दसैं ‘आर्थिक चाड’मा रुपान्तरित

सोमबार, २३ असोज २०७४, ०२ : २० दिलीप पौडेल
दसैं ‘आर्थिक चाड’मा रुपान्तरित

दसैंको सांकृतिक र धार्मिक महत्व त छँदैछ । विभिन्न पेसा, व्यवसायमा देश, विदेशमा गएका घर फर्किने । आफूभन्दा ठूलासँगबाट टीका ग्रहण गर्ने आशीष थाप्ने । नयाँ लुगा लगाउने र मिठोमसिनो खाने प्रचलन त पुरानै हो ।
पछिल्ला वर्षमा दसैं सांस्कृति मात्र नभएर ‘आर्थिक चाड’को रुपमा रुपान्तरण हुँदै गएको छ । दसैंले आर्थिक चहलपहल निकै बढाएको छ । आर्थिक रुपमा सम्पन्नमात्र नभएर मजदुरी गरेर खानेले पनि दसैंमा ठूलो परिणाममा रकम खर्च गर्ने देखिएको छ ।
‘नयाँ ओरापरी(कपडा) फेर्ने’ प्रचलनसँगै नयाँ सवारी साधन, नयाँ घर किन्ने, नयाँ विद्युतीय लगायत अति आवश्यक सामग्री, उपहार, नयाँ–नयाँ गन्तव्यमा घुमफिर गर्ने संस्कृतिको विकास भएको छ ।
घर–घरमा खसीबोका काट्ने । आफन्तलाई कपडा लगायत विभिन्न सामग्री उपहार दिने । सरकारीदेखि निजी संस्थाले दसैंमा अतिरिक्त खर्च गर्नकै लागि थप एक महिनाको तलब दिने भएकाले पनि मन फुकाएर खर्च गर्दा यसको प्रभाव बजारमा देखिएको हो । निजी संस्थाहरुले पनि सेयर सदस्यलाई चाडबाड मनाउनको लागि सजिलो होस् भनेर यही मौकामा बोनससमेत दिन थालेका छन् ।
दसैंले अर्थतन्त्रलाई निकै चलायमान बनाएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । ‘दसैं अब सांस्कृतिक चाड मात्र रहेन,’ राणाले भनिन्, ‘वर्षमा एक पटक आउने दसैं व्यापारीका लागि आर्थिक चाड बन्न पुगेको छ ।’
वर्षातबाट हिउँदसमेत सुरु हुने सिजन भएकाले आर्थिक क्रियाकलापको हरेक क्षेत्रमा यसको प्रभाव देखिएको छ । अर्थतन्त्र निकै चलायमान बनाएको उनको अनुभव छ । ‘करिब ५०÷६० प्रतिशत दसैंमा व्यापार बढेको छ,’ राणाले भनिन्, ‘यो अर्थतन्त्रको लागि पनि निकै सुखद् पक्ष हो ।’
यो बेलामा व्यवसायी पनि निकै फुरुङ् छन् । अन्य सिजनमा व्यापार कम भए पनि वर्षभरीलाई थेग्ने गरी कमाई गरेका छन् । न्यूरोडमा फेन्सी व्यापार गर्ने प्रमोद डंगोलले यो वर्षको दसैंमा वर्षभरीलाई भाडा तिर्न थेग्ने गरी व्यापार गरे । विगतको वर्षभन्दा अहिले व्यापार बढेको डंगोलको अनुभव छ । आँफुलाईमात्र नभएर उपहार स्वरुप कपडा लैजाने चलन बढेको डंगोलले बताए । ‘परिवारमात्र नभएर आफन्तलाई पनि कपडा उपहार दिने प्रचलन सुरु भएको छ,’ डंगोलले भने, ‘त्यसले व्यापार निकै बढायो ।’
दसैंमा व्यापारीमात्र नभएर उपभोक्तालाई पनि राहात पुग्ने गरी विभिन्न छुटका प्याकेज ल्याएका छन् । अधिकांशले यही सिजनमा सवारी साधान किनेका छन् । धेरै सामान बिक्ने भएकाले छुट दिँदा पनि व्यापारीलाई पनि धेरै सामान बिक्ने भए पछि फाइदानै पुग्छ ।
दसैंमा ग्रामीण अर्थतन्त्रमा पनि प्रभाब पारेको हुन्छ । बजारमा बस्नेहरु गाउँ–गाउँमा जान्छ । नयाँ ग्रामणि कच्ची सडकको पनि यही मौकामा स्तरोन्नती गर्छन् । स्वदेशी बस्तुको खपत बढ्छ । मिठोमसिनो खाने चाड भएका खसीबोका अतिरिक्त तरकारीको बिक्री निकै धेरै हुन्छ ।
कर्मचारीले थप एक महिनाको तलब दसैँ खर्चका पाउँछन् ।  कर्मचारीले एकै पटक दुई महिनाको तलब पाउँदा त्यो खर्च गर्छन् । विदेशबाट यही समयमा रेमिटेन्स पनि बढ्छ । दसैँमा अन्य महिनाको तुलनामा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिटेन्स आउने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार दसैंमा करिब ५० अर्ब रुपैयाँ बढिका नयाँ नोट साटिन्छ । ती नोटको वितरण हुने गरेको छ ।
दसैंमा हरेक व्यक्तिले प्रतिस्पर्धात्मक रुपमा खर्च गर्ने प्रवृत्ति पनि बढेको छ । सामाजिक मान्यता पनि फेरिँदै गएको त्रिभुवन विश्वविद्यालय समाज शास्त्र तथा मानव शास्त्र विभागका टिकाराम गौतमले बताए । ‘हरेक चाडपर्वमा खर्चगर्ने ट्रेन बढेको छ,’ गौतमले भने, ‘अब चाडपर्वमा संस्कृतिसँगै आर्थिक पक्ष पनि जोडिएको छ ।’
दसैंमा धेरै परिणामा वस्तु खपत हुन्छ । लाखौं मान्छेको आवतजावतले यातायात क्षेत्रलाई पनि फाइदा पुग्छ । दसैमा यात्रु धेरै हुने भएकाले नयाँ बस पनि थप्छन् । रकम बजारमा आउने भएकाले यसको सकरात्मक प्रभाब अर्थतन्त्रमा देखिने पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘थन्किएको पैसा बजारमा आउँदा त्यसले अर्थतन्त्रलाई सकरात्मक असर पार्छ,’ खनालले भने, ‘वस्तु तथा सेवा उपलब्ध गराउँदा त्यसले रोजगारी पनि सृजना गर्छ ।’ दसैंमा अर्बौं रुपैयाँ खसीबोकाको मासु खपत हुन्छ । त्यसको फाइदा प्रत्यक्ष किसानमा पुग्छ । किसानले खसीबोका बेचेर आम्दानी गरेको पैसाबाट आँफूलाई चाहिने अत्यावश्यक सामाग्री खरिद गर्छन् ।

 

Leave A Comment