खुट्टा हुन् दलित त !

सोमबार, ०४ मङि्सर २०७४, ०४ : ४८ शुक्रवार
खुट्टा हुन् दलित त !

घिमिरे ‘मैदेली’

हरेक खुट्टेबाट दलिएर दलित भएका खुट्टाको पीडा कसले बुझेको छ ? जातजातीका मुख हे¥यो । मुखामुख गर्यो । उनैलाई दलित भन्या । तिनै दलितबाट महादलित भएका छन् उनकै खुट्टा । खुट्टाको अधिकारलाई खुट्टेले सताउनुभनेको घरेलु हिंसा नै हो । श्रीमान्ले श्रीमतीलाई सताउँदाको उजुरीमा  प्रहरी भन्छ घरायसी मामला ! भ्रष्टाचारको उजुरीमा अख्तियार भन्छ भ्रष्ट कर्मचारी  अफिसियल मामलामा पर्छन् भन्दै लहरो त तान्दा पहरोसित डराएकैछ । अख्तियार र छानविनले कुन सर्पको खुट्टो चिन्दैन र ? डस्ला भन्ने डरले विषालुचाहिँलाई छोडिदिन्छ ।
गरिबका खुट्टा हुन् कि धनी, भ्रष्टाचारी, दुराचारी कर्मचारीका खुट्टा हुन् । खुट्टा खुट्टेबाटै दलित र गलित भएका छन् । दलितका कुरा गर्नुपर्दा दङ्ग परेर रङ्गनढङ्गसित मान्छे चोर औँलाले कृत्रिम दलित देखाइरहेको छ ।  आफ्ना परिवार श्रीमती दलित पीडित पारिराख्नेले खुट्टा दलित भएको कुरामा बुझ पचाएर पनि बुझक्कड बन्न चाहन्छ मान्छे । आफूबाट आफ्नै दुईखुट्टा दलित भएको कुरा आजसम्म कुन दलले देखायो ? महिला पुरुष कुन वर्गले विवाद गर्यो ?
दलित भएर दलिएका खुट्टाका कथा र व्यथा उसैमा सीमित छन् । पाउँदा माड खाने, जाँड खाने, घुस खाने, भुस खानेले खुट्टालाई बेहिसाब र बेनिसाफसित दल्न पाएकोमा सबै मस्त खुट्टा मात्र त्रस्त !
जँड्याहा बेखवर हुँदा पनि खुट्टोले उसलाई बोकेर गन्तव्यतिर लग्नै प¥यो । घुस र जुसले ढुस परेको हाकिमको भकारीजत्रो भुडी पनि यही खुट्टाले आनेकाने नगरी बोकेर हिड्नै प¥यो । कसैका निम्तोमा म टाउकाले टेकेर पनि आउछु भन्यो आखिरमा खुट्टालाई दल्न पाएको टाउकाले किन टेक्थ्यो ! टेकेर बोकेर जानुपर्ने त्यही खुट्टाले । नाङ्गा नर्तकी, नाटकी नानीहरूले त खुट्टे क्षेत्रमा नाना पनि नलगाई हाइ हीलमाथि खुट्टो ठड्याएर सास्ति दिएकै छन् यिनै खुट्टालाई । खुट्टा आफ्नै शरीरबाट जति दलित  गलित भए पनि निमुखी श्रीमतीले झैँ सताउने अङ्गीलाई दावी विरोध गर्न सक्दैन निमुखो खुट्टो ।
  धनी हुने धुनमा चोरेर भाग्नुपर्दा डाँडो,काँडो, पाखो, पर्खाल नभनी दौडिन बाध्य पार्छन् यिनै निर्दोष खुट्टालाई । वरणीबिनाको करणीमा कामुक बनेका कुनै काँतर कसैका करेसाबाट कान्लाकान्लै करकापमा कुद्नुपर्ने बाध्यता छ खुट्टालाई ! मातेर जाँड धोक्ने पुरुष, मातेर भुडी बोक्ने महिलाका भुडीको भार थामेर हिड्नुपर्ने यही खुट्टाले ? यस मानेमा खुट्टा दलित मात्र होइन गलित पनि छ ।   
 सरकार भन्छ चोर समाउन नसके त्यसको खुट्टामा गोली हान्नू । यसमा कानुन मौन रहँदा खुट्टाको मन कुँडिएको छ । व्यवहारको र व्ययभारको मामलामा पनि दलित बनेका छन् खुट्टाहरू । मुखमण्डलदेखि सिँगार्दै र सुधार्दै लगेकी श्रृङ्गारप्रेमीले पनि तिघ्रादेखि तलको भाग र भेगलाई खुला छोडेर दलित खुट्टालाई खिसी गरिरहेका छन् ।  
ब्युटी बनेर ड्युटीमा जाने महिला पहिला मुखमा क्रीम पाउडर घस्छिन्, तन नाङ्गै पारेर स्तनमा मात्र फित्ताले कस्छिन् । तिघ्रादेखि तल ह्वाङ्ग, छ््रयाङ्ग पारेर बस्छिन् । अझ सास्ति दिन चुच्चे हील जुत्ताले खुट्टो कस्छिन् । सबै व्यक्ति र सबै पक्षबाट उपेक्षित र दलित भैरहेका छन् खुट्टाहरू । दुई खुट्टासित मातृ हृदय पनि बेखबर बनेको देखिन्छ ।  प्रत्येक वर्ग र व्यक्तिबाट दलित बनेका छन् आआफ्नै  खुट्टाहरू । खुट्टेको व्यक्तिगत मामलामा खाडी मुलुकमा बन्दी बनेका कामदार महिलाजस्तो प्रतिबन्धित बनेका छन् सबैका खुट्टा ।
मान्छे जोकोहीलाई होस् खुट्टो तान्ने, खुट्टो ताक्न,े खुट्टो भाच्ने, खुट्टामा छिर्की हान्ने गरेर निर्दोष खुट्टालाई नै ताक्छ तर टाउकोलाई किन ताक्दैन ? यस मामलामा त दलित खुट्टामाथि राजनीति भएको छ ।
स्वास्थ्यविज्ञानकै कुरा गरौँ । टाउकाका डाक्टर छन्, नाक, कान, घाँटी, छाती, मुटु, रगत, पेट आदिका डाक्टर छुट्टाछुट्टै छन् । अझ पुरुषले स्त्री योनी हेर्ने, स्त्रीले पुरुषको योनी हेरेर उपचार गर्ने डाक्टर भैसके । तर यसरी शरीरबाटै दलित भएका खुट्टाका खुट्टे डाक्टर खै ? लोकतन्त्रका  सहयोगी खुट्टाले के पाए ?
स्वागत र हविगतकै कुरा गरौँ । आसनमा कुर्सी दिइन्छ कुर्सीमा ठेउकाले ठेगान पाउँछ, । ढाडले अडेसा पाउँछ । अझ मिले मुन्टोले माला लाउँछ तर शरीर बोक्ने खुट्टाले भुइँमै उभिनु पर्छ । सुत्दा टाउकाले तकियासमेत पाउँछ । ओड्नेले पनि टाउकाको  एरिया छोप्दैजादा तिघ्रामुनि पुगोस् नपुगोस् त्यति महत्व राख्दैन । हरेक मामलामा  खुट्टो नै उपेक्षित र दलित बनेको छ ।  
कर्मचारीहरूलाई शनिबार बिदा हुन्छ खुट्टालाई झनै भ्याइनभ्याई । पहिलेपहिले त पारिवारिक जीवनमा श्रीमान्लाई श्रीमतीले, सासूलाई बुहारीले, बाउलाई छोराले खुट्टामा तेल लगाइदिने परमपरा थियो । त्यसले खुट्टालाई केही हदमा अपेक्षा गरेको हुन्थ्यो । अहिले त्यो परम्पराले खुट्टो घुमाइसक्यो  । आधुनिक भएर खोलिएका मसाज सेन्टरबाट केही हदमा खुट्टामा तेल लाग्ला कि  भन्या त तिघ्राको कापभन्दा तल हात नलाने रे ! हरेक पक्षबाट तिघ्राभन्दा तलका खुट्टा टारीखेतको पुछारको गरोजस्तो भएर उपेक्षित बन्न पुग्नु नै ठीक हो त ? खुट्टेलाई चेतना भया ।

Leave A Comment