फैलँदै छठ

आइतबार, १२ कार्तिक २०७४, ११ : ५७ शुक्रवार , Kathmandu
फैलँदै छठ

उच्च शुद्धताका साथ सूर्य देवताको आराधना गरिने छठ पर्वको माहौल छ अहिले । केही वर्ष अघिसम्म पूर्वी र मध्य मधेसका खास गरेर मोरङ्ग पश्चिम पर्सासम्म भव्यताका साथ मनाइने छठ पर्वले अहिले फड्को मार्दैछ, फैलँदै छ । मिथिलाको राजधानी जनकपुरको प्रख्यात थियो छठ, वीरगंजको धडीअर्वा पोखरी पनि उत्तिकै चर्चामा आउने गर्छ । केही वर्ष अघिसम्म काठमाडौंको थापाथलीमा मात्र थियो छठको भूगोल । अहिले भने वाग्मती किनारा, गुहेश्वरी, मनोहरालगायत उपत्यकाका विभिन्न स्थानमा मनाइन्छ । सहरी क्षेत्रमा फैलिरहेको छठ देहातका पोखरीका डिलहरू पनि उसैगरी भव्यताका साथ मनाइन्छ । त्यसैगरी सजिन्छन्, केराका थाम, केराका घरीहरू झुण्डिरहेका हुन्छन्  पोखरीमा डिलहरूमा । यसको सबैभन्दा सुन्दर पक्ष  पोखरी, तलाउ र नदी किनारमा एकै पटक लार्खाैै अजुजीले आदी देवतालाई अध्र्य दिदै नमन गरिन्छ ।  पर्व पछाडी अगाध आस्था जोडिएको छ । सूर्य देवताले आफना सन्तानको रक्षा गर्दछन् र भाकलहरू पुरा हुन्छन् भन्ने विश्वास छ यो पर्वले आकार लिँदै जानुका पछाडी ।
मिथिला क्षेत्रबाट राजधानी काठमाडौं लगायतका पहाडी क्षेत्रका पोखरी, तलाउहरू र नदी किनारामा छठ मनाउन थालिएको छ, यो क्रम बर्सेनि बढ्दै छ । आञ्चलिक स्वरुपबाट मुलुकका विभिन्न क्षेत्रमा फैलनुका पछाडिका भिन्न–भिन्न कारण हुन सक्छन् । के देखिन्छ भने मिथिलाबासी मुलुकका कुनाकुनामा छरिएका छन्, राजधानी काठमाडौंमा अझ बढी उनीहरूको घनत्व छ । उनीहरू जहाँजहाँ बसोबास गर्दछन्, त्यहाँ छठ पु¥याउँछन् । उनीहरूको आस्थाको धरोधरलाई अन्य समुदायले सम्मान गरेको छ, आत्मसात गरेको छ,  साथ दिएको छ र आफैँ पनि संलग्न भएको छ । हामी नेपाली विविध छौं, विविध धर्म, संस्कृति, भाषा र  भूगोलको भूखण्ड हो यो हिमाल, पहाड र तराईका मैदानले सम्पन्न देश ।
छठको आफ्नो विशेषता छ, यसका पछाडि शुद्धता र आस्था छ । जो कोहीले छठको व्रत बस्न सक्तैनन् । चार दिनसम्मका विभिन्न धार्मिक क्रमपछि  पञ्चमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने र भोलिपल्ट षष्ठी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने पर्वको मूल पक्ष सूर्यको आराधना हो । छठका चढाइने प्रसादी खास गरेर कृषि उत्पादनसँग सम्बन्धित छन् । गहुँको पीठोबाट सख्खरबाट ठेकुवा, चामलको पीठो र सख्खर भुसवा, मैदा र गहुँको पीठो खजुरिया, केरा, नरिवल, सागसब्जीजस्ता १६ किसिमका फलफूल, सागसब्जी, कृषि उपज यसमा पूजा सामग्रीको रुपमा उपयोग गरिन्छ । यसको अर्को महŒवपूर्ण पक्ष छ, त्यो भनेको छठमा चढाइने कुनिया, ढकिया,  नाङलो (सुप्पी) जुन बाँसका चोयाले बनेका हुन्छन्, ती सामग्री तराई–मधेसमा अछुत भनेर हेय गरिने डुमहरूले बनाएका हुन्छन्, त्यही प्रयोग गरिन्छ । कुम्हार (कुम्लाले)ले बनाएका कोशियार र कुरवान जल प्रसादी चढाउन प्रयोग गरिन्छ ।
मिथिलाको धर्म, संस्कृति र सामाजिक जीवनसँग जोडिएको यो पर्व जसरी विस्तार हुँदैछ, जुन रुपमा फैलँदैछ, त्यसको एउटा सकारात्मक पक्ष छ । यसको अर्को पाटो पनि छ, त्यो भनेको छठले आधुनिक रुप लिँदैछ । बाँस, माटाका भाँडाको विकल्पमा काँच, पित्तल चल्न थालेका छन् । छठमा गाइने लोकभाका लोप हुने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । छठका बेलामा युवाहरूले प्रस्तुत गर्ने धर्म, संस्कृतिसँग सम्बन्धित नाटक लगायतका कलाहरू अहिले धुमिल हुँदैछन् र मनोरन्जनात्मक क्रियाकलापले स्थान लिएको छ । लोकभाकाहरूको ठाउँमा भोजपुरी फिल्मी गीत धन्किन थालेका छन् । कतै यसको मौलिकता लोप हुने त होइन भन्ने अहंप्रश्न उपस्थित भएको छ । पोखरीमा झकिझकाउ डिलमा पानीमा अर्ध डुबेर सूर्यलाई अध्र्य दिने, रातभर त्यही डिलमा भजनकीर्तन गर्दै जाग्राम गर्ने, बिहानै उदाउँदै सूर्यलाई अध्र्य दिएपछि समापन गर्दै घर फर्कने चलन लगभग हराएको छ । त्यसपछाडि सुरक्षाका प्रश्न आएका छन्, जाँडरक्सी र होहल्लाजस्ता अवरोध देखिन थालेका छन् ।
गाउँले परिवेशको कृषिजीवनसँग सम्बन्धित छठ पर्वमा अहिले आफ्नै खेतबारीका अन्न, फलफूल र सागसब्जी होइन बजारका सामग्री प्रयोग हुने क्रम बढ्दो छ । तराई मधेसमा युवाहरू खाडीमा हात पाखुरा खियाउने र यता तराई–मधेसमा फाँटहरू बाँझो पल्टने अवस्थामा छ अहिले । छठको धार्मिक, सांस्कृतिक पक्षलाई हामीले फैलाउन सकेको भए पनि यसको कृषि जीवन पद्धतिसँग जोडिएको पक्षबाट हामी अलग भैरहेका छौं । छठको कठोर ब्रत बसेर सूर्यको आराधना गर्ने आमाहरू, दिदीबहिनीहरूले अब मिथिलाका हातपाखुरा यहीको माटोमा सल्बलाउनु पर्छ, यहीँका खेतबारीमा युवाहरूको ऊर्जा पोखिनुपर्छ भन्ने कामना गर्न आवश्यक भैसकेको छ ।

 

Leave A Comment