दसैँको मेकअप

मङ्गलबार, ०३ असोज २०७४, ०१ : २९ शुक्रवार
दसैँको मेकअप

दसैँ नेपालीहरुको सबैभन्दा ठूलो चाडपर्वमध्ये एउटा हो । अन्य चाडपर्वभन्दा दसैँमा लामो समयसम्म बिदा हुन्छ । त्यसैले यस पर्वमा धेरैले आफन्तसँग भेटघाटलाई बढी महत्व दिन्छन् । दसैँमा आफन्तहरुको घरमा टीका, जमरा, आशीर्वाद लिन र भेटघाटका लागि गइन्छ । यस्तोमा महिलाहरु सुन्दर देखिन चाहन्छन् । यसका लागि उनीहरु पार्लरमा गएर विभिन्न कस्मेटिक प्रशाधन प्रयोग गर्ने गर्छन् । सुन्दर देखिनका लागि सधैँ पार्लर नै जानुपर्छ भन्ने छैन । दसैँमा घरमा नै मेकअप गरेर सुन्दर देखिन सकिन्छ ।
लिपिस्टिक हरेक महिलाको पहिलो र अनिवार्य सौन्दर्य प्रशाधनमा पर्छ । प्रायः महिला लिपिस्टिकको प्रयोग हरेक दिन गर्छन् । दसैँमा यसको प्रयोग गर्दा आफ्नो लुगाको रङसँग मिल्ने रङ छनोट गरेको राम्रो हुन्छ । साडी, कुर्ता, कुर्ती, लेहेँगालगायत लुगाको रङ मिल्दो लिपिस्टिक लगाउँदा सुन्दर देखिन्छ । यसले ओठलाई आकर्षक बनाउँछ ।
त्यसपछि फाउन्डेसनको प्रयोग गरिन्छ । यसको प्रयोग गर्नुअगाडि सनस्क्रिनको प्रयोग गर्नुपर्छ । अनुहारमा फाउन्डेसनको सिधै प्रयोगले छालामा नकारात्मक असर पर्न सक्छ । त्यसैले आफ्नो छालाको प्रकार अनुसारको फाउन्डेसन छनोट गरेको राम्रो हुन्छ । ड्राई स्किनका लागि मोइस्चराइजर भएको वा चिल्लो स्किनका लागि ड्राई फाउन्डेसन र कम्प्याक्ट छान्नु पर्छ । छालाको रङ हेर्दा पहेँलो छ भने पहेँलो टोन भएको फाउन्डेसनको प्रयोग गर्नुपर्छ । छाला गुलाबी छ भने गुलाबी टोनको प्रयोग गरेको ठीक हुन्छ । फाउन्डेसन लगाएर पाँच मिनेटसम्म मसाज गर्नुपर्छ । त्यसमाथि पफको सहायताले हलुका लुज पाउडर लगाउनुपर्छ ।
आँखाको मेकअप गर्दा आफूले लगाउने लुगाको रङसँग मेल हुने आइस्याडो प्रयोग गर्नुपर्छ । आँखा सानो छ भने आइलाइनर मोटो लगाएर ठूलो देखाउन सकिन्छ । आँखा ठूलो भएमा आइलाइनर मसिनो लगाउने र गाजललाई आँखा भित्रसम्म पारेर लगाउनुपर्छ । लाम्चो आँखा हुनेले कोष बाहिरसम्म तान्दा राम्रो देखिंदैन । यदि आँखा गोलो प्रकारको छ भने दुवै साइडको कोष तान्नुपर्छ । यसो गरेमा आँखाको सेपलाई परिवर्तन गराएर सुन्दर देखाउने गर्छ ।
कुनै पनि प्रकारको मेकअप गर्नुअघि क्लिन्जिङ गर्नु अनिवार्य हुन्छ । छालाका प्रकार अनुसार ड्राई, ओइली, नर्मल, क्लिन्जिङ गर्न सकिन्छ । क्लिन्जिङ गर्दा अनुहारमा रहेका फोहोरमैला बाहिर निस्किने र सफा देखिने गर्छ ।  
ब्लसर प्रयोग गर्दा सबैभन्दा पहिले अनुहारको सेपलाई ध्यान दिनुपर्छ । लाम्चो अनुहारलाई बाटुलो देखाउन हाइटिक बोनबाट कानतिर ब्लसर लगाउँदै जानुपर्छ । ब्लसरलाई माथि तथा तल हलुकासँग फैलाउँदा अनुहारको सेप राम्रो र आकर्षक देखिन्छ ।

Leave A Comment