हवाइ भेट

आइतबार, २६ कार्तिक २०७४, ११ : ५१ शुक्रवार
हवाइ भेट

प्रकाश जंग थापा
दिलिप कुमार हिन्दी चलचित्र जगतका महानतम् कलाकारमध्ये एक हुन् । उनलाई ट्र्याजेडी किङ भनेर पनि चिनिन्छ । चलचित्र उद्योगमा ६ दशक बिताएका उनले देवदाश, मधुमति, मुगल–ए–आजम, गंगा–जमुनाजस्ता चलचित्र दिएका छन् । उनी मेथड एक्टिङका अभियन्ता हुन् । चाहे अमिताभ बच्चन हुन् वा राजेश खन्ना, अमिर खान हुन् वा अक्षय कुमार सबैले दिलिप कुमारकै लिगेसी समाएका छन् ।
कुनै बेला दिलिप कुमार भारतमा एक ब्रान्डका रुपमा स्थापित नाम थियो । उनलाई नचिन्ने र उनको चलचित्र नहेर्ने सायदै थिए होलान् । एक पटक उनी प्लेनमा सवार थिए । त्यो बेला उनी फिल्मी करियरको उच्च बिन्दुमा थिए । भारतीय चलचित्रको लगाम उनकै हातमा थियो । हरेक सफलता उनको झोलीमा थियो । त्यस्तो समयमा उनको उपस्थिति जहाँ पनि विशेष हुन्थ्यो । प्लेनमा यात्रा गरिरहेका सबैले उनी बसेको सिटमा नजर डुलाउँथे । कोही उनलाई भेटेर कुरा गर्न तँछाड मछाड गरिरहेका थिए भने कोही अटोग्राफ लिन आतुर थिए । तर उनको ठीक विपरीत सिटमा बसेका एक वृद्ध मानिसलाई कुनै चासो थिएन । प्लेनमा को–को छन् भन्ने कुराको मतलब राखेनन् । ती वृद्ध साधारण सर्ट र पेन्टमा सजिएका थिए । हेर्दा मध्यम वर्गीय परिवारबाट भएको जस्तो देखिए पनि शिक्षित व्यक्ति लाग्थे । उनी प्रायःजसो पत्रिका पढिरहेका हुन्थे । कहिलेकाहीँ झ्याल बाहिरको दृश्य हेर्न भ्याउँथे । उनी आफ्नै धुनमा थिए । जब प्लेनमा चिया सर्भ गरिन्थ्यो उनी चुपचाप पिउँथे । प्लेनमा सवार सबै दिलिप कुमारप्रति आकर्षित भए पनि ती वृद्धलाई कुनै असर परेको थिएन । यस्तो अवस्थामा दिलिप कुमारले अप्ठेरो महसुस गरे । ती वृद्धले उनलाई चिन्न नसक्नु अस्वभाविक लाग्यो । त्यसैले उनी कुनै पनि बहानामा ती वृद्धसँग परिचित हुन चाहन्थे । उचित अवसरको खोजीमा थिए । उनी घरीघरी वृद्धलाई नियाल्थे । यत्तिकैमा उनको र वृद्ध मानिसको नजर जुध्यो । दिलिप कुमार मुस्कुराए । मुस्कानको बदलामा मुस्कान पाइन्छ । ती वृद्ध पनि मुस्कुराए र भने, ‘हेल्लो ।’
त्यसपछि दुई बीच कुराकानीको श्रृङ्खला सुरु भयो । विभिन्न विषयवस्तुमा कुरा गर्दै जाने क्रममा चलचित्रसम्बन्धी कुराकानी सुरु भयो ।
दिलिप कुमार चलचित्रका स्टार थिए । उनलाई चलचित्रबारे कुरा गर्न गाह्रो भएन । उनले ती वृद्धलाई सोधे, ‘तपाईँ कत्तिको चलचित्र हेर्नु हुन्छ ?’
ती वृद्धको जवाफ आयो, ‘केही मात्र हेरेको छु । धेरै वर्षअगाडि एउटा हेरेको थिएँ ।’
यस्तो प्रतिकृयाले दिलिप कुमार अचम्मित भए । आफू चलचित्रमा काम गर्ने कुरा पनि बताए ।
वृद्धले फेरि भने, ‘धेरै राम्रो । चलचित्रमा के काम गर्नु हुन्छ ?’
दिलिप कुमारले आफू चलचित्रको कलाकार रहेको स्पष्ट भनिदिए । ती वृद्धले टाउको तलमाथि गर्दै भने, ‘ए हो ! बहुत खुब ।’ त्यसपछि उनीहरु बीच कुनै वार्तालाप भएन । दुवै मौन रहे ।
प्लेन ल्यान्डिङ गर्ने बेलासम्म कुनै बातचित भएन । प्लेन रोकिएपछि दिलिप कुमार आफ्नो सिटबाट उठेर ती वृद्ध भएनजिक उभिए । आफ्नो दाहिने हात अगाडि बढाउँदै अभिवादन गरेर भने, ‘यहाँसँगको यात्रा निकै रमाइलो भयो । मेरो नाम दिलिप कुमार हो ।’
ती वृद्धले कसिलो हात मिलाउँदै भने, ‘धेरै धेरै धन्यवाद ! मेरो नाम जे.आर.डि. टाटा हो ।’
यो नाम सुन्नेबित्तिकै दिलिप कुमार पानी पानी भए । नहुन् पनि किन ? आखिर उनको भेट भारतको जाने–माने बिजनेस टाइकुन टाटा कम्पनीका मालिकसँग भएको थियो । जे.आर.डि. टाटाको व्यक्तित्वसामु दिलिप कुमार फिक्का लाग्थे । यो भेटको बारेमा दिलिप कुमारले आफ्नो अटोबायोग्राफीमा पनि खुलाएका छन् । उनी भन्छन्, ‘हामी जतिसुकै नाम चलेको वा ठूलो भए पनि हामीभन्दा नाम चलेको र ठूलो व्यक्ति अरु कोही हुन्छन् ।’
त्यसैले विनम्र होऔँ । यसका लागि कत्ति पनि खर्च लाग्दैन । घमण्ड कहिले नगरौँ ।

Leave A Comment