पेशा परित्यागमै ‘इज्जत’

मङ्गलबार, २८ असार २०७३, ०१ : ५८ अजित तिवारी , Kathmandu
पेशा परित्यागमै ‘इज्जत’

बिरामी जाँच्दै गरेका विराटनगरका तीन चर्चित डाक्टर एकै दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फन्दामा परेपछि यहाँका चिकित्सकहरू आतिए । ‘नक्कली’ शैक्षिक प्रमाणपत्रको आरोपमा यहाँका नाम चलेका डाक्टर पक्राउ पर्न थालेपछि चिकित्सक संघलाई टाउको दुखाइ भएको छ ।
    ३ असार शुक्रवार । विराटनगरका चर्चित फिजिसियन डा. जावेद अख्तर अन्सारी १० बजे नै अस्पताल पुगे । विराटनगरको बरगाँछीस्थित लाइफगार्ड अस्पतालको केविनमा पसे र बिरामी जाँच्न थाले । उनलाई जँचाउन त्यो दिन मात्रै ४० वटा पुर्जा काटिएको थियो । सुनसरी, इनरूवाका राम थापा पनि पालो पर्खेर बसिरहे । उनको पुर्जा नं. ९ थियो । पालैपालो कम्पाउन्डरले बिरामीलाई डाक्टरको केविनमा डाक्न थाले । एकै छिनमा थापाको पालो आयो । डाक्टर केविनको ढोका खोलेर कम्पाउन्डर कराए, ‘राम थापा ।’ थापासँगै उनको सहयोगी पनि केविन छिरे । कम्पान्डरले ढोका लगाइदिए । डाक्टरको टेबल छेउकै टुलमा थापालाई बस्न कम्पाउन्डरले इसारा गरे । थापा र उनको सहयोगीले गोजीबाट ‘परिचय–पत्र’ निकाले । र, डाक्टरलाई देखाउँदै भने, ‘हामीसित हिँड्नुस, जबर्जस्ती गर्न नपरोस् ।’
    थापा र उनको सहयोगीको परिचय–पत्र देखेपछि डाक्टर झसङ् भए । केही नबोली उनीहरूसित हिँडे । चेकअप गराउन कुरिरहेका बिरामी अलमलमा परे । कम्पाउन्डर हत्तारिदै केविनबाट निस्के । अनि, थाहा भयो । उपचार गराउन डाक्टरको केविनमा छिरेका राम थापा    बिरामी नभएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्सपेक्टर हुन् । सीआईबीका टोलीले पाँच सय रूपैयाँ तिरेर डाक्टरको पुर्जा नै काटेका थिए ।
    लाइफगार्ड अस्पतालका वरिष्ठ फिजिसियन डा. जावेदलाई सीआईबीका प्रहरीले बिरामी बनेरै नियन्त्रणमा लिए । उनीमाथि अरू डाक्टरको नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नम्बर प्रयोग गरेको आरोपमा सीआईबीले हिरासतमा लिएको थियो । विराटनगरकै अर्का डाक्टर महानन्द मिश्रा र डा. जावेदको एनएमसीको दर्ता नम्बर एउटै हो । तर, डा.जावेदलाई ६ असारमै सीआईबीले फेरि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइदिए । ७ असार मंगलवार उनलाई जिल्ला अदालत मोरङले ५० हजार रूपैयाँ धरौटीमा रिहा गरे । अनुसन्धान गर्दा डा. जावेदको मुद्दामा कुनै ‘समस्या’ नदेखिएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । भारतीय नागरिक भएकाले डा. जावेदलाई धरौटीमा अदालतले रिहा गरे ।
    एनएमसीले नेपाली र विदेशी डाक्टरलाई प्य्राक्टिसका लागि लाइसेन्स नम्बर दिने गर्छ । डा. जावेदको विदेशी र डा. मिश्राको नेपाली लाइसेन्स नम्बर हो । नम्बर जुधेको मात्र हो । सीआईबीले ३ असारमै विराटनगरका अर्का दुई चर्चित चिकित्सक डा. संजय दास र डा. अबुल कलामलाई पनि पक्राउ ग¥यो । दास बालरोग विशेषज्ञ हुन् भने कलाम अर्थोपेडिक सर्जन ।
    डा. दासलाई वीरेन्द्र सभागृह नजिकै रहेको क्लिनिक र डा. कलामलाई ट्रमा जनरल हस्पिटलबाट पक्राउ गरिएको थियो । यी दुवै डाक्टरमाथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको सीआईबीको आरोप छ । डा. दास पक्राउ परेपछि उनको विराटनगरको क्लिनिक त्यही बेला दिनदेखि बन्द छ । यसअघि, विराटनगरबाटै दन्त चिकित्सक मोहम्मद कमरुल हक र कोसी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ तुलसीप्रसाद महतोलाई सीआईबी टोलीले वैशाखको पहिलो साता नक्कली शैक्षिक प्रमाणपत्रकै आरोपमा पक्राउ गरेको थियो ।
    पूर्वी नेपालको स्वास्थ्य हब बनेको विराटनगरमा लगालग ‘नक्कली’ डाक्टर पक्राउ पर्न थालेपछि बिरामी मात्र हैन, चिकित्सा क्षेत्रमा समेत हलचल ल्याइएको छ । यहाँका चिकित्सक संघका पदाधिकारीहरूले शैक्षिक योग्यताको प्रमाणपत्र ‘समस्याग्रस्त’ रहेका डाक्टरहरूलाई आफैँले पेशा परित्याग गरे ‘इज्जत’ बच्ने धारणा राख्छन् । ‘शैक्षिक प्रमाणपत्रमा समस्या रहेको कुरा स्वयं डाक्टरलाई मात्र थाहा हुन्छ,’ नेपाल चिकित्सक संघ मोरङका एक पदाधिकारीले भने, ‘हामीले खोजेर साध्य हुँदैन । जस–जसको प्रमाणपत्रमा समस्या छ, उहाँहरूले आफैँ यो पेशा छोडिदिए, अरूलाई पनि कल्याण हुन्थ्यो ।’ शैक्षिक योग्यताको प्रमाणपत्रमा समस्या रहेका र छानबिनको दायरामा आएका डाक्टरका लागि ‘केही गर्न नसकिने’ बताउँदै चिकित्सक संघका ती पदाधिकारीले धमाधम पक्राउको घटनाले ‘सक्कली’ डाक्टरलाई पनि शंकालु भएर हेर्न थालिएको बताए ।

पक्राउ शैलीको विरोध
    शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली आरोपमा डाक्टरलाई ‘अपहरण’ शैलीमा पक्राउ गरिएकोमा भने चिकित्सकहरूले विरोध जनाइरहेका छन् । अस्पतालको केविनमा बिरामी जाँचिरहेका डाक्टरलाई कुनै सुइँको नदिई ‘अपहरण’ को शैलीमा पक्राउ गर्नु उचित नभएको उनीहरूको भनाइ छ ।
    लाइफगार्ड अस्पतालका प्रबन्ध निर्देशक डा. कैलाशकुमार श्रेष्ठका अनुसार डाक्टरलाई पक्राउ गर्दा वा केही बुझनुपर्दा जानकारी नदिई सादा पोशाकमा आएर नियन्त्रणमा लिनु ‘दुव्र्यवहार’ गर्नु सरह हो । उनले पक्राउ पुर्जी केही पनि नदिई सादा पोशाकमा आएका प्रहरीले पक्राउ गर्नु उचित नभएको बताए । ‘सादा पोशाकमा जो कोही आएर भोलि डाक्टरलाई अस्पतालबाटै उठाएरै लान सक्छ,’ उनले भने, ‘प्रहरीको यो राम्रो परम्परा होइन । यसले डाक्टरलाई असुरक्षित बनाउँछ ।’ नेपाल चिकित्सक संघका महासचिव डा. फरवार्ड सिलवालले बिरामी जाँचिरहेको बेला केविनमै पुगेर अपहरण शैलीमा डाक्टरलाई पक्राउ गर्नु ‘राम्रो व्यवहार’ नभएको बताए ।
धरौटीमा छुट्दै
    नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका विराटनगरका झन्डै एक दर्जन डाक्टरलाई जिल्ला अदालत मोरङले धरौटीमा रिहा गरेका छन् । सीआईबीले नक्कली प्रमाणपत्रधारी डाक्टरको मुद्दासम्बन्धित जिल्लामै पठाएपछि जिल्ला अदालत मोरङले १९ असारमा उनीहरूलाई धरौटीमा रिहा गरेका हुन् ।
    जिल्ला अदालत मोरङले डा.दास, डा. कलाम र डा. राजवंशीलाई धरौटीमा रिहा गरेको हो । मोरङ जिल्ला अदालतका स्रेष्तेदार नवराज दुलालका अनुसार डा. राजवंशीले ३५ लाख, डा. दासले २३ लाख ९० हजार र डा. कलामले १३ लाख रूपैयाँ धरौटी बुझाएर थुना मुक्त भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरी काठमाडौँ पु¥याएका विराटनगरका चिकित्सकहरूलाई १६ असारमा जिल्ला अदालतमा हाजिर गराइएको थियो ।

 

Leave A Comment