को सफल, को असफल ?

बिहिबार, ३० असार २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
को सफल, को असफल ?

एक महिनासम्म चलेको युरो कप प्रतियोगिता पोर्चुगलले उपाधि जितेसँगै सकिएको छ । पहिलो पल्ट २४ देश सहभागी रहेको प्रतियोगितामा ५१ खेल भए । यी खेलमा जम्मा १ सय ८ गोल भयो । यो युरो कपको उपाधि पोर्चुगलले जिते पनि अरू केही टिम सफल ठानिएका छन् भने केही टिम असफल ।
सफल राष्ट्र पोर्चुगल
समूह चरणमा एक खेल पनि नजितेको पोर्चुगल उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो । त्यसबेला पोर्चुगल नयाँ च्याम्पियन बन्छ भनेर कसैले पनि कल्पनासमेत गरेका थिएनन् । तर, आइतवार राति आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पोर्चुगलले ट्रफीमा आफ्नो नाम कोर्न सफल भयो । सन् २००४ को घरेलु मैदानमा सम्पन्न फाइनलमा पोर्चुगल ग्रिससँग १–० ले पराजित भएको थियो । १२ वर्षपछि फाइनल खेलेको पोर्चुगलले यो पटक उपाधि जित्यो ।
सफल आयोजक फ्रान्स
आयोजक फ्रान्ससमक्ष तेस्रोपटक घरेलु मैदानमा च्याम्पियन हुने अवसर थियो । फ्रान्सले त्यसको सदुपयोग गर्न सकेन । फ्रान्सले सन् १९८४ र सन् २००० मा युरो कप र १९९८ मा विश्वकप उपाधि जितेको थियो । १६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल उपाधि उचाल्ने सँघारमा पुगेर पनि फ्रान्स त्यसमा असफल भयो । तर, पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नु र फाइनलसम्मको यात्रा तय गर्नुले फ्रान्सलाई सफल आयोजक बनायो ।
सफल नवप्रवेशी वेल्स  
सन् १९५८ पछि ठूलो अन्तर्राष्ट्रिय फुटबल खेलेको वेल्स यो युरो कपको सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा पोर्चुगलसँग २–० ले पराजित हुँदा वेल्सको ऐतिहासिक प्रदर्शन रोकियो । पहिलो युरो कप सहभागितामै अन्तिम चारसम्म पुगेर वेल्सले यो युरो कपबाट धरै सफलता पाएको छ ।
अर्को सफल नवप्रवेशी आइसल्यान्ड
युरो कपमा सहभागीमध्ये सबैभन्दा कम जनसंख्या भएको राष्ट्र आइसल्यान्ड हो । समूह एफमा पोर्चुगल, हंगेरी तथा अस्ट्रिया राष्ट्रमाझ उपविजेता हुँदै आइसल्यान्ड नकआउट चरणमा पुग्यो । नकआउट चरणमा इंग्ल्यान्डलाई २–१ ले सनसनीपूर्ण नतिजामा हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । क्वार्टरफाइनलमा पराजित भएर घर फर्केका खेलाडीहरूको आइसल्यान्डमा भव्य स्वागत भयो ।
असफल डिफेन्डिङ च्याम्पियन स्पेन
लगातार तेस्रो पटक युरो कप जित्ने योजनाका साथ फ्रान्स पुगेको स्पेन प्री–क्वार्टरफाइनलबाटै घर फर्कियो । भिसेन्ट डेलबोस्कीको प्रशिक्षणमा रहेको स्पेनले लगातार तीनपटक युरो कप उचाल्ने कीर्तिमान बनाउने अवसर चुकायो । स्पेन छिट्टै बाहिरिनुका पछाडि प्रशिक्षक डेलबोस्कीको रणनीति पुरानो भएको मानिन्छ । डेलबोस्कीले युवा खेलाडीका स्थानमा पाका एन्ड्ेरस इनिस्टा, सर्जियो बोस्किट, सर्जियो रामोस, डेभिड सिल्भा तथा जेरार्ड पिकेलाई विश्वास गरे । तर, खेलाडीहरू उनको विश्वासमा खरो उत्रन सकेनन् ।
ठूला प्रतियोगितामा सधैँ असफल इंग्ल्यान्ड
सन् १९६६ पछि इंग्ल्यान्डले अन्तर्राष्ट्रिय उपाधि जितेको छैन । अक्सर ठूलो प्रतियोगिता आउँदा इंग्ल्यान्डको प्रदर्शन सोचेभन्दा तल्लो स्तरमा हुने गर्छ । त्यही समस्या यसपटक पनि देखियो । आफ्नै छिमेकी आइसल्यान्डसँग प्री–क्वार्टरफाइनलमा २–१ ले पराजित हुँदै इंग्ल्यान्ड घर फर्कियो । प्रतियोगिताभरि नै इंग्ल्यान्ड फर्ममा फर्कन संघर्षरत देखियो ।
असफल विश्व विजेता जर्मनी
फ्रान्स र स्पेनले कायम गरेको इतिहास बराबरी गर्ने तरखरमा जर्मनी थियो । विश्वकपपछि युरो कप च्याम्पियन हुने आशा जर्मन खेलाडीमा थियो । प्रशिक्षक जोचिम लोउले जर्मन खेलाडीलाई एट्याकिङ शैलीमा प्रतिस्पर्धा गराए । क्वार्टरफाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा निराश पारेको जर्मनी सेमिफाइनलमा आयोजक फ्रान्ससँग पराजित भयो । सन् १९९६ पछि जर्मनी युरो कप च्याम्पियन बनेको छैन ।

Leave A Comment