सिर्जनाको अवमूल्यन

आइतबार, २९ असोज २०७४, १० : ५० शुक्रवार
सिर्जनाको अवमूल्यन

प्रकाश जंग थापा
जेरी सिगल महिला भनेपछि हुरुक्क हुन्थे । आकर्षक महिला देख्नेबित्तिकै उनको मनमा घण्टी बज्थ्यो । ट्वाङ...ट्वाङ । मौका मिलेसम्म बोल्न तम्सिहाल्थे । भेटे जतिसँग क्वालिटी समय बिताउन हत्ते गर्थे । फूलमा भमरा लोभिनु स्वभाविक हो तर जेरी स्त्री लम्पट थिए । उनी प्रेमभन्दा पनि वासनाको भोका थिए । वासना तृप्तिका लागि निकै जोड गरे । नियति उनका लागि तगारो भइदियो । कुनै नारीले भाउ दिएनन् । उनी जति महिलाको नजिक हुन खोज्थे, उनीहरु त्यति नै टाढा हुन्थे । उनले कयौंलाई प्रेम प्रस्ताव नराखेका होइनन् तर सबैबाट रेड सिग्नल पाए । उनी एकतर्फी प्रेममा फँसे । बेसुरा भए । टोलाउन थाले । उनी कल्पनामा हराउने गर्थे, ‘मैले अचानक सुपर नेचुरल शक्ति प्राप्त गरेँ भने के होला ? एक ठाउँबाट अर्को ठाउँ उड्न सक्ने भएँ भने समाजको मप्रति हेर्ने दृष्टिकोण कस्तो होला ? मेरो सुपर पावर देखेर म पढ्ने स्कुलका सुन्दर महिलाहरु के सोच्थे होलान् ? सायद उनीहरु मप्रति आकर्षित हुन्थे होलान् । अनि मेरो पनि प्रेमिका हुँदी हो । हामी डेटिङ जाँदा हौँला । नयाँ नयाँ ठाउँ घुम्ने थियौँ । एकअर्काको प्रेममा रमाउने÷हराउने थियौँ ।’ यी कुराहरु मनमा खेलाउँदा उनको अनुहारमा चमक आउँथ्यो र आफ्नै तालमा घरी मुस्कुराउने त घरी खिस्स हाँस्थे ।
जेरीको यस्तो हालत देखेर उनको अत्यन्त मिल्ने साथी जो सुस्टर चिन्तित भए । वास्तविक रहस्य जान्न जोले जेरीसँग निजी कुराकानी गर्न थाले । जेरीले आफ्नो समस्या र दिवा सपनामा हराउनुको मूल कारण बताए । संयोग भन्नु पर्छ जो पनि जेरीजस्तै पीडित थिए । उनी जेरीको पीडा महसुस गर्न सक्थेँ । हिरा काट्ने भनेको हिराले नै हो । तसर्थ उनीहरुले एकअर्कासँग व्यथा साटासाट गर्दा एक किसिमको आनन्दित हुन्थे ।
जेरी र जो एउटै समस्याबाट पीडित भए पनि दुई जनाको क्षमता भने फरक–फरक थियो । जेरी कुशल कथावाचक थिए भने जो दक्ष चित्रकार । एक दिन उनीहरुको मनमा केही नयाँ काम गर्ने सोच आयो । यही सोचलाई कार्यान्वयन गर्ने प्रण दुवैले गरे । उनीहरुले लामो चिन्तनपछि किताब लेख्न तयार भए । जेरी रोचक कथाको परकिल्पना गर्थे । कथाको विभिन्न पात्रहरुका बारेमा चर्चा गर्थे । आफ्नो कल्पनाशील दिमागी क्षमताको भरपूर प्रयोग गर्थे । जो भने यही कथा र पात्रहरुलाइ हुबहु चित्रमा उतारी दिन्थे । जेरी जुन गति र ऊर्जाका साथ आफ्नो एडभेन्चर कापीमा पोख्थे, त्यही स्तरको गति र ऊर्जाका साथ जो कथालाई स्केचको रुप दिन्थे । उनीहरु हरेक दिन घण्टौँ खट्न सक्थे । अन्ततः सुपरमेन कथाका बारेमा एउटा पुस्तक तयार भयो । यो पुस्तक उनीहरुको अथक मेहनत र पसिनाबाट आएको सिर्जना थियो । उनीहरु पुस्तक बजारमा ल्याउन चाहन्थे । धेरै पब्लिकेशन हाउस चहारे तर कहीँबाट छापिने सङ्केत पाएनन् । ६ वर्ष यत्तिकै बित्यो ।
 सन् १९३८ मार्च महिनाको दिन जेरी र जो त्यस बेलाको कमिक्स छाप्ने कम्पनी डिसी कमिक्समा गए । प्रकाशकलाई ‘सुपरम्यान’को कथा र चरित्र बुझ्न समय लागेन । कथा, कन्सेप्ट र क्यारेक्टरबाट निकै प्रभावित भए र ठाउँको ठाउँ सम्पूर्ण अधिकार खरिद गर्न तयार भए । यो मात्र होइन जेरी र जोलाई जागिरको पनि प्रस्ताव राखे । भर्खरैको २३ वर्षे जवान केटाहरूका लागि त्यो प्रस्ताव आकर्षक थियो । त्यसैले स्वीकार गरे । कमिक पुस्तक छाप्ने प्रतिष्ठित र ठूलो संस्थामा काम गर्न पाउनु उनीहरुका लागि सपनासरह थियो । आफ्नो भविष्य त्यही संस्थामा सुनिश्चित रहेको उनीहरुको आँकलन थियो । उनीहरु सुपरम्यान क्यारेक्टरको सम्पूर्ण अधिकार मात्र १३० डलरमा डिसी कमिक्सलाई बेच्न राजी भए ।
सुपरम्यान क्यारेक्टर अमेरिकामा मात्र नभएर विश्वभर रुचाइयो । डिसी इन्क कम्पनीले कमिक बुक बिक्री वितरण, लाइसेन्स डिल, टेलिभिजन शृंखला तथा फिचर फिल्मबाट मनग्य मुनाफा कमायो । यसो भनौँ, उनीहरुले पैसा छापे । त्यो तहको सफलताको हिस्सेदार जेरी र जो पनि थिए । आखिर त्यो उनीहरुको सिर्जनाबाट आएको प्रतिफल थियो । त्यसैले उनीहरु डिसी कमिक्सका सञ्चालकसँग मुनाफाको केही प्रतिशत हक दाबी गर्न गए । यस्तो खाले माग सञ्चालक टिमलाई पचेन । जसकारण जेरी र जो कम्पनीबाट निकालिए । त्यसपछि जीवन गुजाराका लागि जेरी टाइपिस्ट बने भने जो डेलिभरी म्यान ।
सन् १९४६ मा जेरी र जो मिलेर डिसी इन्क कम्पनीविरुद्ध मुद्दा हाले । न्युयोर्कको उच्च अदालतले कम्पनीको हितमा निर्णय गरिदियो । मुद्दा हारे पनि जो र जेरीले सन् १९७५ मा कम्पनीविरुद्ध अभियान चलाए तर पनि उपलब्धी शून्य नै रह्यो । सन् १९७८ मा पहिलो ‘सुपरम्यान’ चलचित्र प्रदर्शन गरियो । चलचित्रले त्यो बेलाको बक्स अफिस रेकर्ड तोडिदियो । जनता जेरी र जो को साथमा थिए । डिसी कमिक्स पछि जनताको दबाबसामु घुँडा टेक्न बाध्य भयो र दुवैलाई प्रत्येक वर्ष ४,२०,००० दिने निर्णय गर्न तयार भयो ।
जीवनको अन्तिम घडीमा जेरी र जो लस एन्जल्समा बाँकी जीवन कटाउन थाले । उनीहरुको घर नजिकै थियो । सन् १९९२ मा जोको मुत्यु भयो । त्यसको ठीक चार वर्षपछि जेरी पनि भगवानका प्यारा भए । उनीहरुको अन्तिम दिन निकै कष्टकर थियो । उनीहरु आर्थिक अभावमा पेलिएका थिए । उनीहरुको सिर्जनाले डिसी कमिक्स कम्पनी अर्बौं डलरको कम्पनी भयो तर कम्पनीलाई कमाइदिने सोच दिएका सर्जकीहरु मर्ने बेलामा अभावको जिन्दगी जिउनु प¥यो । ६० वर्षसम्म आफ्नो सिर्जनाको अधिकारका लागि लडे पनि उनीहरु सफल हुन सकेनन् । मृत्युपश्चात सुपरम्यानको स्वामित्व डिसी कमिक्सले आफ्नो नाममा गरायो ।
त्यसैले आफूलाई कहिल्यै अवमूल्यन नगराैं। आफ्नो सिर्जनालाई उचित मूल्य दिऊँ । सस्तोमा आफूलाई नबेचौँ । नत्र हामीले पनि जेरी र जोकै जस्तो नियति भोग्नु पर्ला ।

Leave A Comment