हरिवंशको तलब एक सय ७५

शनिबार, १० भदौ २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
हरिवंशको तलब एक सय ७५

सुरज खड्का
एक समय काठमाडौँमा कलाकार जन्माउने चर्चित समूहको रुपमा भैरव नृत्य दललाई लिइन्थ्यो । भैरव नृत्य दलमा नृत्य कलाकारको रुपमा काम गर्दागर्दै हरिवंश आचार्यले जितेन्द्र महत ‘अभिलाषी’को सहयोगमा नाचघरमा नाटक खेल्ने मौका पाए । नाटकमा अभिनय गरेबापत हरिवंशले एक सय ७५ रुपैयाँ तलब पाउँथे । एकपटक नाचघरमा ‘अमरसिंह’ नाटकमा गोली लागेको अभिनय गरे । राजा वीरेन्द्रका सचिव नारायणप्रसाद श्रेष्ठलाई उनको अभिनय निकै मन परेपछि नाचघरका तत्कालीन महाप्रबन्धक इन्द्रप्रसाद काफ्लेसँग हरिवंशको तारिफ गरेछन् । राजाका सचिवको तारिफपछि उनको एक सय रुपैयाँ तलब बढ्यो । त्यस्तै ‘हाम्रो पनि कथा छ’ नाटकमा उनले गरेको अभिनयले रानी ऐश्वर्य बेस्सरी हाँसेपछि पुनः उनको एक सय रुपैयाँ तलब बढेको थियो ।

काठमाडौँको न्युरोडमा रहेको नेपालकै पहिलो सिनेमा हल ‘जनसेवा’ बन्द भएपछि नजिकैको अर्को हल ‘रञ्जना’ निकै चर्चामा रह्यो । २०१३ सालमा बालकृष्ण श्रेष्ठले निर्माण गरेको रञ्जना सर्वसाधारण मात्रै नभई राजपरिवारबीच पनि निकै लोकप्रिय सिनेमा हल थियो । तत्कालीन राजा महेन्द्रसहित, वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र युवावस्थामा चलचित्र हेर्न निकै रुचि राख्थे तर सर्वसाधारणसँगै बसेर भने चलचित्र हेर्दैन थिए । त्यसैले हल सञ्चालकले राजपरिवारका लागि छुट्टै व्यवस्था गर्नुपथ्र्यो । नियमित सो सकिएपछि राति उनीहरुका लागि विशेष सो चलाइन्थ्यो । दरबारमै चलचित्र हेर्ने व्यवस्था नहुँदासम्म राजपरिवारले यसरी नै रञ्जना हलमा चलचित्र हेर्ने गर्थे ।

‘टाढा–टाढा जानु छ साथी’ र ‘तिमीले त होइन तिम्रा भाकाहरुले’ जस्ता सदाबहार गीतका गायक बच्चुकैलाश सार्वजनिक जीवनबाट टाढा भएको निकै भइसकेको छ । बच्चु के कारणले यसरी गायब बनेका हुन् भन्ने उनका समकालीनलाई पनि स्पष्ट जानकारी छैन । बच्चुको स्वरमा अन्तिम पटक चलचित्र ‘प्रेमपिण्ड’का लागि २०५१ सालमा ‘के भनूँ म कसो गरी परेँ’ रेकर्ड भएको थियो । शम्भुजित बाँस्कोटाको संगीत र यादव खरेलको शब्द रहेको यो गीत प्राविधिक गडबडीका कारण बच्चुको स्वरमा सार्वजनिक भएन । यस गीतलाई पछि भारतीय गायक अभिजित भट्टाचार्यको स्वरमा बाहिर आयो । आफ्नो स्वरमा गीत नआएपछि गीतकार खरेलसँग बच्चुकैलाश लामो समयसम्म बोलेनन् ।

गायक धीरज राईले संगीतमा लाग्न निकै संघर्ष गरेका छन् । त्यो बेला पपगीतलाई गम्भीर रुपमा नलिइका कारण पनि सांगीतिक यात्राको सुरुवातमा उनले निकै चुनौती भोगे । त्यसैले उनले निकै दुःख गरेर पहिलो गीत रेकर्ड गराए । आमाले कक्षा ८ मा पढ्दा पहिलो भएपछि किनिदिएको जुत्ता बेचेरै उनले पहिलो गीत रेकर्ड गराएका थिए । त्यतिबेला आमाले ९ सय रुपैयाँमा किनिदिएको रिबक ब्रान्डको जुत्ता बेचेर रेकर्ड गरिएको गीत ‘लुकी–लुकी आँखा तिमी’ थियो । तर पहिलो गीत नै हिट भएपछि भने धिरजलाई आफ्नो यात्रा सुचारु गर्न सहज हुँदै गयो ।  

नेपालमा सर्वसाधारणले समेत हेर्न पाउने गरी २००६ साल मंसीर २७ गतेदेखि चलचित्र हल सुरु भएको थियो । काठमाडौँको न्युरोडमा स्थापना गरिएको नेपालकै पहिलो चलचित्र हल काठमाडौँ सिनेमा घर (जुन पछि जनसेवा नामाकरण गरियो) हो । जनसेवा हल सञ्चालनमा आएको पाँच वर्षपछि २०११ साल असोज २६ गतेदेखि काठमाडाैंकै जमलमा नेपालको दोस्रो चलचित्र हलको रुपमा श्री हल सञ्चालनमा आयो । नेपालकै पहिलो र दोस्रो हलको इतिहास बनाएका यी दुवै हल अहिले सञ्चालनमा छैनन् । जनसेवा हल भएको स्थानमा अहिले विशालबजार र श्री हल भएको स्थानमा चेम्बर अफ कमर्सको भवन रहेका छन् ।

‘पर्खि बसेँ आउँला भनी’ र ‘तिमीले भनेका सारा देव छोएर’ बोलका गीतलाई संगीतकार शम्भुजित बास्कोटाले उदितनारायण झा र दीपक खरेलका लागि बनाएका थिए । तर बास्कोटाले संगीत गरिरहेको समय यी दुवै गीत सुनेपछि नारायण गोपाल आफैँले गाउने इच्छा राखे । सांगीतिक क्षेत्रमा भर्खरै संघर्ष गर्दै गरेका शम्भुजितले नारायण गोपालको प्रस्ताव नमान्ने कुरै भएन । यी दुवै गीत रेकर्ड भएर सार्वजनिक हुनेबित्तिकै रेडियो नेपालमा बज्ने चर्चित गीतको कोटीमा पर्न सफल भए । यता शम्भुजित पनि सांगीतिक क्षेत्रमा स्थापित संगीतकार बन्न सफल भए ।

गायक प्रमोद निर्वाण एक समय युवा पुस्ताका श्रोतामाझ निकै लोकप्रिय थिए । सांगीतिक समूह प्रमोद एन्ड म्युजिक लिंकबाट सार्वजनिक भएका उनका ‘किन यसरी’, ‘जब तारा गनेर’ लगायतका गीतहरु कुनै समय चर्चाको केन्द्रमा थिए । सुमधुर स्वरका धनी प्रमोदलाई पहिलो गीतिसंग्रह सार्वजनिक गर्न भने त्यति सहज थिएन । प्रमोदले पहिलो गीत ‘कस्तो मोडमा’ रेकर्ड गर्नका लागि तिहारमा देउसी भैलो खेलेर पैसा जुटाएका थिए ।

Leave A Comment