टाउको दुखाईः उत्तर कोरिया

बिहिबार, २२ भदौ २०७४, १० : २७ मणि दाहाल , Kathmandu
टाउको दुखाईः उत्तर कोरिया

एकपछि अर्को परमाणु बम र क्षेप्यास्त्रहरुको परीक्षण गर्दै आएको उत्तर कोरियाले एसियामा युद्धको नयाँ त्रास उत्पन्न गराएको छ । यस घटनाक्रमसँगै युद्धको सम्भावना, सैनिक सामथ्र्यको तुलनामा मात्रै नभएर युद्ध भैहालेको अवस्थामा त्यसले गर्न सक्ने क्षतिका बारेमा समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता पाउन थालेको छ ।

प्राविधिक रुपमा अहिले पनि उत्तर र दक्षिण कोरिया युद्धमै छन् । सन् १९५३ मा दुवै देशबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भए पनि अहिलेसम्म यी देशबीच शान्ति सन्धि भएको छैन । तीन वर्ष चलेको युद्ध उत्तर कोरिया र दक्षिण कोरियामा मात्रै सीमित थिएन । उत्तरलाई सोभियत संघ तथा चीन अनि दक्षिणलाई अमेरिका सहितको अर्को खेमामा बाँडिएर लडेका थिए । यो युद्धलाई कम्युनिस्ट भर्सेस डेमोक्र्याटिक युद्धका रुपमा लिइएको थियो । युद्धको क्रममा ५० लाख सैनिक तथा गैरसैनिक मारिएका थिए । चिनियाँ नेता माओत्से तुङका छोरासमेत उत्तर कोरियाबाट युद्ध लड्दा मारिन पुगे । जनसंख्याको अनुपातमा यहाँ भएको गैरसैनिक व्यक्तिको हताहती दोस्रो विश्वयुद्ध र भियतनाम युद्धभन्दा बढी थियो । यस युद्धले सोभियत संघ र अमेरिका बीचको शीत युद्धलाई चरममा पु¥याएको थियो र विश्वयुद्धपछिकै यो ठूलो युद्ध थियो ।
दोस्रो विश्वयुद्धसम्म कोरियामा जापानी नियन्त्रणमा थियो । दोस्रो युद्धसँगै स्वतन्त्र भए पनि उत्तरतर्फ कम्युनिस्ट शासन रह्यो भने दक्षिणतर्फ पुँजीवादी शासन व्यवस्था रह्यो । ‘३८ प्यारेलल लाइन’ले कोरियाको पीडादायी विभाजन गरेको थियो । जापानले आत्मसमर्पण गरेपछि सन् १९४८ सम्म उत्तरतर्फ सोभियत संघ र दक्षिणतर्फ अमेरिकाको नियन्त्रण थियो । सोभियत संघ र अमेरिकाको वैचारिक धारअनुसार नै एकतर्फ सम्यावादी र अर्कोतर्फ पुँजीवादी सरकार गठन भयो ।
अहिले पनि एकै परिवारका सदस्यहरु दुवै देशतर्फ रहेका छन् । बेलाबेलामा परिवारका सदस्यहरुबीच पुनर्मिलनको टिठलाग्दा तस्बिर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आउने गरेका छन् । दक्षिण कोरियामा कम्युनिस्टमाथि दमन गर्न थालिएपछि उत्तर कोरियाका ७५ हजार सैनिकले आक्रमण गरेका थिए ।
दोस्रो विश्वयुद्धमा नाजीविरुद्ध मिलेर लडेका अमेरिका र सोभियत संघ कोरियाली प्रायद्विपमा एकअर्कासँग सोझै युद्ध नगरी आफ्नो प्रभाव विस्तार गर्ने चाहन्थे । त्यसैले कोरियाली युद्ध भएको थियो । सोभियत संघका तत्कालिन राष्ट्रपति जोसेफ स्टालिन कम्युनिस्ट शासन आओस् भन्ने चाहन्थे । अमेरिका भने दोस्रो विश्वयुद्धमा पूर्वी युरोपमा जस्तो कम्युनिस्ट शासन व्यवस्था पृथ्वीको सुदूरपूर्वमा नआओस् भन्ने चाहन्थ्यो । तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान डिमोनो थ्योरीमा धारणा राख्थे । सन् १९४९ मा चीनमा क्रान्ति सम्पन्न भइसकेको थियो भने पूरै कोरियालाई कम्युनिस्टलाई कब्जा गरे जापानमा कम्युनिस्ट शासन आउन सक्ने अमेरिकाको बुझाइ थियो । त्यसलाई रोक्न अमेरिका हरसम्भव प्रयास गर्ने नीतिमा अडिग थियो । उत्तर कोरिया हारे आफ्नो सीमासम्मै अमेरिकी सैनिक आइपुग्ने अवस्थालाई ध्यान दिँदै चीन युद्ध नै लड्न पुग्यो भने सोभियत संघले सैनिक नपठाई सामरिक सहयोगमा उत्रिएको थियो । तीन वर्ष भएको युद्धमा अमेरिकाले ६७ अर्ब डलर खर्चिएको थियो भने यहाँ चालिस हजार अमेरिकी सैनिक मारिएका थिए । एक लाख अमेरिकी सैनिक त घाइते मात्र भएका थिए ।
पहिलो पटक धेरै जेट विमान प्रयोग गरिएका बारे तत्कालीन विदेश मन्त्री डेयान रस्कले भनेका थिए, ‘हामीले हल्लिने सबै वस्तुमाथि बमबारी गर्यौँ ।’
किम इल सुङपछि उनका छोरा किम जोङ इल राष्ट्रपति बने । किमकै नाती किम जोड उन अहिले राष्ट्रपति छन् । दक्षिण कोरियामा पनि लामो समय तानाशाही व्यवस्था रह्यो भने सुरक्षाका लागि अमेरिकासँग निर्भर रह्यो । अहिले पनि अमेरिकी सैनिक शिविर दक्षिण कोरियामा छ ।
बेलाबेला दुवै कोरियाबीच एकीकरणको विषय उठ्ने गरेको छ । दुवैतर्फ एकीकरण मन्त्रालय निर्माण छ र वार्ता पनि गर्छन् । तर विभिन्न कारणले त्यो सफल हुन सकेको छैन । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र संसारको सबैभन्दा सैन्यकरण भएको क्षेत्रमा पर्छ । करिब सत्तरी वर्षको अवधिमा दुवै देशले प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिसकेका छन् । उनीहरु दुवै देशभित्र हुने युद्धले सन् १९५० मा भएको भन्दा ठूलो मानवीय र भौतिक क्षति निम्त्याउने छ ।
उत्तर कोरियाको आणविक कार्यक्रमपछि राष्ट्र संघीय सुरक्षा परिषद्ले एकपछि अर्को गर्दै नाकाबन्दी कस्दै लगेको छ । नाकाबन्दी लगाइए पनि उत्तर कोरियालाई परमाणु हतियार प्राप्त गर्न र त्यसलाई राखेर प्रहार गर्न सक्ने अन्तर महादेशीय क्षेप्यास्त्र निर्माण गर्नबाट रोक्ने सकिएको छैन । पछिल्ला २४ महिनामा सबै प्रकारको प्रयासले पनि उत्तर कोरियाको परमाणु कार्यक्रममा झनै प्रविधियुक्त र खतरनाक बन्दै गएको अमेरिकी अधिकारीको स्वीकारोक्ति छ ।
कोरियासँग सीमा नजोडिएको भए पनि नेपाल यस युद्धबाट प्रत्यक्ष रुपमा प्रभावित बन्नेछ । नेपालका लाखौँ मानिस दक्षिण कोरिया र जापानमा वैदेशिक रोजगारीको क्रममा छन् ।

 

Leave A Comment