‘तलबभन्दा बढी पाएको त्यो टिप्स...’

मङ्गलबार, ०३ असोज २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
‘तलबभन्दा बढी पाएको त्यो टिप्स...’

लोकदोहोरी गायनमा लोकप्रिय नाम हो– रामजी खाँड । उनले हालसम्म करिब सात हजार लोकदोहोरी गीत गाइसकेका छन्, १ सयजति म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका उपाध्यक्ष पनि हुन् । ११ वर्ष दोहोरी रेस्टुरेन्टरमा गीत गाएका रामजीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
तपाईंले त सात हजार लोकदोहोरी गाइसक्नु भएको रहेछ, दिनमा कति गीत रेकर्डिङ गर्नुहुन्छ ?
अहिले पहिलेजस्तो छैन । पहिले एक दिनमा सात वटासम्म गीत गाइन्थ्यो । अहिले दैनिकजसो दुइटा गीत रेकर्ड भइरहेको हुन्छ । कहिलेकाहीँ चार वटा पनि पुग्छ ।

यत्रा गीत गाउनुभयो कति पैसाका लागि र कति कलाका लागि गाएँजस्तो लाग्छ?
सात हजारमा दुई हजार जति सम्झनलायक छन् जस्तो लाग्छ । इमान्दार भएर बोल्नुपर्दा धेरै गीतहरु पैसाका लागि गाइयो । सुरुसुरुमा नामका लागि गाइन्थ्यो, अहिले पैसा पनि जोडिन्छ ।

पछिल्लो समय धेरै गायक–गायिकाहरुले स्तरीय गीत दिनेभन्दा पनि संख्यालाई जोड दिएको पाइन्छ, किन होला ?
सही कुरा । पछिल्लो समय यो क्षेत्रमा आउन चाहनेहरु धेरै भए । गीत रचना गर्ने र निर्माणको चाहना राख्नेहरु बढे । आफूले लेखेका गीतहरु कसको स्वरमा निकाल्ने त भन्दा फलोनोको भन्ने कुरा आउँछ । कसैले पैसा दिएर अफर गर्छ भने हामीले पनि किन नगर्ने ? आखिर बाँच्नु पनि त पर्छ, जीविको पनि चलाउनुपर्छ । त्यसैले व्यावसायिक हिसाबले गाउने क्रम बढेको हो जस्तो लाग्छ तर पछिल्लो समय आफैँ पैसा खर्च गरेर गाउने गायकहरु बढेपछि यो क्रम घट्दैछ ।

गीत गाउनुको त एउटा उद्देश्य हुनुपर्ने हो तर यहाँ त स्तरमा भन्दा बढी संख्यामा ध्यान गयो नि ?
हो, संख्या बढी भएकै हो । यही कारण हाम्रो क्षेत्रमा आँच आएको छ, विकृति भित्रिएको छ । म सुरुमा कलाकार बन्छु भन्ने हिसाबले यस क्षेत्रमा आएँ । आफूले रचेका गीत आफ्नै खर्चमा रेकर्ड गरेँ तर चलेनन् । तैपनि संघर्ष जारी रह्यो । लगातार १० वर्ष संघर्ष गरँे । त्यसपछि मेरो ‘पछ्यौरी’ र ‘देउरालीको भट्टी पसल’ बोलका दुई गीत असाध्यै हिट भए । मलाई अरु सर्जकले पनि उनीहरुका एल्बममा गीत गाउन दिन थाले । मैले मनोरञ्जनका लागि मात्र नभएर देशप्रेम र चेतनाले भरिपूर्ण गीत पनि गाएँ । आफ्नोमा मात्र नभएर अरुका गीत गाउने गायकका रुपमा चिनियो । त्यसैले धेरै सर्जकले मलाई खोज्न थाल्नुभयो । यसरी मेरो संख्या धेरै भएको हो ।

संख्या धेरै हुनु राम्रो हो त?  
होइन ।  

संगीतको बजारलाई तपाईंहरुले डो¥याउनुपर्ने हो तर अहिले तपाईहरुलाई बजारले डो¥याइरहेको छ, सहमत हुनुहुन्छ ?
हो, यहाँ उल्टो भयो । मार्केटअनुसार हामी चल्न खोज्यौँ। मैले ‘पछ्यौरी’ गीत ल्याएका बेला अरुको एल्बममा नगाए पनि हुन्थ्यो । आफ्नै एल्बम बेचेर पनि खान पुग्थ्यो । जब बिस्तारै अडियो÷सिडीको बजार ठप्प भयो र डिजिटल मार्केट आयो त्यसपछि गाह्रो भयो । सिआरबिटी÷पिआरबिटीबाट एक जनाले डाउनलोड गरेबापत हामीलाई एक रुपैयाँ आउन थाल्यो । जबकि श्रोताको १२ रुपैयाँ काट्थ्यो । स्वाभाविक रुपमा कलाकारलाई त्यतिले त पुग्दैन । अहिले अलिअलि रोयल्टी आउन थालेको छ तर यो पर्याप्त होइन । मसँग पर्याप्त पैसा थियो भने मैले अरुको जस्तो पाए त्यस्तै गीत किन गाउने ? तर त्यो अवस्था नेपालमा छैन । अरुको गीत गाउनु हाम्रो बाध्यता हो, संख्या बढाउनु हाम्रो बाध्यता हो । मेरै हकमा भन्नुपर्दा अब म बाँच्ने भनेको कि स्टेज प्रोगामबाट हो कि रेकर्डिङबाटै हो ।

थोरै तर राम्रा गीत गाउँदा पनि स्टेजमा त बोलाइहाल्छन् नि !
त्यो पनि होला । तर नयाँ नयाँ गीत आइरहेपछि पो दर्शकले पनि खोज्छन् । नत्र सधैँ एउटैलाई किन खोज्छन् ? अर्को कुरा अब रामजी खाँड चले पनि नचले पनि दिने भनेको निरन्तरता हो । मैले वर्षमा ५ सय गीत गाएँ भने  त्यो हिसाबले मलाई फाइदै हो । एउटै गीत गाएर चर्चा भयो भने त्यो पनि फाइदै हो ।
साँच्चै मैले इमान्दार भएर भन्नुपर्दा अहिले अधिकांशले पैसाकै लागि गीत  गाइरहेका छन् । यो हाम्रो बाध्यता हो क्या ! मैले गाइनँ भने मैले कहिले गाउन छोडुँला र गाउँला भनेर पर्खिरहेको अर्कोले गाइदिन्छ । मैले गाउन छोड्नेबित्तिकै मेरो ठाउँ अर्कोले लिइदिन्छ । मेरो ठाउँ अर्कोलाई किन लिन दिने ?

तपाईंको कुरा सुन्दा लाग्छ, यहाँ त राम्रो गायक बन्ने भन्दा पनि व्यावसायिक बन्ने होडबाजी छ ?
लोकदोहारीमा त अब व्यावसायिक बन्न पनि गाह्रो छ । आफैँ गीत लेख्ने, आफैँ गाउने र आफैँ नाच्नेहरुको संख्या बढ्दै छ । अरुले गीत पाउने सम्भावना कमै छ ।

साँच्चै लोकदोहोरीमा गाउनेहरु आफैँ मोडलिङ गरिरहेका हुन्छन्, अरु नभेटेर कि आफैँ देखिने लोभ भएर ?
यो देखासिकी हो । जस्तो सुरुमा मैले लोकदोहोरी पनि फरक प्याटर्न भिœयाएँ । आधुनिक बाजा राखेर अलि फरक तरिकाले गाउन थाले र त्यसपछि अरुले पनि फलो गरे । गायकहरुमा सायद सबैभन्दा पहिला नाच्ने मै हुँ । जब मैले नाच्न थाले त्यसपछि नयाँ आउने भाइबहिनीले त्यसैलाई फलो गर्न थाले ।  

भनेपछि यसको ‘ट्रेन्ड सेटर्स’ तपाई पो हुनुहुँदो रहेछ ?
गायकहरुमा त म नै हो। त्यतिवेला शंकर विसी, विजय थापा, श्रीराम पोखरेल दोहोरीमा चम्केको मोडल थिए । हरेक गीतमा उहाँहरु मात्रै छाउनुहुन्थ्यो । मेरो धेरै गीतमा उहाँहरुले नाच्नुभएको छ । मलाई कार्यक्रमतिर जाँदा ‘तपाईं आफैँ नाच्नुस् न’ भनेर फ्यानको सुझाव आउन थालेपछि ‘फूल फुलेर पहेँलै भयो’ भन्ने गीतमा पहिलोपल्ट आफैँ नाचेँ । त्यहाँ गायिका सम्झना लामिछाने र म दुवैले नाचेका थियौँ । गीत सर्वाधिक हिट भयो । त्यो बेला युट्युबमा एकदमै धेरै हेरिएको गीत पनि थियो । गीत अलि पृथक् थियो । आधुनिक बाजा मिक्स गरेको थिएँ । त्यसपछि यही ट्रेन्डका गीत बजारमा आउन थाले । गायकगायिका आफ्ना गीतमा आफैँ नाच्न थाले । आफैँ गाउनुपर्ने, आफैँ नाच्नुपर्ने ट्रेन्ड सुरु भयो । हाम्रो दोहोरी मार्केट डाउन भएको कारण नै यही हो ।

कसरी यही कारण ?
सबैका स्वर त्यत्तिकै राम्रा छन् भन्ने हुँदैन । सबैका सिर्जना उत्तिकै राम्रा छन् भन्ने पनि हुँदैन । त्यसैगरी सबैले आफ्नो गीतमा आफैँ नाच्दा राम्रो देखिन्छ भन्ने पनि हुँदैन । अहिले गीत सुन्ने मात्र नभएर हेर्ने जमाना छ । दर्शक व्यावसायिक मोडल हेर्न चाहिरहेका हुन्छन् तर यहाँ जथाभावी भयो ।

तपाईंले नाच्न कहाँबाट सिक्नुभयो नि ?
म खासमा गायकै हुँ । गाउने मान्छे अलिअलि त नाचिहाल्छ । सानैदेखि म पनि हल्का नाच्थेँ । सबै खाले गीत सुन्ने र हेर्ने भएकाले नाच्नुमा रुचि लाग्थ्यो । एकचोटी ‘ट्राइ हानाँै न त’ भनेर गरेको थिएँ, सबैको राम्रो प्रतिक्रिया पाएपछि गर्दै गइयो । अहिले गन्दा त एक सय जति गीतमा मोडलिङ गरिसकिएछ ।  

स्टेज कार्यक्रममा कत्तिको व्यस्त हुनुहुन्छ ?
म प्रायः नेपालमा मध्य र सुदूरपश्चिम बढी गइरहेको हुन्छ । विदेशमा नेपाली बस्ने लगभग सबै ठाउँ गइसकेँ । नगएको युएस र क्यानडा होला ।

अहिले आएर तपाईं आफ्ना संघर्षका दिनलाई कसरी सम्झिनुहुन्छ ?
हरेक मान्छेले ठाउँमा पुग्नलाई संघर्ष गरेकै हुन्छ । मैले पनि काठमाडौँ आएर १० वर्ष संघर्ष गरँे । दोहोरी साँझमा गीत गाएर गायन थालेको हुँ । दोहोरीबाटै आएको पैसाले एल्बम गर्थें । सफल हुन्थेन । तलब पनि धेरै आउथेन । घरभाडा तिरेर खाँदैमा सकिन्थ्यो । कोठा भाडा ७ सय थियो तर त्यही भाडा तिर्न पनि धौधौ हुन्थ्यो । तैपनि हरेस खाइएन ।

स्याङ्जा (घर)बाट काठमाडौंको यात्रा गायक बन्नकै लागि तय भएको थियो ?
एसएलसी दिएपछि २०५६ सालतिर एल्बम गर्ने भनेर काठमाडौं आएको थिएँ । बुबा भारतीय आर्मीमा हुनुहुन्थ्यो । उहाँ रिटायर्ड हुनुभएको थिएन, डियुटीमै हुनुहुन्थ्यो । ममीलाई फकाएर बुबालाई थाहा नदिई काठमाडौँ आएको थिएँ । ममीलाई २५ हजार रुपैयाँ मागेर झोला बोकेर घरबाट निस्केको थिएँ । काठमाडौँ आएपछि पुकार गेस्ट हाउमा आएर बसियो । मुनि पुकार दोहोरी साँझ थियो (काठमाडौँको पहिलो दोहोरी साँझ) । गीत रेकर्डिङ गर्दा १४ हजार रुपैयाँ सकियो । खाँदावर्दा १० हजार पनि सकियो । पैसा सकिएपछि थप घरबाट मगाउने कुरा पनि भएन । त्यसपछि यहीँ काम गर्छु, यहीँ बस्छु भनेर यतै बसेँ । घर फर्किनँ ।

दोहोरी साँझमा कसरी काम गर्न पुग्नुभयो ?
सुरुमा गेस्टका रुपमा गइएको थियो । गेस्टले पनि गीत गाउन पाइन्थ्यो । मैले गाएपछि मेरो स्वरलाई मन पराउनुभएको थियो । पछि मलाई काम चाहिएपछि कुरा गर्न जाँदा उहाँहरुले तलब नदिए पनि ‘आइज, बस् र सिक्’ भन्नुभयो । मलाई त्यति दोहोरी गाउन आउँदैनथ्यो । त्यहाँ मैले सिकेँ । स्टेजमा आ’को टिप्सले गुजारा चलाउँथे । मेरो पहिलो तलब भनेको २५ सय रुपैयाँ थियो । त्यो पनि पुकारबाट होइन, काठमाडौँ दोहोरी साँझबाट । मैले २०६७ सालबाट दोहोरी रेस्टुराँमा गाउन थालेको, ११ वर्षसम्म गाएछुँ । सुरुसुरुमा त धेरै दोहोरीहरु चहारियो । नयाँ–नयाँ खुल्थे, तीन–चार महिनामै बन्द हुन्थे ।
सबैभन्दा बढी टिप्स पाएको क्षण याद छ ?
जावलाखेलको रेशम फिरिरी दोहोरी साँझमा काम गर्दाको कुरा हो । सात हजार टिप्स पाएको थिएँ । विदेशबाट आएको गेस्टले दिनुभएको थियो, त्यो नै सबैभन्दा बढी थियो । त्यो ‘ह्यान्ड टिप्स’ थियो, स्टेजमा दिइएको टिप्स त सबैलाई बाँड्नुपथ्र्यो । त्यतिबेला मैले ४५ सय रुपैयाँ तलब पाउँथे । त्यो टिप्स तलबभन्दा बढी थियो । कम्ता खुसी भएको थिएँ त !

पछिल्लो समय लोकदोहोरी गीतलाई त ‘लोकलाई छाडेको दोहोरी’ भनेर टिप्पणी गरिन्छ नि ?
म यसमा सहमत छु । मैले दर्शकको गाली पनि पाको छु, ताली पनि पाको छु । म जतिबेला यो क्षेत्रमा प्रवेश भए त्यतिवेला राजु परियारको चम्किनुभएको थियो । त्यो बेलामा मैले पृथक् खालको गीत ल्याएँ, दर्शकले रुचाइदिनुभयो । तर त्यही चिज अहिले सबैले फलो गरेर धेरै भएको हो । चिनी बढी खायो भने तीतो हुन्छ भनेजस्तै भएकै हो । खासमा भन्नुपर्दा धेरै छाडा भयौँ हामी । न हामीले गीत राम्रो बनाउन सक्यौँ, न भिडियो नै । मौलिकता भुल्दै गइरहेका छौँ ।

अब यसलाई सुधार्न पनि सुरुवात तपाईं आफैले गर्ने कि ?
यो सुधारिँदै जान्छ । आज हाइफाइ गर्नेहरु भोलि टिक्दैनन् । लोकलाई समातेर हिँड्ने मात्र टिक्छन्् । हावामा काम गर्नेहरु आफैँ बडारिन्छन् ।

तपाईं यो आरोपबाट चोखो हुनुहुन्छ भन्न खोजेको ?
चोखो त छैन । तरु अरु जसरी गाएको छैन । मेरा पनि कमकमजोरी भए होलान् तर म सुधार्दै अघि बढिरहेको छु । म सकेसम्म लोकलाई छाडेका दोहोरी गीत गाउँदिन । समाजले मन पराउने, लोकले मनपराउने गीत नै गाउँछु ।  

तपाईंको नजरमा लोकदोहोरीमा कस्ता गायक–गायिकाले बढी कन्सर्ट पाइरहेका छन् ?  
यहाँ त जसको हल्ला बढी छ त्यो नै स्टेजमा बिक्ने हो । यहाँ यति मिठो स्वर छ, यति धेरै संघर्ष गरेको छ भन्नेले कमै अर्थ राख्दोरैछ । यहाँ कला २० प्रतिशत, ८० प्रतिशत त मान्छे हेरिन्छ । यो गायकभन्दा पनि विशेषतः गायिकाहरुमा लागू भएको छ । खासमा यही चिजले हामीलाई बिगारेको हो ।


लोकदोहोरीमा दुई अर्थी गीत एकदमै धेरै बनिरहेका छन् । तपाईंका पनि छन् । यसरी मान्छेलाई झुक्याउने काम किन ?  
हाम्रो पुस्तासम्म आइपुग्दा शब्दहरु राम्रो हुन्थे । पछिल्लो समय दुइअर्थी शब्दमा गीत गाउने चलन बढेको छ । मैले त्यसरी पूरै गलत अर्थ दिने गीतहरु गाएको छुजस्तो लाग्दैन । खासमा यो सब युट्युबले बिगारेको हो । युट्युबमा भ्युअर्स बढाउन त्यस्ता शब्द र दृश्यहरु राख्न थालिएको हो । छोटो समयमै चर्चा कमाउन नयाँ आउनेहरुले यस्तो गरिरहेका छन् । हामी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानमार्फत् यस्ता गीतहरुलाई कन्ट्रोल गर्न खोजिरहेका हुन्छौँ । त्यस्तो गलत अर्थ लाग्ने दुई अर्थी गीत भेटियो भने तत्काल पत्र काटेर हटाउन भन्छौँ ।

अहिलेका दोहोरी साँझ त एकदमै ‘फोहोरी’ बन्दै गइरहेका छन्, तपाईंलाई के लाग्छ ? केही परिवर्तन पाउनुभएको छ ?
सबै त होइन तर केही–केही त डान्सबारभन्दा कम छैनन् । खासमा दोहोरी साँझ त सहरमा बस्नेले पनि गाउँको रोधी र दोहोरीको झल्को मेटून् भन्ने उद्देश्यले खोलिएको हो । पहिले–पहिले गुन्यू चोली, दौरा सुरुवाल लगाएर एकदमै सभ्य ढंगले चल्थ्यो । गीतमा पनि फूल, भमरा, माली, चरा, चुरुङ्गीका कुरा हुन्थे । बिस्तारै–बिस्तारै ग्राहकलाई अझै रमाइलो र उत्तेजित गराउनका लागि दोहोरीमा भद्दा शब्द गाउन थालियो । यसलाई  त के दोहोरी भन्नु र ? म आफै दोहोरी गायक हो, दोहोरी साँझमा गाएरै आएको हुँ तर अहिले सबै त नभनु केही दोहोरी साँझले चाहिँ दोहोरीलाई साँच्चै फोहोरी बनाएका छन् । अहिले त जाने ग्राहक पनि गलत मानिसकता लिएर गइरहेका हुन्छन् । कला हर्न भन्दा पनि रंगरमाइलो र गलत आशय लिएर छिरिरहेका हुन्छन् ।  

 

Leave A Comment