सेट टप बक्स के हो ? कति पर्छ मूल्य ?

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : १८ शुक्रवार
सेट टप बक्स के हो ? कति पर्छ मूल्य ?

सरकारले कात्तिक २९ गतेदेखि धमाधम एनालग केबल टिभी सिग्नल बन्द गराइरहेको छ । पहिलो चरणमा विभिन्न महानगरपालिका क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यका साथ सरकारले एनालग केबल टिभी सिग्नल बन्द गराएको हो । यस्तो अनुगमनको कार्य निरन्तर जारी राख्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले नै एनालग सिग्नल बन्द गराएपछि ग्राहकहरु भने सेट टप बक्सको जोहो गर्न लागिपरहेका छन् । सेट टप बक्स जडान नगरी केवल टिभी सेवा नआउने भएपछि केबल टिभी सेवा प्रदायकहरुले पनि सेटटप बक्स जडानमा तीब्रता देखाएका छन् ।
एक अध्ययनका अनुसार हाल काठमाडौंका १० लाख घरहरुको टिभी सेटहरुमा सेट टप बक्स आवश्यक पर्छ, जसमध्ये करिब ४ लाखवटामा मात्र सेटटप बक्स जडान भएको छ । एउटा सेट टप बक्स जडान गर्न करिब १ घण्टाको समय लाग्छ । यो आधारमा ग्राहकले ६ महिनासम्म पनि केवल टिभी हेर्न नपाउने अवस्था आउनसक्छ ।

हाल बजारमा सेट टप बक्स अभाव नभए पनि जडानको लागि समय लाग्ने हुँदा कुनुपर्ने अवस्था छ । अझ एकैपटक माग बढ्दा बजारमा थप समस्या आउन सक्दछ ।
हाल बजारमा न्युनतम ३ सयदेखि अधिकतम १ हजार ९ सय ९९ रुपैयाँसम्ममा सेटटप बक्स ग्राहकलाई सेवा प्रदायकहरुले उपलब्ध गराइरहेका छन् । कुनै केवल टिभी कम्पनीहरुले निःशुल्करुपमा पनि उपलब्ध गराइरहेका छन् ।

अधिकांश सेवा प्रदायकले आफूहरुसँग सेट टप बक्स स्टकमा रहेको हुँदा अभाव नहुने दाबी गरेका छन्  । डिसहोमले ४ देखि ५ लाख सेटटप बक्स स्टकमा रहेको हुँदा निरन्तर माग बढेको बताएको छ । सुविसुले भने कम्पनीसँग १ लाख सेट टप बक्स स्टकमा रहेको उल्लेख गरेको छ ।

सेट टप बक्स के हो ?

सेट टप बक्स एउटा डिभाइस हो जसले केबल बाट आएको सिग्नललाई तपाईँको टेलिभिजन सेटमा हेर्नयोग्य बनाउँछ । यो बक्स केबल टेलिभिजन, स्याटेलाइट टेलिभिजन, र ओभर दि एयर टेलिभिजन प्रविधिका साथसाथै अन्य प्रविधिमा प्रयोग गरिन्छ ।
यो केवल टेलिभिजन सेवा प्रदायक वा डिटिएच कम्पनीहरुको सिग्नललाई प्राप्त गरेर त्यसलाई डिकोड गर्दै तपाईँको टेलिभिजनमा देखाउने प्रविधियुक्त बक्स हो ।
एउटा टिभी सेटमा एउटा सेटटप बक्स आवश्यक पर्छ भने पछिल्ला दिनहरुमा प्रविधिको विकाससँगै एउटै सेट टप बक्सबाट घरभरीका टिभी सेटहरुमा हेर्न सकिन्छ ।
नेपालमा भने एउटै सेटटप बक्सबाट ३ वटासम्म टिभी हेर्न सकिने किसिमको प्रविधि आइसकेको छ । यस्तो सेट टप बक्स लिँदा समग्रमा सेवाको शुल्क पनि सस्तो पर्ने हुन्छ ।

के हो एनालग प्रविधि ?
एनालग टेलिभिजन निकै पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत् सिग्नल टेलिभिजन सेटमा पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरै जनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरुले हटाइसकेका छन् ।

डिजिटल टिभीमा के हुन्छ ?
अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल हुने हुनाले डिजिटल टिभीका दर्शकले सफा पिक्चर र गुणस्तरीय ध्वनीमा टिभी हेर्न सक्छन् । सामान्य टेलिभिजनमा पनि गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न सकिन्छ ।
डिजिटल टिभीका लागि टिभी महंगो र भर्खरै किनेको हुनु पर्ने होइन । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ ।

यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ, त्यो पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा हुन्छ ।
नेपाली च्यानल मंसिर मसान्तसम्म हेर्न सकिने
सरकारले मंसिर मसान्तसम्म नेपाली टेलिभिजन च्यानल केबलबाटै एनालग प्रणालीबाट हेर्न सकिने व्यवस्था गरेको छ ।
सूचना तथा संचार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा निर्वाचनलाई लक्षित गरेर नेपाली च्यानल अनिवार्य गरेर अधित्तम ३५ च्यानल एनालग प्रणालीबाट हेर्न सकिने जनाएको हो ।

मन्त्रालयले डिजिटल प्रणालीमा लग्ने कार्ययोजनाका लागि केबल सेवा प्रदायक संघलाई सात दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
सरकारले दुई दिन अगाडि डिजिटल प्रणालीमा नगएको भन्दै केबलको सिग्नल काटेको थियो ।

Leave A Comment