चाडपर्वले रोकेन विदेशिन

सोमबार, ३० असोज २०७४, १२ : १९ रुद्र खड्का
चाडपर्वले रोकेन विदेशिन

यतिखेर नेपाली समाज चाडपर्वमा डुबेको छ । दसैं सकिएलगत्तै तिहार, छठजस्ता चाडपर्व नेपालीको घरघरमा प्रवेश गरिसकेको छ । लामो समय बाहिर बसेकाहरू धमाधम घर फर्किरहेका छन् । गच्छेअनुसार हरेक परिवारले आफूले सकेको खर्च गरिरहेका छन् । वर्ष दिनभरि जे जस्तो पीडा भोगे पनि चाडपर्वमा खुसियालीका साथ मनाउने प्रयास भइरहेको छ ।
घरघरमा भित्रिएको चाडपर्वले सबै नेपालीलाई भने खुसी दिन सकेको छैन । खासगरी पछिल्लो समयमा वैदेशिक रोजगारीको बाध्यतामा रहेका नेपाली चाडपर्वमा पनि घर फर्कन नपाउँदा उनीहरूको परिवारमा निराशा छाएको हो । त्यस्तै कतिपय युवायुवतीलाई चाडपर्वको मुखैमा विदेश जानु पर्ने बाध्यता आइलाग्यो । चाडपर्वलाई धुमधामसँग मनाउन छाडेर मुग्लान भासिने थुपै्र भेटिए ।
कतिपय त वियजादशीको दिनमा समेत वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएको पनि भेटियो । त्यस्तै मध्येका एक हुन्– तनहुँका केशवराज वाग्ले । उनी बाध्यताले विदेश जानु परेको बताउँछन् । १८ वर्षदेखि वैदेशिक रोजगारीमा जान थालेका वाग्लेले  १२ वर्ष भारत, ४ वर्ष कतार र पछिल्लो २ वर्षदेखि साउदीमा काम गरिसकेका छन् ।
भारतको तुलनामा साउदीमा राम्रो पारिश्रमिक पाए पनि घरपरिवारसँगै बस्न नपाउँदा दुःख लाग्ने उनको भनाइ छ  । उनको विचारमा स्वदेशमै बसेर रोजगारी पाउने नसक्ने भएपछि हरेक नेपालीका लागि वैदेशिक रोजगारी बाध्यता हो । साउदीमा महिनामा ६० हजार रुपैयाँ जति कमाए हुने गरे पनि मन बुझाउन गाह्रो हुने उनको भनाइ छ ।  । भारत, कतार र साउदीमा काम गर्दाको अनुभवमा उनलाई  सबभन्दा राम्रो कतार लाग्यो ।
त्यस्तै, बाग्लुङका टंकबहादुर चुनारालाई पनि चाडपर्वमा घर परिवारसँग बस्न मन लाग्छ । वैदेशिक रोजगारी बाध्यताको भएकाले आफूले चाहेजस्तो नहुने उनको भनाइ छ । ‘देश सम्पन्न भएको भए मन रुवाएर घर छाड्नु पर्दैन्थ्यो होला,’ उनले भने, ‘स्वदेशमा रोजगारी नहुँदाको मार सारा युवायुवतीलाई परिरहेको छ ।’
साउदीलाई उछन्यो मलेसियाले
पछिल्ला केही वर्षयता युवायुवतीको रोजाइमा परिरहेका खाडीका छ मुलुक र मलेसियाको आर्थिक, सामाजिक तथा सुरक्षाको अवस्थामा परिवर्तन हुँदा त्यसको असर नेपाली युवायुवतीमाथि पर्ने गरेको छ ।
गन्तव्य मुलुकको उतारचढावका कारण युवायुवतीको प्रमुख गन्तव्य कहिले मलेसिया, कहिले साउदी अरेबिया त कहिले कतार र कहिले अरु नै मुलुक पर्ने गरेका छन् । ती मुलुकमा आइरहने अस्थिरताले युवायुवतीले ढुक्क भएर काम गर्न नपाउँदा त्यसको असर ती मुलुकमा जानेहरूमाथि परिरहेको हो ।
गन्तव्य मुलुकमा आइरहने अस्थिरताकै कारण चालु आर्थिक वर्षको पहिलो महिनामै वैदेशिक रोजगारीमा जाने युवायुवतीको छनोट मुलुकमा फरक–फरक परेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ को पहिलो महिना साउनमा तेस्रो नम्बरको गन्तव्यमा रहेको मलेसियाले चालु आर्थिक वर्षको पहिलो महिनामा प्रमुख गन्तव्यको स्थान लिन पुगेको छ ।
वि.सं. २०७३ को साउन महिनामा मलेसिया जानेको संख्या छ हजार सात सय ७५ थियो भने अर्को वर्ष अर्थात् २०७४ को साउन महिनामा विभागबाट श्रम स्वीकृति लिएर ११ हजार दुई सय ३१ युवायुवती श्रम बेच्न मलेसिया गए । अघिल्लो वर्षको पहिलो महिनामा सबभन्दा बढी १० हजार सात सय ८८ युवायुवती काम खोज्दै साउदी अरेबिया गएका थिए ।
अघिल्लो वर्षको पहिलो महिना साउदीपछि दोस्रो गन्तव्य कतार थियो । त्यतिखेर नौ हजार पाँच सय ५१ युवायुवतीले श्रम स्वीकृति लिएर रोजगारीका लागि कतार गएका थिए । चालु आर्थिक वर्षको पहिलो महिनामा भने साउदी जानेको संख्या आधा भन्दा बढीले कमी आएको छ ।
गत साउन महिनामा श्रम स्वीकृति लिएर चार हजार एक सय ९४ युवायुवती काम खोज्दै साउदी पसेको विभागले जनायो । अघिल्लो वर्षको पहिलो महिनामा प्रमुख गन्तव्य बनेको साउदी गत साउनमा भने चौथो स्थानमा झरेको छ । साउनमा सबभन्दा बढी ११ हजार दुई सय ३१ (३५.९ प्रतिशत) मलेसियामा, त्यसपछि कतारमा सात हजार एक सय ५९ (२२.९ प्रतिशत), तेस्रो नम्बरमा चार हजार नौ सय ९७ (१६.० प्रतिशत) संयुक्त अरब इमिरेट्स र चौथो नम्बरमा साउदी परेका छन् । साउनमा साउदी जानेको संख्या चार हजार एक सय ९४ (१३.४ प्रतिशत) रह्यो ।
अघिल्लो वर्षको पहिलो महिनामा चोथौ नम्बरमा रहेको संयुक्त अरब इमेरिटे्सले समेत साउदीलाई उछिन्न थालेपछि साउदीको विकल्प खोज्न थालिएको मेनपावर व्यवसायीले बताए । यतिखेर देखिने गरी साउदीमा खासै ठूलो समस्या नदेखिए पनि रोजगारीका लागि जाने युवाले नै उक्त मुलुकप्रति चासो राख्न छाडेको व्यवसायीको भनाइ छ ।
‘एकातिर कडा मुस्लिम अनुशासन र अर्कोतर्फ रोजगारदाताले ठगी गर्ने क्रम बढेपछि साउदीको आकर्षण घटिरहेको हो,’ एक मेनपावर व्यवसायीले भने, ‘बरु छिमेकी मुलुकले नाकाबन्दी गरेको कतार जान युवायुवती इच्छा राख्छन् । तर, साउदी पठाउन कठिन छ ।’ केही समययता विभागमा ठगीमा परेको भन्दै उजुरी गर्नेमा साउदी जानेहरू बढी भएको सूचना प्रवाह हुँदा पनि त्यसले असर गरेको हुन सक्ने विभागका कर्मचारी बताउँछन् ।
साउदीमा विभिन्न समस्या देखिएपछि र कतार छिमेकी मुलुकको नाकाबन्दीमा परेपछि यतिखेर पहिलो गन्तव्यमा परेको मलेसिया उपयुक्त गन्तव्य नहुँदा नहुँदै अन्य विकल्पको अभावले पहिलो नम्बरमा आएको बताइन्छ ।
वैदेशिक रोजगारीमा जाने युवायुवतीले अहिलेका गन्तव्य पारिश्रमिक र सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको गुनासो गर्दै आए पनि सरकारले ती मुलुकको विकल्प दिन सकेको छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले पनि अहिलेका गन्तव्य मुलुकको साटो राम्रो पारिश्रमिक पाइने अन्य मुलुक खोज्नु पर्ने आवश्यकता रहेको ठान्छन् । तर, सरकारले भने वर्षौं अघि छनोट गरेका गन्तव्य मुलुकमा भने कुनै फेरबदल ल्याउन सकेको छैन । विभागले हाल संस्थागत रूपमा विश्वका एक सय आठ र व्यक्तिगत तवरले एक सय ६७ देशका लागि श्रम स्वीकृति जारी गर्छ । तर, श्रम स्वीकृति लिनेमध्ये करिब ९५ प्रतिशत युवायुवती खाडी मुलुक र मलेसिया जाने गरेको पाइन्छ । आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनाको तुलनामा आर्थिक वर्ष २०७४/७५ को पहिलो महिनामा विदेश जानेको संख्यामा साढे ११ प्रतिशत भन्दा बढीले कमी आएको विभागले जनाएको छ । २०७३ को साउनमा विभिन्न मुलुकमा ३५ हजार चार सय ८५ युवायुवती कामका लागि जाँदा २०७४ को साउनमा ३१ हजार तीन सय ९ श्रम बेच्न विभिन्न गन्तव्य मुलुकमा गए ।

साउन महिनामा श्रम स्वीकृति लिनेको विवरण
देश                   संख्या      प्रतिशत

मलेसिया          ११,२३१           ३५.९
कतार               ७,१५९             २२.९
संयुक्त अरब इमिरेट्स    ४,९९७    १६.०
साउदी अरेबिया    ४,१९४             १३.४
दक्षिण कोरिया      ९०४                 २.९
कुबेत      ७२१                           २.३
बहराइन      ४५४                  १.५
ओमान      १८०                    ०.६
अफगानिस्तान      ११७    ०.४
जापान       ५८                       ०.२
लेबनान         २                       ०.०
इजरायल         ३                 ०.०
अन्य मुलुक     १,२८९                ४.१
जम्मा                       ३१,३०९         १००
स्रोत: वैदेशिक रोजगार विभाग

 

Leave A Comment