मिडियाको लडाईं

बिहिबार, ०५ असोज २०७४, ०१ : ४० शुक्रवार
मिडियाको लडाईं

लोकतन्त्र भनेको विधिको शासन व्यवस्था हो, जनताप्रति जवाफदेही हुने व्यवस्था हो । संवैधानिकता लोकतान्त्रिक व्यवस्थाको मौलिक विशेषता हो । हामीले भर्खर तेस्रो संविधान दिवस मनायौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र मुलुक प्रदेश, संघीय चुनावमा होमिएको छ । यस अर्थमा हामी राजनीतिक स्यायित्वको बाटोमा लम्कदै छौँ ।
हामीले सुधारिएको संसदीय व्यवस्था अख्तियार गरेका छौँ । मुलुकैपिच्छै राजनीतिक व्यवस्था फरक फरक हुन सक्छन्, हामीले प्रयोगमा ल्याएको सुधारिएको संसदीय पद्धति जस्तै । तर अहिलेको विश्वमा कुन देशमा कस्तो राजनीतिक व्यवस्था छ भन्ने भन्दा पनि त्यो देशमा मानव अधिकारको अवस्था कस्तो छ, जनताका मौलिक अधिकार कुण्डित गरिएका छन् वा छैनन्, प्रेस स्वतन्त्रता कत्तिको छ र न्यायालय कुन हदसम्म स्वायत्त छ भन्ने कुराले ठूलो अर्थ राख्छ । विश्वव्यापी परिभाषित मानव अधिकार, प्रेस स्वतन्त्रता र मौलिक अधिकारका आधारमा मुलुकहरूको लोकतान्त्रिक अभ्यासको मापक निकाल्ने परिपाटी बसेको छ । त्यस्तै भ्रष्टाचार हुने मुलुकको पंक्तिमा कुन देश कहाँ छ ? शान्ति सुरक्षाको अवस्था कहाँ कस्तो छ ? सबै विधाका आ–आफ्नै मापन हुन्छन् । राजनीतिक व्यवस्थामा हामी उम्दा ठहरिए पनि यसको प्रयोगका पाटाहरूमा हामी बलिया छैनौं ।
भ्रष्टाचारको कसीमा हामी कहाँ छौँ त ? ट्रान्सपेरेन्सी इन्टरनेसनलले प्रकाशित गरेको सन् १९१६ को रिपोर्टमा नेपाल १७६ देशको सूचीमा १३१ औं स्थानमा छ । १०० पुर्णाङ्कमा  हाम्रो देशले २९ अंक मात्र पाएको छ । सामान्यतः १०० मा ५० अंक पाएका मुलुकहरू सुशासनको बाटोमा छन् भन्न मिल्छ । यस अर्थमा हामी सुशासनमा फेल छौं र हाम्रोमा भ्रष्टाचार व्याप्त छ र व्यापक छ । भ्रष्टाचारको व्यापकतामा आयल निगममा गोपाल खड्का एउटा उदाहरण हुन् । अहिले खड्को बखास्तगी चर्चामा छ । केही महिनायता भ्रष्टाचार विरुद्धका कारवाहीमा नेपाल अघि बढेको देखिन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमाथि भ्रष्ट आचरणको गम्भीर आरोप लागेको हो । अख्यिारजस्तो संवैधानिक निकायलाई हतियारको रूपमा प्रयोग गर्दै भ्रष्ट आचरण गरेको र कहलिएर भ्रष्टहरूलाई संरक्षण दिएको आरोपहरू लागेका कार्की सर्वोच्च अदालतबाट अयोग्यको आधारमा पदमुक्त भए । त्यस्तै राजस्व अनुसन्धान आयोगका निर्देशक चूडामणि शर्मा पनि अहिले अधिकार दुरुपयोग गरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेप्दैछन् । कार्की, खड्का र शर्मासँग जोडिएका  मुद्दाहरूको मामलाका आधारमा नेपालमा भ्रष्टाचारविरोधी जागरण आएको मान्न सकिन्छ । त्योसँगै सत्ता र सौदाबाजीको चक्रव्यूहमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअधियोग लगाएर उनलाई जिम्मेवारीबाट हटाउने काम पनि भएका छन् । कार्की, शर्मा र खड्का प्रकरणका पछाडि कसकसको भूमिका छ भन्ने खोज्दै गयो भने मिडिया अग्रपंक्तिमा उभिएको छ । मिडियाको अविचलित अभियानकै कारण खड्का र कार्की पदमुक्त भएका हुन् । घटनाहरूबाट के भन्न सकिन्छ भने सत्ताधारी र प्रमुख राजनीतिक दल चर्चामा आएका भ्रष्ट प्रकरणमा पनि लामो समयसम्म मौन बस्दै आएको देखिँदैछ । कार्की योग्यता र आचरणका आधारमा संवैधानिक निकायको प्रमुख बनाउन मिल्दैन भन्ने आवाज मिडियाले प्रारम्भमै निकालेको हो । त्यसको छिनोफानो हुन करिब ४ वर्ष लाग्यो, त्यो पनि अदालतबाट । खड्काको आचरणबारे पछिल्लो आयल निगमका लागि जग्गा खरिदमात्र होइन नाकाबन्दीका बेलामा पेट्रोलियमा पदार्थको कालो बजारी गर्न आयल निगमबाट करोडौँ पैसा दिएको, पेट्रोलियमको हाहाकारको बेला कालो बजारी गरेर, पेट्रोल पम्प खोल्ने अनुमतिमा अनियमितता गरेको लगायतका संगीन आरोपहरू लागेका हुन् । मुलुकका कार्यकारीहरूलाई निर्णय लिन करिव दुई वर्ष लाग्यो, त्यो पनि बर्खास्त गरेर उनले गरेका कामकारबाहीबाट उन्मुक्ति दिने उद्देश्यले ।
यी प्रकरणका पछाडि मिडियाको अहं भूमिका छ । पछिल्लो समय खड्काका करतुतलाई लिएर नेपाल रिपब्लिक मिडियाको नागरिक दैनिकले निरन्तर रूपमा खोजीपूर्ण समाचार पस्कँदै आएको छ । नागरिक लगायतका मुख्य दैनिकहरूले खड्काका भ्रष्टाचारका समाचारहरू प्राथमिकताका साथ दिँदैआएका थिए । यसबाहेक संसद्का विषयगत समितिहरूले पनि यस मामलामा काम गरेर सरकारलाई प्रतिवेदन बुझाएका छन् । मिडियाको निरन्तर फलोअप, संसदीय समितिको दबाबको पृष्ठभूमिमा सरकारले खड्कालाई बर्खास्त गरेको हो ।
लोकतन्त्रमा आम सञ्चारको भूमिकाको अहं महत्व हुन्छ । नेपालका मिडियाले व्यावसायिकता निर्वाह गर्दै आफ्नो भूमिका खेल्दै आएका छन् । मिडियालाई लोकतन्त्रको पहरेदार भनेजस्तै राजनीतिक अव्यवस्था, भ्रष्टाचार, प्रशासनिक सुस्तताजस्ता मुलुकका सामयिक मुद्दाहरूमा केन्द्रित रहेर मिडियाले आफ्नो व्यावसायिक भूमिका खेलिरहेको छ । अव्यवस्थाको विरुद्ध एक किसिमको लडाईंमा छ, मिडिया । यो लडाईं मिडिया एक्लैले सम्भव छैन । यसमा आम नागरिक, खास गरेर नागरिक समाजका अगुवा, प्रबुद्ध नागरिकको भूमिका रहन्छ । मिडियाको लडाईंमा अन्य पक्षबाट आवाज थपियो भने त्यो प्रभावकारी बन्छ । मिडिया खास गरेर प्रिन्ट मिडिया अहिले आफैँ चुनौतीबीच देखिन्छ । एक खाले मिडिया व्यावसायिकतालाई उच्च स्थानमा राख्दै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसैबीच व्यावसायिकताको आवरणमा कालोबजारी, तस्करी र सत्ताका चलखेलमा खुलेर लाग्ने मिडिया पनि हाम्रो समाजमा छन् । मिडियालाई हतियारको रूपमा प्रयोग गर्दै लोकमानको जयजय र गोपाल खड्काको रक्षा कवच बन्न रुचाउने मिडिया र व्यावसायिक मिडिया छुट्टिन आवश्यक छ । व्यावसायिकताको यस लडाईंमा आम नागरिकको भूमिका अपरिहार्य छ ।

Leave A Comment