कपाललाई बलियो बनाउने तरिका

शनिबार, ०७ असोज २०७४, ०३ : ४७ शुक्रवार
कपाललाई बलियो बनाउने तरिका

कपाललाई आकर्षक र बलियो बनाउने लोभमा धेरै महिलाले विभिन्न केमिकलको प्रयोग गर्ने गर्छन् । विभिन्न व्यक्तिको सल्लाह तथा परीक्षणका लागि भनेर सौन्दर्य प्रशाधन प्रयोग गर्दा यसले कपाललाई नकारात्मक असर गर्छ । स्मार्ट तथा फेसेनबल पनि देखिनका लागि महत्वपूर्ण मानिने कपाल सुन्दर तथा बलियो कसरी बनाउने भन्ने जिज्ञासा महिला र पुरुष दुवैमा हुन्छ । कपाललाई बलियो र आकर्षक बनाउनका लागि घरेलु उपाय अपनाउन सकिन्छ ।   
कपालको बलियोपनाका लागि कम्तीमा पनि सातामा एकपटक हेयर आयल मसाज गर्नुपर्छ । यस्तो मसाज ओलिभ आयल तथा तोरीको तेलले गर्दा धेरै राम्रो हुन्छ । बेलुका सुत्ने बेलामा मसाज गरेर बिहान नुहाउँदा कपाल बलियो हुन्छ । आफ्नो कपाल कस्तो छ त्यो पनि थाहा पाउनुपर्छ । कपालको प्रकारअनुसार सुहाउँदो स्याम्पु र कन्डिसनर सधैँ एउटै ब्रान्डको प्रयोग गर्नुपर्छ । यसले कपालको पिएच ब्यालेन्स कायम राख्न सहयोग गर्छ ।
कपाल नुहाउँदा स्याम्पु र कन्डिसनरको प्रयोग गर्नुपर्छ । यसले कपाल नरम, सिल्की र चम्किलो बनाउँछ । कपाललाई सधैँ सूर्यको किरण, धूलो तथा धुवाँबाट बचाउनुपर्छ । त्यसका लागि टोपी, सल प्रयोग गर्न सकिन्छ । कपाल सुकाउनका लागि हट हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । भिजेको कपाल टवेलले निचोरेर खुला हावामा सुकाउँदा राम्रो हुन्छ । तातोपानीले आफ्नो कपाल पखाल्नु तथा नुहाउनु हुँदैन । यसले कपाल कमजोर बनाउँछ । 
सम्भव भएसम्म सुत्ने बेलामा नरम कभर भएको सिरानी प्रयोग गर्नुपर्छ । सकेसम्म कपाललाई कसिलो गरी बाँध्नु हुँदैन । यसले पनि कपाल कमजोर बनाउन सक्छ । सम्भव भएसम्म कपालमा हेयर जेल, हेयर स्प्रे प्रयोग नगरेको राम्रो हुन्छ । यस्ता सामग्री प्रयोग गर्नुपरेमा पनि १२ घन्टाभित्र कपाल पखालिहाल्नुपर्छ ।
स्वस्थ र बलियो कपाल बनाउन सन्तुलित आहारले पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले आफ्नो आहारमा प्रोटिन, भिटामिन ए, बी, सी, डी, ई, आइरन, आयोडिनयुक्त परिकार खानुपर्छ । त्यसका लागि माछा, मासु, दूध, दही, अन्डा, चिज, सनफ्लावर सिड, बटर, गाँजर, गोलभेँडा, माछा, हरियो सागपात, भटमास, ओखर लगायतका खानेकुरा सेवन गर्दा राम्रो हुन्छ ।

Leave A Comment