तीजे भयो कस्तो बरिलै !

बिहिबार, ०८ भदौ २०७४, ०३ : १७ शुक्रवार , Kathmandu
तीजे भयो कस्तो बरिलै !

तीजे अर्थात् तीजको समयमा गाइने पर्वगीत । समय क्रमसँगै हरेक क्षेत्र र पर्व मनाउने शैली परिवर्तन भइरहँदा तीज गीत गाउने शैली पनि परिवर्तन हुनु नौलो कुरो होइन । पर्वको मर्म नै परिवर्तन हुन थालेपछि त्यस्ता पर्वमा गाइने गीतका शब्द तथा भाव परिर्वतन हुनु पनि स्वाभाविक हो । परिवर्तनको नाउँमा भने परिवारका सदस्यसँगै बसेर सुन्नसमेत गाह्रो हुने गीत तीजेका नाउँमा भित्रँदा भने आलोचनाको स्वर बाक्लिन थालेको छ ।
केही तीजे गीतका शब्द, भिडियो र लयले ती गीत तीजे पटक्कै लाग्दैनन् । उदाहरणका लागि ज्योति मगर र सुरेश रानाको ‘घण्ट बजाउँछु’, गायिका कोमल ओलीको ‘चाहिएन पोई’ र पशुपति शर्माको ‘लास्टै चोटी हो’ र गोपाल नेपाल तथा पूर्णकला बिसीको ‘कट्टुमा बुट्टा’ सुने पुग्छ ।
रोचक कुरा त भद्दा शब्द र उत्तेजक भिडियोका तीजेहरु रेडियो र टिभीमा बिनासंकोच बजेका मात्र होइनन्, प्राथमिकतामा नै पर्ने गरेका छन् । त्यसैगरी एक महिनादेखि सुरु हुने दर खाने कार्यक्रममा पनि तिनै भद्दा गीतमा ‘दारु’का साथ महिलाहरु उफ्रिरहेको फेला पार्दा अचम्म मान्नुपर्ने अवस्था छैन ।
अनावश्यक तडकभडक, धनदौलतको प्रदर्शन, छाडा गीत र प्रस्तुतिले मात्र होइन एकदुई दिन मात्र मनाइने पर्वलाई १५ दिनअगावैदेखि मनाउने परिपाटीले थप आलोचित बनाउन थालेको हो । पौराणिक महŒवलाई कुल्चेर आधुनिकताको नाममा देखावटी संस्कृतिलाई मलजल गर्न थालेकाले तीजे गीतले एक किसिमको बहसको ढोका खोलिदिएको छ ।
तीजेका कारण तीज मान्ने संस्कृतिको संरक्षणभन्दा विकृतिको पृष्ठपोषण भइरहेको राष्ट्रिय महिला आयोगकी प्रमुख भगवती घिमिरे बताउँछिन् । ‘तीजलाई नेपाली महिलाको महान पर्वका रुपमा मनाउनुपर्छ तर कोही कोहीले संस्कृति जोगाउनेभन्दा पनि विकृति ल्याउने किसिमका गीत तथा खाने÷लाउने परम्परा कायम गरेको छ,’ घिमिरेले भनिन्, ‘हिजोआज टिभीको रिमोट खेलाउन पनि डराउँछु किनभने त्यहाँ तीजेको नाउँमा जे पनि देखाइरहेको हुनसक्छ । तीज नसक्किएसम्म रिमोट थिच्ने काम घरका अरु सदस्यले पनि नगरेको उनको अनुभव छ ।
त्यस्तै समाजसेवी विनिता अर्याल अग्रज गायकगायिकाले पनि घिनलाग्दा तीजे गाएको देख्दा समाज कता पुग्ला भन्ने चिन्ता थपिएको बताउँछिन् । घिमिरेलाई जस्तै उनलाई पनि तीज गीतमा मौलिकता हराउन थालेको प्रतीत हुन थालेको छ । अर्याल भन्छिन्, ‘संस्कृति सम्वद्र्धन हुने खालका तीज गीत गाउनुपर्छ ।’ त्यस्तै व्यवसायी आभानी सिंह नयाँ तीज गीतमा मौलिकता हराएकाले पुराना तीज गीत मात्र सुन्ने गरेको बताउँछिन् ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एवं लोकगीतमा मौलिकपनको प्रयोग गर्दै आएका भनिने गायक रामप्रसाद खनाल भन्छन्, ‘आफूलाई लोक गायक–गायिका भन्ने र तीजको नाममा रत्यौली खेल्नेका कारण तीजे लोप हुने अवस्थाामा रहेको बताउँछन् । तीजमा मौलिक तीज गीत गाउने, नाच्ने र मनोरञ्जन गर्ने पनि छन् तर उनीहरुलाई समाजले चिन्न सकेको छैन ।’ यस्ता नाङ्गा भुतुङ्गाहरुलाई किनारा लाउन दर्शकश्रोताकै ठूलो हात हुने उनी बताउँछन् ।
तीजे यसरी नै परिवर्तन हुँदै गए कुनै दिन गाईजात्राकै ठाउँ लिन पनि बेर नलाग्ने बताउँछिन् लोकदोहोरी गायिका मञ्जु लावती । उनी भन्छिन्, ‘तीजका गीतमा विकृति आयो भनेर उजुरी गर्ने ठाउँ पनि छैन, जहाँ जानुपर्ने हो त्यहाँबाटै नराम्रा गीतहरु आइरहेका छन् । तीजका गीत ‘रातो साडी फरर’देखि मेरो ‘कट्टुमा बुट्टा’सम्म पुगिसक्यो, पछिपछि कहाँकहाँसम्म पुग्ने हो कल्पना पनि नगरौँ ।’
पहिले अहिलेका जस्ता प्रविधि थिएनन्, अहिलेजस्तो यात्रा गर्न सजिलो पनि थिएन । जसका कारण माइतीले लिन नआएको, सौतेनी आमाले हेलाँ गरेकोजस्ता गीतहरु गाइन्थे । अचेल संसार साँघुरो बनिसक्यो, हातहातमा संसार बोकेर हिँडेका मानिसहरु तीजमा भाइले बोलाउनुअघि नै फोनमार्फत म हिँडिसकेँ दर तयार पार्नुस् भन्ने आदेश दिएर हिँड्छन्, त्यसैलै तीजे परिवर्तन हुनुपर्ने बताउँछिन् गायिका सरस्वती पन्थी । तर परिवर्तन भन्दैमा छाडा र भद्दा गीतको साटो खुसी, सुख, हाँसोवाला गीत गाउनुपर्ने उनको भनाइ छ ।
यता संस्कृतिबिद् विणा पौडेल तीजमा छाडापन बढ्दैको स्विकादै यस्तो हुनुमा प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभाव ठान्छिन् । उनले भन्छिन्, आजभन्दा करिब दश बर्ष अघि पनि तीजेमा बिकृति छाउँदै गएको आलोचना हुने गरेको थियो तर अब ती गीतहरु हामीलाई सामान्य लाग्दै गएको छ र तीनै गीतहरु हामीलाई साँच्चैको तीजेजस्तो पनि लाग्दैछ, आज भद्दा र असभ्य लागेका गीतहरु पनि हामीलाई दश बर्षपछि सामान्य लाग्दै जान र यिनै गीत नै वास्तविक तिजे जस्तो पनि लाग्न सक्छ । पौडेलका अनुसार तीजेमा परिवर्तन हुनु नौलो कुरो होईन तर समाजलाई पच्ने कुरो पस्कनु सबैको दायित्व हो ।
समयसँगै तीजे परिवर्तन हुनुपर्नेमा धेरै सहमत भए पनि आफ्नो भाषा, संस्कृति र समाजलाई मध्यनजर गर्दै तीज गीत निकाल्नुपर्ने अहिलेको आवश्यकता भएकोमा भने धेरैको सहमति छ ।

 

Leave A Comment