दिनदहाडै हत्यापछिका आशंका

शनिबार, २८ असोज २०७४, ०३ : २२ शुक्रवार
दिनदहाडै हत्यापछिका आशंका

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या प्रकरणले मुलुकको शान्ति सुरक्षाको अवस्था औँल्याएको छ । राजधानीको मध्य सहरमा दिउँसै गोली काण्ड हुनु र गाडीमा सवार गौचनको नियोजित हत्या हुनुलाई लिएर शान्ति सुरक्षाको जिम्मेवारहरू माथि प्रश्न उठ्न थालेको छ । हत्या घटना भएलगत्तैदेखि सुरू भएका विरोध र्यालीहरू थामिएका छैनन् । निर्माण व्यवसायीहरूले हत्यारामाथि कारबाही  हुन नसकेको अवस्थामा निर्माण कार्य रोक्ने चेतावनी दिएका छन् । संसद्मा सांसदहरूले दबाब दिइरहेको अवस्था छ र सरकारले गठन गरेको छानबिन समितिले पनि आफ्नो काम थालेको बताइन्छ । निर्र्माण व्यवसायी संघका अध्यक्ष निशानामा पर्नुका कारणहरू स्पष्ट छैनन् । तर प्रारम्भिक अवस्थामा यो प्रकरण पैसा असुलीसँग सम्बन्धित रहेको अनुमान गरिँदैछ । यसै घटनाको पृष्ठभूमिमा निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष जीप छिरिङ लामालगायत मुलुकका विभिन्न स्थानका उद्यमी, व्यवसायीलाई गोप्य नम्बरबाट पैसा दिनुपर्ने धम्कीहरू आएकाले यस्तो आशंका बढेको हो । कारण जे जस्तो भए पनि यस घटनाले व्यवसायीहरूमा भय पैदा गरेको छ । आम नागरिक, व्यवसायी, पेसाकर्मीले आ–आफ्नो काम निर्वाध रूपमा गर्न पाउनुपर्छ । सुरक्षाको प्रत्याभूति दिने काम राज्यको हो ।
नेपालको राजनीतिक संक्रमण र आरोह अवरोधका पछिल्ला दुई दशकका घटनाहरू मसिनोसँग केलाउँदा त्यसको सबैभन्दा मारमा व्यवसायीहरू परेका छन् । आफ्नो निजी लगानीमा विभिन्न पेसा, व्यवसाय गर्ने, राज्यकोषमा कर लगायतका शुल्क तिर्ने र ठूलो संख्यामा नागरिकलाई रोजगारी दिने व्यवसायीहरूले पटक–पटक ज्यान जानेसम्मको खतरा मोल्नु परेको छ र ज्यानसमेत गुमाउनु परेको  घटनाहरूको पृष्ठभूमिमा गौचन हत्या प्रकरणलाई सरकारका जिम्मेवारहरूले संवेदनशील भएर लिनुपर्छ । माओवादी सशस्त्र द्वन्द्व, पहिलो र दोस्रो मधेस आन्दोलन पछिको तराई–मधेसमा फैलिएको सशस्त्र समूहको जगजगीका बेलामा व्यवसायीहरू नै तारोमा परेका थिए । दोस्रो संविधानसभा निर्वाचन अघिको अवस्था पनि उत्तिकै भयग्रस्त थियो । अपहरण र असुलीका घटनाहरू दिनदिनै घट्दथे र त्यस्ता घटनाका पछाडि पैसा असुली रहेको हुन्थ्यो । अहिले फेरि राजधानी लगायतका मुलुकका विभिन्न क्षेत्रमा त्यस्तै प्रवृत्ति देखापरेको छ । नहुनु भइसक्यो, अब गौचन हत्या प्रकरणलाई गम्भीर भएर सोच्ने मात्र होइन कार्यान्वयन जाने समयको रुपमा लिन सक्नुपर्दछ । र, त्यसका लागि राजनीतिक इच्छाशक्ति पहिलो सर्त हो । प्रहरी प्रशासनलाई उसलाई दिएको ऐन कानुनअनुसार चल्न र चलाउन दिने, स्रोतसाधनले सम्पन्न गर्ने हो भने यस्ता घटना छोटो समयमै न्यून हुन्छन् ।
न्यूनीकरण ठूल्ठूला घटनाका पछाडि देश विदेशमा नेटवर्क रहेका समूहहरू सक्रिय रहेका हुन्छन् । गौचन हत्यामा पनि त्यस्तै समूहको संलग्नताको अनुमान छ । अहिलेको सञ्चार प्रविधिको प्रयोग गरेर दूरदेशबाटै सफायाको काम गर्ने गराउनेहरूका पछाडि स्थानीय डनहरूले काम गरिरहेका हुन्छन् । हाम्रो समाजमा बलबाहु प्रयोग गरेर जीवन यापन गर्ने ‘डन’हरूको संख्या ठूलो छ । सहरका कुनाकाप्चा र सहर उन्मुख स्थानहरूमा त्यस्ता बाहुबलीहरूको सक्रियता रहेको हुन्छ । तर सबैभन्दा दुःखको कुरा त्यस्ता बलबाहुबाजीहरू प्रमुख राजनीतिक दलका कार्यकर्ताको आवरणमा हुन्छन् । गुण्डागर्दीको पहिचान कमाएकाहरू राजनीतिक दलका केन्द्रीय समितिका विराजमान छन् । के देखिन्छ भने केही वर्ष अघिसम्म राजनीतिक दलका सहयोगी भूमिका खेल्ने डनहरू आजकल राजनीतिक नेतृत्वकै दाबी मात्र गरिराखेका छैनन्, ‘जिम्मेवार’ पदसमेत पाएका छन् ।
समस्या दूर देशमा रहेकाहरूले चलाउने रिमोट कन्ट्रोल मात्र होइन । नेपालका जेलहरू जहाँ अपराधीहरूले संगठन बिस्तार गर्ने गर्छन् । जेललाई अहिलेको मानव अधिकारवादी दुनियाँमा सुधारगृह भनिन्छ तर बिडम्बना नेपालमा जेल परेको सामान्य डन खुंखार भएर बाहिर निस्किएका घटनाहरू दोहोरिएका छन् । कतिपयले जेल पर्नुलाई नेटवर्क विस्तार गर्ने अवसरको रुपमा लिएको पाइन्छ । जेल प्रशासन सुधार गरिने हदभन्दा बिग्रिएको छ । त्यसैले त्यहाँ सुधार होइन ओभरअल अर्थात् सम्पूर्णतामा परिवर्तन आवश्यक छ । अहिलेको अवस्थामा टालटुल गरेर समाधान हुने होइन, नीति निर्माताहरू, राजनीतिको नेतृत्व गर्नेहरू र प्रशासनका जिम्मेवारहरू सोच्ने कुरा हो यो ।
साना हतियारको बिगबिगी ठूलो सुरक्षा चुनौती हो । सहजै पारि भारतबाट किन्न सकिने घरेलु पेस्तोलदेखि आधुनिक इटालियन, अमेरिकन अवैध पेस्तोलहरू नेपालमा पाइन्छ । प्रहरी प्रतिवेदनहरूमा यस्ता सुरक्षा चुनौतीको फेहरिस्त हुन्छ तर नियन्त्रणका लागि के–के काम भएका छन् त ? त्यसको उत्तर पाइँदैन । समस्या देखिएपछि त्यसको निदानका कदम चालिनुपर्दछ । तर, हामी समस्याहरूलाई बेवास्ता गर्ने गर्दछौं, परिणाम गौचन हत्या जस्ता प्रकरण दोहोरिइरहन्छन् ।
नागरिक सुरक्षाका निम्ति सबैभन्दा आवश्यक सिभिल प्रहरी पर्याप्त र साधन स्रोत सम्पन्न हुनु हो । अपराध न्यूनीकरण गर्न प्रहरी सक्षम र सबल हुनुपर्दछ । तर, हामीकहाँ मुलुकको आवश्यकता अनुुसारको सुरक्षा योजना बन्न सकेको छैन ।  खासमा भन्ने हो भन्ने आम नागरिकको सुुरक्षाबारे गम्भीर छलफलसमेत भएका छैनन् । कस्तो बिडम्बना ! हामीकहाँ प्रहरीभन्दा सेनाको संख्या धेरै छ र ऊ अहिले व्यापार र ठेक्काका उद्यम गर्दैछ । सरकारले भरपर्दो ठेकेदार बनाएको छ सेनालाई । अद्र्धसैनिक प्रकृतिको सशस्त्र प्रहरीको संख्या पनि बढ्दै छ तर समयको मागअनुसार प्रहरीको संख्या पनि छैन, ऊ साधन सम्पन्न र तालिम शिक्षाबाट सम्पन्न हुन सकिरहेको छैन । यी समस्या झेलिरहेको प्रहरी संस्था राजनीतिक प्रयोगको थलोसमेत बन्न पुगेको छ र कानुनका डण्डा चलाएर भ्रष्टाचारमा आफैँ लिप्त छ ।
गौचन हत्या प्रकरणमा दोषी चाँडै पत्ता लागून् र उनीहरूमाथि सख्त कारबाही हुन सकोस् तर समाधान त्यत्ति मात्र होइन, डन पाल्ने राजनीतिक पार्टीहरू, अपराधीको नेटवर्क फैलाउन भूमिका खेल्ने जेल प्रशासन, अव्यवस्थामा ‘नौनी खाने’ प्रहरी प्रशासन र मुलुकको सुरक्षानीति कोर्नेहरू सबैमा जिम्मेवारीबोधको आवश्यकता छ । गौचन हत्याबाट पाठ सिकौँ र हामी सबै सुध्रने दिशामा अगाडि बढौं ।

Leave A Comment