कोरियामा किन नेपालीले आत्महत्या गर्छन् ?

सोमबार, ०२ असोज २०७४, १२ : ५७ रुद्र खड्का
कोरियामा किन नेपालीले आत्महत्या गर्छन् ?

रोजगारीका लागि कोरिया पुगेका नेपालली आत्महत्या गर्ने क्रम नरोकिएपछि प्रश्न उठेको छ– रोजगारीका लागि कोरिया पुगेका युवायुवती किन आत्महत्या गर्छन् भन्ने ।
कोरियाको विकास र आर्थिक उन्नतीलाई सरसर्ती रूपमा हेर्दा त्यहाँको रोजगारीप्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवायुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनु पर्ने आवाज उठेको छ ।
 वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार सन् २०१७ सकिन चार महिना बाँकी रहँदाको अवधिसम्म कोरियामा १७ जनाको मृत्यु हुँदा चार जनाले आत्महत्या गरेका छन् ।
इपिएस शाखा प्रमुख बाबुराम खतिवडा कामदारलाई कोरिया लैजाने छनोट प्रक्रिया नै गलत भएकाले कामदारले आत्महत्या गर्ने क्रम बढेको बताउँछन् ।  थ्रिडी (डर्टी, डेन्जरस र डिफिक्ल्टी) काम गर्न लैजाने कामदारको छनोट प्रक्रिया अध्ययन, अनुसन्धान गर्न लैजाने सरहको हुँदा समस्या वृद्धि भइरहेको  खतिवडाको भनाइ छ । ‘घरमा रहँदा खेतीबारीमा पाइला नटेकेका युवायुवती भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान्छन्,’ उनले भने, ‘भाषा परीक्षा उत्तीर्ण गर्नु र कोरिया गएर तिनै थ्रिडीको काम गर्नु पर्दा कैयन युवायुवी डिप्रेषणमा परेर आत्महत्यासम्मको बाटो रोज्न पुग्छन् ।’
शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जनाको निधन हुँदा तीन जनाले आत्महत्या गरेका थिए । कोरियामा आत्महत्या गर्ने क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न पीडितहरूले पटकपटक आवाज उठाउँदै आए पनि अहिलेसम्म ठोस योजना भने बन्न सकेको छैन । सन् २००७ यता कोरिया गएकामध्ये एक सय ३० जनाको निधन हुँदा ३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्षका युवायुवती रहेको बताइएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएयता (सन् २००७) मात्र कोरियामा ज्यान गुमाउने र आत्महत्या गर्ने नेपालीको विवरण राख्न थालिएको हो । इपिएस सुरु भएदेखि गत साउन १८ गतेसम्म कोरियामा ४८ हजार चार सय ८८ नेपाली कामका लागि पुगेका छन् ।
कामदार मैत्री श्रम ऐन तथा आर्थिक अवस्था राम्रो रहेकाले हाल कोरियामा प्रतिव्यक्ति मासिक न्यूनतम पारिश्रमिक एक लाख ४२ हजार रुपैयाँ रहेको खतिवडाले जनाए । ओभरटाइम र कम्पनीले बेला बेला दिइरहने बोनसका कारण अधिकांश कामदारले महिनामा दुई लाख रुपैयाँका हाराहारीमा कमाइ गर्ने गरेको कोरियाबाट फर्केकाहरू बताउँछन् ।
 विज्ञहरू भने कोरियामा आत्महत्याका घटना निरन्तर वृद्धि भइरहनुको कारण कोरिया जानु अघि त्यहाँको यथार्थ विवरण कामदारलाई नदिनुलाई ठान्छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा श्रम विज्ञ गणेश गुरुङ कोरिया के हो र गर्नुपर्ने कामबारे यथार्थ जानकारी दिन सक्ने हो भने स्वदेशमा रहँदासम्म काम नगरेका व्यक्तिले कोरिया जाने इच्छा त्याग गर्न सक्छन् ।
‘यतिखेर सबैले कोरियालाई विकसित देश भन्दै राम्रो पारिश्रमिक मात्र पाइन्छ भनेर प्रचार गर्ने गरेका छन्,’ उनले भने, ‘कोरियामा गाउँ पनि छन् । त्यहाँ गर्नुपर्ने काम निकै जटिल छ भनेर कोरिया जानु अघि नै सिकाउने हो भने समस्यामा कमी आउन सक्छन् ।’
चार वर्ष कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारीको रूपमा काम गरी हालै सेवानिवृत्त भएका अनिल गुरुङ कोरियामा नेपालीले आत्महत्या गर्नुको कारणमा मालिकको व्यवहार, फरक संस्कृति तथा घरपरिवारले उनीहरूबाट धेरै अपेक्षा गर्ने आर्थिक पाटोले सघाइरहेको बताउँछन् । ‘कोरिया फिल्ममा हेरेको जस्तो छैन,’ उनले भने, ‘तर, नेपालमा रहँदा भने कोरियालाई फिल्मको आँखाले मात्र हेरिन्छ ।’
उनले काम गर्न सक्नेका लागि कोरिया निकै राम्रो भए पनि काम नगरी केवल कुरा मात्र गर्नेका लागि उपयुक्त छैन भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए । यता मानसिक रोज विशेषज्ञ रवी शाक्य आत्महत्याको प्रमुख कारण डिप्रेशन रहेको बताउँछन् । कोरियाको मानव संशाधन विभागका नेपाल निर्देशक किम कि वुकले नेपालीले किन कोरियामा आत्महत्या गर्छन् भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए ।
कोरिया जाने प्रक्रिया
रोजगारीका लागि कोरिया पुगेका व्यक्तिहरूले आत्महत्या गर्ने क्रम बढे पनि कोरिया जान भने त्यति सहज छैन ।
कोरिया जानका लागि सबभन्दा पहिला कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरियाको मानव संशाधन विभागले बर्सेनि तय गर्ने कोटामा पर्न भाषा परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन । चर्को प्रतिस्पर्धाबाट तय गरिएको कोटाभित्र पर्न सक्नु पर्छ ।
परीक्षामा सहभागी हुनु अघि कोरिया भाषा सिक्न प्रायः युवायुवतीले कम्तीमा ६ महिना बढी समय खर्चेका हुन्छन् । सन् २०१८ मा उड्न पाउने गरी गत जेठ २७ र २८ गते भएको भाषा परीक्षामा ७५ हजार पाँच सय ८० जनाले प्रतिस्पर्धा गरेका थिए । कोरियाको मानव संशाधन विभागले तोकेको १० हजार पाँच सय कोटाका लागि केही दिन अघि प्रकाशन गरिएको नतिजामा  १२ हजार एक सय आठ युवायुवती उत्तीर्ण भएका छन् ।
अब उनीहरूको स्वास्थ्य परीक्षण सकिएपछि रोजगारी आवेदन फारम कोरिया पठाइने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । भाषा परीक्षा उत्तीर्ण गरी स्वास्थ्य परिक्षणमा सफल भएकालाई कोरियन रोजगारदाताले कामको अफर गरेपछि मात्र उनीहरू जान पाउने भण्डारीले बताए ।
‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौं,’ उनले भने, ‘कोरियन रोजगारी नदिएसम्म कोरिया जान पाइन्छ भनेर विश्वास गर्नु हुँदैन ।’
अघिल्लो वर्ष कोरियाले तीन हजार एक  सय कोटा निर्धारण गर्दा ६१ हजार पाँच सय युवायुवतीले भाषा परीक्षाको प्रतिस्पर्धा गरेका थिए । यतिखेर कोरियाबाहेक अन्य गन्तव्य मुलुकमा भइरहेको कामदारको मृत्युदर पनि सन्तोषजनक छैन ।
 दुई वर्षको अघिको तुलनामा आर्थिक वर्ष २०७३/७४ मा विदेशमा मृत्यु हुने कामदारको संख्या केही घटे पनि वैदेशिक रोजगारीमा कामदार सुरक्षित हुन नसकेको विज्ञको भनाइ छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७३/७४ मा श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका ६ सय ८७ को निधन भयो । आर्थिक वर्ष २०७२/७३ मा विदेशमा मृत्यु हुनेको संख्या ८ सय १५ थियो भने त्यसभन्दा अघिल्लो वर्ष एक हजार छ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।
बोर्डका अनुसार आर्थिक वर्ष २०७३/७४ मा विभिन्न मुलुकमा ७८ जनाले आत्महत्या गरेका थिए । जसमा महिलाको संख्या चार छ ।

‘इपिएसको साटो डब्लुपिएस चाहिन्छ’
उदय राई

अध्यक्ष, प्रवासी मजदुर संगठन कोरिया
कोरियामा कामदार समस्यामा पर्नुको मुख्य कारण रोजगार अनुमति प्रणाली (इपिएस) हो । नेपालमा प्रचार गरिएजस्तो इपिएसमार्फत् कोरिया पुग्ने कामदारले सेवा, सुविधा पाउन सकेका छैनन् ।   कोरियामा हाल करिब  १० लाख आप्रवासी कामदार छन् । जसमध्ये २ लाख ७५ हजार मजदुर इपिएसमार्फत् पुगेका हुन् ।
संविधान हेर्ने हो भने कोरियाको कानुन कामदारमैत्री नै देखिन्छ । कोरियन सरकारको व्यवहार आप्रवासी कामदारलाई हक, अधिकार प्रदान गर्ने कहिल्यै सकारात्मक देखिएको छैन । इपिएसमार्फत् कोरिया पुगेकाको अवस्था त झन् निरीह छ ।  
इपिएसमार्फत् कोरिया पुगेका कामदार शोषणमा पर्ने क्रम नरोकिएपछि एमटियुले पछिल्लोपटक इपिएस (रोजगार अनुमति प्रणाली) को साटो डब्लूपीएस (कामदार अनुमति प्रणाली) को आवाज उठाइरहेको छ । जसरी नेपालमा कुनै व्यक्ति कोरिया पुग्दैमा सबैथोक प्राप्ती गरेको ठान्निछ ।  त्यसरी नै कोरियामा भने रोजगारदाताको व्यवहार निकै फरक छ । यसको कारण इपिएस नै हो । इपिएस भनेको प्रेसर कुकरमा जे सामान राख्यो । त्यही  हो । प्रेसर कुकरमा दाल राखिएको छ भने दाल नै पाक्ने हो । इपिएसको मूल उद्देश्य कामदारको नभई रोजगारदाताको सुरक्षा गर्ने भएकाले हामीले इपिएस खारेज गरी डब्लूपीएसको माग गरिरहेका हौं ।
इपिएसमार्फत् कोरिया पुगेका कामदार सम्झौता अवधिभर साहुको नियन्त्रणमा बस्नु पर्ने हुन्छ । रोजगारदाताले राम्रो पारिश्रमिक दिएन, शोषण ग¥यो या कामदार स्वयम्लाई आफूले गरिरहेको काम चित्त नबुझे पनि इपिएसमार्फत कोरिया पुगेका श्रमिकले अर्को रोजगारी खोज्न सक्दैनन् । जबकि अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार श्रमिकलाई मन नलागेको काम छाड्ने तथा सेवा सुविधाका लागि मालिकसँग सौदाबाजी गर्ने हक, अधिकार हुने व्यवस्था छ । यति मात्र होइन नेपालबाट इपिएसमार्फत कोरिया जाने कामदारको सम्झौता ४ वर्ष १० महिनाको हुने भनिए पनि साहुले मन नपाएको खण्डमा ३ वर्षमै कामदारलाई स्वदेश फिर्ता गर्ने अधिकार इपिएसले रोजगारदातालाई दिएको छ ।  
इपिएसमार्फत् कोरिया पुगेका कामदारले साहुसँग सेवा, सुविधाबारे कुरा गर्न सक्ने हैसियत दिएको छैन ।  इपिएसको राम्रो पक्ष भनेको स्रोत मुलुकमा हुने छनोट मात्रै हो । कामदार छनोट गर्दा भाषा परीक्षा राम्रो गरेकालाई मात्रै ग्राह्यता दिनु इपिएसको राम्रो पक्ष हो । कोरियन भूमिमा पुगेपछि कामदामाथि हुने अत्याचार भने चरम हुन्छ ।  कोरियामा पुगेका नेपालीले आत्महत्या गर्ने क्रम बढ्नुमा रोजगारदाताको अत्यधिक शोषण हो ।

Leave A Comment