‘कलाकारमा ज्ञान र संवेदनशीलताको अभाव छ’

सोमबार, २७ असार २०७३, १२ : ४४ अनिल यादव
‘कलाकारमा ज्ञान र संवेदनशीलताको अभाव छ’

आइतवार राजधानीस्थित नेपाल पर्यटन बोर्डमा नेपाल स्वतन्त्र फिल्म मेकर्स सोसाइटी र नेपाल पोलिसी सेन्टरको आयोजनामा भएको ‘नेपाली चलचित्र र टेलिभिजनमा महिला, जनजाति, दलित र मधेशीको चित्रण’ विषयक बहसमा फिल्म निर्देशक/समीक्षक नवीन सुब्बा ले राखेका विचारः

‘स्टेरियोटाइपिङ’ आफैँमा समस्या चाहिँ होइन । तर, त्यसलाई कसरी उपयोग गरिन्छ ? त्यहाँनेर चाहिँ समस्या हुन्छ । अलिकति गलत तरिकाले प्रयोग गर्नासाथ त्यसले गलत अर्थ दिन्छ । मैले बारम्बार उठाउँदै आएको, भन्न खोजेको र बहस गर्दै आएको कुरा के हो भने हालको प्रचलिन सौन्दर्य मूल्य चाहिँ राज्यद्वारा सिर्जित हो । राज्यले नै निर्माण गरेको हो । र, विभिन्न माध्यमद्वारा हाम्रो दिमागमा लगाइदिइएको छ । चाहे त्यो शिक्षा, साहित्य या गीत–संगीतको माध्यम नै किन नहोस् । र, यही दिमागले कसैलाई हेय र कसैलाई श्रेष्ठको दृष्टिले हेर्ने गरेको छ । यो लामो समयदेखि चलिरहेको छ । यही कुराको ‘रिफ्लेक्सन’ अहिले टेलिभिजन र फिल्मका पर्दामा देखिएको छ । यो सहनशीलताको तहभन्दा माथि नै छ । आफ्नै साथीभाइसँग जिस्किने क्रममा भन्ने कुरा एउटा होला । तर, अलिकति सचेत हुने हो भने त्यो पनि गर्नु हुँदैन भन्ने हो अब त । भिन्न समुदाय र भिन्न वर्गबीचको श्रेष्ठताको कुरा गर्दा एउटाले अर्कोलाई जसरी हेर्छ, त्यो हेर्ने क्रममा एकप्रकारको ‘इमेज’ बनाउँछ । तर, त्यो इमेज केले बनाइराखेको हुुन्छ ? समस्या चाहिँ त्यहाँनेर हो । त्यो इमेज बनाउने मान्छेले सचेततापूर्वक बनाउनुपर्छ । जस्तो, हामी त एउटा माध्यमको रूपमा धारणा निर्माण गर्न सहयोग गर्छौं भने त्यसले त अझ सचेत हुनुपर्छ जस्तो लाग्छ । मलाई त लक्ष्मीप्रसाद देवकोटाको एक लाइन– ‘क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ पनि आफैँ नै एउटा स्टेरियोटाइपिङ हो जस्तो लाग्छ । हामीले पढ्दै आएको यो लाइनले नै भोटेहरू फोहोरी हुन्छन् भन्न खोजेको छ । हामी जसलाई अत्यन्त राम्रो साहित्य भनिरहेका छौँ, जसले समानताको कुरा गर्छ भनिरहेका छौँ, त्यहाँ नै स्टेरियोटाइपिङ छ, त्यहीँ नै एउटा इमेज छ । के साँच्चिकै भोटेहरू फोहोरी नै हुन्छन् त ? अर्थात्, भोटेहरू जुन ठाउँमा बस्छन्, भौगोलिक अवस्थाका कारण उनीहरू कम नुहाउँछन् र बाहुनहरू अलि गर्मी ठाउँमा बस्ने भएकाले उनीहरूको अभ्यास छ नुहाउने । तर, यसले के ग¥यो भन्दाखेरि जेनरलाइजेसन गरिदियो । र, कुनै पनि कुरालाई जेनरलाइज गरेर प्रस्तुत गरियो भने त्यसले समस्या सिर्जना गर्छ । जस्तो, काठमाडौँका रैथानेहरूका लागि मधेशी भनेको साइकलमा सब्जी बेच्ने मान्छे हो । हामीले यहीमात्र विषय उठायौँ भने त्यो स्टेरियोटाइपिङ भयो । तर, त्यो क्यारेक्टरको गहिराइमा पुगेर उसको दिनचर्या, उसका सपना, आकांक्षा र पीडाहरूलाई ल्याउन सकियो भने चाहिँ त्यो समुदायलाई बुझ्न सहयोग पु¥याउँछ ।

अहिले हामी कलाकारहरू बजारको नाममा, अधिकारको नाममा विभिन्न कुरा त गरिरहेका छौँ । तर, के हामी सामाजिक मुद्दाप्रति अथवा आफ्नै माध्यमप्रति संवेदनशील छौँ त  ?   कलाको ध्येय के हो त ? कलाको ध्येय त सम्पूर्ण मानवीयता होला । त्यो सम्पूर्ण मानवीयता के गर्दा प्राप्त हुन्छ त ? उसको त त्यो उद्देश्य हुनुपर्ने । त्यो गर्दागर्दै बाइप्रोडक्टका रूपमा बजार पनि आउला, अरू थुप्रै कुरा आउलान् । तर, मुख्य कुरो चाहिँ कलाकर्मी पहिले कलाकार हुनुप¥यो । भरतको नाट्यशास्त्रले अभिनेता भनेको त अभिनय गर्ने होइन कि नेतृत्व गर्ने हो भन्दो रहेछ । समाजलाई अगाडि लिएर जाने हो भन्दो रहेछ । यहाँ त समाजलाई अघि लिएर जानेभन्दा पनि समाजले जता घिसार्छ, त्यतै घिस्रिने भन्ने कुरा भयो । अहिलेका हाम्रा कलाकारहरू संवेदनशील छैनन् ।

मलाई पनि काम गर्ने क्रममा कहिलेकाहीँ डर भइरहेको हुन्छ । मैले मधेशी चरित्र प्रस्तुत गरिरहेको हुन्छु र कहीँ स्टेरियोटाइपिङ पो भयो कि ? भन्ने डर भइरहेको हुन्छ । एउटा क्यारेक्टरलाई किन ल्याउने त फिल्ममा ? त्यो महŒवपूर्ण कुरा हो । मधेशी नचाहिँदा पनि ‘समावेशिताको नाममा एउटा मधेशी चाहिँ राख्नुपर्छ’ भन्न थाल्यो भने अर्को खालको स्टेरियोटाइपिङ भइरहेको हुन्छ । क्यारेक्टरमाथि न्याय दिलाउन सक्नु चाहिँ मुख्य कुरा हो ।

अघिल्लो वर्ष बनेका फिल्महरू हेर्दा मलाई के लाग्यो भने खस आर्यनहरूले पनि मधेशीलाई उपहास गर्दा रहेछन् । कतिसम्म उपहास भन्दाखेरि, म एउटा सानो उदाहरण दिन्छु । ‘मदिसे’ भनेर भन्छ । गाडी कुदाइरहेको चालकलाई ‘ए तँ मदिसे’ भन्छ । ‘तल झर्, दुई हजार दे’ भन्छ । उसको भाषामा त्यो मदिसे भनेको चाहिँ के रैछ भन्दाखेरि दिउँसै मदिरा सेवन गर्ने मान्छे । यो तरिकाको उपहास छ फिल्ममा । अरूलाई हँसाउने नाममा यसरी उपहास गर्न त पाइँदैन नि । यो त असचेतता र असंवदेनशीलताको हद हो नि । राजनीतिज्ञ त भोटका लागि घिस्रिन्छन्, तर कलाकर्मी त घिस्रिनु भएन नि । उनीहरूले त समाजको नेतृत्व गर्नुप¥यो । फेरि यसो भन्यो भने हाम्रा कलाकारहरू ‘हाम्रो पेट छैन ? बाँच्नु परेन ?’ भन्न थाल्छन् । म यसलाई कसरी लिन्छु भने कलाकारमा संवेदनशीलता र ज्ञानको नितान्त अभाव छ । समाजलाई बुझ्ने कुरामा पनि समस्या छ । त्यो समस्या नै अहिले रिफ्लेक्ट भइरहेको छ ।

अघिल्लो वर्ष ‘भैरव’ भन्ने एउटा फिल्म बनिरहेको थियो । फिल्ममा भिलेन चाहिँ मधेशी पात्र रहेछ । उसको थेगो के छ भन्दाखेरि ‘जय मधेश, खाऊ मधेश ।’ अनि, त्यो फिल्मका निर्देशक के भनेर अन्तर्वार्ता दिइरहेका थिए भने ‘यो फिल्म त मधेशमा चलाउनुपर्ने, मेरो फिल्मले त राष्ट्रियता बचाउँछ ।’ अब कस्तो राष्ट्रियता हो त्यो ?

चलचित्र क्षेत्रमा आचारसंहिता आयो । त्यहाँ पनि यस्तो गर्न पाइँदैन, त्यस्तो गर्न पाइँदैन भनेर आयो । भर्खरै शिक्षा क्षेत्रमा पनि आएछ । हाम्रो राज्य संरचनाले अहिले जुन खाले राष्ट्रियता निर्माण गर्न खोजिरहेको छ, हामी त्यसको अंग भइरहेका छौँ । कलाकर्मीहरू पनि त्यसको अंग भइरहेका छन् ।
प्रस्तुतिः अनिल यादव

 

Leave A Comment