको लागि गएको बजेट व्यवस्थापनमा कठिनाई भएपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई हरेक स्थानीय तहमा शाखा खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि बैंकहरुले क्षेत्र विभाजन गरेर शाखा बिस्तारको योजना अघि बढाएका छन् ।

 

Leave A Comment