सेल बेचेर छोरीलाई नर्स, छोरालाई साइन्स पढाउँदै

आइतबार, १९ कार्तिक २०७४, १२ : २९ शुक्रवार
सेल बेचेर छोरीलाई नर्स, छोरालाई साइन्स पढाउँदै

काठमाडौंको जयबागेश्वरी मन्दिरबाट सिफल जाने बाटोमा कैलाशकुट कलेज छ । कलेजसँगै एउटा सेल पसल देखिन्छ । कलेजको बाटो ओहोरदोहोर गर्नेहरुलाई सेलको हरहर बास्नाले तानिरहेको हुन्छ । विगत चार वर्षदेखि यस ठाउँमा सेल पकाएर बेच्ने काम गरिहेका छन्, नारायण श्रेष्ठ र उनकी पत्नी सीता श्रेष्ठले । उनीहरुले पकाएको सेलको चर्चा यो क्षेत्रमै बढी हुने गर्छ । यो पसल हुँदै जाने अधिकांश बटुवा सेलरोटी चाखेरै जाने गरेका छन् ।
२०७२ सालको भूकम्पअघि छाप्रोमा सेल बेच्न सुरु गरेका श्रेष्ठ दम्पतिले केही महिना सेल पकाउन बन्द गर्नुपर्यो । नारायण भन्छन्, ‘भुइँचालोले छाप्रो भत्कायो, अडिने ठाउँ पनि थिएन ।’ पछि कैलासकुट कलेजको एउटा सटर भाडामा लिएर पुनः बिक्री नियमित गर्नुप¥यो । ‘सेल पकाउँथ्यौँ तर बेच्ने ठाउँ नपाएर हैरान थियौँ, धन्न कलेजले ठाउँ दियो,’ नारायणपत्नी सीताले भनिन्, ‘कलेजको सटर भाडामा माग्यौँ र सेल पोलेर व्यापार गर्न सहज हुन थाल्यो ।’
उनीहरुले एउटा सेललाई १५ रुपैयाँमा बेच्दै आएका छन् । बिहानदेखि बेलुकैसम्म सेल बिक्री हुने कारणले बनाएका सेल खेर नजाने र बासी राख्नु नपरेको नारायणले बताए ।
श्रेष्ठ दम्पति काठमाडौँकै बासिन्दा भने होइनन् । रामेछापको मन्थलीबाट २०५६ सालमा काठमाडौँ अवसर खोज्दै आएका हुन् । श्रेष्ठ दम्पतिले विगत चार वर्षदेखि यो ठाउँमा सेलरोटी बेचेर गुजारा चलाइरहेका छन् । उनीहरु बिहानको ४ बजे नै उठेर सेलरोटी बनाउने तयारीमा जुट्छन् । ‘सेलरोटी पकाउन ५ बजेदेखि नै थाल्नुपर्छ नत्र पकाउन नै भ्याइँदैन,’ सीताले भनिन्, ‘म सेल पकाउन थाल्छु, श्रीमान् चिया पकाउनु हुन्छ ।’ पतिको यस किसिमको सहयोगले आफूलाई ठूलो सहयोग भएको उनी बताउँछिन् ।
श्रेष्ठ दम्पतिले यसरी सेलरोटी बेचेर दैनिक १०÷१२ हजार जतिको व्यापार गर्ने गरेको गरेका छन् । उनीहरुले सेल बेच्नु भन्दा पहिला तरकारी व्यापार र किराना पसल गरेका थिए । त्यसबाट खासै आम्दानी गर्न नसकेपछि किराना सुख्खा रोटी पनि त्यही पसलमै राखेर बेच्न थाले । ‘यसले पनि खासै पार लाउन सकेन,’ सीताले भनिन्, ‘एक पटक सेल पकाएर हेरौँ न त के हुदो रहेछ भनेर थालियो । यसले निकै व्यापार हुन थाल्यो । अहिले सेल पकाउन भ्याइनभ्याई हुन्छ । छोराछोरी कलेजबाट आएर पनि सघाउन थाल्छन् र मात्रै नत्र दुई जनाले पकाउनु कि बेच्नु भन्ने हुन्छ  । अरुको भन्दा सस्तो र गाउँमा पकाएको जस्तै गरी पकाउँछौँ । यसले गर्दा पनि होला यसको माग निकै बढेको छ । कार्यक्रमतिर पनि यहीँबाट सेलरोटी लाने गरेका छन् । अडर पनि निकै आउँछ ।’
श्रेष्ठ दम्पतिलाई सुरुताका काठमाडौँ आएपछि खान लाउन नै धौ–धौ भयो । त्यसैले नारायण बालुवा बोक्नेदेखि लिएर जे काम भेटिन्छ, त्यही गर्न थाले । उनकी पत्नी सीतालाई भने साथीसंगीले साग व्यापार गर्न सुझाए । २०५९ सालतिर सीताले २ सय रुपैयाँको साग कालिमाटीबाट ल्याएर आफ्नो व्यापारको ढोका उघारिन् ।
साग पसलबाट सुरुवात गरेको व्यापार सानो किराना पसलमा परिणत हुन थाल्यो । तरकारी पनि एक छेउमा राखेर बेच्न थालिन् । सागको व्यापारबाट आएको आम्दानीले किराना पसल नै किन्न सफल भएकी सीताले साग व्यापार छाड्न चाहिनन् । ‘वरिपरि किराना पसल नभएकाले हाम्रो पसल निकै राम्रोसँग चल्ने गरेको थियो । पछि पछि छेउछाउमा किराना पसल थपिँदै गए, किराना पसलमा घाटा लाग्न थाल्यो,’ सीता भन्छिन्, ‘अनि किराना पसल छोड्नुपर्ने बाध्यता आयो । छोराछारीलाई स्कुल पढाउन  पनि हामीलाई हम्मे हम्मे पर्दै गयो । के गर्ने भनेर चिन्तित हुँदै गयौँ ।’
पति नारायणलाई एक दिन पत्नी सीताले भनिन्, ‘सेल पकाएर बेचौँ न कस्तो हुँदोरहेछ ?’
नारायणलाई चाहिँ भर्खरै ओरालो लागेको किराना पसलजस्तो जाबो सेलरोटीको व्यापारले के होला भन्ने ठाने । ‘यत्रो किराना व्यापार गरेर केही भएन, सेल बेचेर के होला ?’ पत्नी सीतासँग गरेको गनगन सम्झँदै नारायणले भने, ‘तर उनले भने जिद्दी नै गर्न थालिन् ।’
श्रीमतीले जिद्दी गरेपछि पसलकै छाप्रोमा सेल पाक्न थाल्यो । बिस्तारै  सेलले राम्रै प्रतिक्रिया पाउन थाल्यो । ‘अहिलेसम्म राम्रै चलेको छ,’ नारायण भन्छन्, ‘यही सेल बेचेर छोरी सुनितालाई नर्सिङ पढाएको छु । छोरा सुनिललाई १२ मा साइन्स पढ्दैछ । अहिले पहिलाको जस्तो दुःख छैन ।’
प्रस्तुति : भोला अधिकारी

Leave A Comment