नाडा अटो–सो राजधानीमा सुरु

बिहिबार, १५ भदौ २०७४, १० : २१ शुक्रवार , Kathmandu
नाडा अटो–सो राजधानीमा सुरु

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को आयोजनामा राजधानीको भृकुटिमण्डपमा मंगलबारबाट नाडा अटो–सो सुरु भएको छ । भौतिक यातायात तथा पूर्वाधार मन्त्री वीरबहादुर बलायरले मेलाको उद्घाटन गरेका हुन् ।
बलायरले अटो क्षेत्रले व्यापारिक स्वार्थभन्दा देशको आर्थिक समृद्धिको विषयलाई उठाउनु पर्नेमा जोड दिए । मंगलबार सुरु नाडा अटो सो १८ गतेसम्म सञ्चालन हुनेछ ।
नाडा अटो सोमा हुन्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायत १६ ब्रान्डका चारपांग्रे सवारी साधन बिक्रीका लागि राखिएको छ । यस्तै बजाज, यामाहा, हिरो, होन्डा, टिभिएस लगायत १९ ब्रान्डका दुई पांग्रे र टाटा, अशोक लेल्यान्ड, महिन्द्रा लगायत ६ ब्रान्डका हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको नाडा अटो मोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष अन्जन श्रेष्ठले बताए । श्रेष्ठले अटो मोबाइल क्षेत्र पारदर्शी र सबैभन्दा बढी राजस्व तिर्ने क्षेत्र भएको बताए । अध्यक्ष श्रेष्ठले गाडीलाई उत्पादनशीलता बढाउने साधनका रुपमा राज्यले लिनुपर्ने बताए ।
छ दिनसम्म सञ्चालन हुने मेलामा सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेन्टसका पनि स्टल राखिएको छ । प्रदर्शकहरुले मेलामा खरिदकर्तालाई विभिन्न छुट तथा उपहारको व्यवस्थासमेत गरेका छन् । सबै ब्रान्डका गाडीमा ७५ हजारदेखि सात लाख रुपैयाँसम्म छुट रहेको आयोजकले जनाएका छन् । मेला अवलोकन गर्ने मध्येबाट एकजना भाग्यशाली विजेतालाई युएमको रेनेगेड कमान्डो २३० बाइक प्रदान गर्ने आयोजकको योजना छ ।
नाडा अटो सो मेला ५० मा हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको नाडाका महासचिव कृष्णप्रसाद दुलालले बताए । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षाप्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरू राखिएका छन् । मेलामा दुई पांग्रे, चार पांग्रे, कमर्सियल गाडी तथा वित्तीय संस्थाका लागि फरकफरक स्टल ब्लक निर्धारण गरिएको छ । ९० वटा संस्थाका एक सय ३० वटा स्टल मेलामा छन् । मेलाको प्रवेश टिकटमा बम्पर उपहार स्वरुप आइएमई अटोमोटिभ्सले प्रायोजन गरेको युएम रेनेगेड कमान्डो २३० सीसीको मोटरसाइकल दिने जनाएको छ ।

Leave A Comment