प्रतिभा छान्ने लहर

सोमबार, १२ भदौ २०७४, ०३ : ३९ शुक्रवार , Kathmandu
प्रतिभा छान्ने लहर

रोहित राई
नयाँ वर्ष २०७४ सुरु भएलगत्तै धरानमा गत वैशाखताका मिस्टर एन्ड मिस धरान सम्पन्न भयो । त्यसपछि किशोरकिशोरी एवं युवा पुस्तामा आत्मविश्वास तथा व्यक्तित्व विकास गर्ने उद्देश्य राखिएका यस्ता इभेन्टको लहर नै सुरु भएको छ । वैशाख यता धरानमा हरेक महिना जसो विभिन्न नाममा ‘ब्युटी पेजेन्ट’ तथा सुन्दरी प्रतियोगिता आयोजना भइरहेका छन् ।
नेपालमा आयोजना हुने अधिकांश यस्ता कार्यक्रम आलोचना र अनेक विवादमा फस्ने गरेका छन् । धरानमा हुने इभेन्ट पनि अछुतो भने छैनन् तर पनि बर्सेनि विभिन्न नाममा कार्यक्रमहरु निरन्तर आयोजना भइरहन्छन् । अभिभावक र तिनका सन्तान (विशेष गरी छोरी)हरुमा यस्ता इभेन्टप्रतिको आर्कषण घटेको छैन । जसको ज्वलन्त उदाहरण हो, वैशाख यता धरानमा ३ वटा प्रतियोगिता सम्पन्न भइसकेका छन् भने थप ३ वटा ठूला सुन्दरी प्रतियोगिता सम्पन्न हुने चरणमा छन् ।
वैशाख पहिलो साता मिस एन्ड मिस्टर धरान सम्पन्न भएपछि जेठ अन्तिम साता सभागृहमा नै चौथो मिस एसइई २०१७ सम्पन्न भयो । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरेर ४ वर्षअघि सुरु भएको यो इभेन्ट पूर्वको ठूलो मध्येको एक हो । हाल यो इभेन्ट मिस एसइईको नाममा भइरहेको छ । त्यसपछि साउन २१ गते सभागृहमा नै मिस्टर एन्ड मिस क्विन पूर्वाञ्चल सम्पन्न भयो । अहिले धरानमा प्लस २ अध्ययनरत एवं कक्षा १२ को परीक्षा दिएका छात्रालाई लक्षित गरेर मिस प्लस २ आयोजना भइरहेको छ भने पूर्वको सबैभन्दा ठूलो मानिने सुन्दरी प्रतियोगिता मिस पूर्वाञ्चलको पनि ठाउँठाउँमा अडिसन भइरहेको छ । मिस प्लस २ र मिस पूर्वाञ्चलको ग्रान्ड फेनाले भदौ अन्तिम साता धरान सभागृहमा नै हुने भनिएको छ ।
यीबाहेक धरानमा डल्फिन स्टार पनि आयोजना हुन लागेको छ भने इटहरीस्थित केवल टेलिभिजन एरिनाले पनि मिस कलेजको तयारी गरिरहेको छ । यस्ता इभेन्टमा बेलाबेला प्रतिभाको कदर नभएको, प्रतियोगीहरुबाट धेरै रकम असुल गरेको भन्दै चर्को आलोचना पनि आयोजकहरुले खेप्नु परिरहेको छ । विवादका बीच पनि यस्ता इभेन्टहरुले निरन्तरता पाइरहेको छ । आखिर किन ? जवाफमा मिस प्लस २ को आयोजक बिग नेपाल इभेन्ट प्रालिका निर्देशकमध्ये एक दीपेन्द्र निरौला भन्छन्, ‘पहिलो कुरा त धरान ट्रेन्डी सहर हो, हरेक कुरा पहिला यहीँबाट सुरु हुन्छ र अन्य सहरले पनि सिको गर्छन् । दोस्रो कुरा, धरानमा हुने इभेन्टले राम्रो परिणाम पनि दिइरहेको छ ।’
कार्यक्रमको नाम जे भए पनि सबैको एउटै उद्देश्य हुन्छ, सहभागीहरुमा आत्मविश्वास जगाउने तथा व्यक्तित्व विकास गर्ने तर केही आयोजकले सहभागीहरुलाई अपेक्षा अनुरुपको पर्याप्त तालिम दिएर व्यक्तित्व विकास गराउन नसकेको प्रत्यक्ष उदाहरण ग्रान्ड फेनालेबाट प्रस्ट हुन्छ तर त्यस्ता आयोजकहरुको संख्या न्यून भएको बिग इभेन्टका निर्देशक निरौलाको दाबी छ । ‘अडिसनमा आउँदा र त्यही सहभागी ग्रान्ड फेनालेमा पुग्दा धेरै परिवर्तन भइसकेको हुन्छ,’ उनी भन्छन्, ‘अवार्ड जितोस् या नजितोस् तर सहभागीमा खाने, बस्ने र बोल्ने शैलीमा धेरै परिवर्तन आइसकेको हुन्छ । त्यसैले सबै आयोजक नराम्रो हुँदैन, थोरैमा मात्र खराबी होलान् ।’ त्यस्ता खराब आयोजकलाई खबरदाबी गर्न पनि आवश्यक भएको उनी बताउँछन् ।
विगतमा परीक्षा दिएर रिजल्ट नआउँदाको समयमा टाइपिङ वा कम्प्युटर, सिलाई कटाई लगायत सिक्ने चलन थियो । हिजोआज भने तिनै फुर्सदिला छात्राहरुलाई लक्षित गरेर विभिन्न इभेन्टहरु हुन्छन् । तोकिएको मापदण्ड पूरा गरेकाहरुलाई कम्तीमा तीन सातासम्म विभिन्न विषयमा तालिम एवं प्रशिक्षण दिलाएर व्यक्तित्वमा सकरात्मक परिवर्तन पनि ल्याउँछन् । त्यही भएर विवाद हुँदाहुँदै पनि ब्युटी पेजेन्टमा अभिभावकले छोराछोरीलाई सहभागी गराएको धारणा राख्छन्, धरान १६ स्थित नवोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ । उनी भन्छन्, ‘कति आयोजकमा कमीकमजोरी देखिएको छ तर समग्रमा विद्यार्थीहरुमा सकारात्मक परिवर्तन भएको हुन्छ, उनीहरुमा आत्मविश्वास र व्यक्तित्व विकास भएको छ ।’ ठूला इभेन्टबाहेक धरानका एम्स, नवोदय, उच्च डल्फिन पूर्वाञ्चल, युनिभर्सल एकेडेमीजस्ता विभिन्न कलेज एवं शैक्षिक संस्थाहरुले पनि आफ्ना छात्रछात्राहरुबीच यस्तै प्रकृतिका विभिन्न ट्यालेन्ट सो एवं इभेन्ट पनि आयोजना गर्छन् । जसले गर्दा युवा पिँढीलाई ठूला इभेन्टमा सहभागी हुन प्रोत्साहित गराएको छ ।
मिस एसएलसी २०१४ की विजेता रिया बजाज यस्ता इभेन्टहरुले सहभागीहरुको जीवनमा परिवर्तन ल्याउने भए पनि आयोजक कस्तो हो भनेर अभिभावक र सहभागी स्वयं पनि सचेत हुनुपर्ने सुझाव दिन्छिन् । उनको नजरमा यस्ता इभेन्टले पढाइमा मात्र सीमित युवालाई विभिन्न क्षेत्रको ज्ञान दिलाउँछ भने सामाजिकीकरण पनि गराउँछ । ‘को मानिससँग कुन ठाउँमा कसरी डिल गर्ने, बोल्ने, आदर गर्ने र कन्फिडेन्सको लेभल पनि बढाउँछ । थुप्रै अवसर पनि पाइन्छ, तर आयोजकमा पनि भर पर्छ,’ उनले भनिन्, ‘कतिले यस्तो गराउँछौँ उस्तो गराउछौं भन्छन् तर बोलेअनुसार पूरा गर्दैनन्, त्यसैले बुझेर मात्र सहभागी हुनुपर्छ ।’

 

Leave A Comment