जसले रङलाई खेलाए

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : ४७ शुक्रवार
जसले रङलाई खेलाए

प्रजु पन्त

५० वर्षअघि भारतको बनारसबाट काठमाडौँ आउँदा उनले नेपालमा सम्भावना नै सम्भावना देखेका थिए । समय बगेर गयो । उनले आफ्नो पेसामा ख्याति कमाए र कमाए कैयौँ चेलाचपेटा । नेपाल मोह यसरी गाढियो कि बागबजारमा अडिएको उनको मन फेरि कहिल्यै इन्डियामा फर्किएन । उनी यहीँ बसे,  परिवार ल्याए, यतै घर बनाए ।  
उनी हुन्, बागबजार काठमाडौँका श्याम दाइ अर्थात् भित्ते तथा ब्यानरमा अक्षर कुँद्ने अग्रज व्यक्ति ।
‘पहिले म यहाँ आउँदा केही थिएन,’ उनले ५० वर्षअघिको बागबजार सम्झँदै श्याम प्रिन्टर्सका प्रमुख श्याम ‘दाइ’ले भने, ‘अहिले त यो ठाउँ आकास जमिनको फरक भएको  छ ।’
तपाईंको नाम त श्याम हो, थर चाहिँ के नि ? संवाददाताको प्रश्नमा उनले भने, ‘यहाँ मलाई यति माया गरे कि मैले मेरो थर नै बिर्सिएँ । बरु धेरैले दाइ भनेर चिन्छन्, त्यसैले मेरो थर त्यही लेखिदिनुस् ।’
त्यस बेलाको काठमाडौँमा मिलनसार मानिस थिए, जसले गर्दा उनी यहाँ बस्न मात्र लोभिएनन्, कर्मथलो नै बनाए ।
नौलो काम गर्न मन पराउने उनले सुरु गरे– श्याम प्रिन्टर्स । जहाँ उनले रङसँग खेले, रङसँगै रमाए अनि यसैलाई बाँच्ने आधार बनाए । यो पेसा त्यतिबेला नौलो त थियो नै प्रतिस्पर्धी नहुनुको फाइदा पनि उनले लिए ।
आम्दानी पनि राम्रो हुने बस्न पनि सहज हुने भनेर नै आफूले यस क्षेत्रलाई रोजेको बताए ।
८१ वर्षको उमेरमा पनि अझै हट्टाकट्टा देखिने उनी आखिर के खान्छन् ? उनले भने, ‘साकाहारी खाना, कामप्रति सन्तुष्टि र मिलनसार परिवार नै आफ्नो तन्दुरुस्तीको खास रहस्य हो ।’
‘उमेरमा त म यस्तो थिएँ, हेर्नुस् त मेरो फोटो !’ श्याम दाइले पसलबाहिर झुण्ड्याएको अमिताभ बच्चन शैलीका थुप्रै फोटो देखाए ।
सुरुमा पम्प्लेट, होर्डिङ बोर्ड, कार्यालयका छाप, ब्यानर ब्याच, फ्रेम आदि सुरु गरेका उनले बहुदल आएपछि राजनीतिक दलका झण्डा, झण्डा अंकित टिर्सट, टोपी आदि बनाउन थाले ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब नजिएकाले पनि होला उनी फुर्सदमा थिएनन् । उनी विभिन्न पार्टीका झण्डा तथा प्रचार सामग्रीका अर्डर लिइरहेका थिए । यो उमेरमा पनि कामप्रति उनको मोह घटेको थिएन । कामबाट केहीबेर छुट्टी लिऊँजस्तो लाग्दैन ? जवाफमा उनी भन्छन्, ‘अहँ कामबाट पनि कसैले छुट्टी लिन्छ ? काम त सकिञ्जेल गर्ने हो ।’
यस क्षेत्रमा कत्तिको आम्दानी छ त ? उनले मुसुक्क मुस्कुराउँदै भने, ‘मैले यही पेसा अँगालेर काठमाडौँ घट्टेकुलोमा घर बनाएँ । छोराछोरी पढाएँ । पाँच जनाको परिवारलाई अहिले पनि मज्जाले खानलाउन पुगेको छ ।’
आफ्ना सन्तानलाई यही कामबाट डाक्टर इन्जिनियर बनाएको र नातिनातिना पनि विदेशमा पठाउन सफल भएको उनले बताए । ‘लौ भन्नुस्, कति आम्दानी भएछ !’ उनले उल्टो प्रश्न संवाददातातिर सोझ्याए ।
उनका एक जना सहायक पनि छन् । धनुषा घर भएका थेकन मण्डलले दैनिकी रु ३५० मा काम गर्छन् । थेकनले यहाँ काम गरेको पनि १० वर्ष बितिसकेको छ ।
श्याम दाइ आफूलाई एक सफल व्यवसायी ठान्छन् । उनी सफल हुनुमा हातमा सीप हुनु, निरन्तर काममा खट्न सक्नु, मिहिनेत र धैर्य भएको उनले बताए । रोजीरोटीकै नेपाली युवा वैदेशिक रोजगारमा गएको देख्दा उनलाई उदेक लाग्छ । ‘हातमा सीप हुने हो भने यहीँ देशमै धेरै काम गर्न सकिन्छ,’ उनले भने, ‘कामलाई सम्मान गर्नुस्, जुनसुकै काम गर्न पनि नलजाउनुस् र बजारको आवश्यकता बुझ्नुस्, सफलता तपाईंकै हातमा छ ।’
यस व्यवसायमा आउन चाहने जो कोहीले पनि तालिम लिएर आउनुपर्ने उनले बताए । यससँग सम्बन्धित पढाइ धेरै ठाउँमा हुने र विशेष गरी ललितकला क्याम्पसमा र यसैको छाता संगठन कमर्सियल आर्टिस्ट एसोसियन अफ नेपालमा पनि आवश्यक सल्लाह र तालिम प्राप्त गर्न सकिने उनले बताए ।   
उनले आफूले मात्रै काम गरेनन्,  ५० वर्षमा ४÷५ सय जनालाई तालिम पनि दिए । उनी आफ्नो कार्यालयलाई एउटा क्याम्पससरह नै मान्छन् किनभने यिनै श्याम दाइको सामीप्य र तालिमले सयौँ मानिस ब्यानर तथा भित्ते लेखनमा सिपालु मात्र भएनन्, रोजगारीसमेत प्राप्त गरेका छन् ।
उनी भन्छन्, ‘म सफल व्यक्ति मान्छु आफूलाई किनभने म आफू मात्र यस क्षेत्रमा अघि बढिनँ, आफूसँगै अन्य सयौँ मानिसलाई अघि बढाएँ ।’

Leave A Comment