५७ मा सेक्सः सहबास कि सकस

शनिबार, ०२ मङि्सर २०७४, ०१ : ४१ शुक्रवार
५७ मा सेक्सः सहबास कि सकस

–रामकुमार एलन
२५ असोजको राति बाग्लुङ, गलकोट नगरपालिका वडा नम्बर ५ लाम्पाटाकी ३५ वर्षीया महिलाको हत्या भयो । महिला हत्या आरोपमा प्रहरीले ५७ वर्षीय खिमबहादुर निउरे र ३५ वर्षीया निशा रेग्मीलाई पक्राउ गरेको छ । तन्नामा पोको पारिएको अवस्थामा दरमखोलामा भेटिएको शव अनुसन्धानमा यो पनि खुल्यो कि, रातभर मदिरा पिएर सामुहिक यौनकार्य गर्न नमानेका कारण ती महिलाको हत्या भयो । धारिलो हतियार प्रयोग गरी हत्या भएकी महिला र अर्का अभियुक्त रेग्मीका पति विदेशमा छन् ।
यस्तै, अर्को एउटा उदाहरण जोडौँ, १३ भदौमा बनेपा–८, पुन्यमति खोलानजिकै मृत भेटिएकी ५७ वर्षीया नानु आले मगरलाई ६ यौनपिपासुले सामुहिक बलात्कार गरेर हत्या गरेको खुल्यो । रिक्सा चलाउने र प्लम्बरको काम गर्ने भुम्लुटार गाउँपालिका–३ का ३२ वर्षीय राजु भनिने गोपाल परियार, धुलिखेल नगरपालिका–७ का ३० वर्षीय हमाल भनिने साधुराम विक, नमोबुद्ध नगरपालिकाका २७ वर्षीय ठूलोभाइ भनिने महेश परियार, सिन्धुपाल्चोक, मेलम्ची–१४ का ३२ वर्षीय कुलबहादुर भनिने सीताराम थापा, रामेछाप लखनपुर–१ का २४ वर्षीय प्रकाश परियार र नाग्रेगर्गचे–१ का सञ्जय भनिने ३३ वर्षीय दिलबहादुर प्रधान पक्राउ परेका छन् ।
मानिसमा यौनचाहना कति उमेरसम्म हुन्छ ? कतिखेर हुन्छ ? यसको लेखाजोखा छैन । तर ५७ वर्षीया महिलालाई बलात्कार, त्यो पनि २५ वर्ष माथिकाका र ४० वर्ष मुनिकाबाट, ६ जनाबाट, पक्कै पाशविक, अक्षम्य अपराध हो । तर, यहाँ प्रहरीले अर्को तथ्य सार्वजनिक गरेपछि समाज कता जाँदैछ भनेर सोच्नु पर्ने भएको छ । बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै मकैबारीमा मृत फेला परेकी ५७ वर्षीय नानुसँग यी अभियुक्तहरुको विगतमा पनि यौनसम्बन्ध थियो । विगतमा पनि मादकपदार्थ सेवन गरी अभियुक्तहरु नानुकै घर आउँथे भन्ने खुलासा प्रहरीले गरेको छ । त्यतिमात्र होइन, यो घटनामा पीडित पक्षले उजुरी नगरेपछि ५७ मा सहवास जारी थियो भन्ने प्रहरीको बुझाइ हो ।
२०६८ को जनगणनाले नेपालीको औसत आयु ६७ वर्ष पुगेको प्रक्षेपण सार्वजनिक भयो । बच्चा जन्माउने क्रम ह्वात्तै घटेको छ । अर्थात् जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत छ । यही रफ्तारमा जनसंख्या वृद्धि हुँदा नेपालको जनसंख्या दोब्बर हुन अझै ४८ वर्ष कुर्नपर्छ । त्यसमाथि दैनिक एक हजार पाँचसयका दरले ४० मुनिका युवा, युवती, महिला, पुरुष विदेशिने क्रम जारी रहेकाले परिवार नियोजनका साधन भन्दा बढी म्यानपावर कम्पनीले बच्चा जन्माउने क्रम रोकेकामा शंका रहेन ।
यतिमात्र होइन, बिबिसीका अनुसार, ब्रिटेनका विज्ञहरुले संसारका १ सय ९० देशमा गरेको सर्वेक्षणमा संसारका मानिसको आयु ६ वर्ष बढिरहँदा नेपालीको आयु दोब्बर पुगेको छ । अर्थात् पछिल्लो दुई दशकमा नेपालीको आयु ह्वात्तै अर्थात् १२ वर्ष बढेको छ । सरकारी अड्डा स्वास्थ्य मन्त्रालयका अनुसार, पुरुष ६८ र महिला ७१ वर्ष बाँच्छन् ।
त्यसैले होला, पति विदेश भएका दुई–दुई महिलासँग मदिरा पिएर रातभर यौनकार्य गर्ने रहर अब २७ का लक्का जवानलाई मात्र होइन, ५७ का खिमबहादुर निउरेमा पनि पलाएर मायाबजार धाउँछन् । जवानी नवीकरणीय ऊर्जा बनेर आउँदा ज्यानमारा अपराधी करार भएका छन् उनी । समाजमा बढ्दो सुविधा, सुखसँग सहबासको भोक पनि जाग्दो छ । वैदेशिक रोजगारी, पत्नीसँगको तिक्तता र पुरुषको कमी अनि मायानगरीमा यस्तै ‘पटके सहबास’ जोडिँदा समाज चैँ भत्कँदैछ । अब सुन, हीरा, सम्पत्ति लुटपाट भन्दा यौन अपराध बढेका छन् ।
निउरे मात्र होइन, ५७ वर्षीय नानु आलेसँग ती लक्का जवानहरुको सम्बन्धले पनि सोच्न बाध्य पारेको छ कि, मदिरा पिएर हुने यौनकार्य समाजमा बढ्दो छ र यसैले अकल्पनीय अपराध निम्त्याइरहेको छ । यौन अपराध बढ्नुमा उमेर बाधक देखिएन । जुन उमेरकासँग पनि सहबास हुन थालेको छ । भोजपुरमा ११ वर्षीया बालिका गर्भवती बनेको घटना पनि जोडौँ । उनलाई धरानमा ल्याएर शल्यक्रिया गरी ६ महिनाको बच्चा जन्माइएको छ । ११ वर्षीया आमा काठमाडौँमा छिन् । उनलाई यो अवस्थामा पु¥याउने पुरुष भोजपुर कारागारमा छन् । भोजपुर प्रहरीमा दर्ज भएका केस मात्र गन्दा यो वर्ष भोजपुरमा २३ बालिका बलात्कृत भएका छन् । पछिल्लोपटक बलात्कारपछि आँखा फुटाइएकी बालिकाको दर्द पढ्नु भएकै छ, पक्कै थाहा पाउनु भएकै छ ।
शुरुमा गैरसरकारी संस्थाहरुले ‘सुरक्षित यौनसम्पर्क’को कक्षा चलाए । गाउँगाउँमा सेक्सलाई पनि अधिकार मानेर सुरक्षित व्यवहार गर्न कण्डम प्रयोगको कक्षा चलाए । यसपछि महिला गर्भनिरोधक वितरण गरियो । गरिबीले विदेशिनेको संख्या वृद्धिसँगै यौनका समस्या जटिल बनेर आएर असुरक्षित सम्बन्धका कारण भइरहेका हत्या, शिशुहत्यासँगै महिला पीडित हुने र बालबालिका बिचल्ली पर्ने घटना बढ्यो । योसँगै नेपालमा भित्रियो गर्भपतन सेवा । महिलाको निजी अधिकारभित्र पर्ने गर्भपतन सेवाले कयौँ कुमारी आमाहरुले राहत पाएका छन् । तर पटकपटकको गर्भपतनले उनीहरुले आमा बन्ने अवसर गुमाइरहेका छन् विवाहपछि । स्तन क्यान्सर डरलाग्दो बनेर महिलाको ज्यानमा पसेको छ ।
हो, यो दुई दशकमा नेपालले विकासमा फड्को मारेको छ । खानपान, रहनसहनमा प्रगति गरेको छ । अहिले ४ फिट अग्ला डाँडाका गाउँमा पनि मदिराका बोत्तलको चाङ देखिन्छ । विदेशी सिंगारपटारका प्रशाधनले घर गरेको छ । घट्दो दुःख र बढ्दो सुखसयलसँगै प्रविधिले ‘पोर्नो’लाई गाउँगाउँमा होइन, स्मार्ट फोनले हातहातमा पु¥याएको छ । ‘सेक्स’ लाई दालभात ठानेर सफा गरी खानुपर्छ भनेर मिडियाले पनि लगातार वकालत गरेकै छ ।
अब मासु खान दशैँ कुर्न पर्दैन नेपालीलाई । रक्सी पिउन संक्रान्ति आउनु पर्दैन । शहरमा खुलेका होटलले यौनकार्यलाई सुरक्षित बनाएको छ । त्यसैले एउटी महिलाले दुई वटा पुरुष लिएर होटलमा बास माग्दा या एउटा पुरुषले दुई वटी महिला लिएर होटल बुक गर्दा हामी अन्यथा ठान्दैनौँ । होटल ‘कारोबार’ बढेकामा अपराधको कल्पना गर्दैन । र, त असमान उमेरका ५७ वर्षीय निउरेले ३५–३५ का दुई महिला च्यापेर रात बस्दा के अप्रिय होला र भनेर आँखा चिम्लन्छौँ ।
अर्कातिर हाम्रो समाज यस्तरी खुल्न पनि सकेको छैन कि, सहमति र सुरक्षित यौन सम्बन्धको पक्षधर हो, तर सामुहिक यौन कार्यमा अहिलेको प्लस टु पुस्तासमेत भिज्न सकेको छैन । यसैले हुनुपर्छ, पतिको अभावमा गाउँका कोही अभिभावकसँग ‘रामरमाइलो’ गर्न शहर पसे पनि ती महिलाले साथीसँगै ‘सामुहिक’मा साथ दिइनन् र ज्यान गुमाइन् । काभ्रेको घटना पनि ‘सामुहिक’मै परेको छ । एकजनासँगको सुरक्षित सम्बन्धका पक्षमा भोजपुरकै ११ वर्षीया पनि सहमत भइन् र आमा भइन्, सामुहिक बलात्कारको घाउ जीवनभर निको नहुने भएकाले भोजपुरकै बालिकाले आँखा गुमाउनु प¥यो ।
हामी पूर्वबाट काठमाडौँ आउने बसको ड्राइभर दुई जना चाहिन्छ भन्छौँ । प्रतिवेदन दिन्छौँ । एउटै ड्राइभर लङरुटमा निदाउन सक्छ, थाक्छ भन्छौँ र दुर्घटनामा उसैलाई दोष दिन्छौँ । तर यौन अपराधका कयौँ घटनाहरुमा जब एक महिला र एक पुरुषका अलावा अरु महिला या पुरुष थपिन्छ, त्यहाँ अपराध जन्मिन्छ, हत्या हुन्छ भन्ने कयौँ उदारहण आउँदा किन निगरानी गर्दैनौँ । होटलबाटै शुरु गरौँ यो अभियान । एउटी महिला किन दुई पुरुष लिएर आइन् होटलमा ? एउटा पुरुष किन दुई महिला लिएर रात गुजार्दैछ होटलमा ? विकासोन्मुख देश भए पनि संसारको भन्दा दोब्बर आयु बढिरहँदा मृत्युदर पनि यसरी बढिरहेको छ कि, नेपालीको मृत्युदर त ५७ मा सेक्सले बढाइरहेको छ । ५७ मा सेक्स सहबास नभएर सकस भइरहेको छ समाजलाई । कल्पना भन्दा बाहिरको कुरा, ५७ मा सेक्स, त्यो पनि दुईटीसँग ? के हुँदैछ हाम्रो समाज ? बढेको उमेरलाई अशल काममा लगाए पो चल्छ मायाबजार, चम्किन्छ मायापथ ।
 

Leave A Comment