झरना थापा
पहिलेकी हिरोइन झरना थापा यतिबेला निर्देशकका रुपमा झुल्किएकी छन् । शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ए मेरो हजूर २’बाट उनको परिचयमा हिरोइनसँगै निर्देशक पनि थपिएको हो । पहिलो फिल्म निर्देशनका गाह्रा–अप्ठेरासँगै पछिल्लो समय आएका मिडिया ‘क्रान्ति’बारे उनले पुष्पा थपलियासँग खुलेरै कुरा गरिन् ।
यसै हप्तादेखि फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शन हुँदैछ, निकै व्यस्त हुनुहोला है ?
व्यस्त त कति कति ! आज पनि फिल्मको मिक्सिङ भएकाले रातिसम्मै बसेर काम गरियो । बिहान पनि ढिलो उठेको । यसका प्रविधिक कामहरु सकिए, अब ‘फुल्ली’ प्रदर्शनकै तयारीमा व्यस्त छु ।
प्रचारप्रसार कत्तिको भइरहेको छ त ?
खै मेरो तर्फबाट त सक्दो प्रचारप्रसार गरेजस्तो लाग्छ । पूर्वी भेगमा भने जान पाइएन । बाढीले गर्दा दुःख भइरहेका बेला फिल्म लिएर कता जानु ? हामीले राम्रो फिल्म बनाएका छौँ, हेर्नुस् है भन्न जानु भएन भनेर गएनौँ । नत्र अरु ठाउँहरु जहाँ फिल्म हेर्ने र बुझ्ने दर्शकहरु छन्, त्यहाँ पुगेरै प्रचारप्रसार गरियो ।
प्रचारप्रसारमा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
प्रतिक्रिया त एकदम राम्रो पायौँ हामीले । हामी पोखरा, नेपालगञ्ज, चितवन लगायतका जिल्लामा गएका थियौँ । रोचक कुराहरु पनि धेरै नै देखियो । एक ठाउँमा चैँ साम्राज्ञी र सलोनका फ्यानहरु धेरै रहेछन् । त्यहाँ एउटी त्यस्तै १२–१३ वर्ष जतिकी नानीले साम्राज्ञीलाई अँगालो हालेर रोइन् । उनी साम्राज्ञीको ठूलो फ्यान रहिछन् । त्यो देख्दा मलाई म हिरोइन हुँदाको याद आयो । त्यो समय मेरा पनि निकै फ्यान थिए अनि भेट्दा त्यसरी नै अँगालो हालेर रुन्थे ।
अहिले निर्देशक हुँदा चाहिँ अँगालो हालेनन् ?
फिल्म कस्तो चल्छ, त्यसबाट कत्तिको अँगालो मारे भन्ने थाहा हुन्छ । त्यो चैँ अब केही दिनभित्रै हेर्न बाँकी छ । मेरा दर्शकले मेरो अभिनय देख्नुभएको छ तर निर्देशन देख्नुभएको छैन । त्यसैले अब आउने हप्ता फिल्म हलमा लागिसकेपछि थाहा हुन्छ, उहाँहरुले मेरो कामलाई कत्तिको माया गर्नुहुन्छ । मैले काम राम्रै गरेजस्तो लाग्छ । आशा गरौँ, अभिनयमा मात्र होइन, निर्देशनमा पनि उत्तिकै उहाँहरुको माया पाउनेछु ।
पहिले नायिका हुनुहुन्थ्यो । त्यसबेला निर्देशकप्रति तपाईं कस्तो नजर थियो र अहिले आफँै निर्देशक हुँदा कस्तो छ त ?
पहिले नायिका हुँदा निर्देशकको काम सजिलै जस्तो लाग्थ्यो । कुर्सीमा बस्यो अनि रोल, क्यामेरा, एक्सन, कट भन्यो, कति सजिलो छजस्तो लाग्थ्यो । अहिले थाहा भयो, निर्देशन गर्नु चानचुने काम हैन रहेछ । त्यसो भन्दैमा अभिनय गर्नु सजिलो भन्न खोजेको हैन । दुवै काम मुस्किलै हो तर निर्देशनको पाटो झनै गाह्रो रहेछ ! अभिनयदेखि क्यामेरासम्म ध्यान दिनुपर्ने, लोकेसन खोज्नुपर्ने, कलाकारलाई विभिन्न सिनबारे कन्भिन्स गराउनुपर्ने र फाइनलमा एडिटिङ, मिक्सिङसम्म जान्नुपर्ने रहेछ !
त्यति धेरै कुराहरु जान्नुपर्ने रहेछ त भन्नुभयो, कतै सिक्न पनि जानुभयो र ?
त्यस्तो सिक्नै गएको त होइन तर काम गरेरै सिकेकी हुँ । पहिले अभिनय गर्दा नै धेरै कुरा जानिसकेको थिएँ, पछि अलिअलि आफैँले अध्ययन गरेँ र त्योभन्दा बढी अहिले काम गरेर सिक्दैछु । अझ यसलाई पढेर भन्दा परेर जानेको भने राम्रो होला ।
तपाई नायिका हुँदा र अहिले निर्देशक हुँदा के कुरामा समानता भेट्नुभएको छ ? के कुरामा फरकपना पाउनुभएको छ ?
मैले भेटेको समानता एउटै छ, त्यो हो हलको समस्या । त्यसबेला हल कम थिए, फिल्म चलाउनै मुस्किल पथ्र्यो । अहिले हलहरु त बढेका छन् तर पनि फिल्म चलाउन उत्तिकै मुस्किल छ । हलभन्दा बढी फिल्म बन्ने गरेर हो कि के भएर हो, मैले त बुझ्नै सकिनँ ।
अनि फरक ?
धेरै कुराहरु फरक भइसक्यो । पहिले फिल्म प्रमोसनमा मिडियामा गएर अन्तवार्ता दिने थियो भने अहिले पब्लिकको घरआँगनमै पुगेर प्रमोसन गर्ने चलन बढेको छ । विभिन्न सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने चलन चल्न थालेको छ । पहिले फिल्मका ट्रेलर, टिजरहरु मिडियामा मात्रै दिन मिल्थ्यो भने अहिले सामाजिक सञ्जालहरुमा समेत राख्न सकिन्छ । त्यहाँबाट झनै इफेक्टिभ हुन थालेको छ । अझ सबैभन्दा प्रभावकारी माध्यम युट्युब बनेको छ । प्रविधिहरु पनि नयाँ–नयाँ आउन थालेको छ । क्यामराकै कुरा गर्ने हो भने पनि झनै क्वालिटीका भिजुअल खिच्ने क्यामेरा बढिरहेका छन् । धेरै कुरा फरक छ । अर्को फरक चैँ प्रतिलिपि अधिकारमा छ । पहिले पहिले यसबारे अहिले जति चर्चा हुँदैनथ्यो । अचेल बिना क्रेडिट कसैको नाम पनि उल्लेख गर्न पाइँदैन । जस्तो कि, मेरो नामबारे कसैले केही लेख्दैछ भने मलाई सोधेर, त्यहाँ मैले उनलाई सोधेँ भनेर अझै सोधेको प्रमाणसमेत राखेर लेख्नुपर्छ । पहिले कतिपय गीतहरु नै रिमिक्स गर्दा पनि क्रेडिट नदिई गर्थे । यो राम्रो कुरा हो ।
परिवर्तन भएका कुराहरुले काम गर्न पक्कै सजिलै त बनाएको होला नि है ?
अँ, सजिलो त धेरै नै भएको छ तर चुनौती पनि उत्तिकै थपिएको छ । जस्तो कि, पहिले सानासाना त्रुटिलाई दर्शकले त्यति नोटिस गर्दैनथे तर अचेल कहाँनेर कमी छ भनेरै हेर्छन् । सानोतिनो कमी कमजोरी भएपछि त्यसैको खेदो गर्छन् । धेरै पाटोतिर ध्यान दिनुपर्छ । एकापट्टि ध्यान हट्यो भने त गयो, खत्तमै हुन्छ । अरु त अरु, हिजोआज बोल्दा पनि ध्यान पु¥याउनुपर्छ नत्र जोक गरेरै केही भने पनि मिडियाको हेडलाइन बन्छ ।
मिडियाको चपेटामा पनि पर्नुभयो क्यारे ?
हाँस्दै, कति परियो परियो ! यो अनलाइनहरुको हेडलाइनले हैरान बनाउन, अरुभन्दा पनि ! एउटा अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा सलोनमान बानियाको कुरा आयो । मैले एकदमै मिहेनत गरेर खोजेको यो केटो अनमोल (केसी) भन्दा कम छैन भनेकी थिएँ, हेडलाइनमै अनमोलभन्दा सलोन राम्रो भनिन् झरनाले हेर्नुस् भिडियो भनेर हेडिङ बनाइदिएछन् ! हाम्रा दर्शक हेडलाइन हेरेरै चल्छन्, भिडियो भन्दा तल हेर्नै नहुने शब्दहरु कमेन्ट गरिएको थियो । एकपटक भिडियो हेरिदिएको भए त्यसो भन्थेनन् होला । त्यो मिडियाले पनि भएकै कुरा हेडलाइनमा लेखिदिएको भए हुन्थ्यो नि, हैन ? त्यही भएर राम्रै बोल्दा त नराम्रो बनेर आउँछ भने नराम्रै बोले कस्तो बन्ला ? त्यसैले हिजोआज मिडियामा जोक गर्न पनि छाडेकी छु ।
मिडियामा विवाद आए त भाइरल भइन्छ भन्ने छ नि !
मलाई त्यस्तो भइरल हुनु छैन । आजभोली बिबादास्पद कुरा गरेर चर्चा कमाउने चलन पनि चलेको छ तर मलाई मिहिनेत गरेरै चर्चा कमाउनु छ । मिहिनेतबाटै म सफल भइरहेछु जस्तो लाग्छ । फेरि मलाई विवाद कसरी मेन्टेन गर्ने भन्ने आइडिया पनि छ ।
विवाद मेन्टेन आइडिया कस्तो रहेछ त सुनाउनुस् न ?
त्यो भन्न मिल्दैन । आफ्नै ओरिजिनल आइडिया हो, फेरि चोरी होला !
कपिराइट लगाउन मिल्छ होला नि ?
मिल्छ तर पनि अर्कैले चोरे, उही भाइरल होला ! अरुलाई भाइरल हुने अवसर किन दिनु ?
Leave A Comment