गर्भबाट छोरीको पुकार !

शनिबार, ०७ असोज २०७४, १२ : १८ शुक्रवार
गर्भबाट छोरीको पुकार !

‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति’ सन्तान कुपुत्र भए पनि माता कुमाता हुन सक्दिनन् भन्छ शास्त्र । गर्भमा रहेकी भ्रूण (पेटभित्रकी बालिका) ले किन मेरो भ्रूणहत्या गर्न खोजेको आमा मलाई जन्मन दिनोस् भनेर पुकार गरेको सुन्दा त कतै आधुनिक आमाले शास्त्रको मर्म र आफ्नो सुकर्म त बिर्सेकी होइनन् ? आमाको आमाले पनि यसो गरेकी भए सृष्टिको क्रम कसरी चल्दोहो ? यो हाम्रो प्रश्न ।
सुन्नोस् गर्भकी बालिका आमालाई के भन्दैछिन्
पूज्य माता म तपाइँकै कोखबाट काखमा आउन चाहने छोरी (भ्रूण) हुँ । हजुरको सुस्वास्थ्यको कामना गर्दै हजुरको पेटमा बसेर हजुरलाई बाधा दिइरहने अबोध बालिका हुँ । हाल म हजुरकै रगतबाट बन्दै गरेको मानव शरीर रुपी रगतको डल्लो मात्र हुँ । हजुरको जे गत मेरो सोही गत । केही महिना पछि हजुरको कोखबाट हजुरकै काखमा सरेर डुल्न र भुल्न पाऊँ भनी  बिन्ती,पुकार गरिरहेछु ।
आमा, भर्खरै मैले यस्तो डरलाग्दा अप्रिय कुरा मेरै कानले सुनेँ र त्यसबाट बिह्वल भएँ । मनमा अनेकन् कुरा खेल्न थाले । धर्तीमा उत्रिएर संसार हेरुँला, आमाको दुःखमा केही सहयोग गरुँला भन्ने विचारहरूमा ज्वारभाटा छचल्किन थाले । मन थरथर कामीरहेछ । आशा निराशामा बदलिन थाले । तर पनि मातृत्वकी धनी ममतामयी माताबाट त्यस्तो निर्ममतापूर्ण निर्णय हुन सक्ला भन्ने अझै लागेको छैन । कसले के सल्लाह दियो ? हजुरले भाइ पाउने आशामा मलाई भ्रूणमै निस्प्राण पार्ने आशङ्काले मन थरथरायो ! आफ्नै उदरभित्र छुरा छिराएर मलाई क्षेतबिच्छेद पार्ने आँट तपाइँलाई होला र ? ममतामयी माता मलाई त हजुरले त्यसो गर्नुहोला भन्ने विस्वास अझै लागेको छैन । सृष्टिलाई संहार गर्ने काम तपाइँबाट हुन सक्लाजस्तो त लाग्दैन  तर पनि कुरो सुनेपछि मनमा अनेकन् प्रकारका त्राशले निराश पार्नेतिर घुमाइरहेछ । सृष्टिको क्रम मातृत्वबाटै चलेको हो यसमा अवरोध हजुरबाट होला भन्ने लाग्दैन ।
आमा ! तपाइँलाई कसैले सन्तान भनेको त छोरो मात्र हो, छोरी होइन भनेर भ्रम पारिदियो कि ? नत्र आफ्नै विचाले यस्तो कठोर, घातक निर्णयमा पुग्न सक्नुभयो जस्तो त लाग्दैन । आमा अझै विचार गर्नोस् । मलाई एकपल्ट यो संसार हेर्ने अवसर दिनोस् । म हजुरको ऋणी हुनेछु । सके मातृत्वको ऋण तिर्ने छु । हजुरलाई जति प्रसव वेदना भए पनि मलाई जन्मन दिनोस् । हजुरले मलाई जन्मेपछि हेर्न चिन्न पाउँदाको मातृशिशुका स्नेह र सम्बन्ध बेग्लै हुन्थे, आमाछोरीका माया प्रगाड हुन्थ्यो । डाक्टरले भ्रूणको भेद खोलिदिदा त यस्तो विचार हजुरमा आएको होला । आमा ! यो निर्णय गर्नुभन्दा पहिले एक पटक हजुरकी आमा मेरी हजुर आमालाई पनि सोध्नु होला । उहाँबाट पनि केही सल्लाह पाउनु हुनेछ । सृष्टिको मुहानलाई पाइतालाले कुल्चदा पछि पश्चात्तापको रापले आफैँलाई पो पोल्छ कि विचार पु¥याउनु नै बेश होला आमा ।
आमा ! हजुरले हिजो मात्र डाक्टरको क्लिनिकमा गएर डाक्टरसित गरेको कुरा र डाक्टरको सल्लाहका सबैकुरा सुनेर त म विचलित भएकी हुँ । आमा मलाई जन्मन दिनोस् । म छोरालेभन्दा पनि गतिलो काम गरेर तपाइँको मन प्रशन्न पार्ने छु । तपाइँको इच्छा पूरा गर्ने छु । अनुशासित  छोरी भएर देखाउने छु । आमा मलाई जन्मन दिनोस् । आजको युगमा आएर पनि हजुरले त्यो पुरातन विचार लिएर छोरा मात्र चाहने सोचको हुनुहोला जस्तो त अझै लाग्दैन । मुहान हो आमाको मन एकछिन कसैले धमिल्याइदिए पनि पछि सङलो त हुन्छनै भन्ने झिनो आशा लिएकी छु ।
आमा एकपटक पुनः चिर गर्नोस् । मलाई भ्रूणमै हत्या गरेर पछि भाइनै जन्मन्छ भनेर कुनै डाक्टरले सल्लाह दियो कि हजुरलाई नै विश्वास पर्यो ? कतै भुइँको टिप्न खोज्दा पोल्टाको खसेझैँ भएर मेरो संझनाले हजुरलाई पछि पछुतो नपरोस् । आमा यो मेरो आदर्शका कुरा होइन, एउटा झिनो मसिनो सल्लाह मात्र हो । छोरीको गर्भ पतन गराएर मेरी आमा समाजमा दागी र जीवनमा बैरागी बन्न नपरोस् भन्ने पुकार पनि गर्दछु । मेरो आशय त केवल प्राणको भिक्षा माग्नमा मात्र यी शब्द अलापेकी हुँ । आमा मलाई जन्मन दिनोस् ।
आमा त्यस्तो कठोर निर्णय गरेर मलाई गर्भमै पतन नगराइदिनोस् । सीता सावित्री गौरी गार्गी जस्ता छोरीका संझना गरेर मलाई जन्मन दिनोस् । मेरो आशलाई साकार पार्दै यो रमाइलो संसार हेर्ने अवसर दिनोस् । आमा म जन्मजन्मान्तरको ऋणी हुने छु ।
 ((डाक्टरले पहिलेनै चिनारी दिइसकेको हजुरको पेटभित्रकी उही अनाम छोरी)) !
घिमिरे ‘मैदेली’

 

Leave A Comment