सय वर्षे त्रिचन्द्र कलेज

आइतबार, ११ भदौ २०७४, ०१ : ४५ शुक्रवार , Kathmandu
सय वर्षे त्रिचन्द्र कलेज

काठमाडौँको सबैभन्दा व्यस्त ठाउँ हो रत्नपार्क । रत्नपार्कबाट करिब दुई सय मिटर पर एउटा पुरानो भवन छ, जहाँ रत्नपार्कको हल्लाले खासै प्रभाव पार्दैन । मान्छे नहुँदा दिउँसै तर्साउलाझैँ लाग्ने भवनहरुमा जति हल्ला गरे पनि शान्त नै देखिन्छ । तिनै पुरानो भवनका बीचमा सानसँग ठडिएको छ, घण्टाघर । भवनसँग तुलना गर्दा घण्टाघर निकै सुन्दर र रंगरोगनले चिटिक्क छ । धरहरा भेट्न लम्किएको भवनको माथिल्लोपट्टि अंग्रेजीमा लेखिएको छ, त्रिचन्द्र १९८१ ए.डी. ।
करिब मेटिने अवस्थामा पुगेका ती अक्षरहरुले ६६ वर्ष नाघिसके तर कलेजमा पढाइ सुरु भएको भने सय वर्ष पुगिसकेको छ । गएको भदौ ५ गते कलेजले धुमधामसँग शतवार्षिकोत्सव मनाएको छ । पुरातत्व विभागको संरक्षणमा रहेको त्रिचन्द्र क्याम्पसको पुरानो भवनमा अहिले समाजशास्त्र, भूगोल, मनोविज्ञान लगायतका विषय पढाइ हुन्छन् ।
वि.सं. १९७५ सालमा तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा शिलान्यास भएको यस क्याम्पस सुरुवातताका त्रिभुवन–चन्द्र कलेजको नामले परिचित थियो । वि.संं १९८१ सालदेखि भने यसलाई त्रिचन्द्र कलेज मात्र भन्न थालियो र अहिले कलेजभन्दा अघि बहुमुखी पनि थपिएको छ ।
वि.सं. १९७६ भदौ ५ देखि यस क्याम्पसमा आई.ए. र आई.एस्सी पढाइ सुरु भएको इतिहास छ । भारतको पटना विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेर पढाइ सुरु गरेको यस कलेजमा पहिले भारतकै शिक्षकले मात्र पढाउँथे । किनभने त्यस समय नेपालमा आई.ए र आई.एस्सी पढेका र पढाउन सक्ने शिक्षक नै थिएनन् । यहाँ वि.सं. १९८१ देखि बि.ए. र २००४ सालदेखि बि.एस्सी.को पठनपाठन सुरु भएको हो ।
त्रिचन्द्रकै सम्बन्धनमा चार कलेज
वि.सं. २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनाअघिसम्म त्रिचन्द्रबाटै सम्बन्धन लिएर थप चार वटा कलेज खुलेको अर्थशास्त्र विषयका सहप्राध्यापक बालकृष्ण पौडेल बताउँछन् । उनी भन्छन्, ‘त्रिभुवन विश्वविद्यालय खुलेपछि भने सम्बन्धन दिने काम त्रिविले गर्न थाल्यो । त्यसपछि यस कलेजबाट केके भयो त्यसको खासै जानकारी पाइएको छैन ।’
यति लामो इतिहास भएको कलेजका विभिन्न विभाग कहिले खुले र कहिले बन्द भए भन्ने यकिन तथ्यांक नपाएको वा एकै विभाग पनि फरक–फरक मितिमा स्थापना भएको इतिहास पाइएपछि सत्यतथ्य थाहा पाइयोस् भनेर पुस्तक निकाल्ने तयारीमा रहेको पनि पौडेल बताउँछन् ।
शुल्क कम, विद्यार्थी धेरै
त्रिचन्द्रमा हिजोआज मानविकी र विज्ञान संकाय मात्रै पढाइ हुन्छ तर विद्यार्थीको भने हुल थामिनसक्नु छ । सुरुताका कोटा प्रणालीअन्तर्गत पठनपाठन हुने भए पनि विभिन्न विद्यार्थी संगठनको विरोधका कारण स्नातकमा यो हटाइएको छ तर स्नातकोत्तरमा भने कोटा कायम छ । जसका कारण ५० जनाको कोटामा पाँच सय जना अध्ययन गर्छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सह–सचिवसमेत रहेका माइक्रो बायोलोजीका प्राध्यापक जनक ढुङ्गाना शुल्क पनि कम र अरु निजी कलेजमा जस्तो कोटा प्रणाली नभएका कारण यस कलेजमा विद्यार्थी संख्या धेरै भएको बताउँछन् । सस्तो शुल्क, त्यसमा पनि छात्रवृत्तिको व्यवस्थाले गर्दा फिजिक्स र बायोलजीमा मात्रै सयौँ विद्यार्थी पढ्न पुग्छन् । संख्या धेरै भए पनि पढाइको गुणस्तरमा कुनै प्रभाव नपरेको सुनाउँछन् प्राध्यापक ढुङ्गाना । उनी भन्छन्, ‘माइक्रो बायोलोजीको चार वर्षे पढाइमा हजार बढी विद्यार्थी त राम्रो अंकका साथ नै उत्तीर्ण हुन्छन् ।’
लफडा र राजनीति पनि उत्तिकै
यस कलेजमा करिब १२ हजार विद्यार्थी अध्ययन गर्छन् भने छ सयभन्दा बढी प्राध्यापकले अध्यापन गराउँछन् । धेरै विद्यार्थी र धेरै शिक्षक मात्रै होइन राजनीति र लफडा पनि धेरै नै हुने गरेको छ । कतिसम्म भने त्यही लफडाका कारण केही समयअघि स्ववियु चुनाव पनि यो कलेजले गर्न सकेन । स्थापनाकालदेखि नै नेपाल विद्यार्थी संघको हैकम चल्ने त्रिचन्द्रमा अहिलेसम्म पनि जारी रहेकामा अन्य संगठनहरु क्रुद्ध छन् ।
लफडाले नै कलेजको खाजाघर बन्द
धेरै झैँझगडा र लफडाका कारण त्रिचन्द्रको खाजाघरसमेत बन्द छ । धेरैको भिडभाड र जमघट हुने थलो खाजाघर नै भएकाले धेरैजसो झडप खाजाघरमै हुन्थ्यो । कारण यो मात्रै भने होइन, ठेक्कापट्टाको कुरा नमिलेकाले २०६० सालदेखि खाजाघर बन्द छ । प्राध्यापक ढुङगानाले अतित सम्झदै भने, ‘एक रुपैयाँमा टन्नै अघाउने र खाँदा पनि खुब स्वादिलो आलुचप आउँथ्यो । त्यो खान विद्यार्थी मात्रै होइन, बाहिरका मानिस पनि टन्नै आउँथे ।’
विद्यार्थीको नजरमा त्रिचन्द्र
सय वर्ष पुग्दा त्रिचन्द्रमा विद्यार्थीभन्दा अरु केही परिवर्तन नभएको बताउँछन्, एक विद्यार्थी नेता सुधीर त्रिपाठी । उनले भने, ‘पूर्वाधारको विकास शून्य छ, विज्ञानका पुराना ल्याबबाहेक नयाँ थप केही छैन । कक्षाकोठाको अभाव छ । माइक्रोमा कोचिएर यात्रा गरेजस्तै साघुँरो र अँध्यारो कोठामा कोचिएर पढ्नुपर्ने अवस्था छ ।’

Leave A Comment