घट्दैछन् विदेशमा ज्यान गुमाउने

शनिबार, २४ भदौ २०७४, १२ : ५२ रुद्र खड्का
घट्दैछन् विदेशमा ज्यान गुमाउने

वैदेशिक रोजगारीमा जाने परिवारका लागि खुसीको खबर छ किनभने पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवायुवती सुरक्षित हुन थालेका छन् । उनीहरूको आकस्मिक मृत्युको दर घट्दै जान थालेको देखिएको छ ।
स्वदेशमा रोजगारीका अवसर नहुँदा काम खोज्दै विदेश जानेको संख्या वृद्धि भए पनि पछिल्लो समयमा विदेशमा हुने जोखिम घटेको पाइएको छ । वैदेशिक रोजगारी असुरक्षित भइरहेको गुनासो बढेको बेला आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या छ सय ८७ मा सीमित रहन पुगेको हो । जसमा महिलाको संख्या १७ छ ।
आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या त्यस अघिका निरन्तर दुई वर्षको तुलनामा दुई सयको हाराहारीले कमी हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७२/७३ मा काम गर्न विदेश गएका नौ सय पाँच र त्यस भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष २०७१÷७२ मा एक हजार दुई युवायुवतीको ज्यान गएको थियो ।
वैदेशिक रोजगारीमा जानेको संख्या थपिएको बेला मृत्युदर कसरी घट्यो त ? बोर्डका अधिकारी भन्छन्, ‘पछिल्लो समयमा विदेश जानुअघि प्रदान गरिएको जनचेतना नै मुख्य कारण हो ।’ युवायुवतीका लागि बाध्यात्मक बनेको वैदेशिक रोजगारीप्रति स्वयम् विदेश गएका युवायुवतीले फैलाउने सुरक्षाका उपायले पनि मृत्युदर घटाएको हुन सक्ने अुनमान गरिएको  छ ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक सीप सिकाउन अझै आवश्यक रहेको बताए । ‘युवायुवतीलाई सीप सिकाएर वैदेशिक रोजगारीमा पठाउन सक्ने हो भने एकातिर उनीहरू थप सुरक्षित हुन्छन् भने अर्कोतर्फ पारिश्रमिक पनि वृद्धि हुन्छ,’ उनले भने ।
रोजगारीका लागि साउदी पुगेका झापाका सुरेन्द्र राईले वैदेशिक रोजगारीमा जाने युवायुवतीमा पछिल्लो समयमा सुरक्षित रहने तरिकाबारे चेतना बढेको बताए । आठ वर्षदेखि साउदी आउने, जाने गरिरहेका राईले पहिला पहिला नेपाली युवायवतीलाई सडक पार गर्न नआउनेदेखि लिएर एसी चलाउनसमेत नआउने गरेको बताए । ‘अहिले भने विदेश आउने बेलादेखि नै धेरैले सुरक्षाका उपाय सिकिसकेका हुन्छन्,’ उनले थपे, ‘यसको मतलब नेपाली युवायुवतीले सुरक्षित रहन सिके भन्ने चाहिँ होइन । पहिलेभन्दा चेतना बढेको मात्र हो ।’ सुरक्षित रहने तरिकाबारे युवायुवतीलाई गम्भीरतापूर्वक सिकाउन सक्ने हो भने वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सकिने राईको अनुभव छ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारी वैदेशिक रोजगारीलाई अझै सुरक्षित बनाउन आवश्यक रहेको बताउँछन् । अदक्ष कामदारको संख्या घटाउन सकियो भने जोखिममा पर्नेको संख्या अझै घट्ने उनको भनाइ छ । मुख्य कारण ‘अदक्ष कामदारको संख्या घटाउन नसक्दा र अभिमुखीकरण दिने संस्थाहरूले रोजगारीमा जाने देशहरूको बारेमा राम्रोसँग जानकारी नदिँदा धेरैको ज्यान जाने गरेको पाइएको छ,’ अधिकारीले भने ।
ज्यान गुमाउनेमध्ये सबभन्दा धेरै मृत्युको कारण मुटुसम्बन्धी समस्या पाइएकोे छ । मुटुसम्बन्धी समस्यासँगै सडक दुर्घटनामा पनि धेरै युवायुवतीले ज्यान गुमाउने गरेका छन् । विभागका अधिकारीका अनुसार रोजगारदाता देशको सडकको अवस्थाबारे थाहा नपाउँदा कामदार दुर्घटनामा पर्ने गरेका हुन्छन् । त्यस्तै, कतिपय कामदारले एसीसमेत चलाउन नजान्नु र अत्यधिक मदिरा सेवन गर्नु पनि मृत्युको कारण बन्ने गरेको पाइएको छ । अधिकारीले भने, ‘विदेशमा सडक कसरी पार गर्नुपर्छ र अत्यधिक गर्मी हुने ठाउँमा एसीलाई न्यूनतम कति चिसोमा झार्नुपर्छ भन्नेबारेमा पनि बुझाउन आवश्यक छ ।’
 वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई तालिम दिन वैदेशिक  बोर्डले एक सय १६ अभिमुखीकरण संस्थालाई मान्यता दिए पनि कतिपयले अभिमुखीकरण तालिम नदिएरै युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने गरेको आरोप लाग्ने गरेको छ । विभागका प्रवक्ता अधिकारी अभिमुखीकरण गर्ने संस्थाले राम्रोसँग काम नगरेको जानकारी हुँदाहुँदै पनि कर्मचारी अभावले अनुगमन गर्न नसकिएको बताउँछन् ।
‘विभागको मात्र वैदेशिक रोजगारको क्षेत्र सुधार्ने दायित्व होइन भन्ने नबुझेसम्म अहिलेका विकृति हटाउन सकिँदैन,’ उनले भने । अभिमुखीकरण दिने संस्थाका प्रतिनिधि र म्यानपावर खाली कामदारलाई विदेश पठाउने र उनीहरूसँग रकम असुल्ने दाउमा रहने गरेको कर्मचारीको दाबी छ तर म्यानपावर र अभिमुखीकरण संस्था सञ्चालक भने आफ्नो बलबुताले भ्याएसम्म कामदारलाई वैदेशिक रोजगारीको बारेमा जानकारी दिने गरेको तर कामदारले अटेरी गर्दा मृत्यु र अंगभंग हुने क्रम नरोकिएको जिकिर गर्छन् ।
वैदेशिक रोजगारीको क्रममा कुन वर्ष कतिले ज्यान गुमाए ?
२०७३/७४    ६८७
२०७२/७३    ९०५
२०७१/७२    १००२
२०७०/७१    ८८८
२०६९/७०    ७२७
२०६८/६९    ६४६
२०६७/६८    ५४९
२०६६/६७    ४१८
२०६५/६६    ९०
स्रोतः वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड


‘काम गर्न धेरै बाँकी छ’
निर्मला थापा

निर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
पछिल्लो वर्ष वैदेशिक रोजगारीको क्रममा निधन हुनेको संख्या केही घटेको छ । जुन कुरा निकै सुखद् हो । कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानु भनेको आफू र परिवारको अवस्थालाई सुधार गर्नु हो । आफू र परिवारको आर्थिक अवस्था सुधारको अपेक्षासहित वैदेशिक रोजगारीमा गएको व्यक्तिले उतै ज्यान गुमाउँदा परिवारको अवस्था कस्तो हुन्छ होला ? हामी सबैले बुझेको कुरा हो–त्यस्तो अवस्थामा पीडाबाहेक केही हुँदैन ।
वैदेशिक रोजगारीमा गएका युवायुवतीले ज्यान गुमाउने विभिन्न कारण छन् । तीमध्ये केही त प्राकृतिक कारण होलान् । प्राकृतिक कारणले हुने मृत्युलाई त कसैले केही गर्न सक्ने अवस्था हुँदैन । वैदेशिक रोजगारीको क्रममा निधन हुनेमध्येको कारण खोज्दै जाने हो भने धेरैजसो प्राकृतिकभन्दा पनि अन्य कारणले मृत्यु भएको पाइन्छ ।
प्राकृतिकबाहेक अन्य मृत्युको कारणलाई रोक्न सकिन्छ जस्तो लाग्छ । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि युवायुवतीलाई एकातिर पर्याप्त ज्ञान र जानकारी दिन आवश्यक छ भने अर्कोतिर रोजगारदाताले पनि कामदारको सुरक्षामा सक्दो प्रयास गर्नुपर्छ । मेरो विचारमा कामदारलाई सुरक्षित राख्न अझै थुप्रै काम हुन बाँकी छ । ती काम गर्न सकियो भने वैदेशिक रोजगारीमा जाने कामदारको मृत्युमा कमी आउन सक्छ ।

‘कामदार सुरक्षित राख्न श्रम सम्झौता आवश्यक’
सोम लुइँटेल

अध्यक्ष, पिपुल फोरम
वैदेशिक रोजगारीको क्रममा तमाम कामदार पीडित हुने क्रम बढिरहेको छ । तैपनि सरकारले नेपाली कामदार पठाउने मुलुकमा अझै श्रम सम्झौता गर्न सकेको छैन । जसले गर्दा कामदार पीडित हुने गरेका हुन् । कामदारलाई सुरक्षित राख्ने पहिलो कदम रोजगारदाता मुलुकसँगको श्रम सम्झौता नै हो । नेपालले एक सय १० देशमा कामदार पठाइरहँदा जम्मा ६ देशसँग मात्र श्रम सम्झौता र द्विपक्षीय सहमति गरेको छ । धेरै कामदार जाने साउदी, मलेसियाजस्ता देशसँग नेपालले श्रम सम्झौता गर्न सकेको छैन ।
वैदेशिक रोेजगारीमा जाने मुलुकसँग श्रम सम्झौता गर्न सक्यो भने मात्र धेरै हदसम्म कामदार सुरक्षित हुन्छन् । श्रम सम्झौता नहुँदा यतिखेर रोजगारदाताले कामदारलाई मनपर्दी व्यवहार गरिरहेका छन् । जसले गर्दा पनि कामदार असुरक्षित भइरहेका हुन् ।

Leave A Comment