प्रख्यात ब्रान्डका गाडी ओइरिँदै

शनिबार, १० भदौ २०७४, ०१ : ५९ शुक्रवार , Kathmandu
प्रख्यात ब्रान्डका गाडी ओइरिँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १३ गतेदेखि ‘नाडा अटो सो–२०१७’ गर्ने भएको छ ।
नाडाले आइतबार पत्रकार सम्मेलन गरी भदौ १३ देखि १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने मेलाबारे जानकारी गराएको छ । ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजसँगको संयुक्त आयोजनामा हुने १२ औँ संस्करणको उक्त अटो सोमा विभिन्न ब्रान्डका सवारी साधन राखिने जानकारी दिइएको छ ।
नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले मेलामा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजका स्टल राखिने बताए । ‘बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरुको बृहत् सहभागिता हुने भएकाले ग्राहकले प्रदर्शनीबाटै सुलभ दरमा फाइनान्स तथा बिमाको सुविधा प्राप्त गर्नेछन्,’ उनले भने, ‘ग्राहकलाई आकर्षक छुट र उपहारसमेत दिइने छ ।’
अध्यक्ष श्रेष्ठका अनुसार मेलामा ९० वटा संस्थाका करिब एक सय ३० वटा स्टल रहनेछन् । निसान, टाटा, हुन्डाई, किया, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सनलगायत १६ वटा ब्रान्डका चार पांग्रे, १९ ब्रान्डका दुई पांग्रे र ६ ब्रान्डका हेभी कमर्सियल सवारी साधन तथा नेपालमै उत्पादित सामग्रीसमेत प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।
सन् १९९८ देखि सुरु भएको नाडा अटो सो पछिल्लो समय अझ विस्तृत बन्दै गएको उनले बताए । ‘एकै ठाउँमा पैठारीकर्ता, डिलर, उत्पादक, बिक्रेता एवं ग्राहकको जमघटले सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विश्लेषण, विकास बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो मेला सवारी साधन खरिद–बिक्री हुने एउटा व्यापारिक मेला मात्र नभई समग्र नेपाली अटोमोबाइल व्यवसायको क्रमिक एवं समष्टिगत विकासको प्रस्तुति हुनेछ ।’
मेला ग्राहकले आफूले खोजेको र रोजेको सवारी साधन तथा अन्य सुविधा एवं सामग्रीको सही सूचना सजिलै प्राप्त गर्ने एक विश्वसनीय थलो बन्ने आयोजकको दाबी छ । ‘यो पटकको मेला गत विगतको भन्दा भव्य र व्यवस्थित हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘अवलोकनकर्ताको सुविधाका लागि दुईपांग्रे, चारपांग्रे, कमर्सियल गाडीहरू तथा वित्तीय संस्थाको छुट्टाछुट्टै स्थानमा स्टल व्यवस्थापन गरिनेछ ।’
मेला प्रवद्र्धनका लागि हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई ब्रान्डदूत नियुक्त गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलालाई करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
अध्यक्ष श्रेष्ठका अनुसार मेलामा प्रवेश टिकटबाट एक जना भाग्यशाली विजेतालाई बम्पर उपहारस्वरुप युएम रेनेगेड कमान्डो २३० सिसी मोटरसाइकल प्रदान गरिने छ । साथै, मेलाको आम्दानीबाट पाँच लाख रुपैयाँ बाढीपीडितको राहतका लागि उपलब्ध गराइने उनले बताए । ‘बाढीपीडितको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा गरिसकेका छौँ । मेलाको आम्दानीबाट थप पाँच लाख उपलब्ध गराउनेछाैं,’ अध्यक्ष श्रेष्ठले भने ।

Leave A Comment