चुनावका खतरा लइका र साना हतियार

मङ्गलबार, ०३ असोज २०७४, १२ : ४२ शुक्रवार , Kathmandu
चुनावका खतरा लइका र साना हतियार

प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय तहको निर्वाचन सम्पन्न हुँदासम्म त्यहाँ ‘लइका’को माग बढ्दो छ । दलहरुले चुनावमा आफ्नो बाहुबल प्रदर्शन गर्न प्रयोग गर्ने युवाहरुलाई त्यहाँ ‘लइका’ भनिन्छ । चुनावको मुखमा रहेको तराई अहिले ‘लइका’ र ‘साना हतियार’का कारण त्रस्त छ । मतदाता धम्क्याउँदै भोट माग्ने प्रवृत्ति देखिएको छ । लइका र साना हतियार अहिले त्यहाँको शान्ति सुरक्षामै ठूलो चुनौती बनेको छ । लहानबाट मिथिलेश यादव र वीरगञ्जबाट रितेश त्रिपाठीले तयार पारेको रिपोर्ट ।


मतदाता धम्क्याउँदै, भोट माग्दै 

मिथिलेश यादव
लहान

केस १ :
समय :१९ भदौ
साँझ :७ः३० बजे ।  

नेकपा एमालेबाट लहान नगरपालिकाका मेयर उम्मेदवार रहेका मुनी साहको घरमा विस्फोटक पदार्थ विस्फोट भयो । क्षति गराउनेभन्दा पनि त्रास फैलाउने मानसायले विस्फोटन गराइएको ठहरसहित प्रहरीले अनुसन्धान सुरु ग¥यो तर अहिलेसम्म केही पत्ता लागेन । घटनालाई चुनावसँग जोड्दै नेकपा एमाले लहान नगर कमिटीले विज्ञप्ति जारी गर्दै उम्मेदवारलाई डराएर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यबाट घटना गराइएको ठहर गरेको छ ।

केस २ :
मिति : भदौ २५ गते
समय : साँझ

सिरहाको धनगढीमाई नगरपालिका १३ शिवमन्दिर टोलका अगुवा रामविलास राममाथि कुटपिट भयो । स्थानीय रामउद्गार महतोले गुण्डा समूह लगाएर आफूमाथि कुटपिट गरेको रामले बताए । स्थानीय प्रतिकारमा उत्रेपछि महतो नेतृत्वको समूह मोटरसाइकल छोडेर भागेका थिए । यो टोलको मत आफ्नो पक्षमा दिन रामलाई पहिला प्रभावमा पार्न खोजे । नमान्दा गुण्डागर्दी शैली अपनाएर मत प्रभावित गर्ने प्रयत्न गरेको रहस्य खुल्यो ।   

केस ३ :
मिति : भदौ २६ गते
समय : राति

लहान नगरपालिकाको गाढास्थित सदाय टोलका सञ्जय सदायमाथि कुटपिट भयो । आफ्नो पक्षमा मत खसाल्नुपर्ने भन्दै पहिला प्रमोद गुप्ता पक्षले धम्क्याए । धम्की अटेर गर्दा उनीमाथि मारपिट नै भयो । सदायलाई उक्त समूहको कुटाइबाट स्थानीयले जोगाए । भोलिपल्ट बिहान फेरि उही समूहले वीरेन्द्र महतो र दीपेन्द्र महतोलाई एक्लो भएको मौका छोपेर हमला गरे । निर्मम कुटाइबाट घाइते दुवै लहान अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

चुनावी परिणाम आफ्नो पक्षमा पार्न केही उम्मेदवार गुण्डागर्दीमै उत्रिएका छन् । एक स्थानीय भन्छन्, ‘पैसाको बलमा मसल पावर देखाएर मत हत्याउनु बिडम्बना हो ।’ स्थानीय रामदेव महतो भन्छन्, ‘यहाँ गुण्डागर्दीको बलमा मत हत्याउने प्रवृत्ति पुरानै हो ।’
६० वर्षीय महतो पनि आफू यस प्रवृत्तिको सिकार भैसकेको बताउँछन् । ‘चुनावमा साम, दाम, दण्ड, भेद सबै अपनाएर जित्ने कसरतमा जुटेका उम्मेदवारहरु अन्तिम अस्त्र ‘मसल’ प्रयोग गरेर कमजोर वर्गको निर्णायक मत आफ्नो पक्षमा पार्ने गर्छन्,’ महतोले भने ।
कतिपय उम्मेद्वार आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई प्रयोग गरेर पनि कमजोर वर्गको मतलाई प्रभावित पारेको इतिहास छ । हतियारको त्रास समाजबाट हटेको छैन । लामो समय हतियारधारीको गतिविधिबाट आक्रान्त मधेसी समाजमा पछिल्लो समय हतियारधारीको प्रभाव कम देखिए पनि पूर्णरुपमा यस किसिमको त्रास हटिसकेको छैन । वैध हतियार बुझाउन स्थानीय प्रशासनले सूचना जारी गरे पनि तथ्यांकमा भए जति हतियार नबुझाइएको प्रहरी अधिकारीको भनाइ छ ।  
स्थानीय तहको निर्वाचन घोषणा भएपछि सुरक्षाका निम्ति गृह मन्त्रालयले घरमा राखिएका ‘वैध’ हतियारसमेत निश्चित अवधिका लागि सरकारलाई बुझाउन निर्देशन जारी गरेको थियो । त्यसयता दोस्रो चरणको निर्वाचनको मिति तीन पटक सरिसक्यो । अन्तिम मिति असोज २ गते निर्वाचन हँुदैछ । गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गरेर घरमा राखिएका हतियार प्रहरीलाई बुझाउन निर्देशन गरे पनि सम्पूर्ण हतियारधनीले अझै हतियार बुझाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले चुनावको सुरक्षालाई मध्यनजर गरेर सर्वसाधारणलाई अनुमति लिएर राखिएका हतियार बुझाउन समयसीमा तोकिदिएको थियो । १५ वैशाखसम्ममा त्यस्ता हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचना नै जारी गरिएको थियो । तर १७ वैशाखसम्म पनि कसैले हतियार बुझाएनन् । ‘हामीले आग्रह गरेर २१ थान वैध हतियार संकलन गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) शेखर कोइरालाले भने ।
जिल्ला प्रशासन कार्यालय सिरहाको रेकर्डअनुसार जिल्लामा तीन सय २० जनाले हतियार राख्ने अनुमति लिएको देखिन्छ । त्यसमा अहिलेसम्म दुई सय ९३ थान अनुमति प्राप्त हतियारको नवीकरण भएको जिल्ला प्रशासन कार्यालय सिरहाको तथ्यांक शाखाले जनायो । प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले नवीकरण नभएका २७ थान हतियारसमेत सम्बन्धित व्यक्तिसँगै रहेकाले त्यसमा निगरानी बढाइएको बताए ।
‘तराईका जिल्लामा निर्वाचनको विरोधमा अहिले पनि विभिन्न आन्दोलन भइरहेकाले आफू सुरक्षित हुन र केही भइहाले प्रतिकार गर्न गोप्य रुपमा विभिन्न राजनीतिक दलका नेताले अवैध हतियारसमेत राखेको सूचना छ,’ एक प्रहरी अधिकृतले भने । जिल्लामा विभिन्न राजनीतिक दलका २० जनाभन्दा बढी नेतासँग अवैध हतियार रहेको सुरक्षा स्रोतको दाबी छ ।

को–कोसँग छन् वैध हतियार
माओवादी केन्द्रका नेता देवनाथ साहु तेलीसँग १२ बोरको एकनाले टोटावाल बन्दुक दुई थान रहेको छ । बहालवाला शान्ति मन्त्री एवं कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवसँग १२ बोरको दुई नाले टोटावाल बन्दुक दुई थान रहेको छ । कांग्रेस सांसद पद्मनारायण चौधरीसँग २२ बोरको राइफल, कांग्रेसकै सांसद अमियकुमार यादवसँग २२ बोरको राइफल र १२ बोरको एकनाले टोटावाल बन्दुक रहेको छ । त्यस्तै कांग्रेस नेता मोतीलाल श्रेष्ठसँग पनि १२ बोरको दुईनाले टोटावाल बन्दुक एक थान रहेको जिल्ला प्रशासनको रेकर्डमा उल्लेख छ ।
रेकर्डमा रहेका राजनीतिक व्यक्तित्वहरुसँग आग्रह गरेर हतियार संकलन गरी राखिएको एसपी कोइरालाले बताए ।

सीमा र आपराधिक व्यक्तिमाथि निगरानी
जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय तहको निर्वाचन अवधिभर भारतसँग जोडिएको जिल्लाको दक्षिणी सीमा र आपराधिक व्यक्तिमाथि निगरानी बढाएको छ । जिल्लाको करिब ४० किलोमिटरभन्दा बढी दक्षिणी भाग भारतसँग जोडिएको र सीमा खुला रहेकाले सीमा सुरक्षामा कडाइ गरिएको एसपी कोइरालाले बताए । जिल्ला अहिले पनि आपराधिक क्रियाकलापमा संलग्न विभिन्न व्यक्तिसँग अवैध साना हतियार रहेकाले निगरानी चुस्त राखिएको उनले बताए ।

अवैध हतियार संकलनमा ‘सूचना अभाव’
अवैध हतियार बरामद गर्न नसक्नुको मुख्य कारण सूचना अभाव भएको प्रहरी ठान्छ । कहाँ, कोसँग कस्ता हतियार छन् भन्ने सूचना नहुँदा अवैध हतियार संकलन गर्न कठिनाइ भएको प्रहरी अधिकारीहरुको भनाइ छ ।
मुख्यतः भारतसँग सीमाना जोडिएका दक्षिणी क्षेत्रमा अवैध रुपमा थुप्रै हतियार राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । सँगै उत्तरी क्षेत्रमा सामुदायिक वनहरुमा वन्यजन्तुको सिकार गर्न र जंगली जनावरबाट बच्न पनि थुप्रैले साना हतियार राखेको प्रहरीको विश्लेषण छ । तर सूचना अभावले त्यस्ता हतियार घर–घरमा गएर बरामद गर्न नसकिएको प्रहरी बताउँछ ।

अवैध हतियार ‘मुख्य चुनौती’
यहाँ अवैध हतियार सुरक्षाको ‘मुख्य चुनौती’ रहेको निष्कर्ष सुरक्षा अधिकारीहरुको छ । सोहीअनुसार त्यस्ता हतियारको खोजी गर्न तथा बरामद गर्न मातहतका सुरक्षा पोस्टलाई सर्कुलर गरिएको छ । तर मुख्य चुनौतीको रुपमा हेरिएका त्यस्ता अवैध हतियार अपेक्षित रुपमा बरामद नहुनुले सुरक्षा जोखिम कायमै रहेको देखाउँछ ।
नेपालसँग सीमाना जोडिएका भारतको बिहार राज्यका विभिन्न जिल्लामा अवैध हतियार निर्माण हुने र ती हतियार अवैध बाटोबाट नेपालसम्म आइपुग्ने गरेको विगतका चोरी–डकैती तथा अपहरणजस्ता घटनाबाट पुष्टि भएको छ । नेपालमा प्रहरीले हतियारसहित पक्राउ गरेका व्यक्ति आफूले भारतीयसँग हतियार खरिद गरेको बयान दिनुले भारतीय भूमिबाट त्यस्ता हतियार नेपाल भित्रिन्छन् भन्ने पुष्टि हुन्छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यहाँ साउन महिनामा साना हतियार(पेस्तोल) प्रयोग भएका एउटा घटना भएको छ । साउन र चैत महिनामा साना हतियारसहित दुईजना व्यक्ति पक्राउ परेको प्रहरी तथ्यांक छ ।
त्यसरी आउने हतियार ठ्याक्कै कति संख्यामा छन् भन्ने अनुमान सुरक्षा निकायसँग नभए पनि कम संख्यामा पनि नभएको सुरक्षा निकायको बुझाइ छ । र, त्यस्ता हतियार आपराधिक समूहले प्रयोग गर्ने हुन् । ‘चुनावको अवधिमा वैधभन्दा पनि अवैध हतियार र प्रयोगकर्ताबाट सुरक्षा चुनौती देखिन्छ,’ एसपी कोइराला भन्छन्, ‘खुला सीमाना नै यसको प्रमुख कारण हो ।’

साना हतियार संस्कृति
माओवादी र आपराधिक समूहदेखि टोले दादासम्मले हातहतियार मोह देखाएपछि आम मानिसको पनि ‘आवश्यकता’ बनेको छ– साना हतियार । तराई–मधेशमा ‘आत्मरक्षाका लागि’ साना हतियार राख्ने प्रवृत्ति बढ्दो छ ।  लामो सशस्त्र गतीविधिका कारण यहाँका मानिस सशस्त्र समूहबाट जोखिम कम गर्न साना हतियार राख्न थाले । पछि गएर उनीहरुमा पनि ‘हतियार संस्कृति’ मौलाएको छ ।
२०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सुरु गर्नुअघि देशमा केही हुनेखानेले शिकार, सोख र सुरक्षाका लागि हतियार राख्थे । शान्ति प्रक्रिया सुरु भएपछि माओवादीबाट अलग्गिएका व्यक्तिसमूह र सुरक्षा निकायका भगौडाहरुले हतियारको प्रयोग ह्वात्तै बढाए । अहिले हतियार चलाउन जानेकाहरु नै मुख्य सुरक्षा चुनौती बनेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
साना हतियारको सहज उपलब्धताले गाउँबस्तीका दादालाई समेत खतरनाक बनाएको छ । समाजमा विभिन्न समयमा छरिएका साना हतियार शान्ति सुरक्षामै ठूलो चुनौती बनेको छ । तराई मधेसमा लगभग हरेक दिनजसो प्रहरीले साना हतियार बरामद गरिरहेको बताउँछन् ।
चुनावमा बढ्यो ‘लइका’को माग  
रितेश त्रिपाठी, वीरगन्ज

उसो त भोजपुरीमा ‘लइका’ भन्नाले बच्चालाई बुझिन्छ । वीरगन्जमा भने ‘बाहुबल’ प्रदर्शन गर्न प्रयोग हुने बाउन्सर केटाहरुको समूहलाई बुझिन्छ । तराईमा यसपालिको चुनावमा लइकाहरुको माग उच्च छ ।

यतिखेर वीरगन्ज महानगरपालिकाको निर्वाचनमा दलहरुले लइकाको व्यापक प्रयोग गरिरहेका छन् । पर्चा, झण्डा झुण्ड्याउने र टाँस्नेदेखि सभामा जमात देखाउन र भोजभतेर परिचालन गर्नेसम्म उनीहरुको सक्रियता छ । पार्टीका युवा संगठन, विद्यार्थी संगठन, नगर समिति लगायतमा आबद्ध गराएर त्यस्ता युवा जमातहरुलाई राजनीतिमा प्रयोगको सिलसिला निकै अगाडिदेखि सुरु भए पनि पछिल्लो समयमा दबदबा देखाउन दलका नेताहरुले उनीहरुलाई प्रयोग गर्ने गरेका छन् ।
बेरोजगारी र विभिन्न स्वार्थ तथा सम्बन्धका आधारमा दलका नेताहरुसँग ‘इङ्गेज’ हुन पुगेका युवा जमात ठूलो छ वीरगन्जमा । सहरका रैथाने र गाउँबाट सहर पसेका युवाहरु त्यस्तोमा सामेल देखिन्छन् । ‘लइका’ भन्ने युवाहरुको बाहुबलले दलका नेताहरु एक अर्कासँग टक्कर लिन डराउने पनि गरेका छन् । अहिले चुनावमा परस्पर संयमको माध्यम बनेका छन् ‘लइका’ । सम्भावित अशान्तिका कारक पनि उनीहरु नै बन्न सक्ने आँकलन गरिन्छ । आपराधिक पृष्ठभूमि भएकालाई प्रश्रय दिने र उनीहरुको बलमा आफ्ना अनेकन् स्वार्थपूर्ति गर्ने नेताहरुले चुनावमा सबै थरीलाई प्रयोगमा ल्याएका छन् ।
यहाँसम्म कि स्थानीय प्रशासन, सुरक्षा निकाय पनि निकै सतर्क र एक किसिमले भयभित देखिएको छ । उम्मेदवारी दर्ता हुने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाकर्मी बढाइएको थियो । यसको मूल कारण राज्यको सुरक्षा संयन्त्रमा भयको मनोविज्ञान नै हो । वीरगन्जस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको जत्था खडा गरी सुरक्षा छाउनीमा परिणत गरिएको थियो । यसले ठूला दलका मुख्य उम्मेदवारलाई त असर परेन, दलित, कमजोर र महिला उम्मेदवारलाई यो मिल्दैन, त्यो मिल्दैन भन्दै हस्तक्षेप गरी बलजफ्ती सुरक्षाकर्मीले फर्काइदिएकाले दर्जन बढी आकांक्षीहरु वीरगन्जमा उम्मेदवारीबाट वञ्चित भए । यस विषयमा पनि नागरिक समाजले गम्भीर आपत्ति प्रकट गर्दै सुरक्षा निकायको अनधिकृत हस्तक्षेप बन्द गराउन आग्रह गरेका छन् । यता पर्साका प्रहरी उपरीक्षक आफूहरुले सुरक्षा सावधानी अपनाएको बताउँछन् ।
यसरी दलहरुले बाहुबललाई प्राथमिकता दिँदा चुनावमा अस्वस्थ्य प्रतिस्पर्धाको प्रदर्शन भएको छ । र, प्रयोग हुने ‘लइका’हरुलाई नगद, मोटरसाइकलमा तेल र मासु–मदिरा प्राप्तिको माध्यम बनेको छ चुनाव ।
 युवा सामाजिक अभियन्ता विनय यादव चुनावमा युवाहरूको प्रयोगलाई सकारात्मक रुपमा लिनुपर्नेमा त्यस्तो अवस्था नरहेको टिप्पणी गर्छन् । ‘वैचारिक रुपमा युवाहरु राजनीतिमा लाग्नु र संगठित हुनु राम्रो कुरा हो, यहाँ त्यो कुरा भने देखिएको छैन,’ यादवले भने, ‘वैचारिक धरातलमा नटेकेर र विभिन्न स्वार्थवश युवाहरु जसरी चुनावमा प्रयोग हुँदैछन्, त्यसले उनीहरुको चरित्रमा असर पर्नेछ र समाजमा उदण्डता बढ्नेछ ।’
डेढ दसकदेखि युवा सशक्तीकरण अभियानमा लागेका महेश अर्याल युवालाई झूटो आश्वासन दिएर राजनीतिक कार्यक्रमहरूमा प्रयोग गरिएको बताउँछन् । ‘समय परिस्थितिले कतिपय झूटो आश्वासनमा फँसेका पनि छन् । आफ्नो जीवनको बाटो तय गर्न नसकेका आलाकाँचा युवाहरु राजनीतिक खेलाडीहरुको खेलमा फँसेका छन्,’ अर्यालले भने, ‘यस्ता कुराले युवामा कुसंस्कार बसाल्छ । आर्थिक, सामाजिक र पारिवारिक तहसम्म यसले विचलन ल्याउनेछ ।’

Leave A Comment