डेले अलीमाथि छानबिन

सोमबार, ०२ असोज २०७४, ११ : ४४ शुक्रवार
डेले अलीमाथि छानबिन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गत शुक्रबार टोटनह्यामका इङ्लिस स्ट्राइकर डेले अलीले अनुशासन उल्लंघन गरेको भन्दै उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।
विश्वकप छनोटअन्तर्गत गत सोमबार सम्पन्न स्लोभाकियाविरुद्धको खेलका क्रममा देखाएको अश्लील हाउभाउपछि उनीमाथिको छानबिन प्रक्रिया अघि बढाइएको हो ।
अलीले उक्त खेलका क्रममा माझी औंला देखाएका थिए । तर पछि उनले आफ्नो हाउभाउ टिम सहयात्री काइले वाल्करसँग ठट्टा गर्नका लागि प्रयोग गरेको बताएका थिए ।
तर फिफाका प्रवक्ताले यस विषयमा छानबिन भैरहेको बताएका छन् ।
‘हामी अलीमाथि अनुशासन उल्लंघन गरेको विषयमा छानबिन प्रक्रिया अघि बढेको प्रस्ट पार्न चाहन्छांै । प्रक्रिया अघि बढिरहेकाले यस विषयमा थप जानकारी दिन हामी असमर्थ छौं,’ फिफा प्रवक्ताले भने ।
अलीले अश्लील हाउभाउ देखाएको तस्बिर र भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ । तर इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले यसलाई गम्भीर रूपमा लिन नहुने बताए ।
‘काइले र डेले एकआपसमा जिस्किरहेका थिए । डेलेले काइलेप्रति संकेत गर्दै उक्त हाउभाउ देखाएका थिए,’ साउथगेटले भने, ‘उनीहरूको संवाद गर्ने अनौठो तरिका छ ।’

Leave A Comment