हावाबाट पानी निकाल्ने मेसिन

सोमबार, २३ असोज २०७४, ०२ : २६ शुक्रवार
हावाबाट पानी निकाल्ने मेसिन

बिबिसी फ्युचरमा ब्रायन लुफ्किनको आलेख जल नै जीवन हो भन्ने आहान पुरानो भइसक्यो ।
कतिपयले भन्थे, अब तेस्रो विश्वयुद्ध भयो भने पानीका लागि हुनेछ । यो कुरा पनि सुन्दासुन्दा दसकौँ बितिसक्यो ।
संसारको जनसंख्या करिब साढे सात अर्ब छ र यो तीव्र गतिमा बढिरहेको छ । प्रश्न के छ भने यसरी बढिरहेको जनसंख्याको प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने पानी कसरी उपलब्ध गराउने ?
नदीको गति सुस्त हुन थालेको धेरै भइसक्यो । झरना, तलाउ, कुवा सुक्न थालेको पनि निकै भइसक्यो । जसको परिणाम के भइरहेको छ भने संसारभर खानेपानीको चर्को अभाव भइरहेको छ । सहरहरुमा त पानीका लागि लामो लाइन नै देखिन्छ । गर्मीका दिनमा पानीका लागि रक्ताम्ये लडाईं हुने गर्छ ।
पानीको भागबण्डा
धेरैजसो देशमा पानीको भागबण्डालाई लिएर चर्को विवाद हुने गरेको छ । भारतले पाकिस्तान, नेपाल र चीनबाट आउने पानीमाथि गम्भीर चासो राख्ने गर्छ । कतिपय अवस्थामा पानी ठूलो हतियार नै बन्ने अवस्था आउँदैछ । चीनले त ब्रह्मपुत्र नदीको पानी नै रोक्ने घोषणा गरिसकेको छ । यस्तै पाकिस्तान र भारतबीच सिन्धु जल सम्झौता भएको छ, यो सम्झौताका आडमा घरिघरि भारतले पाकिस्तानलाई पानी रोकिदिने धम्की दिने गरेको छ ।
मिश्रको बरदान भनिने नील (नाइल) नदीको नियन्त्रण इथियोपियासँग छ । वर्षाको कमीका कारण बालीलाई ठूलो असर पुर्याइरहेको छ । सुख्खापनका कारण किसानले आत्महत्या गर्नुपर्ने अवस्था आएको छ । यता नदीको पानी सुक्दै जान थालेको छ ।
संसारभरिका १६० देशले आफ्नो पानी अभाव पूरा गर्नका लागि अन्य मुलुकमा निर्भर हुनुपर्छ अर्थात् उनीहरुले पानी आयात गर्ने गर्छन् ।
सबैका लागि आवश्यकता बनेको पानी उपलब्ध गराउनु सबैभन्दा ठूलो चुनौती बन्न पुगेको छ ।
उपचार के होला त ?
यस्तो निराशाजनक अवस्थामा केही चाँदीका घेरा पनि देखिएका छन् । यो समस्या समाधानार्थ विज्ञजनहरुले खोजी गरिरहेका छन् । तीमध्ये एक विशेषज्ञ जेनिया टाटाले प्रविधिको सहयोगले पानीको अभाव पूरा गर्न सकिनेमा जोड दिन थालेकी छन् ।
जेनियाका अनुसार एउटा प्रविधि विकसित गर्न सक्यो भने त्यसबाट पानीको आवश्यकता आफैँ पूरा गर्न सकिनेछ । उनको कम्पनी एक्सप्राइजले वाटर एबन्डन्स प्रोजेक्ट सुरु गरेको छ । यस प्रोजेक्टको उद्देश्य प्रविधिको सहयोगले आवश्यकताअनुसारको पानी उपलब्ध गराउनु हो ।
टाटाको यस संस्थाले १७.५ लाख डलरको पुरस्कार घोषणा गरेको छ । यो पुरस्कार त्यस्ता संस्था वा व्यक्तिलाई दिइनेछ, जसले हावामा भएको चिस्यानबाट पानी निकाल्न सकोस् ।
हावाबाट दैनिक दुई हजार लिटर पानी
विशेषज्ञहरुले यो पुरस्कारबारे थाहा पाउनेबित्तिकै हावाबाट पानी निकाल्ने योजना बुनिरहेका छन् । यो मेसिनले पेट्रोल वा कोइलाबाट होइन, सौर्य ऊर्जाको माध्यमबाट चल्ने मेसिनबाट हावाबाट पानी निकाल्नु पर्नेछ ।
इन्जिनियरहरुले यस्तो मेसिन बनाए भने ७० पैसामा एक लिटर पानी निकाल्न सकिनेछ । यस मेसिनले गरिबहरुलाई आवश्यक पर्ने पानीको आवश्यकता पूरा गर्न सक्नेछ ।
यस प्रोजेक्टअन्तर्गत बन्ने मेसिनले आउँदो वर्षको अगस्त महिनाभित्र उत्पादन थाल्ने अपेक्षा गरिएको छ ।
हुन त हावाबाट पानी निकाल्ने सोच तपाईंलाई उदेकको लागे पनि धेरै शोधकर्ताहरुले निकैअघिदेखि यसमाथि काम गरेका छन् ।
अमेरिकाको बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका उमर यागी यस्तै कैयौँ व्यक्तिमध्ये एक हुन् । उनले धातुहरुबाट एउटा स्पन्जजस्तो देखिने पाउडर तयार पारेका छन्, यस पाउडरमा भएको खोपिल्टोमा हावाबाट पानी सोसेर जम्मा गर्ने गर्छ ।
 पाउडरले हावा सोसेर पानी तयार पार्छ
एक किलो पाउडरले १२ घण्टामा तीन लिटर पानी हावाबाट सोस्न सक्छ । चिस्यान बढी भएको ठाउँमा त यो पाउडरले अझ बढी पानी जम्मा गर्न सक्छ ।
पृथ्वीमा मानिसको अस्तित्वका लागि सफा, मीठो पानी आधारभूत आवश्यकताको विषय हो । एक्काइसौँ शताब्दीमा यसको महत्व अझ बढेको छ ।
यस किसिमको प्रविधि उपयोग गरेर प्रत्येक मानिसलाई हामीले खानेपानी उपलब्ध गराउन सक्छौँ त ?
खुसी हुनुपर्ने कुरा के छ भने मानिसको बुद्धि यति बढिसकेको छ कि प्रायः समस्याको समाधान जुक्ति लगाएर गर्ने गरेको छ ।

 

Leave A Comment