इजरायलबाट केयरगिभरको माग आएन

बुधबार, १५ कार्तिक २०७४, ११ : ५६ रुद्र खड्का
इजरायलबाट केयरगिभरको माग आएन

रोजगारीका लागि इजरायल जाने तयारीमा हुनुहुन्छ भने तपाईंका लागि सुःखद समाचार छैन । झन् इजरायल जानकै लागि केयरगिभर लगायतको तालिम लिइसक्नु भएको छ भने खर्च भइसकेको रकम पनि कसरी उठाउने भन्ने समस्या अघिल्लतिर आइपुगेको छ ।
दुई वर्ष अघि सुरु गरिएको इजरायलको केयरगिभरमा पछिल्लो समयमा रोजगारदाताले माग गर्न छाडेपछि उड्नलाई ठिक्क परेका युवायुवती अन्योलमा परेका छन् । उडिसक्नु पर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयरगिभर संकटमा परेको आकलन गर्न थालिएको छ ।
‘पाइलट प्रोजेक्ट’ को रूपमा दुई वर्ष अघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार सेप्टेम्बरसम्म ६० जना युवायुवती इजरायल उडिसक्ने  वैदेशिक रोजगार विभाग र नेपालस्थित इजरायली राजदूतावासबीच समझदारी भएको थियो ।
उक्त समझादारीको अवधिसम्म एक जना पनि इजरायल जान सकेनन् । तोकिएको अवधिसम्म जान नपाएका युवायुवतीको दिनदिनैको भनसुनले आजित भएपछि विभागको तारन्तर प्रयासले अक्टोबर २ तारेखमा पाँच जना मात्र इजरायल उड्न पाएका छन् ।
कार्यतालिका अनुसार विभागले इजरायलमा केयरगिभरको काम गर्न जानका लागि ६० जना युवायुवती छनोट गरी तयारी अवस्थामा राखिसकेको छ । ‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलमा रोजगारीमा जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका निर्देशक मोहन अधिकारीले भने, ‘तर, कार्यतालिका अनुसार इजरायलबाट केयरगिभरको माग नआउँदा छनोट भएका युवायुवती उड्न पाएका छैनन् ।’
विभाग स्रोतका अनुसार नेपालका मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग आउन नसकेको हो । विभागका एक अधिकारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयरगिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका मेनपावरको प्रलोभनमा परेर माग पठाउन नसकेको हो ।’
केही वर्ष अघिसम्म मेनपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जि टु जि (दुवै देशका सरकारी निकायको सहभागिता) प्रक्रियाद्वारा मात्र केयरगिभर लैजाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय युवायुवतीलाई केयरगिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो  ।
उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना युवायुवती केयरगिभरको काम गर्न इजरायल उडिसकेका छन् । त्यहाँ गएका सबैले राम्रो क्षमता देखाएपछि छ महिना अघि विभागले दोस्रो चरणको कार्यक्रम थालेको थियो । विभागले दरखास्त संकलन गरी लिखित र प्रयोगात्मक परीक्षा लिएर सबै प्रक्रिया समयमै पूरा गरेको निर्देशक अधिकारीले बताए ।
 ‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ अधिकारीले भने, ‘तर, उताबाट (इजरायल) माग नआउँदा तयारी अवस्थामा रहेका युवायुवतीलाई पठाउन सकिएको छैन ।’ महिनामा कम्तीमा एक लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक पाइने र जाँदा (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैया बढी खर्च नहुने भएकाले पछिल्लो समयमा युवायुवतीले इजरायल रोजगारी निकै मन पराएका छन् ।
केयरगिभरको तीन महिने तालिम लिएका युवायुवती सोही काममा लागि सक्षम हुने भएपनि केयरगिभरका लागि नर्सिङ, अनमी, अहेब अध्ययन गरेका युवायुवतीले समेत प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको केयरगिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए । इजरायलमा केयरगिभरको काम वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो ।
विभाग स्रोतका अनुसार युवायुवतीका लागि निकै आकर्षक र सुरक्षित मानिएको केयरगिभरका लागि सरकारले नै युवायुवती पठाउन थालेपछि म्यानपावर सञ्चालक आत्तिएका हुन् । विभागका कर्मचारीका अनुसार ‘पाइलट प्रोजेक्ट’ सुरु हुँदा नै सरकारी तवरबाट सुरु गरिएको केयरगिभरलाई आफैं सुरु गर्ने प्रयास गरेका मेनपावरले नेपालमा गरेको प्रयासमा सफलता प्राप्त नगरेपछि इजरायलमा छनोट भएका एजेन्टसँग सम्पर्क बढाएका हुन् ।
 ‘सुरुको सम्झौता अनुसार इजरायलका अधिकारीले त्यहाँ केयरगिभरको थुपै्र माग रहेको भनेका थिए,’ एक कर्मचारीले भने, ‘कार्यक्रम सुरु भएको अर्को वर्ष नै माग नआउनु मेनपावरको खेल हो ।’ इजरायल सरकारले त्यहाँ चार वटा एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको बताइएको छ ।
म्यानपावरले युवायुवतीलाई इजरायल पठाउने हो भने ८÷१० लाख रुपैयाँसम्म लिने तर सरकारी तवरबाट जाँदा एक लाख रुपैयाँ भन्दा बढी खर्च नहुने बताइन्छ । इजरायलबाट माग आउन छाडेपछि छनोट भएका युवायुवती चिन्तित भएका छन् । कतिपय भने अन्य काममा लाग्न थालेका छन् ।
 विभागका निर्देशक अधिकारीका अनुसार केयरगिभरका लागि छनोट भएकामध्ये एक जना सरकारी सेवामा प्रवेश गरिसकेका छन् भने अर्का एक रोजगारीका लागि युरोप गइसकेका छन् । जिटुजि प्रक्रियामा इजरायल जान पाइने भएपछि यतिखेर बजारमा करिब १० हजार युवायुवतीले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ । पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयरगिभरका लागि छनोट भएका थिए ।

 

Leave A Comment