‘चटपटे साहित्य मन्दविषसरह हो’

शनिबार, २५ असार २०७३, ०१ : ०८ फणीन्द्र संगम , Kathmandu
‘चटपटे साहित्य मन्दविषसरह हो’

नेपाली कथा लेखनमा स्थापित र परिचित नाम हो— इस्माली । तीसको दशकदेखि प्रगतिशील चेतनाका साथ आख्यान लेख्दै आएका इस्माली दुई कथाकृति ‘श्रीको खोजी’ (मौलिक) र ‘युरेसियाका कथा’ (अनूदित) लिएर आएका छन् । ‘सेतो आतंक’ र ‘जिरो माइल’ उपन्यास समेत लेखिसकेका उनका ‘माछो माछो भ्यागुतो’, ‘घाम घामजस्तो छैन’, ‘काट जर्किन डी’ र ‘इस्मालीका प्रतिनिधि कथा’ प्रकाशित कथासंग्रह हुन् । यिनै कथाकार इस्मालीसँग कथा लेखनको ट्रेन्ड, साहित्य बजार, लेखक–प्रकाशकको सम्बन्ध लगायतका विषयमा फणीन्द्र संगमले संवाद गरेका छन् ।

माथिल्ला र ठूला ओहदामा काम गरेर निवृत्त भएकाहरूमा पनि दस्तुर बुझाएर संस्मरण पुस्तक लेख्ने÷लेखाउने होडै चलेको छ । प्रेत लेखन र प्रेत लेखकहरूको व्यावसायिक तालिम भइरहेको छ ।


पाठक ऊर्जावान् लेखक चाहिरहेका छन् तर लेखकहरू त्यो आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । गुरु गुड र चेला चिनी भनेजस्तो पाठकहरू लेखकभन्दा अगाडि पुगिसकेका हुन सक्छन् ।

‘फास्टफुड साहित्य’ र उत्तेजक विज्ञापनले बजार पिटिरहेको अवस्थामा दुईदुई वटा पुस्तकको जोखिम मोल्नुभयो है ! अहिलेको पुस्ताले पढिराखेको लेखक पनि होइन तपाईं । न त मिडियाले बनाएको सेलिब्रिटी नै...
एकदम सही कुरो । तर, उत्तेजक विज्ञापन र चटपटे साहित्यले बजार पिटिरहेको वा पिटेको जस्तो भान पारिएको यो अवस्थाबाट पाठकको मोहभंग हुन्छ नै । लहैलहैमा लागेर लामो बाटो हिँड्न सकिन्न । जिन्दगीको यात्रा निकै लामो छ । यो यात्रामा नथाकीकन हिँडिरहन शरीरलाई आडिलो–पोषिलो खुराक चाहिन्छ । फास्टफुडले तत्कालको भोक त मार्छ तर त्यसले शरीरलाई चाहिने ऊर्जा दिँदैन । त्यसले आडिलो–पोषिलो खानाबाट मानसिलाई विरत बनाउनुका साथै गम्भीर रोगी बनाइदिन्छ । मन्दविषसरह हो यो चटपटे साहित्य । यसले पाठकको रुचि बिगारिदिन्छ ।
समाजलाई बर्बाद हुन र बिग्रनबाट जोगाउनु जिम्मेवार मिडिया, पाठक, समीक्षक, लेखक, प्रकाशकको सामूहिक दायित्व बन्नुपर्दछ । सबैले आफ्नो ठाउँबाट दायित्व सम्झिदिने हो भने ‘खिच्चालाई खसी’ भनेर झुक्याउने प्रवृत्ति न्यून हुँदै जान्छ । फास्टफुड साहित्य र चटपटे विज्ञापनले गम्भीर र दायित्वबोध गर्ने गराउने साहित्य पछाडि पारिरहेको आजको यथार्थ हो । यसमा हस्तक्षेप आवश्यक छ ।

अहिलेको प्रकाशनको अवस्था, साहित्य बजार र मिडिया चर्चाबारे तपाईंको धारणाचाहिँ के हो ?
प्रकाशन संस्था थुप्रै खुलेका छन्, पुस्तकहरू पनि छापिइरहेका छन् तर धेरैजसो तपाईंले भनेजस्तै फास्टफुड खालको वा आफ्नो गाथा गाउने खालका पुस्तकहरू आइरहेका छन् । त्यसको ठूलोठूलो र उत्तेजक प्रचार पनि छ छापाहरूमा । अचेल माथिल्ला र ठूला ओहदामा काम गरेर निवृत्त भएकाहरूमा पनि दस्तुर बुझाएर संस्मरण पुस्तक लेख्ने÷लेखाउने होडै चलेको छ । प्रेत लेखन (गोस्ट राइटिङ) र प्रेत लेखकहरूको व्यावसायिक तालिम भइरहेको छ । गम्भीर र दायित्वपूर्ण लेखन भने छायामा परेको छ । तिनले प्रकाशनको अवसर त्यतिविधि पाइरहेका छैनन् । पत्रिकाहरूमा पनि सबै विचार र विभिन्न पुस्ताको राम्रो संयोजन भइरहेको स्थिति देखिँदैन । साहित्यको चौतारी नै दीर्घगामी र स्थायी चौतारी हो । त्यसैले होला, मिडियाकर्मीहरू, अखबारी स्तम्भकारहरू, सम्पादकहरू लगायतका व्यक्ति साहित्यतिर पनि लहसिइरहेका छन् । साहित्यप्रतिको तिनको अनुराग बढ्दो छ । साहित्यको शक्ति बुझेरै ती यतातिर लहसिएका हुन् ।
लेखक र लेखनलाई पाठकसँग जोड्ने पत्रिका र प्रकाशकहरू नै हुन् । यो कर्मले तिनलाई आर्थिक लाभ पनि दिएको छ । हिजो झोलामा किताब बोकेर हिँड्ने प्रकाशकहरू अचेल मोटर चढेर हिँड्न थालेका छन् । त्यसैले साहित्यका पाठक नभएका पनि होइनन्, पाठक नभएका भए प्रकाशक मोटर चढेर हिँड्दैनथे । तर, कतिपय प्रकाशकहरूमा व्यावसायिक र व्यावहारिक इमानदारी छैन ।

प्रकाशकहरू मोटर चढेर हिँड्न थालेको कुरा गरिहाल्नुभयो । तपाईंले एउटा कथामा त ‘लेखक लुट्ने प्रकाशक’लाई नै मजाले खुइल्याइदिनुभएको छ नि । प्रकाशकले त्यसरी नै सिध्याउँदा रहेछन् लेखकलाई !
‘श्रीको खोजी’मा संगृहीत कथा ‘करोडपति प्रकाशक’ औसत प्रकाशकको चित्र हो । त्यसमा प्रकाशकलाई खुइल्याएको होइन, ती आफ्नै आचार–व्यवहारले खुइलेका हुन् । मैले त तिनलाई सम्मानित ठाउँमै राखेको छु । मनमा कालो पालेर बसेकाहरू त्यो कथा पढेर झस्किँदा हुन्, खुइल्याइदियो भन्ठान्दा हुन्, त्यसको कथा नपढ् पनि भन्दा हुन् । ‘चोरको खुट्टो काट्’ भन्दा चोरले हत्तपत्त आफ्नो खुट्टो तानेजस्तो कुरो हो यो । इमानदार ठानिएकै प्रकाशकबाट त लेखकहरू ठगिएकै हुन्छन् भने अरूको त कुरै छोडौँ । लेखकलाई जानकारी समेत नदिई किताब छापिरहने–बेचिरहने प्रकाशकहरूको कमी छैन ।

प्रकाशकलाई चिढ्याएर लेखक बाँच्न सक्ला र ? पाठकसम्म पुग्न त लेखकलाई प्रकाशक नभई कसरी सम्भव छ ?
हुन त प्रकाशकका पनि आफ्ना समस्या र सीमा छन् । ती पनि बिक्रेताबाट ठगिएका होलान्, तर बिक्रेताले ठग्यो भनेर वा अन्य बहानामा तिनले लेखकलाई ठग्नु, शोषण गर्नु सरासर बेइमानी हो । बिना लेखक प्रकाशकको अस्तित्व रहन्छ र !

तीसको दशकतिर तपाईंले कथा लेख्न थाल्दै गर्दा र अहिले आइपुग्दा देशले ठूलो सामाजिक, राजनीतिक  परिवर्तन भोगिसकेको छ । यो परिवर्तनले कथा लेखकको टे«न्डलाई कता लैजाँदै छ ?
तीसको दशकबाट सत्तरीको दशकसम्म आइपुग्दा देशले राजनीतिक रूपले ठूलो फड्को मारेको छ, मारिरहेकै छ । सामाजिक सोच, व्यवहार र स्वरूप पनि परिमार्जित भएको छ । आर्थिक विकासको दृष्टिले सामन्तवादबाट पुँजीवादतिर उन्मुख भइरहेको छ । यी सबको प्रभाव कथामा पनि पर्नु स्वाभाविक हो । हिजोका दिनमा समाजमा व्याप्त सबै खाले दुर्गुण, दुर्बलता र विकृतिको दोष सामन्ती व्यवस्थालाई दिने गरिन्थ्यो । प्रजातान्त्रिक हकअधिकारको बहाली र मानवअधिकारको बहाली, समान अधिकारको मुद्दा बनेका हुन्थे । सामन्ती व्यवस्थाले विरूप पारेका भग्न चित्र प्रस्तुत हुन्थ्यो कथामा । प्रजातन्त्र आएपछि सबै विकृति छुमन्तर हुन्छ भन्ने मानसिकता हुन्थ्यो । तर, देख्दा–भोग्दा थाहा भयो— व्यवस्था फेरिँदैमा विकृतिहरू छुमन्तर भएर हराइहाल्दा रहेनछन् । विकृतिको स्रोत व्यवस्थामा मात्र नभएर मान्छेभित्र पनि रहेछ । त्यसैले साहित्यले, कथाले मान्छेको अन्तर्यको परिवर्तन परिमार्जनको कुरो गर्दछ, गरिरहेको छ ।

मूलतः कथा लेखनको पछिल्लो कालखण्डलाई खण्डीकृत गरेर हेर्न सकिएला ?
कथा लेखनको टे«न्ड पनि समयसँगै विकसित र परिमार्जित हुँदै गएको छ । विज्ञान–प्रविधिजन्य विकास, भूमण्डलीकरणको प्रभाव, बाहिरी जगतसँगको अन्तरक्रियाले पनि कथाको टे«न्डलाई प्रभावित गरिरहेको छ । अहिलेका कथामा विभिन्न वर्ग, समुदाय, राष्ट्रको पहिचानजन्य अवधारणाहरू, हेपिएका, थिचिएका, विभेदमा परेका–पारिएका वर्ग र समुदायको समान होइन समतामूलक अधिकारको स्थापना, सीमान्तीकृत वर्गको केन्द्रीकरण जस्ता कुरा कथाको टे«न्ड बनिरहेका छन् । हिजो यी कुराहरू प्रगतिशील साहित्यमा मात्र देखिन्थे तर आज यिनले व्यापकता पाएका छन् । आजको यो अवस्थालाई कालखण्डको खण्डीकरणभन्दा पनि पछिल्ला टे«न्डहरूको निरन्तरताजन्य विकास (इभोल्युसन) का रूपमा हेर्नुपर्छ । एउटा बिन्दुमा आएर ह्वात्त टे«न्ड बदलिएको होइन, जसरी सृष्टिको विकासक्रममा ठ्याक्क यहीँदेखि बाँदर मान्छेमा रूपान्तरित भयो भन्ने छैन नि !

अनुवादको कथा पनि ल्याउनुभयो— ‘युरेसियाका कथा’ । कुन आधारमा चयन गर्नुभयो र कस्ता कथा समेट्नुभएको छ यसमा ?
यो संग्रह युरोप र एसियाका विख्यात प्रतिनिधि कथाकारहरूको कालजयी कथाहरूको अनुवाद हो । यसमा १० देशका १९ कथाकारहरू छन्, जसमा जापानका योसिकी हयामा, रुसका लियो टल्सटाय, गोर्की, सेराफिमोबिच, चीनका ल्यु सुन, बंगलादेशका शौकत उस्मान र सलिना हुसैन, भारतका यशपाल, हरिशंकर परसाई, शिवशंकर पिल्लै र महाश्वेता देवी, पाकिस्तानका अमर जलील, मुहम्मद मन्सा याद, जहिदा हिना र फरिदा हाफिज, श्रीलंकाकी कुन्थाबाई, इरानका दाखिश कारगर, फ्रान्सका ज्याँ पाल सात्र्र र बेलायतका समरसेट ममका कथाहरू परेका छन् । यी कथाले एक शताब्दीको अवधिलाई प्रतिनिधित्व गर्दछन् । यी कथा कुनै खास आधार र मानक निर्धारण गरेर चयन गरिएका होइनन्, पढ्दा राम्रो लागेर नेपाली भाषाका पाठकलाई पनि यस्तो कथा पढाउनुपर्छ भन्ने लागेर अनुवाद गरेको हुँ  । यसले हामीलाई हाम्रै विशाल भूमण्डलमा रहेका विभिन्न देशका विभिन्न धर्म र भाषा संस्कृतिका र भिन्न राजनीतिक व्यवस्थाका समाजहरूका मान्छेका कथाको आस्वादन गराउँछ ।

नेपालमा गरिने साहित्यिक पुस्तकको अनुवादप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अनुवादको काम र अझ साहित्यिक कृतिको अनुवाद साह्रै कठिन कार्य हो । यो मौलिक लेखनभन्दा पनि कष्टकर कार्य हो । अनुवाद गरिने कृति जुन पृष्ठभूमि र परिवेशमा लेखिएको छ, त्यसको भाषा–संस्कृति र विषय–विचारको राम्रो ज्ञान अनुवादकमा रहनैपर्छ । जुन भाषामा अनुवाद गरिने हो त्यसमा दखल छैन भने अनुवादमा न्याय गर्न गाह्रो हुन्छ ।

चलेकै लेखकले गर्ने अनुवादमा पनि प्रश्न उठ्ने गरेका छन् नि । यसको विकृतिबारे के भन्नुहुन्छ ?
प्रकाशनलाई व्यवसाय बनाउनेहरूले अनिवार्य रूपले भाषा सम्पादकको व्यवस्था गरेकै हुनुपर्छ । नाम चलेका लेखकमा पनि भाषिक त्रुटिहरू नहुने होइन, ती त्रुटिलाई भाषा सम्पादकले मेटाइदिएपछि र भाषामा थप पाइन हालिदिएपछि अझ गतिलो हुन्छ ।

झन्डै एक दशकयता नेपालमा पठन संस्कृति बढ्यो भनेर हामी खुशी भयौँ र निरन्तर चर्चा गर्दै आयौँ । बुझ्दै जाँदा प्रकाशक र पाठकहरू सन्तुष्ट छैनन् । यसलाई कसरी नियाल्नुभएको छ ?
यो विचारणीय पक्ष हो । यथार्थ के हो भने प्रकाशन गृहहरू बढेका छन्, पुस्तकहरू प्रकाशित भइरहेका छन्; मौलिक पनि र अनुवाद पनि । पठन संस्कृति साँच्चै नै बढेको हो भने पछिल्ला दिनका पुस्तक प्रदर्शनीहरूमा पनि पाठकको भीडभाड हुन्थ्यो होला । बीसको उन्नाइस–अठार हँुदो हो । त्यसैले पठन संस्कृति बढेको भान मात्र भएको हुन सक्छ वा पारिएको हुन सक्छ ।
बढ्यो भनेर लेखिदिँदैमा बढेको हुँदो रहेनछ । राम्रै पुस्तकहरूले पनि अर्को संस्करण पाउन वर्षौं कुर्नुपर्छ । कतिपय त अर्को संस्करण नबनी विस्मृतिको बाटोतिर लाग्छन् । पठन संस्कृतिसँग लेखक र पाठकको रुचिको तालमेलको कुरो पनि गाँसिएको छ । पाठकका रुचिका पछाडि दगुर्ने काम व्यावसायिक वा पेसेवर लेखनको हो । सृजनात्मक लेखन उद्देश्यमूलक र वैचारिक हुने गर्दछ र यो स्वस्थ, सुन्दर तथा अग्रगामी हुन्छ । समाजको अग्रगामी रूपान्तरणतिर लक्षित हुन्छ । त्यसैले यस्तो लेखनले स्वभावतः यस्तै पाठकको माग गर्दछ । पठन संस्कृतिको कुरा गर्दा महŒवपूर्ण पक्ष राज्य हो । राज्यले नागरिकमा पठन संस्कृति बसाउन, त्यसको विकास गर्न उपयुक्त नीतिको तर्जुमा गर्नुपर्दछ । तर, राज्यले पठन संस्कृति, पुस्तक नीति, पुस्तकालय नीति जस्ता कुरा सोच्दै सोचेको छैन । सोच्नु आवश्यक ठानेकै छैन । यो दुःखदायी कुरो हो ।    

तपाईंले पुस्तक प्रदर्शनीको संकेत पनि गर्नुभयो । पछिल्ला दिन पुस्तक प्रदर्शनी र चर्चामा आएका लेखकका कृतिले पाठकलाई न्याय गर्न सकेको पाइएन । प्रकाशकहरूसँग कुरा गर्दा उनीहरू प्रदर्शनीबाट सन्तुष्ट छैनन् । एउटा लेखकले यसलाई कसरी हेरिरहेको हुन्छ ?
तपाईंको सोधाइले दुवै पक्षतिर संकेत गर्छ । पाठक ऊर्जावान् लेखक चाहिरहेका छन् तर लेखकहरू त्यो आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । गुरु गुड र चेला चिनी भनेजस्तो पाठकहरू लेखकभन्दा अगाडि पुगिसकेका हुन सक्छन् । छिटछिटो भइरहेको राजनीतिक परिवर्तनले त्यतातिर पनि संकेत गर्छ । हुन सक्छ, पाठक ऊर्जाशील लेखनलाई बोझिलो ठानिरहेका छन् र हल्काफुल्का मनोरञ्जनात्मक साहित्य खोजिरहेका छन् । तर, त्यस्तो व्यावसायिक लेखनको अभाव छ । प्रकाशकहरूसँग पाठकलाई रित्तै नफर्काउने नीति हुनुपर्छ ।
अघिल्ला प्रदर्शनीहरूले पाठकको इच्छालाई समुचित सम्बोधन गर्न नसकेकाले पछिल्ला प्रदर्शनीहरूमा तिनको उपस्थिति पातलिएको पनि हुन सक्छ ।  

 

Leave A Comment