जाबो जिब्रो !

सोमबार, ०२ असोज २०७४, ११ : ३५ शुक्रवार
जाबो जिब्रो !

घिमिरे ‘मैदेली’

बत्तीस दन्तले घेरेको छालाले बेरेको एउटा सीमित ठाउँमा थुकको पोखरीमा बस्ने जिब्रोले जाबो र जादुको दुई धार देखाउन पछि परेको छैन  । जिब्राको जादु देख्ने, भोग्ने र सुन्नेलाई मात्र थाहा हुन्छ । आफू हल्का भएर पनि तहल्का मच्चाउने यही जिब्रो ।  त्यसो त तपाईहरू सबैसित एक एक जिब्रो छ । त्यसलाई कसरी प्रयोगमा ल्याउनु भएको छ त्यसमा भर पर्छ । भलादमी बन्नका लागि ‘एक पाउको जिब्रो फड्कार्नुभन्दा धार्नीको टाउको हल्लाउनु बेस’ भनेर बूढापाकाले त्यसै भनेका होइनन् ।
पञ्च ज्ञानेन्द्रियमध्येको म स्वाद जाँचकी हुँ भनेर षड रसको पारखी कहलिएको जिब्रो स्वादिलो कुरो पदार्थ पायोभने जति पनि हसुर्न सक्दछ । यहाँबाट धकेलेको धेरै पदार्थले तल पेट क्षेत्रमा केकस्तो असर पर्छ, पाचन प्रक्यिामा कति प्रभाव पार्छ कतै हसुरेका कुराहरू पेटले नसहेर यही जिब्राको बाटो भएर पो फर्कन्छ कि भन्ने कुरा राजस्वका ठुला हाकिम, प्रशासक, नेताहरूलाई जति पनि थाहा छैन जाबो जिब्रोलाई । मुखको रेफ्री भएर बसेको जिब्रो फ्री भएर फड्कारिन्छ । सधैँ फतफताउन चाहने यो फतफते जिब्रोको जादु जगत जाहेरछ । खानको स्वादमा मात्र हो र यसले पेचिला शब्द फड्कारेर  अर्कालाई पेच पार्न पनि त्यतिनै रुचाउँछ । अरूका फतफत नरुचाउने आफू भने फतफताएर बस्ने प्रत्येक जिब्राको निजी स्वभावै हो ।
सडकदेखि सदनसम्म हामीले देखेसुनेका छौँ जिब्राकै जादु । अझै पनि जिब्रो समाबेसी हुन चाहदैन । धनी र गरिबका भेदभाव गर्न पछि परेको छैन । लैङ्गिक भेदभाव गरेर आवाज निकाल्छ यही जिब्रो । आफ्ना आवाजले पीडित भएकोमा म पीडक रहेछु भनेर कहिल्यै पश्चात्तापको आवाज निकाल्दैन यो जिब्रो । संसार जिब्राकै लडाइँमा छ ।
 मान्छेका व्यक्तित्व, कृतित्व र अस्त्वित्व देखाउने जिब्रोले बडो संयमतापूर्वक शब्दशब्द सोचेर विचार गरेर बोल्नु पर्ने हो । त्यतातिर ध्यान पुर्याएको देखिदैन आजको जिब्रोले । फतफताउन र हतपताउन आतुर छ  जसको जिब्रो पनि । जिब्राका गल्तीमा जिब्रेले पछि पछुताउनुको विकल्प केही रहेन ।
 हिजोका महाराजले जिब्रो कसरी चलाए त्यसको परिणाम के भयो ? आज भोग्दा पछुताएर केही नहुने रहेछ । हिजो जङ्गलमा बस्नेले कति निर्दोष मानिसलाई मार भनेर मार्न लगाए । त्यसकै पछुताउका आवाज आज ओकलिरहेको छ त्यही जिब्रे जङ्गली । गोली र बोली एउटै हो, गए पछि फर्कदैन, त्यसले घात, आघात, प्रतिघात पार्छ भन्ने भविष्यलाई भर्सेलामा पारेर जिब्रो फड्कार्नेहरूले आज माफ मागेर मात्र पुग्ने अवस्था छैन । शिङ्गो शरीरलाई झुकाइदिएको छ, लुकाइदिएको छ चुकचुकाइदिएकोछ त्यही जिब्रोले ।
चाकडी वालले पनि हाकिमका जिब्रोको स्वाद चिनेका छन् । उहाँको जिब्रोले घिउ कुराउनी खसीका स्वाद मनपराउने कुरा थाहा पाएर कोसेली लगेर पनि बिगारेका छन् हाकिमका जिब्रो । उहाँलाई नमिठा शब्द मन पर्दैन भनेर मीठामीठा शब्दले चाकडी गरेका हुन्छन् । पीडकको जिब्रोअनुसारका चिज दिएर जसले बानी बिगारिदिएको छ, पछि उही  पीडित भएको छ । माथिल्ला हाकिमका घुस र खासखुसका जिब्राको जादु नबुझ्ने तल्ला कर्मचारीहरू पण्डित भए पनि पीडित हुन पुग्नुमा लुक्न र भुक्न नसक्ने जिब्रोनै जिम्मेवार छ । अरूको दोष छैन । स्वादे जिब्राहरूका टिम नमिल्दा भिक्टिम भएका जिब्राहरू अछुतो नभएर पनि पछुतोमा परिरहेका छन् । यस्ता कार्य र कारणमा जिब्रोनै जिम्मेवा छ ।
यो जिब्रो हुनेखानेले मात्र जथाभावी प्रयोग  गर्न पाउने रहेछ ? गरिव औकात नभएकाहरूले नमिठो खाएर पनि  ठुलालाई मीठो खुवाउने, मीठो आवाज सुनाउने गर्दा त हो नि जाबो जिब्रो जखर्किएको । जिब्राको बसमा पर्नेहरूले जुनसुकै नाम काम र दामका मामलामा जिब्रोलाई नै हतियार र मतियार बनाएका छन् । आधिकारिक व्यक्तिहरू अब उप्रान्त कसैले घुस नखानू भनेर जिब्रो फड्कार्छन् । बानीपरेकाहरूका जिब्रामा स्वाद बसिरहेको हुन्छ । स्वाद पाइसकेका जिब्राले त्यही संकेतलाई आधार मानेर उपल्लाका जिब्रालाई तल्लाले मीठो स्वाद चखाउन तम्सन्छ ।
जगतका जिब्राको जादु नबुझे पनि उसले हरियो घाँस देखाउँदा लोभिएको पशुको घात, हरियो नोटको बिटो देखाउँदा लोभिएले नरपशुलाई लागेको बात र चेपारे श्रीमतीको दुईजिब्रे सम्वाद बुझ्न सक्दा मात्र पनि जिब्रे जोखिमबाट जीवन जोगिन सक्नेछ । जिब्रेलाई चेतना भया !

Leave A Comment