फेसबुकलाई टेनसेन्टको टक्कर

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : २१ शुक्रवार
फेसबुकलाई टेनसेन्टको टक्कर

अमेरिकन कम्पनी फेसबुक र चिनियाँ समाजिक सञ्जाल कम्पनी टेनसेन्टबीचको प्रतिस्पर्धा बढ्दै गएको छ । विश्लेषकहरुले फेसबुकलाई चिनियाँ कम्पनी टेनसेन्टले उछिन्न सक्ने प्रक्षेपणहरु गर्न थालेका छन् ।
चिनियाँ सामाजिक सञ्जाल र भिडियो गेम कम्पनी टेनसेन्टको मूल्य गत वर्ष दोब्बरभन्दा बढीले वृद्धि भएसंगै प्रतिस्पर्धा बढेको हो । यो वृद्धिसँगै कम्पनीको बजार मूल्य फेसबुकको हाराहारी अर्थात् ५ सय २० अर्ब डलर पुगेको छ । गत साता हङकङमा टेन्सेन्टको मूल्य ४ सय ७० अर्ब डलर रह्यो ।
हाल फेसबुक विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल भएको छ । यसको प्रयोगकर्ता विश्वव्यापी रुपमा २ अर्बभन्दा बढी पुगेको छ । यसले व्यापक लोकप्रियता पाएको इन्स्टाग्राम र ह्वाट्स एपको स्वामित्व पनि लिएको छ ।
टेनसेन्टको स्वामित्वमा पनि सामाजिक सञ्जाल ‘वि च्याट’ पनि रहेको छ । यसका प्रयोगकर्ताको संख्या झन्डै १ अर्ब रहेको छ । प्रयोगकर्ता विशेष गरी चीनमा रहेका छन् । पश्चिमा प्रतिद्वन्द्वीहरु फेसबुक र ट्विटर चीनमा बन्द भएसँगै ‘वि च्याट’ चीनमा सर्वाधिक लोकप्रिय भएको छ ।


टेनसेन्ट सामाजिक नेटवर्किङ मात्रै भएको छैन । यसले स्मार्टफोन गेम्स, मोबाइल पेमेन्ट र स्ट्रिमिङ म्युजिकमा पनि हात हालेको छ । यी सबैले यो वर्ष कीर्तिमानी नाफाका लागि सहयोग गरेका छन् ।
केही विश्लेषकले टेनसेन्टले चाँडै नै ५ सय अर्ब डलरको सीमा पार गर्ने अनुमान गरेका छन् । यसले कम्पनीलाई अमेरिकाको अर्को कम्पनी अमेजनको नजिक पुर्याउने बताइएको छ ।

हाल अमेजनको बजार मूल्य ५ सय ५० अर्ब डलर छ । तर, टेनसेन्टले बजार मूल्यका आधारमा शीर्ष स्थानमा रहेको एप्पल (८८० अर्ब डलर) भेट्नका लागि लामो यात्रा तय गर्नु आवश्यक छ ।

Leave A Comment