काठमाडौंका डिस्को: केटालाई फी केटीलाई फ्री

आइतबार, १९ कार्तिक २०७४, ११ : ४८ अनिल यादव , Kathmandu
काठमाडौंका डिस्को: केटालाई फी केटीलाई फ्री मोडलिङमा आधारित तस्बिरहरु । तस्बिर : रुकेश श्रेष्ठ ।

(मोडलिङमा आधारित तस्बिर) 

राजधानीका डिस्को र नाइट क्लबहरुमा ‘क्राउड’ बढाउने बलियो हतियार बनेका छन्– युवतीहरु । त्यहाँको दृश्य देख्दा यस्तो लाग्छ, क्लब सञ्चालकहरुको ‘बिजनेस पोलिसी’ नै हो– केटालाई ‘फी’, केटीलाई ‘फ्री’ । बुधबार त ‘लेडिज नाइट’ का रुपमा युवतीलाई विशेष सुविधा नै दिइन्छ । अनिल यादवले काठमाडौंका डिस्को लाइफका विविध पक्षलाई नियालेका छन् ।   
दृश्य १ :
अघिल्लो साताको बुधबार राति ११ बजे काठमाडौं, ठमेलस्थित फायर क्लब पुग्दा त्यहाँको माहोल जम्ने तर्खरमा थियो । छोटा र पातला पहिरनमा सजिएका युवतीहरु क्लबबाहिर आ–आफ्नै धुनमा मस्त देखिन्थे । उनीहरुलाई देख्दा चिसो मौसमप्रति नै शंका गर्न मन लाग्थ्यो, ‘कतै यो गर्मी त होइन !’ बिना कुनै रोकतोक उनीहरु क्लबभित्र छिरिरहेका थिए तर पुरुषहरु भने टिकट काटिरहेका थिए । युवतीहरु ‘फ्रि’ छिरेको देखेर एक युवक उनीहरुलाई इंगित गर्दै भनिरहेका थिए, ‘जे छ यिनीहरुकै छ । हामीसँग ‘फी’ (सुल्क) लिन्छन्, यिनीहरुलाई चैँ ‘फ्रि’ (सित्तैमा) छिराउँछन् !’

दृश्य २ः सधैँझैँ शुक्रबार काठमाडौं ‘ह्याप्पी फ्राइडे’ मनाउनेमा मुडमा थियो । राति १० बजेतिर दरबारमार्गस्थित आई क्लब पुग्दा वरिपरि बाक्लो चहलपहल थियो । फायरजस्तै त्यहाँ पनि केटीहरु सहजै क्लबभित्र पसिरहेका थिए तर केटाहरुले टिकट काटेपछि मात्र हातमा स्ट्याम्प लाग्थ्यो अनि भित्र छिर्थे ।

काठमाडौंको नाइट लाइफसँग परिचित हुनेहरुका लागि यी दृश्य कुनै नयाँ होइनन् । काठमाडौंमा डेढ दर्जन बढी नाइट क्लब र डिस्कोहरु छन् । ठमेलमा मात्र आठ वटा जति नाइट क्लब रहेको ठमेल पर्यटन विकास परिषद्का सचिव एवम् नाइट लाइफका संयोजक दावाङ लामा बताउँछन् । ठमेलमा इबिजा, फेसेस लाउन्ज, फायर, ओएमजी, रकर्स म्याजिक लगायत क्लबहरुमा ग्राहकको भिड लाग्ने गर्छ । दरबारमार्गमा डेजाबु, भिक्ट्री, आई क्लब, उडल्यान्ड, जुजुबा प्रख्यात छन् भने सुन्धाराको भेनिस र त्रिपुरेश्वरको कर्मा क्लब (पुरानो बेबिलोन) पनि डिस्कोका लागि परिचित छ । शुक्रबारकर्मीले एक साता लगाएर काठमाडौंका यी क्लब र डिस्को चहार्दा थाहा भयो–  यिनीहरुको बिजनेस पोलिसी नै रहेछ, ‘केटालाई फी र केटीलाई फ्री ।’

‘नाइट क्लब र डिस्को भनेका ग्ल्यामर बिजनेस हुन्, केटीबिना त यो चल्दै–चल्दैन,’ ठमेलका एक क्लब म्यानेजरले नाम नखोलिदिने सर्तमा भने, ‘क्लबमा २० जना केटीसँग २ सय जना केटा अँठ्याएर राख्ने शक्ति हुन्छ । केटी छैन भने त केटाहरु तुरुन्तै फर्किहाल्छन् ।’

भिड बढाउन ‘लेडिज नाइट’
काठमाडौं, चाबहिलकी मोनिका लिम्बुका लागि हरेक बुधबार विशेष दिन हो । ‘हाम्रा लागि त यो महिला दिवस नै हो,’ बुधबार फायर क्लबमा नाच्दै गर्दा भेटिएकी उनले भनिन्, ‘किनभने यो दिन केटीहरुको नाइट हो, त्यसैले हाम्रो ग्याङ हरेक बुधबार क्लब आएर रमाइलो गर्छ ।’
मोनिकाले भनेजस्तै काठमाडौंका क्लब÷डिस्कोहरुले बुधबारलाई ‘लेडिज नाइट’का रुपमा सेलिब्रेट गर्ने गर्छन् । ‘खासमा व्यापारका हिसाबले बुधबार अफ डे हो,’ इबिजा क्लबका सञ्चालक समेत रहेका ठमेल पर्यटन परिषद्का सचिव दावाङ लामाले भने, ‘डिस्कोमा क्राउड जम्मा गर्ने हिसाबले यो दिनलाई लेडिज नाइटका रुपमा मनाउन थालिएको हो । त्यसो गर्दा लेडिजहरुको उपस्थिति त बाक्लो हुने नै भयो, केटाहरुको संख्या पनि बढ्ने गर्छ । यो एक किसिमको बिजनेस पोलिसी नै हो ।’ ‘लेडिज नाइट’का दिन आउने युवतीहरुलाई अधिकांश डिस्को र क्लबहरुले ‘फ्री इन्ट्री’सँगै ‘फ्री वेलकम ड्रिंक्स’ उपलब्ध गराउने गरेका छन् । ‘क्लबअनुसार वेलकम ड्रिंक्स भिन्न–भिन्न हुन्छ, कसैले टकिला, कसैले बियर त कसैले रम दिने गर्छन्,’ बुधबार क्लब धाउने गरेकी कालिमाटीकी प्रमिलाले भनिन् । ‘फ्रि’मा छिर्न पाइने र ‘वेलकम ड्रिंक्स’ पनि पाइने भएकाले थुप्रै युवतीहरु यो दिन अभिभावकसँग झुट बोलेर क्लब जाने गरेको नाइट लाइफसँग परिचित ठमेलका एक व्यवसायीले बताए ।

खोई त ब्वाइज नाइट ?
जता पनि युवतीलाई अवसर दिएको भनेर नियमित क्लब धाउने युवाहरु दुःखी छन् । शनिबार इबिजा क्लबअगाडि भेटिएका चक्रपथ घर बताउने सम्मर श्रेष्ठ भन्दै थिए, ‘काठमाडौंका क्लबहरु केटाहरुलाई ‘मुर्गा’ ठान्छन् । अरुबेला पनि केटीहरुलाई फ्रि छिराइरहेका हुन्छन्, बुधबार पनि ‘लेडिज नाइट’ रे । महिला–पुरुष बराबर हुनुपर्छ भन्छन्, त्यसोभए खोइ त ब्वाइज नाइट ?’
यता ठमेल पर्यटन विकास परिषद्का नाइट लाइफ संयोजक लामा क्लबहरुले ग्राहक हेरेर प्रवेश गराउने गरेको बताए । ‘नियमित आउने ग्राहकहरु प्रायः निशुल्क छिरिरहेका हुन्छन्,’ उनी भन्छन्, ‘हेर्दा जेन्टल देखिने युवा–युवती फ्री मै छिर्छन् । लफडा गर्ने खालका केटाहरुलाई छिर्न नदिने उद्देश्यले टिकट राखिएको हुन्छ । यौनकर्मी महिलाहरुलाई पनि चिनेसम्म रोक्न खोज्छौं ।’

केटीलाई किन फ्री ?
‘केटीहरु भनेको डिस्कोका आकर्षण हुन्,’ लामो समयदेखि डिस्कोमा डिजेका रुपमा कार्यरत रोशन (नाम परिवर्तन) भन्छन्, ‘जहाँ केटी हुन्छन्, त्यहाँ केटाहरुको भिड लाग्छ । बिजनेस बढ्छ । त्यसैले डिस्कोहरुले उनीहरुलाई विशेष सुविधा दिन्छन् ।’ डिस्को र क्लबहरुमा इभेन्ट आयोजना गर्नेहरूले पनि ठूलो क्राउड जम्मा पार्नका लागि युवतीलाई लगाउने गरेका छन् । ‘पोस्टरमा केटीकै तस्बिर हुन्छ, टिकट भिडाउने पनि उनीहरू नै हुन्छन्,’ एक इभेन्ट अर्गनाइजरले भने, ‘तपाईं प्रत्येक दिउँसो या राति आयोजना गरिएका पार्टी हेर्न जानुस् त्यहाँ भोलन्टियर र टिकट काउन्टरमा युवती नै हुन्छन् । टिकट र फेसबुकमा राखिने पोस्टरमा पनि युवतीको फोटो हुन्छ । फोन गरेर केटाहरूलाई फकाउने र पार्टीमा बोलाउने पनि युवती नै हुन्छन् । यो सब इभेन्ट आयोजना गर्नेहरूको ट्रिक हो ।’

धेरैजसो स्कुले केटाकेटीको उपस्थिति हुन थालेपछि अहिले ठमेलमा दिउँसोको पार्टी आयोजना बन्द भएको छ । तर सुन्धारा, दरबारमार्ग लगायतका क्लबमा यो क्रम रोकिएको छैन । कानुनतः १८ वर्षभन्दा मुनिका कलिला केटाकेटीलाई क्लब र डिस्कोमा प्रवेश निषेध छ । तर ‘लुकिछिपी’ यो क्रम नरोकिएको रिपोर्टिङका क्रममा खुल्यो । ‘अवस्था हेरेर कलिला केटाकेटीलाई पनि छिराउनु पर्ने हुन्छ, उनीहरु जिद्दी गर्छन्, हामीलाई पनि बिजनेस हुने भएकाले परिस्थितिअनुसार डिल गर्ने गर्छाैं,’ एक क्लब सञ्चालकले बताए । सुन्धारामा शनिबार दिउँसो भेनिस क्लबअगाडि स्कुले केटाकेटीको मेला लाग्ने गर्छन् ।
‘यहाँ त देखिनसक्नु हुन्छ,’ सुन्धारामा पसल चलाइरहेकी एक महिलाले भनिन्, ‘ओठ निचोर्दा दूध आउला जस्ता केटाकेटी रमिता देखाउँछन् । यो देखेर यस्तै सिक्लान् भनेर म त मेरो छोरालाई पसलमै बोलाउँदिनँ ।’

क्लबभित्रै ‘सेटिङ’
‘फी’ तिरेरै भए पनि केटाहरु क्लब र डिस्को जान किन मरिहत्ते गर्छन् ? सबैको ध्येय– रमाइलो नै हो तर रमाइलोका पनि आ–आफ्नै प्रकार छन् । कोही परिवारसहित पुग्छन्, कोही गलफ्रेन्डसहित, कोही समूह–समूहमा त कोही एक्ला–एक्लै । ‘क्लबभित्रै सेटिङ हुन्छ,’ दरबारमार्गको आई क्लबमा भेटिएका कोटेश्वरका आकाशले भने, ‘यहाँ केटीहरुसँग चिनजान गर्ने हो । अलिअलि खुवाउने हो । अनि कुरा मिलाउने हो । नयाँ–नयाँ गलफ्रेन्ड बनाउन पाइन्छ र त केटाहरु डिस्को आउँछन् । नत्र एक्लै उफ्रिन त के आउनु ?’

त्यसो त दरबारमार्गको आई र सुनधाराको भेनिस क्लबभित्र पुग्दा यौनकर्मीसँग मोलमोलाई गर्दैै गरेको अवस्था पनि भेटियो । भेनिस क्लबसँगै टाँसिएको डान्सबारमा कार्यरत युवतीहरु पनि १२ बजेपछि क्लब छिर्ने गरेको पाइयो । केटाहरुलाई वाइन र बियर किन्न लगाइरहेको दृश्य देखियो । ‘हामीलाई क्लबले नै राखेको हो,’ भेनिसमा भेटिएकी एक युवती भन्दै थिइन्, ‘ग्राहकलाई बिजनेस गराएअनुसार हामीलाई कमिसन आउने गर्छ, अलिअलि तलब पनि आउँछ ।’ उता आई क्लबभित्र पनि युवा–युवतीहरु रमाइलोका लागि ‘डिल’ गरिरहेको दृश्य प्रशस्तै देखिन्थ्यो । ‘यहाँ को आउँछ, को जान्छ कसैलाई मतलब हुँदैन, त्यसैले यौनको तिर्खामा रहेका केटाहरुको प्यास मेट्न यौनकर्मीहरु क्लबभित्र आउने गर्छन्,’ क्लबमा कार्यरत एक कर्मचारीले बताए । पछिल्लो समय ग्राहक खोज्ने भरपर्दो र सुरक्षित माध्यमका रुपमा यौनकर्मीहरुले डिस्को र क्लबहरुलाई लिने गरेका हुन् ।

ग्राहक थरीथरीका
डिस्कोभित्र कस्ता–कस्ता युवतीहरु आउँछन् ? एक क्लब म्यानेजरले सुनाए, ‘कोही सात दिनमा सातै दिन क्लब आउने हुन्छन् । कोही आफ्नै पैसाले खाने हुन्छन्, कोही आफू खाने अनि बिल तिराउनलाई ‘मुर्गा’ खोज्ने गर्छन् । कुरा र मन मिल्यो भने सँगै जान्छन् पनि । कोही त पानी मात्र खाएर नाच्ने अनि घर फर्किएको पनि यही आँखाले देखेको छु ।’

यसरी छल्छन् कर
काठमाडौंका केही क्लब र डिस्कोहरुको राम्रो आम्दानीको स्रोत प्रवेश टिकट पनि हो । ‘शुक्रबार र स्पेसल डेका दिन त टिकटबाटैै एक दिनमा करिब दुई लाख रुपैयाँ उठ्छ,’ ठमेलको नाइट क्लबमा कार्यरत एक कर्मचारी भन्छन्, ‘तर यसबाट उठेको रकम क्लबको विशुद्ध आम्दानी हुन्छ । कसैलाई कर बुझाउनुपर्दैन किनभने भ्याट बिलको प्रयोग भएको हुँदैन ।’ त्यस्तै बजारमा ३ सय रुपैयाँमा पाइने बियरलाई क्लबमा ७–८ सयसम्म लिइन्छ । अधिकांश ग्राहकसँग भ्याट बिलको प्रयोग हुँदैन । ‘पछि कर बुझाउने बेलामा बिक्री गरेको भन्दा धेरै घटाएर बुझाउने गरिन्छ,’ ती कर्मचारीले सुनाए । यता यस विषयमा इबिजा क्लबका सञ्चालकसमेत रहेका ठमेल पर्यटन परिषद्का सचिव दावाङ लामासँग बुझ्दा उनले कर नछल्ने गरेको बताए । ‘ग्राहकलाई भ्याट बिल नदिए पनि आम्दानीमा देखाइरहेका हुन्छौं, कर पूरा तिरिरहेका हुन्छौं,’ उनले भने, ‘चाहेको खण्डमा ग्राहकलाई पनि भ्याट बिल उपलब्ध गराउन सकिन्छ । नलिए पनि हामीले बेग्लै काटिरहेका हुन्छौं ।’

अनुमति २ बजे, खुल्छ ४ बजेसम्म
जिल्ला प्रशासन कार्यलय काठमाडौंले ठमेलका डिस्को र क्लबहरुलाई दुई बजेसम्म खोल्ने अनुमति दिएको छ तर व्यवहारमा त्यस्तो पाइँदैन । ‘क्लबमा खास रौनक त १२ बजेपछि मात्र सुरु हुन्छ,’ एक क्लबका कर्मचारी भन्छन्, ‘१२ बजेपछि त रमिता नै हुन्छ । कोही आफ्नो जोडीलाई बोकेर आइरहेका हुन्छन्, कोही तछाडमछाड गरिरहेका हुन्छन् । त्यसैले समय र परिस्थिति हेरेर ४ देखि साढे ४ बजेसम्म खोलिरहेका हुन्छौं ।’ ठमेलका क्लबकै मुनि प्रहरी तैनाथ भेटिन्छन् तर उनीहरुले अनुमति दिएभन्दा बढी समय खोलिए पनि कुनै कारवाही गदैनन् । ‘पुलिसले त हामी सडकमा बसेर चुरोट बेच्नेहरुलाई मात्र टार्गेट गर्ने हो,’ ठमेलको सडकमा राति व्यापार गर्दै आएकी एक महिलाले भनिन्, ‘ठूलालाई त कहाँ कानुन लाग्छ र ? जहाँ झगडा हुन्छ, त्यहाँ पुलिसले रातभर खोल्न दिन्छ, हामी सडकमा बसेर दुई–चार पैसा कमाउँछु भन्नेलाई रोक्छ ।’
(मोडलिङमा आधारित तस्बिर) 

ठमेलमा अहिले डान्सबार र दोहोरी साँझलाई १२ बजे र क्लब, डिस्कोलाई दुई बजेसम्म खोल्ने अनुमति छ । अन्य पसल १० बजे नै बन्द हुन्छन् । ठमेललाई २४ सै घण्टा खोल्नका लागि पहल गरिरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताए । ‘अहिले ‘वाकिङ स्ट्रिट’ भएपछि ठमेल घुम्न आउने पर्यटक एकदमै खुसी छन्,’ उनले भने, ‘नत्र पहिले त यहाँ गाडीले पर्यटक तर्सेर हिँडिनसक्नु थियो । अब हामी ठमेललाई २४ सै घण्टा खुल्ने सहरका रुपमा विकास गराउन लागेका छौं । यसका लागि पहलकदमी सुरु भइसकेको छ ।’

हुक्काको फेसन
केही समयअघिसम्म ठमेलमा हुक्का बेच्न रोक लगाइएको थियो तर अहिले खुला गरिएको छ । अधिकांश क्लब र डिस्कोमा युवायुवती हुक्का तान्दै गरेको देख्न सकिन्छ । हुक्का बेच्न नदिँदा व्यापारमा गिरावट भएपछि पुनः खुला गरिएको ठमेल पर्यटन परिषद्का सचिव लामाले भने । ‘यसलाई समयको माग भन्नुपर्ला, यो नराख्दा ग्राहक नै नआउने अवस्था आएपछि फेरि सुरु गरिएको हो,’ उनले भने ।

झगडा सामान्य
रिपोर्टिङका क्रममा खुल्यो क्लब र डिस्कोमा झगडा त सामान्य रहेछ । ‘क्लबमा झगडा सामान्य हो,’ एक क्लब कर्मचारीले भने, ‘हामी क्लबमा झगडा भयो कि भएन भन्दा पनि आज कतिवटा भयो भनेर सोध्ने गर्छाैं ? झगडा पनि दुई प्रकार छन् । एउटा सामान्य झगडा, अर्को ठूलो झगडा । हस्पिटलमा भर्ना हुने गरी भएका झगडालाई ठूलो झगडाका रुपमा लिइन्छ ।’ झगडा प्रायःजसो युवतीका निहुँमा हुने गरेको उनले बताए । ‘कहिलेकाहीँ क्लबको पनि गल्ती हुनसक्छ,’ उनले भने, ‘तर हाम्रो पुलिससँग सेटिङ हुन्छ, त्यसैले हामीले जसलाई इसारा गर्छौं उनीहरुलाई नै समातेर लान्छन् ।’

‘शुक्रबार हाम्रो महोत्सव’
ह्याप्पी फ्राइडेलाई क्लब र डिस्को सञ्चालकहरु महोत्सवको रुपमा लिने गर्छन् । त्यस दिन एउटा क्लबले कम्तीमा आठ देखि १० लाख रुपैयाँसम्म कारोबार गर्ने एक क्लब म्यानेजरले खुलाए । ‘यहाँ कुनै क्लबले स्ट्यान्डर्ड मान्छेमात्र छिराउँछन्, कुनैले जो पनि छिराउँछन्,’ उनले सुनाए ।

ग्राहक भाग्छन्, वेटरलाई तनाव
ग्राहक पनि थरीथरीका हुन्छन् । कोही खान्छन्, खान्छन् अनि बिल नतिरी टाप कस्छन् । ठमेलको एक डिस्कोमा कार्यरत वेटरले यस्तै ग्राहकका कारण नराम्रोसँग फसेको तीतो घटना सुनाए । ‘एक त हाम्रो तलब ४–५ हजार रुपैयाँ मात्र हुन्छ, टिप्सकै भरमा बाँचिएको हुन्छ,’ उनले भने, ‘आफूले सर्भिस गर्दै गरेको टेबलको मान्छेले बिल नतिरी भाग्यो भने त्यसको जिम्मेवार हामी हुनुपर्छ । मैले महिनामा डेढ लाख जति तिरेको छु । यसरी फस्ने वेटर यहाँ धेरै छन् ।’

‘ब्वाइज नाइट पनि राखौँला कुनै दिन’

दिनेश शाही,जेनरेल म्यानेजर, फायर क्लब (ठेमल)
हाम्रो देशको संविधानले नै महिलालाई राम्रो स्थान दिएको छ । हामी पनि महिलालाई विशेष प्राथमिकता दिन्छौँ । सधैं फ्रि गर्दैनौँ, परिस्थिति हेरेर मात्र हो । हामीकहाँ यस्ता ग्राहक पनि छन् जो केटी नहुँदा क्लबमै बस्दैनन्, फर्किहाल्छन् । त्यसैले क्लबले सुरुमा आउने ग्राहकलाई विशेष प्राथमिकता दिइरहेका हुन्छन् ताकि पछि आउनेहरु नफर्किऊन् । क्लब ग्ल्यामर व्यवसाय भएकाले यहाँ युवतीको उपस्थिति हुनुपर्छ । यसलाई नराम्रो दृष्टिकोणले हेरिनु जरुरी छ जस्तो लाग्दैन । बुधबार ‘लेडिज नाइट’का रुपमा मनाउँदा युवतीहरु खुसी छन् । कुनै दिन ब्वाइज नाइट पनि राखौँला । त्यसैले युवा साथीहरुले गुनासो नगर्न अनुरोध गर्छु । अन्त्यमा म के भन्न चाहन्छु भने ठमेल ‘वाकिङ स्ट्रिट’ भइकन हाम्रो व्यापारमा थोरै गिरावट भएको छ तर बिस्तारै बढ्ला भन्ने आशा छ ।

Leave A Comment