तन्नेरीको सुखद साल कामना

बिहिबार, ०६ जेठ २०७३, ०२ : ५१
तन्नेरीको सुखद साल कामना

–गोपाल दाहाल
एकातिर नयाँ वर्षको रमझम अर्कातिर चढ्दो गर्मीको हैरानी । तर, पूर्वेली युवायुवतीलाई यही कुरा मौकामा चौका हान्ने अवसर बनेको छ । त्यसैले त धनकुटाको नमस्ते झरनामा यो बेला निकै भीड छ ।
नयाँ वर्षको रौनक सुरु भएको बेला केही दिनअघि झरना पुग्दा एक जोडी तन्नेरी झरनाको नजिकै सेल्फी खिच्न व्यस्त थिए । कोही झरनाको चिसो पानीको थोपा–थोपा शरीरमा पर्दा प्रफुल्लित भएर आनन्दले ‘वाह’ भन्दै रमाउँदै थिए । कोही चाहिँ पानीमा भिज्दै, पौडी खेल्दै आनन्द मानिरहेका थिए ।

भेडेटारबाट ९ किलोमिटर ओरालो झर्दा पुगिने झरनामा डेटिङ जाने तन्नेरी जोडी, चिसोमा रमाउन जाने युवायुवतीदेखि पारिवारिक घुमघाममा जाने समूहको जमघट छ अहिले । त्यसै पनि गर्मी मौसममा भीड लाग्ने नमस्ते झरना नयाँ वर्षको रौनकसँगै व्यस्त बनेको छ । नयाँ वर्षको बहानामा एक साताअघिदेखि नै झरनाको अघिल्तिर सेल्फी खिच्ने र नुहाउनेको भीड छ । केही वर्षयता मात्र चर्चामा आएको नमस्ते झरना अहिले पूर्वमा भेडेटारपछिको उत्कृष्ट गन्तव्य बनेको छ । झरना जानेहरू भेडेटार हुँदै जानुपर्ने भएकाले भेडेटार त छुट्ने कुरै भएन । भेडेटारसँगै नयाँ वर्षको अवसरमा नाम्जे घुम्न पूर्वी तराई र भारतका विभिन्न प्रान्तबाट पर्यटकको बाक्लो उपस्थिति छ ।

गत वर्ष पीडादायी भएर पनि होला यसपटक नयाँ वर्षको अवसरमा मठमन्दिर जाने युवापुस्ताको संख्या पनि धेरै देखिन्छ पूर्वमा । केही दिनअघि धरानको बुढासुब्बा मन्दिर पुग्दा धर्मकर्ममा लाग्ने वृद्धहरूसँगै आधुनिक युवायुवती पनि दर्शन गर्ने लाइनमा बाक्लै थिए । घण्टौँ लाइनमा बसेर पूजा गर्दै सुखद नयाँ वर्षको कामना गर्नेहरू मन्दिरमा भेटिए ।
बुढासुब्बाजस्तै बराहक्षेत्र, पाथीभरा, पिण्डेश्वर, दन्तकाली, रामधुनी, छिन्ताङदेवी, मैनामैनी, औलिया बाबाजस्ता मठमन्दिरमा नयाँ वर्षमा दर्शन गर्नेहरूको बाक्लो उपस्थिति छ । नयाँ वर्षको अवसरमा एक साताभन्दा बढी समय दर्शन र घुमघाम गर्नेहरूको उपस्थिति बाक्लै हुन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई पूर्वका विभिन्न स्थान घुमाइरहेको सेछ ट्राभलिङका निर्देशक वासुदेव बरालका अनुसार नयाँ वर्षको यो मौसममा तराईका वासिन्दा पूर्वी पहाडका रमणीय गन्तव्य र मठमन्दिर घुम्ने गर्छन् । उनी भन्छन्, ‘नयाँ वर्षदेखि सुरु हुने पहाडी क्षेत्रको घुमघाम गर्मी बढ्दै जाँदा झन् बढ्छ । यो बेला नयाँ वर्ष र चिसो मौसम दुवैको आनन्द लिन पाइन्छ ।’

२०७२ साल सुरुदेखि नै नेपालीका लागि दुःखदायी बन्यो । विशेष गरी भूकम्प र भारतीय नाकाबन्दीले नेपालीलाई पीडैपीडा दिए । त्यही पीडा भुल्न पनि होला, २०७३ आउनुअघिदेखि नै मठमन्दिर, पर्यटकीय स्थल र झरना, खोलातिर पुगेर युवायुवती रमाइलो गरिरहेका छन् । अहिले पूर्वका चिसो पहाडी क्षेत्र इलाम, कन्याम धनकुटा, हिले तेह्रथुमको वसन्तपुर, ताप्लेजुङको पाथीभरा, संखुवासभाको तिनजुरे मिल्के जलजले, उदयपुरको रौताजस्ता रमणीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्छ ।
पर्यटनको विकासमा लाग्नुपर्ने आधिकारिक सरकारी निकायहरूले काठमाडौँ–पोखरा–चितवनको मात्र प्रवद्र्धनमा सहयोग गरेको आरोप लाग्दै आएको छ । अहिलेको राज्य संरचनाअनुसार १ नम्बर प्रदेशमा परेका यी पर्यटकीय स्थलमा स्थानीयको घुमन्ते बानी र उत्साहले आन्तरिक पर्यटनको विकास गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी आन्तरिक पर्यटन स्थलको प्रवद्र्धनमा आगामी दिनमा बोर्डले सहयोग गर्ने बताउँछन् । भन्छन्, ‘यो क्षेत्रको पर्यटन विकासका लागि नीति बनाएर अघि बढ्नु आवश्यक छ । त्यसले आन्तरिक पर्यटन विकासको ढोका खुल्छ ।’
तस्बिरः अनुशील श्रेष्ठ

Leave A Comment