सुन्तला दर्शन

आइतबार, १९ कार्तिक २०७४, ११ : ५९ शुक्रवार , Kathmandu
सुन्तला दर्शन

प्रकाश जंग थापा
एक जना युवा प्रतिष्ठित एवम् आकर्षक तलब दिने कम्पनीमा काम गर्न चाहन्थे । उनले त्यसका लागि चाहिने कागजात बनाए । उनले धेरै संघसंस्थामा आफ्नो ‘बायोडाटा’ पठाए पनि केहीबाट मात्र अन्तर्वार्ताका लागि निमन्त्रणा पाए । विभिन्न चरणको अन्तर्वार्तापश्चात् उनले नाम चलेकै एउटा संस्थामा साधारण तहमा रहेर काम गर्ने मौका पाए । भविष्य निर्माणका लागि त्यहाँ काम पाउनु नै ठूलो उपलब्धि ठान्दै उनले केही दिन सन्तोष माने । उनको लक्ष्य महत्वाकांक्षी भएकाले सधैँ एउटै तहमा रहेर काम गर्न चाहेनन् । उनी चुनौती लिन मन पराउँथे । जिम्मेवार पदमा रहेर आफ्नो क्षमता प्रदर्शन गर्न आतुर थिए ।
उनको लक्ष्य थियो, कम्पनीको सुपरभाइजर बनुँ । यो जिम्मेवारी सम्हालेबापत उनले थप इज्जत त पाउँथे नै लोभलाग्दा सुविधा पनि हात पार्ने थिए । उनी चाँडोभन्दा चाँडो उच्च पदमा बढुवा हुन चाहन्थे । त्यसकारण आफूलाई पदका लागि योग्य साबित गराउन काममा सबेरै हाजिर हुन्थे । कम्पनीको कार्यकारी प्रमुखलाई उनले आफ्नो लामो/कडा खटाई देखाउन अबेरसम्मै काममा लागिपर्थे ।
पाँच वर्षपछि कम्पनीमा सुपरभाइजर पद खाली रह्यो । रिक्त स्थान पूर्तिका लागि अनुभव र जेष्ठताको आधारमा ती युवा निर्विकल्प थिए । आफू बढुवा हुने कुरामा उनी ढुक्क थिए तर कम्पनीको निर्णय अनपेक्षित आइदियो । कम्पनीमा नियुक्ति पाएको ६ महिना मात्र भएका एक कर्मचारी नै कम्पनीको सुपरभाइजर बने । यो कदम पुराना कर्मचारी र ती महत्वाकांक्षी युवाका लागि सह्य भएन । उनी रिसले चुर भए । यसर्थ उनी कम्पनी हाकिमकहाँ गुनासो गर्न गए ।
हाकिम बुझ्झकी थिए । उनले रुष्ट युवाको कुरा सुनिरहे । सबै गुनासा र रुष्टता सुनिसकेपछि हाकिमले रुष्ट युवालाई भने, ‘तिम्रो प्रश्नको जवाफ दिनु पहिले के तिमी मेरो एउटा काम गरिदिन सक्छौ ?’
‘अवश्य, यो त मेरालागि खुसीको कुरा हो,’ ती युवाले भने । हाकिमले युवालाई फलफूल बजारमा गएर सुन्तला किन्न लगाए । उनले भने, ‘मेरी पत्नीलाई घरका लागि सुन्तला चाहिएको छ । तिमीले सुन्तला किनेर ल्याइदिनु प¥यो ।’
युवा हतारहतार सुन्तला किन्न स्टोरतिर लागे । युवा फर्केलगत्तै हाकिमले सोधे, ‘कुन प्रकारको सुन्तला ल्यायौ ?’
युवाको जवाफ थियो, ‘खै थाहा भएन । तपाईंले सुन्तला किन्न भन्नु भयो मैले किनें । कुन प्रकारको भन्ने मैले ख्याल गरिनँ ।’
हाकिमले पुनः सोधे, ‘कति पैसा खर्च भयो ?’ युवा अलमलमा परे । उनले भने, ‘तपाईंले ३० डलर दिनु भएको थियो । मैले सुन्तला किनेपछि पाएको बिल र फिर्ता रकम लिनोस् ।’
हाकिमले ती युवालाई कृतज्ञता प्रकट गरे । केहीबेरको मौनतापछि युवालाई कुर्सीमा बस्न आग्रह गर्दै भने, ‘तपाईं अबका केही समय मसँगै रहनु होला र मेरा र यस कोठामा छिर्नेहरुबारे ध्यानपूर्वक नियाल्नु होला ।’
हाकिमले भर्खरै बढुवा भएको कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाए र भने, ‘मेरी पत्नीलाई घरमा सुन्तला चाहिएको छ, ल्याइदिनु हुन्छ ?’
भर्खरै पदोन्नति भएका युवा हाकिमको काम गर्न तुरुन्तै राजी भए । स्टोरबाट फर्केपछि हाकिमले कर्मचारीलाई सोधे, ‘कुन प्रकारको सुन्तला ल्यायौ ?’
कर्मचारीले भने, ‘स्टोरमा धेरै प्रकारको सुन्तला थिए । विशेषगरी नावेल, भ्यालेन्सिया र ब्लड लगायतका थिए । तीमध्ये कुन प्रकारको सुन्तला किन्ने भन्ने निर्णय लिन सकिनँ तर तपाईंकी पत्नीलाई सुन्तला चाहिएको भन्नु भएकाले मैले उहाँलाई फोन गरे । घरमा भोज हुन लागेको उहाँलाई जुस बनाउन उपयुक्त हुने सुन्तला खोज्नु भएको थाहा भयो । त्यसपछि स्टोरमा काम गर्ने कामदारलाई कुन सुन्तलाबाट उत्कृष्ट जुस बन्छ भनेर सोधेँ । भ्यालेन्सियाबाट स्वादिलो जुस बन्ने कुरा थाहा पाएँ । त्यही सुन्तला किनेँ र अफिस फर्कने क्रममा सुन्तला तपाईंको घरमा छोडेँ । मेडम प्रशन्न हुनुभयो ।’
कार्यालय प्रमुखले सोधे, ‘कति पैसा खर्च भयो ?’
कर्मचारीले भने, ‘यो अर्को समस्या थियो । कति मात्रामा किन्ने भन्ने थाहा भएन । त्यस कारण फेरि मैले म्याडमलाई फोन गरेँ । कति जना पाहुना आउँछन् भनी सोधें । २० जना पाहुनाको आँकलन गर्नुभयो । स्टोरको कामदारलाई २० जना व्यक्तिहरुका लागि कति सुन्तला खरिद गर्दा उचित होला भनेर सोधेँ । त्यसका लागि धेरै सुन्तला चाहिने जवाफ पाएँ । मैले धेरै सुन्तला किन्नुपर्ने भएकाले सहुलियत पनि मागेँ । ऊ खुसीसाथ छुट दिन तयार भयो । सुन्तलाको मूल्य ७५ रुपैयाँ भए पनि मैले प्रतिकिलो ५० रुपैयाँ मात्र तिरेँ ।’
त्यसपछि नयाँ सुपरभाइजरले भन्यो, ‘लिनुहोस्, उब्रिएको पैसा ।’ हाकिम मुस्कुराए र सहयोगी कर्मचारीलाई भने, ‘धन्यवाद, तिमी अब जान सक्छौ ।’
यी सबै घटना र सम्वाद नियालिरहेको युवा कुर्सीबाट उठ्यो र अफिसबाट बाहिरिनु अगाडि कार्यालय प्रमुखलाई भन्यो, ‘मैले तपाईंको कुरा बुझेँ र मेरो बढुवा किन नभएको रहेछ, त्यो त झनै स्पष्टसँग थाहा पाएँ ।’
यो कथा र्यान्डल एल. रिडको पुस्तक ‘लिभिङ विद अ पर्पोज’बाट लिइएको हो । कथाको अनुसार पहिलोे व्यक्ति पैसा, पद र इज्जतको भोको थियो । दोस्रो व्यक्ति मनैदेखि काम गर्ने स्वभावको थियो । दोस्रो व्यक्ति आफू कसरी  उत्कृष्ट कर्मचारी बन्ने भन्ने ध्याउन्नमा थियो । नियत ठीक छ भने जो कोही उत्कृष्ट कर्मचारी बन्न सक्छ । आखिर संस्था हाक्ने भनेकै उत्कृष्ट कर्मचारीले नै हो ।

Leave A Comment