नेपाली यौनबजारमा रसियन कोठी

आइतबार, ०८ असोज २०७४, १२ : ०६ अनिल यादव , Kathmandu
नेपाली यौनबजारमा रसियन कोठी

भनिरहनु नपर्ला, राजधानीको यौनबजारमा अब नेपाली युवती मात्रै छैनन्, विदेशी पनि उत्तिकै छन् । रसियन युवतीहरुले त अपार्टमेन्टमा महँगो भाडा तिरेर यौनधन्दा नै चलाइरहेका छन् । विदेशबाट यहाँ आएर कसरी चलाइरहेका छन् त उनीहरुले धन्दा ? अनिल यादवले रसियन युवतीको यौन अखडामै पुगेर तयार पारेको रिपोर्ट ।  

तीन महिनाअघि शुक्रबारले विदेशी यौनकर्मीबारे कभरस्टोरी गर्दा महानगरीय प्रहरी वृत्त लैनचोरका तत्कालिन डिएसपी सोमेन्द्रसिंह राठौरले भनेका थिए, ‘रसियन युवतीहरु अपार्टमेन्ट नै खोलेर यौनधन्दामा सक्रिय छन् भन्ने सुनेको छु तर प्रमाण र उजुरी नहुँदा कारबाही गर्न सकिएको छैन ।’

नेपाली यौनबजारमा ‘अफ्रिकी कलगर्ल’बारे कभरस्टोरी लेखेपछि यो संवाददाता रसियन युवतीहरुको अपार्टमेन्टको खोजीमा थियो । लामो प्रयासपछि एक रेस्टुराँ व्यवसायीमार्फत त्यस्तै एक युवतीको सम्पर्कसूत्र फेला पर्यो। एनसेलको मोबाइल नम्बर बोकेकी ती युवतीको फोनमा डायल गरे ।

‘हेलो ?’
‘यस’
‘के छ खबर ?’
‘फाइन । केही काम थियो कि ?’
‘तपाईंसँग भेट्न मन लागेको थियो ?’
‘त्यसो भए पैसा लिएर आऊ । म कोठामै छु ।’

संवाद टुंगिन नपाउँदै उनले फोन काटिन् । संवाददातालाई ती युवती बस्ने अपार्टमेन्ट र कोठाबारे केही पनि जानकारी थिएन । मात्र मोबाइल नम्बर प्राप्त थियो ।

फेरि मोबाइलमा म्यासेज पठाएँ, ‘लोकेसन त बिर्सिएँ, कहाँ पो थियो ?’

रिप्लाई आयो– ... अपार्टमेन्ट (काठमाडौंको चर्चित अपार्टमेन्टको नाम थियो) । कोठा नम्बर ३०२ ।

ती युवतीले पैसा लिएर मात्र आउनू भनेकी थिइन् तर कति त्यसबारे छलफल भएको थिएन । फेरि फोन डायल गरेँ ।

‘हेलो ?’
‘यस, के भयो ? ’
‘पैसा कति लाग्छ, म आउँदैछु ।’
‘वान टाइम, टेन थाउजेन (एकपल्टको १० हजार रुपैयाँ)।’
‘ओके ।’

०००
संवाददाताले तीन महिनाअघि रिपोर्टिङ गर्दा नै खुलिसकेको थियो– काठमाडौंको यौनबजारको नक्सा अब बदलिइसकेछ । यहाँ नेपाली यौनकर्मी मात्र नभएर विदेशी यौनकर्मी पनि प्रशस्तै भेटिन थालेछन् । भारतीयसँगै, चिनियाँ र केन्याली यौनकर्मीसम्म यहाँ सक्रिय छन् । रिपोर्टिङका क्रममा काठमाडौंको क्यासिनो, पब, बार, डिस्को जताततै विदेशी यौनकर्मीको उपस्थिति रहेको पाइयो । त्यतिबेला भेटिएका अधिकांशले होटललाई अखडा बनाएर यौन धन्दा गरिरहेको पाइएको थियो तर रसियन युवतीहरुले त यहाँ फ्ल्याट नै लिएर यौन अखडा सञ्चालन गरेका रहेछन् ।आफ्नै कोठामा संवाददातालाई तस्बिरका लागि पोज दिँदै डिनारा

सोमबार साँझको ६ बजे । एक सहकर्मीसहित संवाददाता दिइएको लोकेसनमा पुग्यो । ती युवतीले जहाँ बोलाइन्, त्यहाँ को–को बस्छन् ? कसको संरक्षणमा अपार्टमेन्टमै धन्दा चल्ने गरेको छ ? त्यसबारे केही जानकारी थिएन । त्यसैले संवाददाताको मनमा प्रश्न र डर दुवै थियो ।

कोठाबाहिर पुगेपछि संवाददाताले फेरि कल गर्यो र आइपुगेको जानकारी दियो ।

नीलो वनपिस, खुला छोडिएको कपाल, घाँटीमा सेता लकेट, ओठमा रातो लिपस्टिक लगाएकी सेतो वर्णकी एक युवती ढोका खोल्न आइपुगिन् अनि मुसुक्क मुस्कुराइन् ।

‘हाई आई एम डिनारा, कम हेयर’

सबैले आ–आफ्नो परिचय दिएपछि उनले भित्र किचन रुममा लगिन् । डाइनिङ टेबलमा बसाइन् । टेबलमा वाइन र स्प्राइटका बोतलहरु थिए । बिस्कुट पनि थियो । डिनाराले लिन आग्रह गरिन् । दुवैले स्प्राइट र बिस्कुट लियौँ ।

फ्ल्याटमा तीनवटा कोठा र एउटा ठूलो किचन रुम थियो । प्रत्येक कोठामा ऐना र मेकअप सामग्री प्रशस्तै देखिन्थे ।  दुई जना पाका उमेरका रसियन महिला एउटा कोठामा कतै जानलाई तयारी गरिरहेका थिए । अर्को कोठामा सेतो टिसर्ट लगाएकी युवती फोनमा मस्त गफिइरहेकी थिइन् । फोनमा उनले बोलिरहेको भाषा न नेपाली थियो, न अंग्रेजी । सायद आफ्नै देशको मौलिक भाषा बोलिरहेकी थिइन् उनी ।

संवाददाताले एक राउन्ड सबै कोठाको फन्को लगाएपछि पुनः डाइनिङ टेबलको कुर्सीमा आइपुग्यो । स्प्राइट र बिस्कुटसँगै संवाद जारी रह्यो ।

‘तिमीहरु कति जना यहाँ बस्छौँ ?’
‘पाँच जना । अहिले एकजना साथी बाहिर छ ।’  
‘कति भयो नेपाल आएको ?’
‘म त चार महिनामात्र भयो, अरुको त धेरै भयो ।’  

संवाददातासँग गएको सहकर्मी विदेशी युवतीसँग रमाइलो गर्न चाहन्थ्यो । खल्तीमा १० हजार रुपैयाँको नोट तयार पारेरै ऊ त्यहाँ गएको थियो । त्यही बहानामा संवाददाता आफ्नो रिपोर्टिङलाई पूर्णता दिन खोजिरहेको थियो ।

सधैँ मुस्कुराइरहने डिनारा खुलेर कुरा गरिरहेकी थिइनन् । कारण– कोठामा बाहिर जानलाई तयार भइरहेकी महिला उनको ‘बोस’ रहिछन् । हातको औँलाले देखाउँदै उनी भनिरहेकी थिइन, ‘उहाँ मेरो बोस हो । उनीहरु बाहिर गएपछि रमाइलो गर्नुपर्छ है ।’

‘बोस’ र अर्की एक महिला ग्राहक खोज्न ठमेलको ‘क्लब’ गएको जानकारी दिँदै बिदा भइन् । फोनमा लामो समयदेखि गफिइरहेकी अर्की युवती नेपाल बसेको एक वर्ष बढी भइसकेको रहेछ । नाम पनि उनले त नेपाली राखेकी रहेछिन्– इन्दिरा ।

डिनाराका तुलनामा इन्दिरा थोरै रिसाहा लाग्थिन् । धेरै संवाद उनी रुचाउँदिनन् । भन्दै थिइन्, ‘मलाई फोनमा लामो कुरा गरेको मनपर्दैन ।’ इन्दिराले पनि डिनाराजस्तै कपाल खुल्ला छोडेकी थिइन्, ओठमा रातो लिपस्पिटक लगाएकी थिइन् ।

एक पटकको १० हजार रुपैयाँ लिने बताएकी उनीहरुले ‘होल नाइट’को ३० देखि ४० हजार रुपैयाँसम्म लिने गरेको खुलाए । ‘यहाँ एकपल्ट आएको ग्राहक फेरि फर्किएर आउँछन्, हामीले दिने सन्तुष्टिले उनीहरुलाई तान्छ,’ थोरै मुस्कुराउँदै इन्दिराले सुनाइन् ।आफ्नै कोठामा संवाददातालाई तस्बिरका लागि पोज दिँदै इन्दिरा

मंगलबार साँझ कल गर्दा डिनारा एकदमै बिजी भइरहेको बताइरहेकी थिइन् । ‘म एकछिनबाट कल ब्याक गर्छु ल बेबी, तिमीलाई म चाहिन्छ भने वेट गर,’ उनले भनेकी थिइन् । दिनमा कतिजना ग्राहक आउँछन् ? ‘धेरै होइन, त्यहीँ चार–पाँचजना,’ उनले सुनाएकी थिइन् । संवाददाताले बाहिर निस्कन आग्रह गर्दा उनी ‘बोसले निस्किन नदिने’ बताइरहेकी थिइन् ।

टार्गेट क्यासिनो
तीन महिनाअघि विदेशी यौनकर्मीबारे रिपोर्टिङ गर्ने क्रममा डिएसपी रौठौरले भनेका थिए, ‘धेरैजसो रसियन युवतीको टार्गेट क्यासिनो हुन्छ रे ! उनीहरू त्यताबाट ग्राहक लिएर आफ्नै फ्ल्याट र अपार्टमेन्ट लान्छन् ।’ संवाददाता स्वयं अपार्टमेन्टमा पुगेर ‘रसियन कलगर्ल’लाई भेटेपछि उनको सूचना मेल खायो ।

आफ्नो खास नाम रोज बताउने इन्दिराले भनिन्, ‘हामी प्रायः ग्राहक क्यासिनोबाट ल्याउँछौँ । कोही कोठामा आउँछन्, कोही उतै कोठा म्यानेज गर्छन् । हाम्रा प्रायः ग्राहक विदेशी नै हुन्छन्, नेपाली एकदमै कम हुन्छन् ।’

सोमबार पनि उनीहरु संवाददातासँगको भेटघाटपछि हयात होटलतर्फ लागेका थिए । भेटघाटपछि थप सूचनाका लागि संवाददाता उनीहरुसँग सम्पर्कमा रहेका थियो । उनीहरु कहिले र्याडिसन त कहिले सांग्रिला होटलमा रहेको बताउथेँ ।

आफूलाई रसियन युवतीहरु एकदमै मनपर्ने बहाना बनाउँदै संवाददाताले दुवैसँग फोटोसमेत खिचेका छन् ।

चप्पलमा चकलेट
अपार्टमेन्ट नै लिएर यौनधन्दा चलाइरहेकी ती रसियन युवतीको कोठामा एउटा गजबको दृश्य देखियो । प्रत्येक कोठाको ढोका छेउमा चप्पलहरु थिए । चप्पलमा चकलेटहरु छरिएका थिए । यति धेरै चकलेटहरु छरिएको देखेपछि संवाददाताले डिनारासँग जिज्ञासा राख्यो, ‘यसरी किन चकलेट जथाभावी फ्याँकेको ?’

उनले जवाफ दिइन्, ‘फ्याँकेको होइन, यो त गुडलक हो । चप्पलमा चकलेट राखेपछि गुडलक हुन्छ । तिमीहरुजस्तो ग्राहक धेरै आऊन् भनेर राखेको नि !’

वर्किङ भिसामा धन्दा !
यौनकर्मीको रुपमा सक्रिय विदेशी युवतीहरू कसरी नेपाल आइपुग्छन् ? कोही पर्यटन भिसामा नेपाल आउने र विभिन्न बहानामा भिसा बढाएर बस्ने गरेको र कोही वर्किङ भिसामा आउने गरेको खुल्यो । अफ्रिकी कलगर्लबारे रिपोर्टिङ गर्दा आफू केन्याको बताउने सरिफाले पर्यटक भिसामा नेपाल आएको बताएकी थिइन् । यता संवाददाताले अपार्टमेन्टमा भेटेको डिनाराले आफू वर्किङ भिसामा आएको बताइन् । ‘म आएको बल्ल चार महिना त भयो, अझै १ वर्ष बस्छु, त्यसैले हामी निरन्तर भेटिरहनुपर्छ,’ उनको भनाइ थियो ।

नेपाली यौनबजारमा भेटिएकी ‘अफ्रिकी कलगर्ल’ सरिफाले बताएकी थिइन्, ‘विदेशी युवतीका अधिकांश ग्राहक नेपाल घुम्न आउने विदेशी पर्यटक नै हुन् । हामीलाई विदेशी युवासँग सम्पर्क गर्न र बस्नसमेत सहज हुन्छ । नेपालीसँग त कुरा गर्नै डर हुन्छ किनभने उनीहरु पुलिसमेन पनि हुन सक्छन् ।’

सरिफाको जस्तै भनाइ थियो इन्दिराको पनि । उनी भन्दै थिइन्, ‘यहाँ म जस्ता थुप्रै छन् । नेपालीहरु विदेशी नागरिक सबैलाई पर्यटक ठान्छन् तर यहाँ आउने सबै पर्यटक होइनन्, उनीहरूका  आ–आफ्नै बिजनेस छन् ।’

सरिफा र इन्दिराको भनाइजस्तै प्रायः नेपालीहरु विदेशी नागरिक देख्नेबित्तिकै पर्यटक ठान्छन् । यथार्थ भने अर्कै हुन्छ । धेरै विदेशी यौनकर्मीहरु नेपालमै विदेशी पुरुषसँग भेटघाट गरेर सम्बन्ध अघि बढाइरहेका हुन्छन् । उनीहरुको भेट क्लब, पब र क्यासिनोमा हुने गर्छ । बाहिर देख्नेहरु भने उनीहरुलाई साथी या जोडी ठानिरहेका हुन्छन् ।

आफूलाई रसियाको बताउने डिनारालाई अंग्रेजी र थोरै हिन्दी बोल्न आउँछन् । हिन्दी बोल्न आउँछ ? भन्ने प्रश्नमा उनको जवाफ हिन्दीमै आयो, ‘थोडा, थोडा आउँछ ।’ उनीहरुले भारतमा पनि यस्तै धन्दामा संलग्न भएर आएकाले भाषा जानेको बताए । ‘नेपाल पनि इन्डियन कन्ट्री नै हो नि, यहाँ पनि धेरैले हिन्दी बोल्दारहेछन्,’ डिनाराको बुझाइ थियो । उनका धेरै ग्राहक भारतीय रहेको समेत उनले खुलाइन् ।
आफूलाई प्रसिद्ध गायक जस्टिन बिबरको फ्यान बताउने इन्दिराले नेपाली केटाहरु आफूलाई मनपर्ने बताइन् । उनले जस्टिनको गीत बजाएरसमेत सुनाएकी थिइन् । दुवैले आफूहरु नेपालको पोखरा घुम्न गएको र एकदमै सुन्दर लागेको समेत बताएका थिए ।

यसरी यौनधन्दा चलाएको कसैलाई थाहा छैन् ? भन्ने प्रश्नमा उनीहरुले भने, ‘एकदमै सुरक्षित हुन्छ यहाँ । हामी हाम्रो सम्पर्कभन्दा बाहिर मान्छे नै ल्याउँदैनौँ । विशेषगरी नेपालीले सुनाइदिन्छन्, त्यसैले सतर्क रहन्छौँ ।’

आफूले मागेअनुसारको पैसा तिर्न नसक्ने भएकाले पनि उनीहरुले नेपालीसँग कम सम्पर्क राख्ने रहेछन् ।

मौन प्रहरी
नेपाली यौनकर्मीका अखडामा छापा मारिएका र पक्राउ परेका समाचार यहाँ खुब आउँछन् तर आफ्नै देशमा विदेशीमूलका युवतीहरु यौन धन्दामा संलग्न रहेकोबारे प्रहरी जानकार नभएको बताउँछ । नेपालमा विदेशी यौनकर्मी छन्, यसबारे तपाईंलाई केही थाहा छ भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले भने, ‘मलाई जानकारी छैन, भएछ भने खबर गरौँला है !’

तीन महिनाअघि लामो समय ठमेलमा इन्चार्ज रहेर काम गरेका डिएसपी राठौरले भने विदेशी यौनकर्मीबारे सूचना आएको बताएका थिए । ‘रसियन, भारतीय, चिनियाँ युवतीहरु नेपाल आएर यौन धन्दामा सक्रिय छन् भन्ने मैले सुनेको छु,’ उनले शुक्रवारसँग भनेका थिए, ‘बाटोमा हिँडिरहेका या डिस्कोमा नाचिरहेका विदेशी युवायुवतीलाई शंका लागेकै भरमा थुन्नु त भएन । प्रमाण भेट्न मुस्किल भएकाले केही गर्न सकिएको छैन ।’  

नेपाली यौन बजारमा फाट्टफुट्ट विदेशी यौनकर्मी नभेटिने हैनन् । २०६६ सालमा महानगरीय प्रहरी परिसर काठमाडौंले ठमेलको हिमालयन जाभा रेस्टुराँ  पछाडीको तीन तले घरमा छापा मार्दा पूरै घर भाडामा लिएर यौन व्यवसाय चलाएका  १४ चिनियाँ युवती पक्राउ परेका थिए । त्यसयता भने विदेशी यौनकर्मी पक्राउ परेका छैनन् ।
पक्राउ नपरे पनि काठमाडौंमा उनीहरुको उपस्थिति भने बाक्लो छ । यहाँ थुप्रै देशका युवतीहरू कलगःलको रूपमा सक्रिय छन् । अधिकांश विदेशी यौनकर्मीको मिट प्वाइन्ट ठमेल, दरबारमार्ग र ललितपुरको झमेल नै हो । ग्राहकको मागअनुसार उनीहरू उपत्यकाबाहिर समेत जाने गरेको पाइएको छ ।

फेसबुकमा ‘रसियन कलगःल’
संवाददाताले भेटेका दुवै ‘रसियन कलगःल’ इन्दिरा र डिनाराले फेसबुक चलाउँछन् । उनीहरुको मोबाइल नम्बरको सहायताले संवाददाताले फेसबुक पत्ता लगाएको थियो । आफूलाई रसियन बताए पनि फेसबुकमा उनीहरुले आफू कजाकस्तानमा बस्ने र उज्बेकिस्तानबाट आएको भनेर आफ्नो ‘इन्ट्रो’मा जानकारी दिएका छन् ।

उनीहरुका अनुसार रसियन कलगःलको प्रमुख ‘मिटप्वान्ट’ भने पाँचतारे होटलमा सञ्चालित क्यासिनो नै हुन् । भेटघाटको अन्त्यमा डिनारालाई नेपाल आएर कसैसँग प्रेममा परिएको छ कि छैन भनेर ठट्यौली शैलीमा प्रश्न सोधिएको थियो । उनले जवाफ दिएकी थिइन्, ‘आइ डन्ट बिलिभ गाई’ अर्थात् ‘म केटा मान्छेलाई विश्वास गर्दिनँ ।’

Leave A Comment