भट्टीवालीका दुःख

बुधबार, १५ कार्तिक २०७४, ११ : ५८ शुक्रवार
भट्टीवालीका दुःख

नवीन प्यासी    

नेपालमा बर्सेनि करोडौँ मूल्य बराबरको मदिरा भित्रिने गर्छ । यसका कारण वार्षिक करोडौँ रुपैयाँ विदेशिने गर्छ तर नेपालभित्र पनि लाखौँ लिटर मदिरा उत्पादन हुने गर्छ । जसले समाजमा हिंसा, झैँझगडा, हल्ला बढाएको आरोप लाग्ने गर्छ । सबैले गलत मुनाफा कमाउने सोचले मात्र रक्सीको उत्पादन गरेका छैनन् । हरेक मान्छेका आफ्नै बाध्यता र विवशता हुन्छन् । यही विवशतामाझ रक्सी उत्पादन गर्ने भट्टीवालीका दुःख कम छैनन् ।
उनको नाम हो लक्ष्मी तामाङ । सिन्धुलीबाट २०५० सालमा भागेर बिहे गरी उनी काठमाडौं आएकी थिइन् । त्यो बेला उनी सत्र वर्षकी थिइन् । सुरुवाती दिन एकदमै दुःखदायी थियो । जसोतसो गरेर लक्ष्मी र उनका प्रेमीले गुजारा चलाए । दुनियामा भएजति सबै दुःख भोगे । दुवेलै ज्यामी काम गर्थे । लक्ष्मीका लागि ती दुःख नै सुखको क्षण थियो किनभने उनीसँग उनले सबैभन्दा बढी माया गरेको व्यक्तिको साथ थियो, सामीप्य  थियो र थियो आत्मियता । पत्तो नपाइकनै काठमाडौँमा दुःखजिलो गरी बस्न थालेको दस वर्ष बितिसकेछ । उनीहरु जोरपाटी अत्तरखेल बस्थे । १० वर्षमा उनीहरुका दुई छोरी र एक छोरा भए । पहिलो छोरी जन्माइसकेपछि उनको दैनिकी फेरिएको थियो । उनी छोराछोरी स्याहार्थिन् । श्रीमान् काममा जान्थे । आर्थिक अवस्था सुध्रदै थियो । श्रीमान् घर बनाउने ठेकेदार भएका थिए ।
अब त दुःखका दिन गए भन्ने ठानेकी लक्ष्मीका लागि संघर्षको सुरुवात पो भएको रहेछ ! माया गरिएको मान्छेलाई नै सबैभन्दा बढी विश्वास गरिँदोरहेछ ! लक्ष्मीले सबैभन्दा बढी विश्वास गरेकी थिइन्, श्रीमानलाई । तर तिनै श्रीमान्ले उनीसित हरेक दिन झगडा गर्न थाले । कुटपिट पनि गर्न थाले । अतित सम्झँदा उनका उदास आँखाहरु रसाए ।
लक्ष्मीले निकै पछि मात्र थाहा पाइन्, श्रीमान्ले कान्छी श्रीमती पनि ल्याएका रहेछन् ! बिस्तारै उनले घर खर्च कम पाउन थालिन् र हुँदाहुँदा लोग्ने बाँडिएका केही महिनापछि त महिनामा एकादुई पटक झुल्किन थाले । त्यो पनि कुटपिट र झगडा गर्नका लागि । उनले कर्म नै यस्तै हो भनेर सहिन् । कम्तीमा आफूले माया गरेको मान्छे त छ भन्ने उनलाई लागिरहेको थियो । पछिपछि त श्रीमान् पनि आउन छाडे । लक्ष्मी र उनका तीन सन्तानको बिचल्ली भयो । अभावले अति सताएपछि उनी श्रीमान्को खोजीमा लागिन् । निक्कैपछि मात्र थाहा पाइन्, श्रीमान् त विदेश गइसकेका रैछन्, खबरै नगरी । आफूले आफैँभन्दा बढी विश्वास गरेका व्यक्तिबाट पाएको यो धोकाले उनी मुच्र्छा मात्र परिनन् ।
यसपछि उनको जीवनले अर्को मोड लियो । उनी अब पुरानै काममा लागिन् । बालबच्चालाई बिहान–बेलुका जसरी भए पनि एक गाँस त खुवाउनु नै थियो । कतिपटक त उनले आत्महत्या गर्ने प्रयास पनि गरिन् तर कलिला छोराछोरीहरु देखेर रोकिन्थिन् । जेठी छोरी चौध वर्षकी भएपछि उनले केही राहत पाइन् । छोरीले पनि बौद्धको एउटा कपडा पसलमा काम गर्न थालिन् । आर्थिक अवस्था केही सुध्रियो । दुई बच्चालाई कसरी पढाउने भन्ने चिन्तामा रहेकी उनले ढिलै भए पनि तिनलाई आरुबारीको फूलबारी माध्यमिक विद्यालयमा भर्ना गरिन् र रक्सी बनाउन थालिन्, २०६५ सालबाट ।
यसपछि भने उनलाई आर्थिक समस्याले उति धेरै सताएन । केही हदसम्म आर्थिक समस्याबाट मुक्ति पाइन् । अचेल आमाछोरी बिहानदेखि बेलुकीसम्मै रक्सी बनाउँछन् । छोरो ९ कक्षामा पढ्दैछ र कान्छी छोरी ७ मा । जेठी छोरीलाई पढाउन नसकेकोमा उनलाई पीर परिरहन्छ । छोरीको भविष्य के होला भनेर उनी चिन्तित भइरहन्छिन् ।
‘रक्सी पकाएर बिक्री गर्नु गलत काम हो, त्यो मलाई थाहा छ,’ उनी आफ्नो विवशता प्रकट गर्दै भन्छिन्, ‘यसले टोलमा होहल्ला बढाउँछ । अशान्ति फैलाउँछ । झैँझगडा गराउँछ तर के गर्नु यो नगरी मेरो घरमा बिहान–बेलुका भात पाक्दैन । छोराछोरी स्कुल जान पाउँदैनन् ।’
मान्छेहरुले रक्सी कडा बनाउने बहानामा विभिन्न विषादीहरु मिसाउँछन्, उनी पनि त्यसै गर्छिन् कि ? ‘गलत सोचेर गरेको कामको फल पनि गलत नै हुन्छ,’ उनको सिद्धान्त छ, ‘मैले बाँच्नका लागि यो पेसा गरेकी हुँ, पैसा कमाउन होइन ।’
उनी चामलबाट जाँड बनाउँछिन् । अहिलेसम्म उनीकहाँ रक्सी विषादीयुक्त भयो भनेर गुनासो आइपुगेको छैन । प्रायः पसलहरुमा उनी आफैँ रक्सी पुर्याउँछिन् । ठूला जर्किनहरुमा बोकेर लग्यो भने पुलिसले समात्छ । त्यही भएर डेढ लिटरका ससाना कोक–पेप्सीका बोतलमा रक्सी बोकेर उनैले होटेलसम्म पु¥याउँछिन् । भन्छिन्, ‘कति ठाउँमा त होटेलवालाहरुले पनि पैसा दिँदैनन् । माग्न जाँदा उल्टै थर्काउँछन् । कोही भाग्छन् । समस्या नै समस्यामा काम गर्नुपर्छ । सधैँ डर मात्र हुन्छ । कसले पुलिसलाई भनिदेला, आउला र पक्रेला भन्ने पिरलोमा दिन काट्नु पर्छ ।’
उनको गुनासो छ, ‘पुलिसले थाहा पायो भने लफडा गरिरहन्छ । उनीहरुले थाहा पाए भने उनीहरुलाई हप्ता नदिए भएजत्ति सबै रक्सी घोप्ट्याइदिन्छन् । यही कारण ठाउँ परिवर्तन गरिरहनु पर्छ ।’
उनले सुनेकी छन्, देशले विदेशमा बनेका रक्सी पैसा तिरेर देशमा भिœयाइन्छ रे ! भन्छिन्, ‘तेत्रो विदेशी रक्सी खुलेआम बेच्छन् अरुले । हामीलाई भने दुईचार रुप्पेको रक्सी बनाउँदा पनि तनाव हुन्छ । कतिबेला पुलिस आइपुग्छ र लफडा गर्छ भनेर तनाव !’

Leave A Comment