‘श्रीमतीलाई पढाएर फुर्सद हुँदैन, मलाई गाडी चलाएर’

सोमबार, ०९ असोज २०७४, १२ : ४६ रेणु त्वानाबासु
‘श्रीमतीलाई पढाएर फुर्सद हुँदैन, मलाई गाडी चलाएर’

कृष्णभक्त श्रेष्ठ, बा ३ ख ४७६६
काभ्रे

तपाईंले यो गाडी चलाउन थाल्नुभएको कति वर्ष भयो ?
१२ वर्ष भइसक्यो नि !
योभन्दा अगाडि के गर्नुहुन्थ्यो नि गुरुजी ?
खलाँसी थिए । प्रमोसन भएर डाइभर भएँ । मैले ८ वर्ष त खलाँसी भएर गाडी चलाउन सिकेँ ।
त्यसो भए अहिले ड्राइभर भएकोमा खुसी हुनुहुन्छ ?
अँ, मलाई पहिलेदेखि नै यसैमा लाग्छु भनेर लागेको । अनि अब अरु काम पनि आउँदैन । म सन्तुष्ट छु यो काम गरेर ।
यो गाडी चलाउने काममा के समस्या बढी आउँछ ?
के आउँछ भन्ने अब । धेरै त ट्राफिक नै हो । रोक्ने ठाउँमा पनि गाडी जाम भयो भनेर रोक्न दिँदैन । हामीले प्यासेन्जर हाल्न पाउँदैनौँ । अरु चाहिँ बाटो नै हो । बाटो राम्रो छैन अनि जाम नहोस् कसरी !
प्यासेन्जरले पनि दुःख दिन्छन् कि ?
प्यासेन्जरले त के दुःख दिन्छ भन्नु । उनीहरु त हाम्रो लागि भगवान नै हो नि । उनीहरु गाडीमा चढ्न नआए हाम्रो घर कसरी चल्छ ।
प्यासेन्जरले पनि ठग्लान् नि कहिलेकाहीँ !
ठगेको त के भन्नु ! कसैकसैले पैसा नदिई जाने गर्छन् ।
पैसा नदिई जानेमा केटीहरु धेरै छन् कि केटा ?
यसमा त केटाहरु नै हो । ट्यापे केटाहरु धेरैले यस्तै गर्छन् । केटीहरुले त्यस्तो गरेको छैन । कहिलेकाहीँ समस्या परेको बेलामा नदिई जानुलाई म त्यति नराम्रो मान्दिनँ ।
तपाईंलाई फुर्सदको समयमा के गर्न मनपर्छ ?    
मलाई त सुत्न मनपर्छ । दिनहुँ काम गरेर थाकेको हुन्छु । बन्द भयो भने मलाई रमाइलो लाग्छ, दिनभरि सुत्न पाइन्छ ।
आम्दानी कति हुन्छ ?
बिहान ६ बजे देखि बेलुका ८ बजेसम्म चलाउँदा ६ हजारसम्म आम्दानी हुन्छ ।
अनि कुन समयमा प्यासेन्जर एकदम कम हुन्छ ?
बिहान ७ बजे र दिउँसो १२ बजे प्यासेन्जर एकदम कम हुन्छ ।
दसैं नजिकिदै छ, के गर्ने सोच छ त ?
म त घर जाने हो । खसी काट्ने हो,  परिवारसँग, नातेदारसँग भेटघाट गरिन्छ । आशीर्वाद लिने, टीका लाउने गर्छु । त्यति नै हो ।
परिवारलाई कत्तिको घुमाउनु हुन्छ नि ?
 अहँ । दसैँमा घर जाने मात्र हो । अरु बेला घुमिदैन ।
किन नि, गुरुजी ?
किनभने काठमाडौँमा एकजनाले कमाएर घर चलाउन एकदम गाह्रो छ । त्यसैले मेरो श्रीमती शिक्षिका हो । उसलाई पढाएर फुर्सद हुँदैन, मलाई गाडी चलाएर । त्यसैले हामी घुम्ने गरेको छैन ।

Leave A Comment